+

मान्छेको शरीरमा कुनै अंग छैन, जसलाई चुरोटले हानि गर्दैन : डा. राजीव झा

२०७९ फागुन  २५ गते १४:०१ २०७९ फागुन २५ गते १४:०१
मान्छेको शरीरमा कुनै अंग छैन, जसलाई चुरोटले हानि गर्दैन : डा. राजीव झा

काठमाडौं । धूम्रपान गर्ने व्यक्ति रोगको जोखिममा हुन्छन् । सुर्तीजन्य वस्तुमा निकोटिन, कार्बन मोनोअक्साइडजस्ता हानिकारक पदार्थ हुन्छन्, शरीरलाई गम्भीर रुपमा हानि पुर्‍याउन सक्छ ।

चुरोटले फोक्सो वा श्वासनलीमा असर गर्छ भन्ने आम बुझाइ छ । चुरोट खाने व्यक्तिमा स्नायुरोगसँग पनि सम्बन्ध छ ? चुरोट पिउने व्यक्ति के कस्तो जोखिममा हुन्छन् ? यसै विषयमा केन्द्रित रहेर वरिष्ठ न्युरो सर्जन प्रा. डा. राजीव झासँग गरिएको कुराकानीको सम्पादित अंश :

चुरोटले फोक्सो वा श्वासनलीमा असर गर्छ भन्ने आम बुझाइ छ । यसमा स्नायुरोगको कुनै सम्बन्ध छ ?

मान्छेको शरीरको बनावटमा  कुनै यस्तो अंग छैन जहाँ चुरोटले असर गर्दैन । चुरोट सेवन गर्ने व्यक्तिको शरीरको हरेक अंगमा असर गर्ने भएकोले स्नायु प्रणालीमा पनि यसले प्रत्यक्ष रूपमा असर गर्ने नै भयो ।

स्नायु प्रणालीलाई चुरोटले के असर गर्छ ?

चुरोटको धुँवाबाट पाँच हजार भन्दा बढी रसायन उत्पादन हुन्छ । त्यो रसायन धुँवामार्फत फोक्सो हुँदै रगतको माध्यमले शरीरको विभिन्न भागमा फैलिन्छ । मस्तिष्क, स्पाइनल कर्ड, नसामा पनि पुग्छ । बिस्तारै यसको लत बस्दै जान्छ । त्यसले पछि दिमागको नसा ब्लक भएर सुकेर आउने र ब्रेन ट्युमर, ब्रेन ह्याम्रेज जस्ता समस्या देखिन्छ ।

चुरोटमा हुने निकोटिनले मस्तिष्कमा के प्रभाव पार्छ ?

चुरोटमा हुने निकोटिनले बारम्बार मस्तिष्कमा डोपामिनको उत्सर्जनमा असन्तुलन सिर्जना गर्छ । जसकारण मस्तिष्कका स्नायुले बिस्तारै काम गर्छ । यसले व्यवहारमा परिवर्तन, चिडचिडापन, एकाग्रतामा कमी जस्ता समस्या देखापर्छ ।

चुरोट पिउने व्यक्तिको नसा चुरोट नपिउने व्यक्तिको भन्दा पातलो हुन्छ । जसले रगतको नसा फुट्ने सम्भावना बढी हुन्छ । स्ट्रोक भएर अस्पताल आउने  बिरामीमध्ये धेरैले धूम्रपान गरेको पाइन्छ ।

किन मान्छेलाई चुरोटको तलतल लाग्छ ?

चुरोटमा पाइने विभिन्न रसायन मस्तिष्कमा पुगेपछि डोपामिन हार्मोन र एपिनेफ्रिन हार्मोन उत्पादन हुन्छ, जसले मान्छेलाई आराम र खुसी भएको अनुभूति हुन्छ । जसकारण चुरोटको तलतल लाग्छ र बिस्तारै लत बस्छ ।

चुरोट पिउने व्यक्ति के कस्ता रोगको जोखिममा हुन्छन् ?

चुरोटको प्रत्येक सर्कोसँगै टक्सिन शरीरमा प्रवेश गर्छ । चुरोटबाट निस्कने पाँच हजार रसायनमध्ये ३५ देखि ४० वटा केमिकलले क्यान्सर गराउने हुन्छ ।

चुरोट खानेको फोक्सोमा धुँवाले असर गर्छ । जसले खोकी लाग्ने, दम, ब्रोङ्काइटिस जस्ता समस्या हुन सक्छन् । शरीरमा निकोटिनको मात्रा बढी हुँदा दम तथा क्यान्सरको समस्या हुन्छ । मस्तिष्कघात, ढाड दुख्ने, उच्च रक्तचाप, फोक्सोमा समस्या हातखुट्टा झमझमाउने, मासंपेशीहरु कमजोर हुन समस्या पनि देखा पर्छ । मुड परिवर्तन हुने र कार्यक्षमतामा पनि ह्रास आउँछ ।

चुरोट मदिराभन्दा पनि हानिकारक छ ?

मदिराको आफ्नै बेफाइदा छ भने चुरोटको आफ्नै । मदिराको तुलनामा चुरोटमा क्यान्सर गराउने तत्त्व बढी हुन्छ । मदिरापान गर्ने व्यक्तिको तुलनामा धूम्रपान गर्ने व्यक्तिलाई विभिन्न किसिमको स्वास्थ्य समस्या देखिन्छ ।

कति चुरोट खाँदा त्यसले हानि गर्छ ? यसको कुनै मात्रा छ ?

एउटा मात्र चुरोटको सेवन गर्दा पनि यसले शरीरको हरेक अंगमा पुगेर असर गर्छ । चुरोट सेवन गर्ने बित्तिकै यो श्वासनली हुँदै फोक्सो र रगतमार्फत हरेक अंगमा फैलिएर असर गर्छ । चुरोटको यति मात्राले स्वास्थ्यमा असर गर्दैन भनेर कतै उल्लेख छैन । त्यसैले चुरोट सेवन  गर्दै नगर्नु उचित हुन्छ ।

चुरोट डा. राजीव झा धूम्रपान
प्रा. डा. राजीव झा
लेखक
प्रा. डा. राजीव झा
स्नायु, नसा तथा मेरुदण्डरोग विशेषज्ञ

प्रा. डा. झा वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख र नर्भिक इन्टरनेसनल अस्पतालको न्युरोसर्जरी विभाग प्रमुख हुन् । उनले एमडी, एमएस, एमसीएच र एफआरसीएस गरेका छन् । उनी युरोपियन एसोसिएसन अफ न्युरोसर्जिकल सोसाइटीका सदस्य समेत हुन् । प्रा. डा. झाको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३१७७ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय