+
+
लघुवित्तको दलदल :

घरमा एकमुट्ठी चामल छैन, कसरी तिर्नु ऋण !

लघुवित्त र साहुलाई ऋण तिर्नुभन्दा पहिले भोक मेटाउन खोजिरहेकी उनले हामी निस्कँदै गर्दा भनिन्, ‘सर, भात पकाबेला घरमे एकमुठी चावल न बा, कर्ज कहाँसे तिर ?’

सागर चन्द विजय पराजुली सागर चन्द, विजय पराजुली
२०७९ फागुन १२ गते २२:१०

१२ फागुन, रौतहट । मध्यदिन भइसक्दा पनि इन्द्रदेवीले चुल्हो बाल्ने सुरसार गरेकी छैनन् । अघिल्लो दिन पाएको काउलीको झोल कराहीमा बाँकी छ । तर, त्यो झोलसँग खानका लागि भात छैन ।

२०५० सालमा बागमतीमा आएको बाढीले उठिबास लगाएपछि इन्द्रदेवी रामको परिवार ३० वर्ष अगाडि सरकारले बनाइदिएको दुईकोठे घरमा बस्छ । घर छाएको जस्तापाता चाल्नो जस्तो भइसकेको छ ।

लघुवित्त प्रभावितका कुरा सुन्न रौतहटको चन्द्रपुर नगरपालिका–७ नयाँबस्तीस्थित इन्द्रदेवी रामको पुरानो घरमा पुग्दा उनले सबैभन्दा पहिला आफ्नो घरको जर्जर अवस्था देखाइन् । अनि भनिन्, ‘सर, भात छैन ।’

अघिल्लो दिनको बचेको तरकारी देखाउँदै उनले फेरि दोहोर्‍याइन्, ‘सर, चावल छैन ।’

अभाव कतिसम्म छ भने चामल पाएको दिन उनको परिवार बिहानको खाना अपराह्न खान्छ । ‘बिहानको खाना दिउँसो ढिला गरी खायो भने साँझ खाना खानुपर्दैन’ ८ जनाको परिवारका लागि दुई छाक टार्न तीन किलो चामल चाहिन्छ । तीन किलो चामल किन्ने पैसा जुटाउन उनलाई हम्मेहम्मे छ ।

गरिबी र अभावमा रहेकी इन्द्रदेवी आधा दर्जन लघुवित्तकी ऋणी हुन् । नेपाली मुश्किलले बोल्न सक्ने उनलाई आफू कुन–कुन लघुवित्तकी ऋणी छु भन्ने समेत थाहा छैन ।

लघुवित्तको नाम समेत उच्चारण गर्न नसक्ने इन्द्रदेवीलाई छिमेकीले लघुवित्तको नाम सम्झाए । ‘डिप्रोक्स, आशा, नेशनल र मेरो माइक्रो फाइनान्स’को नाम सुनेपछि उनले टाउको हल्लाएर ऋण लिएको संकेत गरिन् । लघुवित्तबाट ऋण लिएका कागजात पनि उनीसँग छैनन् । कुन संस्थामा कति ऋण छ भन्ने त उनलाई हेक्कासमेत छैन । उनलाई एउटै डर छ, ‘सरहरू आउँछन्, बूढो विदेश जान पाउँदैन भन्छन् । छोराछोरीको नागरिकता बन्दैन भन्छन् ।’

श्रीमान् नारायण महरालाई वैदेशिक रोजगारीमा पठाउनकै लागि उनले ४० हजार रुपैयाँ ऋण लिएकी थिइन् । विवाह, ब्रतबन्धमा नाचगानको काम गर्ने इन्द्रका श्रीमान्को पासपोर्ट त बन्यो तर, विदेश जाने चाहना पूरा भएन । विदेश जान साढे दुई लाख रुपैयाँ लाग्ने भएपछि उनले श्रीमान्लाई विदेश पठाउन सकिनन् । 

घरमा खाने मानो छैन । छोराछोरी भोक लाग्यो भन्दै उनको वरिपरि झुम्मिन्छन् । उनी एकछिन, एकछिन भन्दै छोराछोरीलाई फकाउँछिन् ।

दैलोमा बसेर उनी भगवान गुहार्छिन् र गाउँमा आउने हरेक मान्छेलाई भन्छिन्, ‘सर, भात छैन ।’

लघुवित्तका कर्मचारीले उनको दयनीय अवस्था देख्दैनन् । ६ छोराछोरीसहित बसिरहेको छाप्रोमा ताल्चा लगाउने धम्की दिन्छन् ।

छोराछोरीको भोक मेटाउन नसकिरहेकी उनलाई यो असह्य हुन्छ । ‘ऋण खाएको छ के गर्नु’ इन्द्रदेवी निरीह छिन् ।

दिन बिराएर आउने लघुवित्तका कर्मचारीको धाकधम्कीबाट जोगिन भनेर उनी गाउँका महिलासँगै जंगल लुक्न जान्छिन् । तर जंगलमा लुक्न गएको समयमा कर्मचारीले आफ्नो घरमा ताला लगाइदिन्छन् कि भन्ने डरले सताइरहन्छ, उनलाई । ‘बैंकको सर, कालोचिट्ठा (कालोसूची)मा राखिदिन्छु । श्रीमान् विदेश जान पाउँदैन । नागरिकता खोसिन्छन् भन्नुहुन्छ’ उनलाई फेरि पनि भोककै चिन्ता छ, ‘घरमा चावल छैन के गर्ने ?’

चामल राख्ने टिनको भाँडो घोप्ट्याएर देखाइन् उनले । बोरामा रहेको चार माना जति चामल देखाउँदै उनले भनिन्, ‘यसले एकछाक पनि पुग्दैन ।’ यति चामल पनि उनले उधारो मागेर ल्याएकी हुन् ।

अघिल्लो दिन काउली मागेर ल्याएर छाक टारेकी थिइन् । उनलाई थाहा छ उधारो र मागेरै धेरै दिन पेट भर्न सकिंदैन ।

‘शादी (बिहे) हुँदा बुढाले अलिअलि पैसा कमाउँछ’ इन्द्रदेवीको परिवार पालिने एक मात्र स्रोत हो उनको श्रीमान्को नाचगान । अरू समयमा इँटाभट्टामा काम गर्छन् उनका श्रीमान् । श्रीमान्ले ल्याएको ‘दिहाडी’ले एक छाक भात खान पनि पुग्दैन । मरिमेटेर कमाएर ल्याएको दिहाडी पनि खोस्न आइपुग्छन् लघुवित्तका कर्मचारी ।

‘भित्रै (घर) छिरेर जति पैसा छ दे भन्छन्’ इन्द्रदेवीको केही सीप चल्दैन । छोराछोरीको जीउमा भएको लुुगा देखाउँदै उनले भनिन्, ‘ठण्डी भएपछि गाउँबाट मागेर ल्याएँ ।’

लेखपढ गर्न नसक्ने र जर्जर आर्थिक अवस्था भएकी उनलाई लघुवित्तले के गर्न भनेर ऋण दिए त ?

‘बिजनेस’ कनिकुथी नेपाली बोल्ने इन्द्रदेवीले एकाएक अंग्रेजी शब्द बोलिन् ।

‘के बिजनेस ?’ हामीले सोध्यौं ।

‘खेतीपाती’ उनले सीधा जवाफ फर्काइन् । आफ्नो नाममा एक हात जग्गा–जमिन नभएकी इन्द्रदेवी बसिरहेको घर–जग्गाको लालपुर्जा उनीसँग छैन ।

अलिकबेर कुरा गरेपछि उनले गुह्य कुरा खोलिन्, ‘बैंकको सरले ऋण लिने बेला बिजनेस भनेर माग भन्नुभयो ।’ छोराछोरीको भोक मेटाउनकै लागि उनले पनि ‘बिजनेस’ भनेर ऋण मागिन् ।

लघुवित्तका कर्मचारीले सिकाए अनुसार विवरण भरेकी उनले ऋण लिएको पैसाले श्रीमान्को पासपोर्ट बनाइन् । छोराछोरीलाई भात खुवाइन् । ऋण लिइसकेपछि व्यापार, व्यवसायमा लगानी गरे/नगरेको बुझ्न लघुवित्तका कर्मचारी उनको घरमा एक दिन पनि आएनन् । ‘पहिला आउनुभएन, अहिले ब्याज, किस्ता माग्न आउँछन्’, इन्द्रदेवीले सुनाइन् ।

सुरुमा १/२ वटा लघुवित्त समूहमा रहेकी उनलाई गाउँमा आएका लघुवित्तले अरूको भन्दा धेरै पैसा दिने भन्दै फकाएपछि उनी खुसी भइन् । नयाँ लघुवित्तबाट ऋण लिएर पुराना लघुवित्तको ऋण तिरेकी उनले बचेको पैसा घरखर्च चलाइन् । तर, ऋण तिर्नका लागि उनीसँग नियमित आम्दानी थिएन ।

लघुवित्तबाट लिएको ऋण तिर्नकै लागि उनले फेरि अर्को लघुवित्तबाट ऋण लिनुपर्ने बाध्यता आइलाग्यो । लघुवित्तले सहजै ऋण दिंदासम्म उनको कारोबार चलेकै थियो । तर बढ्दै गएको लघुवित्तको ऋण तिर्न पैसा नभएपछि उनले गाउँबाट चोटी ब्याज (मिटरब्याज) मा पैसा लिएर पनि किस्ता तिरिन् । तर त्यसरी कारोबार गर्दा कति चल्थ्यो र ?

कर्जा सूचना केन्द्रको व्यवस्था नहुँदासम्म लघुवित्तले अन्धाधुन्ध ऋण दिए । जसै लघुवित्तले कर्जा सूचना केन्द्रको प्रयोग सुरु गरे इन्द्रदेवीको कर्जा मात्र रोकिएन उनीमाथि ऋण तिर्नुपर्ने दबाव पनि बढ्यो । पछिल्लो करिब एक वर्षदेखि लघुवित्तका कर्मचारीबाट लुक्दै, भाग्दै हिंडिरहेकी उनलाई ब्याज समेत जोडेर आफ्नो ऋण कति पुग्यो थाहा छैन ।

हिउँदको शीत समेत छेक्न नसक्ने छानो भएको घरमा ६ बालबच्चा हुर्काइरहेकी उनलाई ऋणको भन्दा बढ्ता पीर भातको छ ।

उनलाई थाहा छ, ‘एक छाक भात खान पाएपछि दुई दिन बाँचिन्छ । बाँचेपछि ऋण तिर्न सकिन्छ ।’

लघुवित्त र साहुलाई ऋण तिर्नुभन्दा पहिले भोक मेटाउन खोजिरहेकी उनले हामी निस्कँदै गर्दा भनिन्, ‘सर, भात पकाबेला घरमे एकमुठी चावल न बा, कर्ज कहाँसे तिर ?’

लघुवित्तको दलदल
लेखकको बारेमा
सागर चन्द

विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?