१८ फागुन, काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले ठेकेदारको उपेक्षाको कारण कमलविनायक-नगरकोट सडक मर्मत अलपत्र परेको भन्दै अब सरकारले नसहने बताएका छन् ।
आज सडक अनुगमन गर्न गएका श्रेष्ठले स्थानीयसँग कुरा गर्दै भने, ‘अरु कारणले होइन, ठेकेदारको उपेक्षाले हो, अब हामी सहदैनौं ।’
जनताले गरेको गुनासो जायज भएको भन्दै उनले अब काम गरेर देखाउने बताए । ‘चिन्ता र चासो व्यक्त गर्ने ठाउँछ, त्यसकारण जनतालाई हामीले सम्मान गर्नुपर्छ,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘तर यो काम चाहिँ हुनुपर्छ । काम हुन्छ ।’
कमलविनायक-नगरकोट सडकखण्ड शैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको छ । पटक-पटक म्याद थप्दा पनि काम सम्पन्न नहुँदा यो रुग्ण आयोजनामा परेको छ । निर्माणको ढिलासुस्तीबाट जनताले वर्षौंदेखि सास्ती खेपिरहेका छन् ।
जनगुनासो बढेपछि मन्त्री श्रेष्ठसँगै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका डिजी, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधिसहितको टोलीले सडक अनुगमन गरेको हो ।
यो सडक आयोजनामा भारतीय एक्जिम बैंकको आर्थिक सहयोग रहेकाले स्थलगत अनुगमनमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सडक अनुगमन टोलीमा सहभागी छन् ।
कमलविनायक, भत्केको पाटीदेखि नगरकोटसम्मै पुगेर सडकको स्थलगत अनुगमन हुने उपप्रधानमन्त्री श्रेष्ठका प्रेस संयोजक कमल गिरीले जानकारी दिए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4