+
+
पल्सर स्पाेर्टस् अवार्ड :

आफ्ना तीन सन्तानलाई राष्ट्रिय खेलाडी बनाउने बाबुआमालाई स्पेशल अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २३ गते १६:०५

२३ फागुन, काठमाडौं । पल्सर स्पोर्टस् अवार्ड २०७८ अन्तर्गत स्पेशल अवार्ड दानबहादुर तामाङ र मायादेवी मोक्तानलाई प्रदान गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा भएको अवार्ड समारोहमा ब्याडमिन्टनका नेपाल च्याम्पियन रत्नजित तामाङ, सरादेवी तामाङ र नङशल देवी तामाङका बुबाआमा दानबहादुर र मायादेवीलाई स्पेशल अवार्ड प्रदान गरिएको हो ।

नेपाली ब्याडमिन्टनमा एकछत्र राज गर्न सफल तीन जना यी दिदीभाइलाई सफलता दिलाउनका लागि दानबहादुर र मायादेवी पर्दा पछाडिबाट नायक बनेका थिए ।

नेपालमा आफ्ना छोराछोरीलाई खेलकुदमा लाग्न प्रेरित गर्ने कमै अभिभावक रहेको बेला भोजपुरकाे यो जोडी त्यस्ता अभिभावक हुन् जसले ब्याडमिन्टन खेल्नका लागि मैदान बनाउनेदेखि अरुलाई प्रेरणा दिने काम समेत गरे ।

भोजपुर बजारका दानबहादुरले त आफैंले खेल मैदान बनाए, आफैंले प्रशिक्षण दिए र छोराछोरीलाई नेपालका चर्चित च्याम्पियन बनाए । त्यति मात्र होइन भोजपुरलाई नै ब्याडमिन्टन खेलाडी उत्पादन हुने ठाउँको रुपमा नै परिचित गराए ।

सुरुमा उनी आफ्ना कलिला नानीहरुलाई खेलाउन लैजाँदा गाउँलेहरुले दानबहादुरले छोराछोरी बिगार्ने भए भनेर जिस्काउँथे ।

दानबहादुर ब्याडमिन्टनमा बेस्सरी डुब्नुमा विशेष घटना पनि छ । जसबाट उनले इख लिएर काम गरे । हिजो ‘छोराछोरी बिगारे’ भन्ने गाउँलेहरु अहिले उनको सफलता देखेर छक्क पर्छन् । छोराछोरीलाई राम्रो खेलाडी बनाउने सपना देख्नेहरु अरु पनि छन् । तर दानबहादुर–मायादेवी दम्पतीको योगदान भने अरु भन्दा अलग छ, स्पेशल छ ।

विराटनगरमा खेल्न जाँदा ‘इन्डोर हल नभएको ठाउँका खेलाडी कसरी खेल्छन्’ भनेर उनलाई एकजना वरिष्ठ प्रशिक्षकले नमज्जाले जिस्काएछन् । त्यहाँबाट इख बोकेर भोजपुर फर्किएका दानबहादुरले त्यसपछि भयंकर मिहिनेत गरे ।
इन्डोर हल नभए पनि छोराछोरीलाई राम्रो खेलाडी बनाउने प्रण लिए । दिनरात नभनी लागे ।

आफू प्रशिक्षक थिएनन् तर त्यो कला सिके । यसको परिणाम, अर्को खेलमा विराटनगर पुग्दा सरादेवीले अन्तर्राष्ट्रिय खेलाडी भनिएका प्रतिद्वन्द्वीलाई शून्यमा पराजित गरिदिइन् । त्यहाँबाट शुरु भएको जितको सिलसिला सरादेवी, रत्नजित हुँदै नङशलदेवी तामाङसम्म जारी रह्यो ।

दानबहादुरले तीन दशक लामो यो अभियानमा शिक्षक पेशाकाे आफ्नो सबै तलब स्वाहा पारे । १२ वर्ष त भोजपुर जिल्ला ब्याडमिन्टन संघको अध्यक्ष नै बनेर सेवा गरे । आफ्नो सन्तानलाई च्याम्पियन बनेको देख्ने यो जोडीको चाहना छोराछोरीले पनि पूरा गरे । दानबहादुर दम्पती अब खुशी छन् । शिक्षण पेशाबाट रिटायर्ड भइसकेका उनी अहिले पनि भेट्रान्स ब्याडमिन्टन खेल्न देशभरि डुलिहिंड्छन् ।

उनै दानबहादुर र उनकी धर्मपत्नीलाई स्पेशल अवार्ड प्रदान गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?