+
+
ब्लग :

चिकित्सक पिटिएको घटनाले प्रहरीप्रति जन्माएका प्रश्नहरू

एकजना प्रहरीलाई कारबाही गरेर हाम्रो न्यायप्रणालीमा सुधार आउँँदैन । यसबाट समस्याको जड चिन्ने र समाधान गर्नेतिर हाम्रो ध्यान जाँदैन ।

डा. दीपराज थापा डा. दीपराज थापा
२०७९ फागुन ५ गते १०:४७

अनुशासन, जनसेवा, न्याय जस्ता शब्द प्रहरी संगठनसँग जोडिएका हुन्छन् । यो अर्ध–न्यायिक संस्था हो । मलाई सानैदेखि प्रहरी संस्था भनेपछि गर्व महसुस हुन्थ्यो । मेरा केही नजिकका साथीहरू प्रहरी संगठनमा विभिन्न तहमा छन् भन्दा अहिले पनि छाती गर्वले फुलेर आउँछ र म यो पेशामा आफ्नो जीवन समर्पित गर्ने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीप्रति सम्मान व्यक्त गर्न चाहन्छु ।

तर, राष्ट्रपतिको सवारी हुँदा चिकित्सक पिटिएको घटनाले केही प्रश्न जन्माएका छन् । यस्ता घटनाले हाम्रो लोकतन्त्रमा प्रहरी एक न्यायिक र जिम्मेवार संस्थाको रूपमा स्थापित भइनसकेको प्रमाणित हुन्छ । सम्पूर्ण जनसमुदायप्रति न्यायोचित र सम्मानजनक व्यवहार गर्नु, शान्ति स्थापना गर्नु र अपराधीलाई कठघरामा उभ्याएर अदालतको फैसला कुर्नु प्रहरीका मुख्य दायित्व हुन् । तर बारम्बार प्रहरीले नै जथाभावी बोलेको, अनैतिक व्यवहार गर्दै कुटपिटसम्म गरेको भिडियो र समाचार सामाजिक सञ्जालमा हेर्न परिरहेको छ । यसले प्रहरी प्रशासन न्यायिक प्रणालीमा चुकेको देखिन्छ ।

लोकतन्त्रमा नागरिकको व्यक्तिगत स्वतन्त्रताको सम्मान र वैयक्तिक गोपनीयता सुरक्षाको ग्यारेन्टी गर्ने जिम्मेवारी लिने सरोकारवालाको सूचीमा प्रहरी संगठन अग्रभागमा पर्छ । यो प्रहरी प्रशासनको विज्ञता र अधिकार क्षेत्रभित्र पर्ने विषय हो । तर बेलाबेला प्रहरी प्रशासनका कर्मचारीहरूको दुर्व्यवहारले सिङ्गो प्रहरी संगठनलाई बदनाम बनाइरहेको छ ।

दुर्व्यवहार गर्नु, नराम्रा शब्दहरू प्रयोग गर्नु र कुटपिट गर्नुलाई लोकतान्त्रिक समाजमा अपराध मानिन्छ । त्यसो त, संविधान र कानुनले पनि प्रहरीलाई जनताप्रति गैरकानुनी काम गर्ने छुट दिएको छैन । जस्तो समाज, त्यस्तै प्रशासन भन्दै सामान्यीकरण गर्ने छुट प्रहरीलाई छैन ।

यस्ता घटनाहरूलाई सामान्य मानिरहँदा मानवअधिकारको हनन् तथा अन्यायपूर्ण सामाजिक अभ्यास संस्थागत हुन थाल्छ । त्यसैले हाम्रो समाजमा अझै पनि कुटपिट गर्ने कुराहरू अत्यन्तै सामान्य मानिन्छ । दुई–चार जना बसेर ‘कुरा मिलाउने’ अभ्यासले न्याय निरुपणका प्रचलित मान्यता छायाँमा परिरहेका छन् । प्रतिफलमा अपराधपूर्ण क्रियाकलाप बढिरहेको छ । समाजमै केही मानिस बसेर गुपचुप मिलाइएका घटना आमसञ्चारमाध्यमबाट सार्वजनिक भएपछि मात्र चर्चा पाउने गरेका छन् ।

डा. दीपराज थापा

संस्थाभित्र हुने प्रणालीगत त्रुटिको सजाय भने एकजना प्रहरीले भोग्नु परेको देखिंदैछ । डाक्टर कुट्ने प्रहरी निलम्बित भन्ने बित्तिकै केही न केही खुट्टा जोगाउन प्रहरी संयन्त्र सफल होला, तर यो संस्थागत, नियोजित र प्रणालीगत त्रुटि हो भन्ने पटक–पटक दोहोरिने घटनाबाट पुष्टि हुन्छ । एकजना प्रहरीलाई कारबाही गरेर हाम्रो न्याय प्रणालीमा सुधार आउँँदैन । यसबाट समस्याको जड चिन्ने र समाधान गर्नेतिर हाम्रो ध्यान जाँदैन ।

राष्ट्रपतिको सवारीमा भएको कुटपिटमा त डाक्टर परेर अलि ठूलो चर्चा बढ्यो । किनकि पेशागत रूपमा डाक्टरहरू सेवाग्राही र समाजका अभिन्न अङ्गको रूपमा मानिन्छन् । तर एक सामान्य व्यक्तिलाई फरक प्रसङ्गमा कुटपिट भएको भए ती प्रहरी जवान कारबाहीमा पर्दैनथे । यस्ता कैयौं घटना गुपचुप बनाइन्छन् । अझ बेसहारा र दीनदुःखीमाथि यस्तो ज्यादती भए बोल्दिनेसम्म कोही हुँदैनन् ।

प्रहरीले चिकित्सक कुटेको सन्दर्भसँगै मैले एउटा पुरानो घटना सम्झिएँ । झण्डै पाँच वर्ष अगाडि मैले प्रत्यक्ष देखेको घटना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हो । म विदेश उड्दै थिएँ । विमानस्थलभित्र प्रवेश गर्न लामो लाइनमा थिएँ । टिकट छ/छैन भनेर चेक गर्दा लागेको लाम थियो । विदेशी पर्यटक पनि धेरै थिए त्यो लाइनमा । त्यत्तिकै बेला एकजना लगभग १२–१४ वर्षको केटा मैलो लुगामा हात अघि बढाउँदै पैसा माग्दै आइरहेका थिए । ती बालक मभन्दा १० मिटर पर थिए । एकजना प्रहरी इन्स्पेक्टर बालक भएतिर दौडिए र जोडले गालामा एक थप्पड हाने र भने, ‘ला तँलाई पैसा, साला बेइज्जत गर्छस् नेपालको माग्ने भएर, उता जा तुरुन्तै, नभए भेट्छस् फेरि ।’

ती बालक रन्थन्निएर अर्को बाटो लागे । विदेशी छक्क परेर हेरिरहे र नेपाली मूकदर्शक बने । मलाई अत्यन्तै नराम्रो लाग्यो र मैले ती इन्स्पेक्टरलाई रोक्दै भनें, ‘लाज त तपाईंलाई लाग्नुपर्ने हो त्यो बच्चालाई होइन, किनभने यी तपाईंले बच्चा कुटेको हेरिरहने पर्यटकहरूले सोचिरहेका छन् कि यो कस्तो देश हो जहाँ प्रहरीले सबै मानिसकै अघि बच्चा कुट्न पाउँछ, जहाँ बालअधिकारको रक्षा गर्ने प्रहरी नै अपराधी हुँदा रहेछन् ।’

ती इन्स्पेक्टर मेरो कुरा नसुनी ‘साला माग्नेहरू’ भन्दै भित्र गए । यात्राको बेला भएकोले पर्याप्त समय थिएन । यस्ता घटना कैयौं घटेका होलान् । त्यो बच्चामाथि भएको दुर्व्यवहार र कुटपिट जघन्य अपराध थियो, तर त्यो अपराधको न अपराधीको कारबाही हुनसक्यो न त ती निर्दोष बालकले न्याय पाए ।

पहिले पहिले प्रहरीसँग सर्वसाधारण जनता डराउने गर्दथे किनभने अपराध अनुसन्धान नगर्दै मानिसहरू समातेर कुटपिट गर्नु सामान्य मानिन्थ्यो । व्यवस्था परिवर्तन भएसँगै लोकतन्त्रका मूल्यमान्यता अनि पछिल्लो समय व्यवस्था परिवर्तनसँगै नयाँ कानुनहरू तयार भएका छन् जसले प्रहरी प्रशासनलाई अनुचित व्यवहार गर्न, कुटपिट गर्न छुट दिएको छैन । अनुचित व्यवहार गर्नु, कुटपिट र हातपात गर्नु अपराध हो भन्ने व्यवस्था नेपालमा कानुनी रूपमा भएतापनि व्यवहारमा भने कानुनको प्रयोग भएको पाइँदैन । प्रहरी प्रशासनले राम्रो उदाहरण आफैंबाट प्रस्तुत गर्दै यस्ता घटनाबाट प्रभावित जनतालाई पनि न्याय दिलाउन महत्वपूर्ण भूमिका खेल्नुपर्छ ।

अब पटक–पटक आपराधिक काम गर्ने छुट कसैलाई छैन । देशमा कानुनी राज हुनुपर्छ । कागजमा लेखिएको कानुनलाई व्यवहारमा प्रयोगमा ल्याउनुपर्छ । दैनिक रूपमा हाम्रो वरपर भइरहने हातपात, कुटपिट र दुर्व्यवहारका घटनालाई देख्ने बित्तिकै प्रहरीलाई खबर गर्नुपर्छ । दोषीलाई अदालती र कानुनी प्रक्रियाद्वारा कारबाही र पीडितलाई न्याय दिन पहल गर्नु हरेक सभ्य नागरिकको कर्तव्य हुन आउँछ । यसबाट अपराधी कसैगरी पनि उम्कन नपाउने राज्य व्यवस्थाको स्थापना गर्न मद्दत पुग्छ ।

सर्वसाधारण र नागरिकको न्यायको रक्षक र साथी भएर उभिन सक्नुपर्दछ प्रहरी, ताकि सबैले निर्धक्क भएर आफ्ना दुःख र अन्यायका घटना र पीडा प्रहरीलाई सुनाउन सकून् । प्रहरी प्रशासन जनताको जीवन सुरक्षा र न्यायका प्रतीक हुन् भन्ने आभास सबै जनमानसमा सिर्जना हुनसकोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?