+
+
एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड :

ग्राण्डस्लाम खेल्ने सपना देखेकी अभिलाषा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ९ गते १३:१४

९ फागुन, काठमाडौं । जस्तै टेनिस खेलाडीले पनि कुनै न कुनै बेला ग्रान्ड स्लाम खेलेको सपना त देख्दो हो । नेपाली वुमेन्स टेनिसकी नम्बर १ खेलाडी अभिलाषा विष्ट पनि अपवाद होइनन्, यस्तै सपना देख्छिन्। उनलाई मात्र होइन्, सबैलाई थाहा छ, यो ठूलै सपना पनि हो ।

तर पनि भर्खर १९ वर्ष पुगेकी अभिलाषा यो सपना पूरा गर्नकै लागि भनेर हिजो आज कठिन मिहिनेत पनि गरिरहेकी छिन् ।

उनको दिनचर्यामा टेनिस र टेनिस मात्रै छ ।

बिहानै टेनिस, बेलुकै टेनिस, साँझ पनि टेनिस । यति नगर्ने हो भने ग्रान्डस्लाम खेल्ने सपना कहाँ पूरा हुन्छ र ?

अभिलाषा भाग्यमानी पनि छिन्, किनभने उनलाई यो सपनामा साथ दिने परिवार छ । ललितपुरको सानेपामा हुर्किबढेकी अभिलाषा र उनको परिवार अचेल थैवमा बस्छन् । उनी र उनका दाइ अभिषेक सानैदेखि खेल माहोलमा हुर्के बढे । सेन्ट जेभियर्समा कुनै न कुनै खेल भइरहन्थ्यो । फुच्ची अभिलाषा टेनिसमा आकर्षित भइहालिन् ।

उनले खेल्न थालेको पनि हेर्दा हेर्दै १२ वर्ष भइसकेको छ । सफ्टवेयर इन्जिनियरिङको अध्ययन गरिरहेकी अभिलाषाले यसबीच टेनिसको कोर्टमा तय गरेको यात्रा आफैंमा निकै लोभलाग्दो छ नै यसमा गर्व पनि उक्तिकै गर्न सकिन्छ । आक्रामक हुँदै बेसलाइनबाट खेल्न रूचाउने अभिलाषा खासमा अलराउन्डर शैलीकी खेलाडी हुन् । नेपाली टेनिसमा उनीसँग जोडिएर धेरै थोक पहिलो पल्ट भएको छ । त्यसैले पनि उनी विशेष छिन् ।

जस्तो, उनी व्यावसायिक टेनिस खेलिरहेकी नेपालकै एक मात्र महिला खेलाडी हुन् । भर्खर जस्तै हो, उनी प्रो भएकी ।

अहिलेसम्म वरियता भने प्राप्त गरेकी छैनन् । तर जुनियर छँदा उनी विश्व वरीयताको ४ सय २८ औं स्थानसम्म पुगेकी थिइन् । यति धेरै उचाइमा पुग्ने पनि उनी एक्ली हुन् ।

पोखरामा भएको पछिल्लो राष्ट्रिय खेलकुदमा पनि उनले चार स्वर्ण जितेकी थिइन, आफू सहभागी भएको सबै स्पर्धामा । त्यो भनेको वुमेन्स सिंगल्स, डबल्स, मिक्स डबल्स र टिम स्पर्धा ।

यस्तो उपलब्धी चुम्ने पनि उनी नै टेनिसकी पहिलो खेलाडी हुन् । निकै मिजासिली अभिलाषाको खेलको सबैभन्दा ठूलो विशेषता हो, अनुशासन । अहिलेसम्म व्यावसायिक खेलाडी भएयता १५ हजार डलरका दुई प्रतियोगिता र २५ हजार डलर पुरस्कार राशीको एक प्रतियोगिता । क्ले कोर्टमा खेल्न बढी रूचाउने अभिलाषा यस्तै प्रतियोगिता खेल्दा खेल्दै अंक बटुल्दै शीखरसम्म पुग्न चाहन्छिन् ।

यिनै अभिलाषालाई नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७८ को पिपुल्स च्वाइस अवार्डका लागि मनोयन गरेको छ ।

उनीसँगै पाँच खेलाडी छन्, फुटबलका अञ्जन विष्ट, क्रिकेटका आसिफ सेख, भलिबलकी उषा भण्डारी र पौडीकी डुवान लामा । यो विधामा मनोनयमा पर्ने उनी टेनिसकै पहिलो खेलाडी पनि हुन् । उनी भन्छिन्, ‘मनोनयनमा परेको समाचार सुन्दा म निकै खुसी भएँ, अलि कति स्तब्ध पनि ।’

स्तब्धको कारण के ?

अभिलाषाले यत्तिको अपेक्षा पनि गरेकी थिइनन् । उनलाई के लाग्छ भने टेनिसबारे नेपाली खेलकुदमा कमै चर्चा हुन्छ, त्यसैले यस खेलका खेलाडीबारे पनि कर्म मात्र चर्चा हुन्छ । त्यसैले अभिलाषालाई अहिले गर्व पनि लाग्छ । तर यसको अर्थ यो होइन कि नेपाली टेनिसमा कसैले राम्रो गर्छ भने त्यो त्यत्तिकै ओझेलमा परोस । नेपाली खेलकुदले यिनै अभिलाषाबाट धेरै अपेक्षा राख्न सकिन्छ ।

उनी मनोनयनमा परेको यो विधाको विजेता भोटिङबाट चयन गरिने छ । खेल पत्रकार र राष्ट्रिय खेलका प्रशिक्षकले २५–२५ प्रतिशत मत राख्ने छन् भने इसेवामा गरिएको भोटिङबाट आएको मतको भ्यालु ५० प्रतिशत रहने छ । फागुन २३ मा पल्सर स्पोर्टस अवार्डको दिन विजेता घोषणा गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?