+
+

नछाडौं आफ्नो सौख र रहर पनि

मनिषा थापा मनिषा थापा
२०७९ फागुन १२ गते २०:५१

काठमाडौं । मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुको दिन त धुलिखेल अस्पतालकै सेरोफेरोमा बित्छ । अक्सर उनी आफ्नो कार्यकक्षमा बसेर बिरामीको स्वाथ्य जाँच गर्ने, औषधि-उपचारका लागि सुझाव दिने गरिरहेका हुन्छन् । कहिले अपरेसन थिएटरमा त कहिले वार्डमा ‘राउन्ड’ लगाउँदैमा घाम डुब्छ ।

त्यसपछि उनी ‘चिकित्सक’बाट आफूलाई अलग गरेर मनमौजी संसारमा रमाउन थाल्छन् । ब्रस र रंग लिएर क्यानभासमा चित्र बनाउने हो कि छोराहरुसँग गिटार बजाउँदै गीत गाउने हो ? मुड र मर्जीअनुसार उनी आफैंमा रमाइरहेका हुन्छन् । आफ्नो पेसामा जतिसुकै धपेडी भएपनि उनले आफ्ना सौख र रहरलाई त्यागेका छैनन् ।

सिनामंगलमा अप्टिकल व्यवसाय गरिरहेका दीपक राईको कथा पनि उस्तै छ । किशोर उमेरमा उनलाई गायक बन्ने रहर थियो । तर उमेर बढ्दै जाँदा व्यावहारिक जीवन चलाउने मेलोमेसो खोज्नुपर्ने भयो । अन्ततः उनले आफ्नै व्यवसाय सुरु गरे । यसैबाट अहिले उनको पारिवारिक गुजारा चलेको छ ।

यद्यपि दीपकको दैनिकी चस्मा पसलमा मात्र बित्दैन । उनी यसबीचमा कहिले गीत सिर्जना गर्ने, रेकर्ड गराउने कुरामा तल्लीन हुन्छन् भने कहिले फुटसलमा रमाइरहेका हुन्छन् । खासमा उनी फुटबल क्लब ‘चेल्सी’का डाइहार्ट फ्यान हुन् । यसको फ्यान क्लबमा आवद्ध उनी विश्वस्तरका कुनैपनि फुटबल प्रतियोगिता हेर्न छुटाउँदैनन् ।

‘जतिसुकै कामको चाप भएपनि वा कमाइको अवसर भएपनि म गीत कम्पोज गर्न, फुटबल हेर्न, फुटसलमा खेल्न छुटाउँदिन,’ दीपक भन्छन्, ‘आफ्नो सौख र रहरहरु चटक्कै छाड्न सकिन्न ।’

सौख र रहरले जीवनलाई उत्साहित बनाइरहन्छ

खासगरी पढाइ र करिअरतर्फ केन्द्रित हुँदै जाँदा मान्छेको सौख र रहरहरु छुट्न थाल्छ । त्यससँगै उमेर बढ्दै जाँदा घर गृहस्थी, छोराछोरी, श्रीमान–श्रीमतीमाथिको दायित्व थपिन्छ । र, घर व्यवहार मिलाउने क्रममा उनीहरुले आफ्नो सौख र रुचि छाड्नुपर्ने बाध्यता आइलाग्न सक्छ । अनि मान्छे यन्त्र मानव झैं व्यावहारिक काममा खटिन थाल्छन् ।

जसकारण धेरैजसो आफ्नो काममा रमाउन सक्दैनन्, उनीहरुको दैनिकी पट्यारलाग्दो हुन थाल्छ । जीवनमा पैसा र करिअर मात्र सबैथोक हुँदैन । जीवनलाई जीवनजस्तै बनाइराख्न आफ्ना सौख र रुचिलाई पनि अँगाल्नुपर्ने हुन्छ । यसले मान्छेलाई सधैं उत्साहित, रचनात्मक बनाइराख्न सहयोग गर्छ । यति मात्र नभई यसरी रहर र सौखयुक्त जिन्दगी बाँच्नु वैज्ञानिक दृष्टिकोणबाट पनि उत्तिकै अर्थपूर्ण रहेको देखिन्छ ।

मुटुरोग विशेषज्ञ प्रा. डा. कोजु व्यक्तिको रुचि र व्यावसायिक यात्रालाई सँगै लिएर जान सक्ने व्यक्ति शारीरिक र मानसिक रुपमा स्वस्थ हुने बताउँछन् । ‘रुचिको कामलाई नै पेसा बनाउन सक्नु ठूलो उपलब्धि हो, बनाउन नसके त्यसलाई नछोडी सँगै लिएर जानु आत्मसन्तुष्टि हो,’ उनी भन्छन् ।

आफ्नो रहर र मनमा लागेका कुरा एकपटकको जुनीमा पूरा गर्नुपर्छ भन्ने उनको मान्यता छ । पेसा मात्र जीवन होइन भन्ने कुराको महत्व कोभिड सुरु भएपछि अनुभव गरेको उनी सुनाउँछन् ।

‘पहिला काम मात्र हुँदा आफूलाई लागेका रुचिबारे सोच्ने समय नै हुन्थेन । जब कोभिड सुरु भयो त्यो समय अलि फुर्सदको भयो । त्यसबेलामा आफ्नो रुचिका काम पनि गर्नुपर्छ भन्ने लाग्यो । चित्र अलि बढी कोर्न थालें,’ उनी डा. कोजु सुनाउँछन् ।

डा. कोजु साँझ घर फर्केपछि गीत गुन्गुनाउने, मेडिकलसम्बन्धी लेख लेख्ने, चित्र कोर्ने गर्छन् ।

डा. कोजुजस्तै आफ्नो पेसा र रुचिलाई सँगसँगै लगिरहेका छन् यादव राउतले पनि । उनी पेसाले निजामती कर्मचारी हुन् । जिल्ला प्रशासन कार्यालय, इलाममा प्रशासकीय अधिकृत छन् । राउत योग प्रशिक्षकको रुपमा समेत चिनिन्छन् । पेसासँगै उनले आफ्नो रुचिलाई पनि लागिरहेका छन् ।

बाइक स्टन्ट गर्ने, नयाँ नयाँ घुमफिर गर्ने राउतको किशोरावस्थादेखिकै सौख हो । तर त्यसलाई निरन्तरता दिएर जीवनयापन गर्न सहज नहुने देखेर उनले आफ्नो रुचिलाई एकातर्फ लगाएर भविष्य बनाउन कम्मर कसेर लागे र अहिले उनी अधिकृत भए । तर बिस्तारै उनले रुचिलाई पनि ध्यान दिनुपर्छ भन्ने बुझे । करिअर सुरु भएपछि अलिअलि समय निकाल्दै उनी योगा सिक्ने र सिकाउने, अध्ययन–अध्यापन गर्ने, समय निकालेर घुमफिर गर्न थाले ।

‘पेसासँगै मैले आफ्नो रूचिलाई पनि अघि लिएर हिंडेको छु, जसले मलाई कामपछि घर पुग्दा रुचिको काम गर्दा आराम मिल्छ,’ उनी भन्छन् । जति उमेर बढ्यो त्यति विचार पनि फराकिलो हुँदै सोच पनि बिस्तारै परिवर्तन हुँदै जाने उनी बताउँछन् ।

‘सुरुमा बाइक स्टन्ट र रेस नै नसाजस्तो थियो । उमेरअनुसार त्यो रुचि परिवर्तन हुँदै गयो र स्टन्ट गर्ने सौख बिस्तारै हराउँदै गयो । तर पनि बाइकमै घुम्न जान भने मलाई चौपट्टै मन पर्छ,’ उनी सुनाउँछन् । त्यससँगै नयाँ व्यक्ति भेट्नेदेखि आध्यामिक र योगातर्फ उनको रुचि समयसँगै बढ्दै गयो । जसलाई सन्तुलित गर्दै उनले लागिरहेका छन् ।

उनी भन्छन्, ‘आफ्ना इच्छा र पेसालाई सँगै लैजान अलिकति चुनौती भएपनि व्यवस्थापन गर्न जानियो भने जीवन अर्थपूर्ण र सुन्दर बन्दोरहेछ ।’

बिहान सबेरै उठेर नित्यकर्म गरेपछि योगा, ध्यानबाट राउतको दिनको सुरुवात हुन्छ । त्यसपछि योगाका कक्षा लिन्छन्, खाना खाएपछि कार्यालय पुग्छन् । कार्यालयमा काम सकेपछि साँझ कक्षा छ भने लिने नत्र विभिन्न पुस्तक पढ्ने, लेख्ने, ब्लग हेर्ने गर्छन् । साँझ ८ बजे खाना खाएर परिवारसँग घुलमिल गरेर १० बजे ओछ्यानमा पुग्छन् उनी । छुट्टी भएको बखतमा मौका मिले र भ्याएसम्म बाइकबाट नै टाढादेखि नजिकका पुगे नपुगेका स्थल घुम्न जाने गर्छन् उनी ।

‘हेर्दा भ्याइनभ्याइजस्तो दिनचर्या देखिएपनि आफ्नो रुचिकै कुरालाई सार्थकता दिंदै अघि बढेको छु  । खाली समय बिहान र बेलुकीको योगाका कक्षा लिंदा आफूले विश्राम लिएको जस्तो आनन्द महसुस हुन्छ,’ उनी भन्छन्, ‘रुचिको काम गर्न पाउँदा थकाइ महसुस नै हुँदैन । बरु थप शरीरमा उत्साह र ऊर्जा थपिन्छ ।’

पेसामा मात्र ध्यान दिंदा मानिस एकोहोरो हुने, मुड बिग्रिने, तनावग्रस्त भइराख्न सक्ने हुँदा सकेसम्म आफ्नो रुचिलाई पनि समावेश गर्न सकियो भने जीवन खुसी हुने उनी बताउँछन् ।

लेखकको बारेमा
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?