+
+

‘दलले औजार बनाइराख्ने हो भने नेविसंघ भंग गरे हुन्छ’

नेतृत्व आफैं छनोट गर्न नसक्ने संगठनले विद्यार्थीको हकहित र शैक्षिक विकासमा योगदान गर्ने आशा कति गर्न सकिएला ? विश्वविद्यालयभित्र हुने नकारात्मक काम र गुण्डागर्दीमा कुनै न कुनै संगठन संलग्न हुनु विद्यार्थी आन्दोलनका लागि लज्जा हो ।

यादव पण्डित, पूर्व महामन्त्री, नेविसंघ यादव पण्डित, पूर्व महामन्त्री, नेविसंघ
२०७९ फागुन १५ गते ९:२९

नेपाल विद्यार्थी संघमा क्रियाशील हुँदै पार्टी राजनीतिमा प्रवेश गर्नेहरूको संख्या नेपाली कांग्रेसमा उल्लेख्य छ । कांग्रेसको वर्तमान केन्द्रीय समितिमा पूर्व विद्यार्थी नेताहरूको बाहुल्य छ । विद्यार्थी राजनीतिबाट पार्टी केन्द्रमा पुग्ने, अवसर हुँदाहुँदै पनि व्यक्तिगत र पार्टीभित्रकै कारणले सक्रिय राजनीति छोड्ने साथीहरू पनि कांग्रेसमा उत्तिकै हुनुहुन्छ ।

नेपाल विद्यार्थी संघका अध्यक्ष र महामन्त्री मध्ये धेरै जना अहिले मूल नेतृत्वमा हुनुहुन्छ । विगतको स्मरण गर्दा सक्रिय राजनीतिमा क्रियाशील राखेको भए म पनि पदाधिकारीमा हैसियत बनाउने थिएँ कि भन्ने सोच यदाकदा आउँछ । २०५७ सालमा एउटै कार्यसमितिमा रहेर काम गरेको विश्वप्रकाश शर्मा हाल महामन्त्री हुनुहुन्छ । त्यस समय महामन्त्री रहेको म नेविसंघ हुँदै पार्टी राजनीतिलाई निरन्तरता दिएको भए उपल्लो तहमा पुग्ने थिएँ कि भनेर सोच्नु मनासिव पनि हो ।

अध्ययनको क्षेत्रलाई थप फराकिलो बनाउन म विदेशिएँ । तथापि, विगत सम्झेर पश्चाताप छैन । विद्यार्थीको हकहितका लागि राजनीति गर्दैगर्दा आफ्नो अध्ययनको दायरा पनि विस्तार गर्नुपर्छ भन्ने मान्यता ममा थियो । नेविसंघको महामन्त्री हुने समयमा नै त्रिभुवन विश्वविद्यालयबाट भौतिकशास्त्र एमएस्सीको अध्ययन पूरा गरिसकेको थिएँ । काठमाडौं विश्वविद्यालयबाट एमफिलको अध्ययन सकेको थिएँ ।

२०५९ सालमा नेविसंघकोे पदीय भूमिकाबाट बिदा हुनुपरेकाले मेरो सामु निर्णय छनोट गर्ने विकल्प दुई वटा मात्रै थिए । गृह जिल्ला प्युठान गएर कांग्रेस राजनीतिमा भूमिका खोज्ने वा नेपालभित्रै वा बाहिर भौतिकशास्त्र विषयमा अध्ययन वा अध्यापनको अवसर खोज्ने ।

तत्कालीन समयमा माओवादीद्वारा सञ्चालित सशस्त्र युद्धले प्युठानमा गएर राजनीति गर्ने अवस्था थिएन । कांग्रेसका केन्ऽ र जिल्लास्तरीय अधिकांश नेता-कार्यकर्ता जिल्ला सदरमुकाम वा बाहिर कष्टकर जीवन बिताइरहेका थिए । कांग्रेसको राजनीति गर्न वातावरण प्रतिकूल थियो ।

नेविसंघको केन्द्रीय राजनीति गरेको मेरो लागि आफूले खोजे जस्तै जिम्मेवारी पद प्राप्त गर्ने अवस्था पनि थिएन । नेविसंघको अध्यक्षमा पराजित भएको ताजा अवस्था छँदैथियो । यद्यपि, जिल्लामा नेविसंघ र कांग्रेसको संगठन विस्तारमा महत्वपूर्ण काम गरेको हुनाले २०औं वर्षपछि पनि प्युठानले मलाई विद्यार्थी नेताका रूपमा सम्झना गरिरहन्छ भन्ने लाग्छ । किनकि नेविसंघको केन्द्रीय नेतृत्वमा प्युठानबाट स्थान बनाउने पहिलो विद्यार्थी नेता म थिएँ ।

त्यो बेला भौतिकशास्त्र विषयमा नेपालमा विद्यावारिधिको कार्यक्रम सुरु भएको थिएन । थप अध्ययन अघि बढाउन नेपालमा सम्भव नहुँदा कुनै क्याम्पसमा प्राध्यापन गर्नु एउटा विकल्प थियो । जिल्ला गएर राजनीति गर्ने र क्याम्पसमा प्राध्यापन गर्ने विकल्प छोडेर मैले विदेशिने निर्णय लिएँ । अमेरिकामा पीएचडी अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेको थिएँ । यसरी अध्ययनका लागि म विदेशिएँ ।

एकजना विज्ञानको त्यो पनि भौतिकशास्त्रको विद्यार्थी भएकाले जहिले सामना गर्नुपरेको प्रश्न विद्यार्थी राजनीतिमा क्रियाशीलका विषयमा हो । विद्यार्थी राजनीतिमा क्रियाशीलताले मेरो अध्ययनमा परेको असरका बारेमा मैले विभिन्न प्रश्नको सामना गर्नु परिरहेको थियो । कक्षामा प्रथम हुने अधिकांश विद्यार्थी राजनीतिमा संलग्न छैनन् । कक्षामा प्रथम र विज्ञानको विद्यार्थी राजनीतिमा संलग्न हुने थोरैमा म परेकोमा खुशी नै लाग्दछ ।

विद्यार्थी राजनीतिलाई आकर्षक बनाउने काम पनि संगठनमा आवद्ध नेताहरूलेे गर्ने हो । हामीकहाँ विडम्बना छ, प्रायः सबैजसो विद्यार्थी नेता पार्टी राजनीतिमा आˆनो ठाउँ बनाउन लागिपरेको देखिएको छ । विद्यार्थी राजनीति सँगसँगै कति जनाले आˆनो शैक्षिक योग्यता विस्तार गरेका छन् भनी राखिएको जिज्ञासाले निराश बनाउँछ । विद्यार्थी राजनीतिमा सँगै काम गरेका साथीहरूमा कतिपयले प्रशासनिक, अनुसन्धान संस्था, शैक्षिक प्रतिष्ठान र विश्वविद्यालयको नेतृत्व गरिरहेको हुनुपर्ने हो । तर, त्यस्तो विरलै देख्न पाइएको छ ।

सन्देहको घेरामा विद्यार्थी राजनीति

आजको विद्यार्थी राजनीति सन्देह र प्रश्नहरूले घेरिएको छ । शैक्षिक क्षेत्रमा अनावश्यक राजनीति भित्रिएको छ । पार्टी राजनीति विश्वविद्यालय तथा क्याम्पसमा प्रवेश गर्दा शैक्षिकस्तरको गुणस्तर खस्किंदो छ । प्राज्ञिक क्षेत्रमा राजनीति हावी हुँदा त्यसको उपादेयतामाथि प्रश्न उठ्छ । अनुसन्धान गर्ने निकायले आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैन ।

सरकारी विश्वविद्यालयको वर्तमान अधोगतिको मुख्य कारण विद्यार्थी राजनीतिलाई जिम्मेवार ठानिएको छ । विद्यार्थी संघ-संगठन आˆनै संस्थाको नियमित संगठनात्मक गतिविधि आफैं गर्न नसक्ने वा नपाउने अवस्था निर्माण भएको छ । धेरै विद्यार्थी प्रतिनिधित्व गर्ने नेविसंघ, अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) सबैको अवस्था उस्तै छ । नियमित अधिवेशन गर्न असमर्थ छन्, उनीहरू पार्टी नेतृत्वले अध्यक्ष तोकिदिनुपर्ने अवस्थाबाट गुज्रिनु परेको छ ।

आफ्नो नेतृत्व आफैं छनोट गर्न नसक्ने संगठनले आम विद्यार्थीको हकहित र समग्र शैक्षिक विकासमा योगदान गर्ने आशा कति गर्न सकिएला ? विश्वविद्यालयभित्र हुने हरेक नकारात्मक काम र गुण्डागर्दीमा कतै न कतै कुनै न कुनै विद्यार्थी संगठन संलग्न हुनु विद्यार्थी आन्दोलनका लागि लज्जा हो ।

सिर्जनशील कार्यमा विद्यार्थी संघ-संगठनको बीचमा प्रतिस्पर्धा भएको सुन्न पाइँदैन । यस कारण विद्यार्थी राजनीतिको कार्यलाई पुनः परिभाषित गर्नु आवश्यक छ । राजनैतिक दलहरूको बल प्रयोग हुने औजारका रूपमा मात्रै रहने हुन् विद्यार्थी संघ-संगठन भने यो भंग गरे हुन्छ । राजनीतिक दललाई वैचारिक रूपले डोर्‍याउनेे, विश्वविद्यालयको शैक्षिक उन्नयनमा योगदान दिने र संगठनात्मक रूपमा स्वतन्त्र रहने विद्यार्थी संगठनले मात्रै आफ्नो औचित्य कायम राख्न सक्दछ ।

अमेरिकामा विद्यार्थी संघ/संगठन

अमेरिकाका अधिकांश विश्वविद्यालय र कलेजहरूमा नेपालमा हुने जस्तो ‘स्वतन्त्र विद्यार्थी युनियन’को जस्तो तामझामपूर्ण निर्वाचन हुँदैन । तर, विद्यार्थी संघ-संगठन भने क्रियाशील हुन्छन् । ‘स्टुडेन्ट गभर्मेन्ट’ को चुनाव हुन्छ । निर्वाचितहरूले विश्वविद्यालयका विभिन्न विभाग र नीतिगत तहमा प्रतिनिधित्व गर्दछन् । आर्थिक स्रोत र क्रियाशीलताका आधारमा कुनै कुनै विश्वविद्यालयमा अति शक्तिशाली ‘स्टुडेन्ट गभर्मेन्ट’हरू छन् ।

‘कलेज डेमोक्र्याट’ र ‘कलेज रिपब्लिकन’ नाममा डेमोक्र्याट र रिपब्लिकन पार्टी सम्बद्ध विद्यार्थी संगठन अधिकांश्ा विश्वविद्यालय र कलेजमा क्रियाशील छन् । तर ‘स्टुडेन्ट गभर्मेन्ट’ को चुनावमा विद्यार्थी संगठनबीचमा प्रतिस्पर्धा हुँदैन । व्यक्तिगत रूपमा चुनाव हुन्छ । राजनैतिक विचारधारा मात्रै होइन, अन्य भिन्न-भिन्न उद्देश्य र कार्यक्रम भएका धेरै विद्यार्थी संघ-संस्था पनि यहाँ क्रियाशील छन् । यी संघ-संस्थाको कार्यक्रममा विश्वविद्यालय प्रशासन सहयोगी हुन्छ । प्राध्यापकहरूले सल्लाहकारको रूपमा सहयोग गर्दछन् । अमेरिकामा विश्वविद्यालयभित्रका सबै संघ-संस्था आफैंमा स्वतन्त्र र स्वशासित छन् ।

नेपाली विद्यार्थी भएका अधिकांश कलेजमा ‘नेपाली विद्यार्थी संघ’ गठन भई क्रियाशील हुँदै आएका छन् । नेपाली विद्यार्थी संघ गठन हुनुको उद्देश्य नेपाली संस्कृति जगेर्नाका लागि हुने गरेको छ । सन् २००६ मा मेरो समेत सक्रियतामा केन्ट स्टेट युनिभर्सिटीमा ‘केन्ट नेप्लिज स्टुडेन्ट एशोसिएसन’ गठन गरिएको थियो । क्रियाशील संस्थाहरूमा निरन्तर सहयोगी र प्रभावकारी विद्यार्थी संस्थाका रूपमा यो सञ्चालित छ ।

(परमाणु विज्ञानमा विद्यावारिधि गरेका पण्डित हाल अमेरिकामा प्राध्यापनरत छन् । अनलाइनखबरका लागि लिलु डुम्रेसँगको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?