+

एपेन्डिसाइटिस औषधिले निको हुन्छ कि शल्यक्रिया गर्नैपर्छ ?

२०७९ चैत  ७ गते १४:३० २०७९ चैत ७ गते १४:३०
एपेन्डिसाइटिस औषधिले निको हुन्छ कि शल्यक्रिया गर्नैपर्छ ?

ठूलो आन्द्रामा एउटा एपेन्डिक्स नामक अंग हुन्छ, जुन कान्छी औंला भन्दा पनि सानो ट्युब जस्तो अवस्थामा हुन्छ । सोही ट्युबको प्वालमा हुने दुखाइ वा संक्रमणलाई एपेन्डिसाइटिस भन्ने गरिएको छ । यस्तो स्थितिमा उक्त ट्युबको मुख बन्द भएको हुन्छ र सुन्निन थाल्छ । यदि समयमै उपचार भएन भने यो फुट्न सक्छ ।

एपेन्डिसाइटिस हुनुमा एउटा मात्र कारण छैन । खासगरी फाइबरयुक्त खानेकुरा अपुग भएमा पनि एपेन्डिसाइटिस हुने जोखिम हुन्छ । यसैगरी ठूलो आन्द्रासँग यो सोझै जोडिएको हुन्छ । ठूलो आन्द्रामा गाँठो पर्दा वा बटारिदा त्यसमा रहेको दिसा पुनः एपेन्डिक्समा पसेर संक्रमण गराउन सक्छ । त्यसैगरी ठूलो आन्द्रामा क्यान्सर हुँदा पनि एपेन्डिसाइटिस हुन सक्छ ।

कसलाई हुन्छ ?

एपेन्डिसाइटिस जो कोहीलाई हुन सक्छ । खासगरी २० देखि ४० वर्ष उमेर समूह यसको जोखिममा हुन्छ । यो उमेर समूहकालाई खानपानकै कारण एपेन्डिसाइटिस हुन सक्छ । ४० वर्षभन्दा माथिकालाई भने ठूलो आन्द्रामा क्यान्सर भएर यस्तो समस्या हुन सक्छ ।

त्यसैले कसैलाई एपिन्डसाइटिस भएमा उनलाई क्यान्सर छ वा छैन भनेर पनि जाँच गर्नुपर्ने हुन्छ ।

कसरी थाहा पाउने ?

एपेन्डिसाइटिसका सामान्य लक्षणमा नाभीको वरिपरि दुख्ने, पेट डम्म हुने, पेट फुलेको जस्तो हुन्छ । यसैगरी दुखेको केही घण्टापछि पेटको दायाँतर्फको तल्लो भागमा दुखाइ बढ्दै जाने, खोक्दा वा चल्दा पेट बढी दुख्ने, वाकवाकी लाग्ने, बान्ता आउने गर्छ । भोक नलाग्ने, ज्वरो आउने र पिसाब फेर्न गाह्रो हुने जस्ता समस्या यसको लक्षण हुन् ।

कसैकसैको नाभी आसपासमा नदुखेको हुन सक्छ । तर पेटकोे दायाँतर्फको तल्लो भागमा दुखाइ सुरु भएको हुन सक्छ । अर्को विभिन्न शारीरिक जाँच गरेर पनि एपेन्डिसाइटिस भए नभएको थाहा पाउन सकिन्छ ।

औषधिले निको हुन्छ ?

एपेन्डिसाइटिसको सुनौलो तथा पहिलो उपचार भनेको शल्यक्रिया नै हो । शल्यक्रिया गरेर एपेन्डिक्सलाई निकाल्ने बाहेक यसको अर्को विकल्प छैन । एपेन्डिसाइटिस भएपछि औषधिको प्रयोगले मात्र निको हुँदैन । कुनैकुनै बेला बिरामीलाई एपेन्डिसाइटिस भएको हो कि होइन भनेर प्रमाणित नभएको अवस्थामा औषधि दिएर निरीक्षण गरिन्छ । एपेन्डिसाइटिस भएको हो भने शल्यक्रिया गर्नैपर्छ । निरीक्षणको लागि मात्र औषधि प्रयोग गरिन्छ ।

शल्यक्रियाको तयारी कसरी गर्ने ?

एपेन्डिक्सको शल्यक्रियामा तयारी गर्नुपर्ने भनेको बिरामीले कुन प्रविधि प्रयोग गरेर शल्यक्रिया गर्ने त्यो टुंगो गर्नुपर्ने हुन्छ । अहिले एपेन्डिक्सको शल्यक्रिया दुई प्रकारले गरिन्छ, सामान्य पेट चिरेर गर्ने र ल्यापोस्कोपी (दुर्विन) प्रविधि प्रयोग गरेर ।

अधिकांश एपेन्डिक्सका बिरामीको शल्यक्रिया दूरबीन प्रविधिबाट गरिएको पाइन्छ । किनभने यो प्रविधि अपनाएर शल्यक्रिया गर्दा सानो मात्र घाउ हुने, दुखाइ कम हुने, पाक्ने तथा खत बस्ने जोखिम कम हुन्छ । यसले गर्दा बिरामी चाँडै निको भएर दैनिक जीवनमा फर्कन सक्छन् ।

कसैकसैको एपेन्डिक्स फुटेर पेटभर संक्रमण भएको अवस्थामा पूरै पेट नै चिरेर शल्यक्रिया गर्नुपर्ने पनि हुन सक्छ । यदि पेरिटोनियम (एक प्रकारको क्यान्सर) पनि फुटेमा आन्द्राभित्रको तत्व बहिर निस्किएर जटिल प्रकारको संक्रमण हुने गर्छ ।

कति लाग्छ खर्च ?

सामान्यत एपेन्डिसाइटिस शल्यक्रियाका लागि ४० हजार देखि एक लाखसम्म खर्च लाग्छ । तर त्यो बिरामीको अवस्था र अस्पतालमा भर पर्छ ।

यो कति जटिल हुन्छ ?

एपेन्डिसाइटिसको शल्यक्रियामा सुरुवाती चरणमा हो भने थोरै मात्र जटिल हुन्छ । एपेन्डिसाइटिस पेटभित्र फुटेर फैलिएको छ, संक्रमण भएको छ भने निकै जटिल हुन सक्छ ।

पूर्ण निको हुन कति समय लाग्छ ?

एपेन्डिक्स भएको सुरुको चरणमा बिरामीले उपचार गराएको खण्डमा एपेन्डिसाइटिसको शल्यक्रिया गरेको ५–६ घण्टापछि नै डिस्चार्ज गरिन्छ । शल्यक्रिया गरेको करिब एक हप्तापछि बिरामी पूर्ण निको भएर आफ्नो दैनिक काममा फर्कन सक्छ ।

एपेन्डिक्स हुनै नदिन के गर्ने ?

ठ्याक्कै यही भनेर त छैन । यसको लागि सामान्यतया फाइबर आहार खानुपर्ने हुन्छ, जसले  कब्जियत हुने समस्या नरहोस् । कब्जियत नभएपछि फिकोलिथ (ढुंगा जस्तो बनेर आउने दिसा) कम हुन्छ । त्यो कम भएपछि रोकथाम गर्न सजिलो हुन्छ ।

यसका लागि खानपानमा पनि ध्यान दिनुपर्छ । खासगरी मौसमी सागपात र फलफूल खाने, मद्यपान र धुम्रपान नगर्ने, रातो मासु वा बोसोयुक्त खानेकुरा कम खाने गर्नुपर्छ ।

(डा. शाह ग्यास्ट्रोइन्टेस्टाइनल एण्ड एचपीबी सर्जन हुन् । उनी पाटन अस्पताल र बयोधा अस्पतालमा कार्यरत छन् ।)

एपेन्डिक्स एपेन्डिसाइटिस ठूलो आन्द्रा
डा. सुरेन्द्र शाह
लेखक
डा. सुरेन्द्र शाह
ग्यास्ट्रोइन्टेस्टिनल लेजर एण्ड ल्याप्रोस्कोपिक सर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ४८९३ अध्ययन : एमबीबीएस, जनरल सर्जरीमा एमएस, ग्यास्ट्रोइन्टेस्टेनियल, हेपाटोबिलोरी र प्यानक्रिएटिक सर्जरी ल्याप्रोस्कोपिक सर्जरी, लेजर थेरापीमा तालिम हाल ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौंस्थित बयोधा अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मुसाले टोकेमा रेबिज हुनसक्छ ?

मुसाले टोकेमा रेबिज हुनसक्छ ?

गर्भावस्थामा छाला चिलाउने, डाबर आउने समस्या भए के गर्ने ?

गर्भावस्थामा छाला चिलाउने, डाबर आउने समस्या भए के गर्ने ?

गर्भावस्थामा उच्च रक्तचापको समस्या भए के गर्ने ?

गर्भावस्थामा उच्च रक्तचापको समस्या भए के गर्ने ?

नवदम्पतीले एकअर्काको विगतबारे बताउन जरुरी छ ?

नवदम्पतीले एकअर्काको विगतबारे बताउन जरुरी छ ?

गर्भावस्थामा पिसाब संक्रमण भए के गर्ने ?

गर्भावस्थामा पिसाब संक्रमण भए के गर्ने ?

सिड्नीमा दोस्रो पटक चक्कु प्रहारको घटना, प्रहरीले भन्यो ‘आतंकवादी’ हमला

सिड्नीमा दोस्रो पटक चक्कु प्रहारको घटना, प्रहरीले भन्यो ‘आतंकवादी’ हमला