+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कोशी रिफ्रेसमेन्ट सेन्टरलाई बजेट अभाव, निर्माण सुस्त

हरि अधिकारी हरि अधिकारी
२०७९ फागुन २८ गते १९:४५

२८ फागुन, विराटनगर । कोशी सरकारले निर्माण सुरु गरेको कोशी रिफ्रेसमेन्ट सेन्टरका लागि बजेट अभाव भएको छ ।

पूर्वपश्चिम राजमार्गको सुनसरीको कोशी गाउँपालिका खण्डमा प्रदेश सरकारले कोशी रिफ्रेसमेन्ट सेन्टरको निर्माण सुरु गरेको थियो । तर बजेट अभावमा काम निकै सुस्त छ ।

पूर्वपश्चिम राजमार्गमा लामा तथा छोटा दुरीका सवारी साधन रोक्न, यात्रुलाई खाना तथा खाजा खान र आराम गर्न प्रदेश सरकारले २२ बिघा क्षेत्रफलमा रिफ्रेसमेन्ट सेन्टर बनाउने योजना अघि सारेको थियो । त्यसका लागि ४७ लाख ६ हजार रुपैयाँ खर्च गरेर विस्तृत परियोजना प्रतिवेदन बनायो भने परियोजनाको काम दुई चरणमा गर्ने गरी विभाजन पनि गर्‍यो । जस अनुसार पहिलो चरणमा ५७ करोड ७८ लाख र दोस्रो चरणमा एक अर्ब ५० करोड ५५ लाख रुपैयाँको काम गर्ने प्रदेश सरकारको योजना छ ।

पहिलो चरणको कामका लागि संरचना निर्माण गर्न दुई वर्षअघि ठेक्का लागेको थियो । २०७५ माघ २४ गते तत्कालीन मुख्यमन्त्री शेरधन राईले परियोजनाको सुरुवात गरेका थिए र परियोजना हेर्ने गरी छुट्टै कार्यालय पनि खडा गरेका थिए । तर २४ चैत २०७८ मा राजेन्द्र राई मुख्यमन्त्री भएका बेला कार्यालय खारेज गरिदिए र १५ वैशाख २०७९ मा सो आयोजना विराटनगरस्थित शहरी विकास तथा भवन कार्यालयले हेर्ने निर्णय गराए ।

२०७७ पुसबाट सुरु भएको पहिलो चरणको काम आधा मात्र सकिएको छ । पहिलो चरणको संरचना निर्माणका लागि कबिन्द्र सिर्जनशील जेभीले ३० करोड ४३ लाख ८२ हजार रुपैयाँमा ठेक्का पाएकामा करिब ११ करोड रुपैयाँको काम गरेको छ । उसले प्रशासनिक भवन, प्रहरी कार्यालय, स्वास्थ्य चौकी, रेस्टुरेन्ट र ट्राफिक पोष्ट, सार्वजनिक शौचालय र परियोजना स्थल क्षेत्रमा पर्खाल निर्माण गरिरहेको छ । पेट्रोल पम्प, पार्किङ स्थल, लगायत संरचना निर्माण गर्न बाँकी छ ।

दोस्रो चरणमा होटल, कम्प्लेक्स, बसपार्क, भ्यूटावर, स्वीमिङ पुल, सिनेमा हल र पिकनिक स्थल, पार्क आकाशे पुललगायतका संरचना निर्माण गर्ने योजना छ । तर प्रदेश सरकारले पर्याप्त बजेट दिन सकेको छैन ।

शहरी विकास तथा भवन कार्यालयका प्रमुख रुद्रनारायण मिश्र परियोजना सञ्चालनका लागि छुट्टै कार्यालय र पर्याप्त बजेट नहुँदा काम सुस्त भएको बताउँछन् । मिश्रका अनुसार चालु आर्थिक वर्षमा यो परियोजनाले पाँच करोड ५० लाख रुपैयाँ मात्र बजेट पाएको छ । यसै वर्ष थप पाँच करोड र आगामी आर्थिक वर्षका लागि १५ करोड बजेट आवश्यक छ । आयोजना हेर्नका लागि छुट्टै कार्यालय र पर्याप्त बजेट भए काम समयमा नै सम्पन्न हुने मिश्रले बताए ।

शनिबार निर्माणको प्रगति बुझ्न आयोजनास्थल पुगेका मुख्यमन्त्री हिक्मतकुमार कार्की र भौतिक पूर्वाधार मन्त्री दुर्गाप्रसाद चापागाईले परियोजना सञ्चालनका लागि छुट्टै कार्यालय स्थापना गर्ने आश्वासन दिएका छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्की बजेटको व्यवस्थापन गर्ने र सञ्चालनको खाका पनि तयार गर्ने बताउँछन् । रिफ्रेसमेन्ट सेन्टरलाई प्रदेश गौरवको आयोजनाको रुपमा सञ्चालन गर्ने बताउँदै उनले परियोजनामा लगानी गर्नका लागि साझेदार पनि खोज्ने बताए ।

‘अबको १५ दिनभित्रमा परियोजना रिभ्यू गरेर कुन मोडालिटीमा काम गर्न सकिन्छ, त्यसको खाका तयार गरिनेछ’, मुख्यमन्त्री कार्कीले भने, ‘चैत २० गतेभित्रमा छलफल गरेर परियोजनालाई अगाडि बढाउछौं ।’

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?