+
+

नेपालको भूकम्पले जीवनलाई हेर्ने मेरो दृष्टिकोण बदल्यो

मिसेल योह, ओस्कार विजेता अभिनेत्री मिसेल योह, ओस्कार विजेता अभिनेत्री
२०७९ चैत १ गते १७:१४

विगत केही सातामा संसारका धेरै व्यक्ति पहिलो गोल्डेन ग्लोब, स्क्रिन एक्टर्स गिल्ड र इन्डिपेन्डेन्ट स्पिरिटदेखि ओस्कारको जितसम्म मेरो करिअरको सफलताको उत्सवलाई सेलिब्रेसन गर्न मसँग सामेल भए । मेरो व्यावसायिक जीवनको यो अविस्मरणीय क्षणको लागि म कृतज्ञ छु । म विश्वले चासोले हेरेको एउटा घटनातर्फ ध्यानाकृष्ट गर्न चाहन्छु, जुन मेरो लागि सधैं निजी अनुभव रह्यो । जसले विश्वको ध्यान पनि खिच्छ ।

मेरो जीवन आठ वर्ष पहिले परिवर्तन भयो जब एक क्षणले संसारलाई हेर्ने मेरो दृष्टिकोण बदलियो ।

यो २५ अप्रिल २०१५ को कुरा थियो, म मेरो साझेदार जीन टोडसँग नेपालमा स्थानीय संस्थाहरूको भ्रमण गर्दै थिएँ । अचानक मैले पृथ्वी हिंस्रक रूपमा काँप्न थालेको महसुस गरें । म तल्लो भवनको ढोकाबाहिर थिएँ, एउटा घातक भूकम्पले देशलाई तहसनहस बनायो । त्यो दिन मैले महसुस गरेको डर र आतंक यसअघि कहिल्यै महसुस गरेको थिइनँ । जब मैले टेकेको जमिन यति बलियोसँग हल्लियो, म आफ्नो खुट्टाले उभिन सकिनँ । भाग्नको लागि ढोकासम्म घस्रिएर जानुपर्थ्यो । जब हामी बाहिर निस्कियौं, हामी घण्टौंसम्म बाहिर रहनुपर्‍यो । कुन भवन कति बलिया र पर्याप्त सुरक्षित छन् भन्ने कुराले हामी अन्योलमा थियौं ।

त्यो दिन सुरक्षित रहन सकेकोमा भाग्यमानी थिएँ तर डर मसँगै थियो । अनुभव डरलाग्दो थियो । त्यसको असर ममा अझै छ । हामी बसेको होटेल भूकम्पको समयमा क्षतिग्रस्त भएको थियो र अब प्रवेश गर्न सुरक्षित थिएन, त्यसैले हामी सिधा एयरपोर्टमा पुग्यौं । हामीलाई उद्धार गरिनुअघि हामीले एयरपोर्टमा दुई रात बितायौं । सडकमा हिंड्दा मैले चारैतिर भग्नावशेष र विनाश देखें । हजारौं परिवार जसको सम्पूर्ण जीवन अचानक भग्नावशेषमा परिणत भएको थियो ।

फिल्म ‘एभ्रिथिङ एभ्रिह्वेयर’बाट ओस्कारमा सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड ग्रहण गरेपछि मिसेल योह

यस्तो विनाशकारी परिमाणको प्रकोपले पहिले नै गरिब परिवारको जीवनमा अपूरणीय क्षति पुर्‍याउँछ । भूकम्प गएको तीन सातापछि नेपाल फर्कंदा र एक वर्षपछि फेरि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सद्भावना दूतका रूपमा फर्किंदा यो कुरा मैले देखेको थिएँ ।

गत महिना टर्की र सिरियामा गएको विनाशकारी भूकम्पको कभरेज हेर्दा मैले फेरि नेपालको बारेमा सोचें । भूकम्प आउनुअघि नै सिरियाको सामाजिक–आर्थिक अवस्था डरलाग्दो थियो । लगभग ९० प्रतिशत जनसंख्या गरिबीमा बाँचिरहेका थिए र लाखौंलाई मानवीय सहायताको आवश्यकता थियो । धेरै अहिले घरबारविहीन छन् र आफ्नो जीवन पुनर्निर्माण गर्न वा आफ्नो परिवारलाई सुरक्षित राख्न स्रोत साधनको अभाव छ ।

संकटहरू विपत्तिका क्षण मात्र होइनन्, तिनीहरूले विद्यमान असमानतालाई उजागर पनि गर्छन् । गरिबीमा बाँच्नेहरु विशेषगरी महिला र किशोरीले पीडा भोग्छन् । विपद्पछि सरसफाइ, स्वास्थ्य सुविधा र सुरक्षाको अभावले महिलालाई असमान रूपमा असर गर्छ । सद्भावना दूतको रूपमा मैले नजिकबाट देखेको छु कि कसरी महिला र किशोरी विद्यालय फर्कन र सफा पानी, खोप, परिचयपत्र र परामर्श जस्ता आधारभूत सेवा प्राप्त गर्न वञ्चित हुन्छन् र सामान्यतया रोजगार र ऋण प्राप्त गर्न कठिन हुन्छ ।

सिरियामा आगामी महिनामा करिब ४० हजार महिलाले सरसफाइको पहुँच बिना नै बच्चा जन्माउने अनुमान संयुक्त राष्ट्रसंघले गरेको छ । महिला खुल्ला ठाउँमा सुत्नु परेको छ । भवन भत्किएका छन् वा असुरक्षित छन् वा पर्याप्त गोपनीयता वा सुरक्षा बिना समूहमा आश्रय लिएका छन् । तिनीहरू यौन हिंसा र आक्रमणको बढ्दो जोखिममा हुन्छन्, जुन प्रकोपपछि अझै बढ्न सक्छ । प्रकोपबाट पूर्ण रूपमा उम्कन र अर्को प्रकोपका लागि तयार रहन मानवीय उद्धारमा महिला र युवतीलाई विशेष प्राथमिकतामा राख्नुपर्छ ।

महिलाले पुनर्निर्माण र पुनर्वासको प्रक्रियामा नेतृत्वको भूमिका पनि खेल्नुपर्छ । तर संकटको समयमा उनीहरूको जीवनप्रतिको सम्भावनालाई नराम्रो रूपमा प्रस्तुत गरिएको छ । यो अन्तरले खतरनाक प्रभाव पार्छ । अध्ययनले देखाएको छ कि महिला प्रकोपमा सबैभन्दा बढी प्रभावित हुन्छन् । जब यो उद्धार प्रयासको कुरा आउँछ र महिला पुरुषभन्दा बढी भोकबाट पीडित हुने सम्भावना हुन्छ र उनीहरुलाई बेफाइदा बढी हुन्छ ।

हामीलाई थाहा छ, महिलाले समुदायलाई जोगाउन सक्छन् । पुनर्निर्माण र पुनर्वासको प्रक्रियालाई समावेशी, सफल र दिगो तुल्याउन महिलाको नेतृत्व र आवाज जरुरी छ ।

म ६० वर्ष पुगें र मैले भर्खरै मेरो पहिलो ओस्कार जितेको छु । मलाई लगनशीलताको बारेमा केही थाहा छ र समाजले महिलाबाट के अपेक्षा गर्छ भन्ने कुरामा म सचेत छु । मलाई यो पनि राम्ररी थाहा छ कि मेरो अनुभवलाई मैले भेटेका महिला नायकसँग तुलना गर्न सकिंदैन जो संकटको अग्रपंक्तिमा छन् । यदि मैले मेरो व्यावसायिक आनन्दको यस क्षणमा एउटा कुरा गर्न सक्छु भने यो ती व्यक्तिहरूलाई औंल्याउन सक्छु जो अनभिज्ञ हुन्छन्, जसले समुदायको पुनर्निर्माण गरिरहेका छन्, बालबालिका र वृद्धहरूको हेरचाह गरिरहेका छन् । उनीहरूलाई सबैभन्दा बढी असर गर्ने निर्णय गर्दा उनीहरु कोठामै छन् भन्ने कुराको सुनिश्चित गरौं ।

न्यूयोर्क टाइम्सबाट अनुदित

अनुवाद : विष्णु शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?