+
+
अन्तर्वार्ता :

‘बीमितलाई कम प्रिमियममा उच्च प्रतिफल दिएका छौं’

प्रकाश बिक्रम खत्री (प्रमुख कार्यकारी अधिकृत, सूर्यज्योति लाइफ इन्स्योरेन्स) प्रकाश बिक्रम खत्री (प्रमुख कार्यकारी अधिकृत, सूर्यज्योति लाइफ इन्स्योरेन्स)
२०७९ फागुन १९ गते २०:१८

काठमाडौं । नेपालमा पहिलो मर्जर गर्न सफल जीवन बीमा कम्पनी हो– सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी । सूर्यलाइफ र ज्योति लाइफ मर्जर भएर सूर्यज्योति लाइफ इन्स्योरेन्स बनेको हो ।

७ पुसदेखि एकीकृत कारोबार सुरु गरेको यो कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशबिक्रम खत्री छन् । जीवन बीमक संघको महासचिव समेत रहेका उनी अर्थतन्त्रमा मन्दी आउँदा जीवन बीमा व्यवसाय पनि प्रभवित बनेको बताउँछन् ।

सीईओ खत्रीसँग बीमा क्षेत्रको समग्र विषयमा अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश :

जीवन बीमा मर्जरमा कस्ता चुनौतीहरु छन्, त्यसको सामना कसरी गर्नुभयो ?

बीमा प्राधिकरण (साविक बीमा समिति) ले बीमा कम्पनीको चुक्ता पूँजी वृद्धि गर्ने योजना ल्याएपछि कम्पनीहरुले कम अवधिमै धेरै पूँजी बनाउनुपर्ने भयो । जोति लाइफको आईपीओपछि चुक्ता पूँजी २ अर्ब २० करोड रहेकोमा बोनस सेयर जारी गर्दा २ अर्ब ४२ करोड पुगेको थियो । अब त्यसलाई ५ अर्ब पुर्‍याउनुपर्ने भयो । अरु कम्पनीको पनि अवस्था त्यस्तै थियो ।

संसारभर नै जीवन बीमा कम्पनीको मर्जर चुनौतीपूर्ण प्रक्रिया हो । जीवन बीमाको दायित्व दीर्घकालीन हुने भएकाले मर्जरमा त्यसको भ्यालुएसन कसरी गर्ने, के कुरालाई आधार मान्ने भन्ने द्विविधा हुन्छ नै । व्यवस्थीत भइसकेको दुई कम्पनीका शाखा र जनशक्ति व्यवस्थापनमा चुनौती हुन्छ ।

अब मर्जरमा जाने नै हो भन्नेमा हरेक सञ्चालक र व्यवस्थापनको माथिल्लो तह स्पस्ट भएमात्र यो काम सहज हुने रहेछ । त्यसमा ज्योति लाइफ र सूर्य लाइफ सफल भयो । ठूलो कम्पनी भएर प्रस्तुत हुँदा बजारमा नयाँ पहिचान बनाउन, उत्कृष्ट कम्पनी हुन सक्छौ भन्नेमा प्रस्ट भएपछि सफलता पाइयो ।

यसक्रममा प्राविधिक समस्याहरु आए नै । भ्यालुएसन गर्दा दुवै कम्पनीको वास्तविक भ्यालु निकाल्न धेरै प्राविधिक विज्ञता र समय लाग्ने चाहिने रहेछ । दुई फरक बीमाङ्कीय मूल्यांकनर्तालाई भ्यालुएसन गर्न दिएर त्यसलाई दुवै कम्पनीले रिभ्यु र सहमति गरेर अगाडि बढियो ।

हेराइ र बुझाइमा कम्पनीको भ्यालुएसन कम वा बढी हुनसक्छ । हामीले प्राविधिक रुपमा निकालिएको भ्यालुएसनले १००ः८२.४५ सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) निर्धारण गर्यौं । त्यसमा दुबै कम्पनीका संस्थापक र बोर्डको सहमति भएर मर्जर अगाडि बढ्यो ।

कर्मचारी समायोजनमा कुन सूर्य, कुन ज्योति भन्दा पनि कसलाई कुन जिम्मेवारी दिंदा सही मान्छे सही ठाउँमा पुग्छ भन्ने हिसाबले गर्‍यौं । कार्यदक्षता र अनुभवलाई कर्मचारीको स्थान निर्धारक बनायौं ।

जति राम्रो काम गर्ने भएपनि मर्जर भन्नासाथ कर्मचारीमा भविष्य के होला, कुन शाखा पुगेर काम गर्नुपर्ने हो भन्ने असुरक्षाभाव र द्धविधा हुने रहेछ । त्यसलाई हामीले राम्ररी व्यवस्थापन गर्न सक्छौं । ७ पुसदेखि बन्ने सूर्यज्योति लाइफ कस्तो हुन्छ भनेर पहिल्यै स्पस्ट पार्‍यौं ।

मर्जरमा सबभन्दा ठूलो चुनौती चाहिं ‘माइन्ड सेट’ हो ।

त्योसँगै स्वेच्छिक अवकास योजना पनि ल्यायौ । बीमा क्षेत्रमा धेरै वर्ष भयो, अब अरु क्षेत्रमा काम गर्छु भन्नेहरुलाई राम्रो अवसर दियौ । त्यसरी ९० जनाजति बिदा हुनुभयो । अवकास योजनापछि सूर्यज्योति लाइफमा ६५० कर्मचारी हुने भयौं । यसरी सहज रुपमा कर्मचारी व्यवस्थापन भयो ।

कुन शाखा राख्ने, कुन नराख्ने भन्ने निधो मर्जर अगाडि नै भएको थियो । त्यसअनुसार १८१ शाखा छन् । बढी व्यवसाय हुने ठाउँमा अहिले पनि दुई वटा शाखा छन् ।

मर्जरमा सबभन्दा ठूलो चुनौती चाहिं ‘माइन्ड सेट’ हो । ज्योति लाइफ जम्मा ५ वर्ष पुगेको, एउटा पारामा चलेको कम्पनी । उता सूर्य लाइफ १५ वर्षको इतिहास बनाइसकेको कम्पनी । यस्ता दुई कम्पनीको उच्च व्यवस्थापनले मर्ज भएर अगाडि बढ्नेमा दुवै टिमलाई पहिला नै विश्वस्त पार्दा यो ‘माइन्ड सेट’को चुनौती चिर्न सफलता मिल्यो ।

बीमामा सेयरहोल्डर र कर्मचारीबाहेक अभिकर्ता र बीमित पनि हुन्छन् । मर्जरपछि बनेको ठूलो कम्पनीप्रति अभिकर्ता र बीमितको प्रतिक्रिया कस्तो छ ?

अभिकर्ताहरुको राम्रो प्रतिक्रिया छ । पहिलेभन्दा अहिले बजारमा जान धेरै विकल्प भयो । सेवासुविधा पनि दुई कम्पनी सूर्य र ज्योतीको सूर्यज्योतिमा ल्याएर जोड्दा बढी नै हुने भयो । त्यसलाई घटाइएको छैन । यसबाट अभिकर्ताहरु उत्साहित भएको पाएका छौं ।

दुई कम्पनी मर्ज हुँदा पूँजीकोष बलियो बनेर स्टेकहोल्डरलाई लाभ भयो । लगानीकर्तालाई कस्तो लाभ हुन्छ ?

मर्जरले सूर्य ज्योतिका सबै स्टेकहोल्डरलाई कुनै न कुनै रुपले फाइदा गराउँछ भन्ने लाग्छ ।

सूर्य र ज्योति मिलेर सूर्यज्योति लाइफ बन्दैगर्दा जीवन बीमा कोष २३ अर्बको भएको छ । कुल लगानी ३० अर्बको पुगेको छ । दोस्रो त्रैमासको वित्तीय विवरणमै मर्जरको प्रभाव देखिन लागिसकेको छ । वित्तीय विवरणमा अहिले नै सूर्यज्योति नाफाको माथिल्लो स्थानमा छ । त्यसको लाभ सेयरधनी र अन्य स्टेकहोल्डरलाई पनि जान्छ । मर्जरपछि बनेको कम्पनीको रिजर्भको सम्पूर्ण फाइदा सेयरधनीले नै पाउने हो ।

अहिले आर्थिक वर्ष २०७८/७९ को ब्यालेन्ससिट फाइनल गर्ने काम हुँदैछ । त्यसलाई हेर्दा पनि सेयरधनीहरुले हरेक वर्ष राम्रो प्रतिफल पाउने अवस्था बनिसकेको देखिन्छ ।

अर्थतन्त्र मन्दीमा छ । यस्तो अवस्थाको बीमा बजारमा सूर्यज्योति कहाँ छ ?

अर्थतन्त्रमा देखिन थालेको मन्दीले हर क्षेत्रका व्यवसायलाई प्रभाव परेको छ । यसको केही प्रभाव जीवन बीमा क्षेत्रमा पनि परेको छ । जहाँसम्म सूर्यज्योतीको सवाल छ, मर्जरपछि आजको दिनमा प्रथम बीमा शुल्कको आधारमा शीर्ष ३ र कुल प्रिमियमको आधारमा शिर्ष ६ कम्पनीमा आइसकेको छ । यो मर्जरले नै सम्भव भएको हो ।

बढ्दो महँगीले नागरिकको क्रयशक्ति कमजोर बन्दै गएको छ । अगामी दिनमा प्रिमियम भुक्तानीमा समस्या भएर पोलिसी ल्याप्स र सरेन्डर बढ्ने जोखिम छैन ?

पोलिसी ल्याप्स र सरेन्डर भनेको शर्त तथा व्यवस्थाभित्र नै रहेर हुने हो । बीमा पोलिसी सरेन्डर हुँदैमा बीमा कम्पनीलाई घाटा नै हुन्छ भन्ने पनि होइन । कम्पनीले एउटा अवसर, ग्राहक गुमाउँछ, तर पोलिसी सरेन्डर हुँदैमा घाटा नै हुन्छ भन्ने छैन ।

पोलिसी ल्याप्स र सरेन्डरको जोखिमलाई प्रिमियममा नै थप गरिसकेको हुन्छ । १ हजार बीमा पोलिसी बिक्री गर्दा यति सरेन्डर र यति ल्याप्स हुन सक्छ भनेर बीमा प्रिमियम तय गर्दा नै त्यसलाई व्यवस्थापन गरिएको हुन्छ ।

यसो भनेर ल्याप्स र सरेन्डर केही होइन भन्न खोजेको होइन । यसलाई उच्च प्राथमिकतामा राखेर न्यूनीकरण गर्नुपर्छ । गत आर्थिक वर्षको तुलनामा चालु आवमा आर्थिक गतिविधि कमजोर हुँदा ल्याप्स र सरेन्डर केही बढेको पनि देखिन्छ । बजारमा जुन दरमा ल्याप्स र सरेन्डर पोलिसी बढेको छ, सूर्यज्योतिमा त्यो मात्रामा छैन । दैनिक नवीकरण बीमा शुल्क पनि राम्रै संकलन भइरहेको छ ।

बजारमा धेरै जीवन बीमा कम्पनी छन् । बीमा गर्न सूर्यज्योति लाइफकै पोलिसी किन रोज्ने ?

सूर्यज्योति लाइफसँग भएको बीमा पोर्टफोलियो अरु कम्पनीसँग सायदै छ । कम पैसा तिरेर सुरक्षाको लागि मात्रै गर्ने बीमा पोलिसी पनि सूर्यज्योति लाइफको छ । ज्योति लाइफबाट सुरु भएको ३५ वटा घातक रोगविरुद्ध ५० लाख रुपैयाँसम्मको बीमा सुविधा हामी अहिले पनि दिन्छौ । यो पोलिसी अरु कम्पनीसँग छैन ।

बोनस दर कम होला, तर यस्तो उच्च प्रतिफल सूर्यज्योतिले सिर्जना गरेको छ ।

दुईवटा स्थापीत बीमा कम्पनीको दुई पोर्टफोलियो मिलाउँदा नै बजारमा राम्रो बीमा पोलिसी दिन सक्ने भयो । सूर्यज्योतिले पोलिसी होल्डरलाई राम्रो महत्व दिएको छ । यति लगानी गर्दा कति प्रतिशत बोनस पाइन्छ भनेर सोधिन्छ, तर सूर्यज्योतिले पोलिसी होल्डरलाई उच्च महत्व सिर्जना गराएको छ ।

१०० रुपैयाँ तिरेर ११० पाएको छ कि ८० तिरेर १०५ रुपैयाँ पाएको छ, त्यो हेर्नुपर्छ । बोनस दर कम होला, तर यस्तो उच्च प्रतिफल सूर्यज्योतिले सिर्जना गरेको छ ।

घातक रोगविरुद्ध ५० लाखसम्मको सुरक्षा भन्नुभयो । यो कस्तो बीमा योजना हो ?

बीमितलाई क्यान्सर लगायत ३५ प्रकारका घातक रोग लाग्यो भने अधिकतम ५० लाख रुपैयाँसम्मको सुरक्षा तत्काल दिन्छौं । त्यो पनि उपचार गरेको बिल ल्याएपछि होइन, रोग लागेको पुष्टि हुनासाथ । उक्त रकमबाट बीमितले जहाँ गएर पनि उपचार गर्नसक्छन् ।

हामीले पहिचान गरेको ३५ वटा घातक रोगको उपचारमा धेरै खर्च लाग्छ । त्यस्तोमा खर्च जुटाएर वा ऋण लिएर उपचार गराएर बीलको आधारमा विमा दाबी गर्नुभन्दा सुरुमै बीमाको रकम पाउनु बीमितको लागि ठूलो वित्तीय सहयोग हो ।

अहिले बजार बोनस कति छ भन्नेतिर गइरहेको छ । त्यो बोनस पाउन कति प्रिमियम तिरेको छु भन्ने हिसाब नगरेजस्तो लाग्छ । १५ वर्षमा डबल, अथवा ६०–६५ रुपैयाँ बोनस पाउँछु भन्नेमा मात्रै लागि रहेको जस्तो लाग्छ । त्यो ६०–६५ रुपैयाँको लागि बीमितले कति तिरिरहेको छ भन्ने कुरालाई गौण बनाइएको छ ।

बोनस धेरै पाउन प्रिमियम पनि धेरै तिरेको हुन्छ । सूर्यजयोतिको बीमा योजनाहरुमा बोनस दर कम होला, तर कम प्रिमियममै राम्रो प्रतिफल दिने त यही कम्पनी भएको छ ।

सूर्यज्योतिको बढी रोजिएको बीमा योजना कुन हो र त्यसका के–के विशेषता छन् ?

सूर्यज्योतिको ‘थ्रि २०’ बीमा योजनामा बीमा अवधिभित्र ३ फटक मनि ब्याक दिने व्यवस्था छ । १२ वर्ष अवधिको बीमा योजना खरिद गर्ने बीमितले ४ वर्षमा ३३ प्रतिशत, ८ वर्षमा ३३ प्रतिशत र १२ वर्षमा ३४ प्रतिशत मनि ब्याक पाउँछन् ।

बीमा पोलिसी सकिएपछि हरेक वर्ष ५ प्रतिशतको दर २० वर्षसम्म पुनः दिन्छौं । बीमितले १२ वर्षका लागि १० लाखको बीमा गरेको छ भने बीमा अवधिभित्र नै ३ किस्तामा १० लाख रुपैयाँ पाउँछ । त्यसपछि तेह्रौं वर्षदेखि बीमाङ्क रकमको ५ प्रतिशतको दरले अर्को २० वर्षसम्म पुनः १०० प्रतिशत गरी बोनस बाहेक नै २०० प्रतिशत रिटर्न दिन्छौं ।

बीमामाभन्दा बढी प्रतिफल अन्य क्षेत्रमा लगानी गर्दा पाइन्छ भन्ने बुझाइ धेरैमा पाइन्छ । बीमा लगानी र प्रतिफल मात्र नभइ बचत र सुरक्षा पनि हो भनेर बुझाउन नसकेको हो ?

समग्र बीमा क्षेत्र नै कति प्रतिफल पाइन्छ भन्नेतिर गएको छ । जबकी, सुरक्षा सोच्नुपर्ने हो । सूर्यज्योतिले मृत्युपछिभन्दा पनि अहिले के दिने भन्नेमा जोड दिएको छ । घातक रोग विरुद्धको बीमा मृत्युपछिको लागि होइन, त्यसअघिको सुरक्षाको लागि हो ।

बीमाको सेवासुविधा मरेपछिको लागि हो भन्ने सोच हटाउन खोजेका छौं । बीमालाई फोर्स बचत, जोखिम बहन र लगानी योजनाको रुपमा बुझ्नुपर्छ । यसलाई लगानीको रुपमा मात्र बुझन् हुँदैन ।

हामीले बीमाको सेवासुविधा मरेपछिको लागि हो भन्ने सोच हटाउन खोजेका छौं । बीमालाई फोर्स बचत, जोखिम बहन र लगानी योजनाको रुपमा बुझ्नुपर्छ । यसलाई लगानीको रुपमा मात्र बुझन् हुँदैन ।

बीमालाई बचत र सुरक्षा पनि हो भनेर बुझाउन सकिएको छैन । अहिले भने सरकारले पनि बीमालाई प्राथमिकतामा राखेर वार्षीक ४० हजार रुपैयाँसम्मको प्रिमियमलाई आयकर छुट दिने व्यवस्था गरेको छ । यसले बीमाबारे बुझाउन केहि योगदान दिएको छ ।

बीमा भनेको आयस्रोत राम्रो भएकालाई मात्र हो भनेजस्तो देखिन्छ । न्यून आयस्रोत भएकाहरुका लागि पोलिसी ल्याउन नसकेर कि ल्याएर पनि उनिहरुसँग पुग्न नसकेर यस्तो बुझाइ भएको होला ?

यसमा मेरो धारणा अलि फरक छ । सूर्यज्योतिले १८१ वटा शाखा हुँदा नेपालको सबै भू-भाग समेटको छ । आजको दिनमा पनि औसत बीमाङ्क रकम ६ लाख भन्दा बढी पुगेको छ । त्यो भनेको राम्रै बीमाङ्क रकम हो । त्यसको लागि औसतमा ४० हाजरदेखि ४२ हजार रुपैयाँ वार्षिक प्रिमियम तिर्नुपर्ने हुन्छ ।

बीमा पोलिसी दिनुअघि मेडिकल र फाइनान्सियल अन्डरराइटिङ गर्छौं । फाइनान्सियल अन्डरराइटिङमा खरिद गर्न खाजेको बीमा पोलिसीको प्रिमियम तिर्न सक्छ, सक्दैन ? बीमितको आम्दानीको स्रोत के हो ? त्यो हेरिन्छ । कुनै नागरिकले सुरक्षा मात्रै खोजेको छ भने त्यसलाई आवधिक बीमा योजना भन्छौं । वार्षिक ५०० रुपैयाँ प्रिमियम तिर्दा १ लाख रुपैयाँको बीमा हुन्छ । त्यस्तो पोलिसीमा कुनै प्रतिफल आउँदैन । भवितव्य केही भयो भने उसले बीमा दाबी पाउँछ ।

बढी भन्दा बढी नागरिकलाई बीमाको दायरमा ल्याउन नीतिगत सुधार आवश्यक छ ?

विगतमा भन्दा अहिले नागरिकले बीमा बुझ्न खोजेका वा बुझेका छन् । पहिला त बीमाबारे सुन्नै नचाहने वातावरण थियो । अहिले कस्तो पोलिसी हो भनेर सोध्ने उत्सुकता जागेको छ । पछिल्लो ५ वर्षमा बीमाको दायर बढेको छ ।

जीडीपीमा राम्रो योगदान दिंदै गर्दा पनि अझै सरकारले बीमालाई प्राथमिकतामा राखेको देखिंदैन । बीमा प्रिमियममा वार्षिक कर छुटको सीमा ४० हजारबाट माथि पुर्याएको भए बीमामा अझ आकर्षण बढ्थ्यो ।

अहिले बीमाको विकासको लागि पाँच वर्षीय योजनाको कुरा पनि आएको छ । त्यसमा के कुरा प्राथमिकतामा राख्नुपर्छ भनेर बीमा कम्पनीहरुले पनि सुझाव दिएका छौं । बीमा प्राधिकरणले नै एउटा योजना बनाएर सरकारले त्यसलाई स्वामित्व लिएर कार्यान्वयन गर्ने वातारवरण बनायो भने काम गर्न सहज हुन्छ । त्यसबाट बजारमा देखिएको विकृति घटाउन पनि सकिन्छ भन्ने लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?