+

एपेन्डिसाइटिस औषधिले निको हुन्छ कि शल्यक्रिया गर्नैपर्छ ?

२०७९ चैत  ७ गते १४:३० २०७९ चैत ७ गते १४:३०
Shares
एपेन्डिसाइटिस औषधिले निको हुन्छ कि शल्यक्रिया गर्नैपर्छ ?

ठूलो आन्द्रामा एउटा एपेन्डिक्स नामक अंग हुन्छ, जुन कान्छी औंला भन्दा पनि सानो ट्युब जस्तो अवस्थामा हुन्छ । सोही ट्युबको प्वालमा हुने दुखाइ वा संक्रमणलाई एपेन्डिसाइटिस भन्ने गरिएको छ । यस्तो स्थितिमा उक्त ट्युबको मुख बन्द भएको हुन्छ र सुन्निन थाल्छ । यदि समयमै उपचार भएन भने यो फुट्न सक्छ ।

एपेन्डिसाइटिस हुनुमा एउटा मात्र कारण छैन । खासगरी फाइबरयुक्त खानेकुरा अपुग भएमा पनि एपेन्डिसाइटिस हुने जोखिम हुन्छ । यसैगरी ठूलो आन्द्रासँग यो सोझै जोडिएको हुन्छ । ठूलो आन्द्रामा गाँठो पर्दा वा बटारिदा त्यसमा रहेको दिसा पुनः एपेन्डिक्समा पसेर संक्रमण गराउन सक्छ । त्यसैगरी ठूलो आन्द्रामा क्यान्सर हुँदा पनि एपेन्डिसाइटिस हुन सक्छ ।

कसलाई हुन्छ ?

एपेन्डिसाइटिस जो कोहीलाई हुन सक्छ । खासगरी २० देखि ४० वर्ष उमेर समूह यसको जोखिममा हुन्छ । यो उमेर समूहकालाई खानपानकै कारण एपेन्डिसाइटिस हुन सक्छ । ४० वर्षभन्दा माथिकालाई भने ठूलो आन्द्रामा क्यान्सर भएर यस्तो समस्या हुन सक्छ ।

त्यसैले कसैलाई एपिन्डसाइटिस भएमा उनलाई क्यान्सर छ वा छैन भनेर पनि जाँच गर्नुपर्ने हुन्छ ।

कसरी थाहा पाउने ?

एपेन्डिसाइटिसका सामान्य लक्षणमा नाभीको वरिपरि दुख्ने, पेट डम्म हुने, पेट फुलेको जस्तो हुन्छ । यसैगरी दुखेको केही घण्टापछि पेटको दायाँतर्फको तल्लो भागमा दुखाइ बढ्दै जाने, खोक्दा वा चल्दा पेट बढी दुख्ने, वाकवाकी लाग्ने, बान्ता आउने गर्छ । भोक नलाग्ने, ज्वरो आउने र पिसाब फेर्न गाह्रो हुने जस्ता समस्या यसको लक्षण हुन् ।

कसैकसैको नाभी आसपासमा नदुखेको हुन सक्छ । तर पेटकोे दायाँतर्फको तल्लो भागमा दुखाइ सुरु भएको हुन सक्छ । अर्को विभिन्न शारीरिक जाँच गरेर पनि एपेन्डिसाइटिस भए नभएको थाहा पाउन सकिन्छ ।

औषधिले निको हुन्छ ?

एपेन्डिसाइटिसको सुनौलो तथा पहिलो उपचार भनेको शल्यक्रिया नै हो । शल्यक्रिया गरेर एपेन्डिक्सलाई निकाल्ने बाहेक यसको अर्को विकल्प छैन । एपेन्डिसाइटिस भएपछि औषधिको प्रयोगले मात्र निको हुँदैन । कुनैकुनै बेला बिरामीलाई एपेन्डिसाइटिस भएको हो कि होइन भनेर प्रमाणित नभएको अवस्थामा औषधि दिएर निरीक्षण गरिन्छ । एपेन्डिसाइटिस भएको हो भने शल्यक्रिया गर्नैपर्छ । निरीक्षणको लागि मात्र औषधि प्रयोग गरिन्छ ।

शल्यक्रियाको तयारी कसरी गर्ने ?

एपेन्डिक्सको शल्यक्रियामा तयारी गर्नुपर्ने भनेको बिरामीले कुन प्रविधि प्रयोग गरेर शल्यक्रिया गर्ने त्यो टुंगो गर्नुपर्ने हुन्छ । अहिले एपेन्डिक्सको शल्यक्रिया दुई प्रकारले गरिन्छ, सामान्य पेट चिरेर गर्ने र ल्यापोस्कोपी (दुर्विन) प्रविधि प्रयोग गरेर ।

अधिकांश एपेन्डिक्सका बिरामीको शल्यक्रिया दूरबीन प्रविधिबाट गरिएको पाइन्छ । किनभने यो प्रविधि अपनाएर शल्यक्रिया गर्दा सानो मात्र घाउ हुने, दुखाइ कम हुने, पाक्ने तथा खत बस्ने जोखिम कम हुन्छ । यसले गर्दा बिरामी चाँडै निको भएर दैनिक जीवनमा फर्कन सक्छन् ।

कसैकसैको एपेन्डिक्स फुटेर पेटभर संक्रमण भएको अवस्थामा पूरै पेट नै चिरेर शल्यक्रिया गर्नुपर्ने पनि हुन सक्छ । यदि पेरिटोनियम (एक प्रकारको क्यान्सर) पनि फुटेमा आन्द्राभित्रको तत्व बहिर निस्किएर जटिल प्रकारको संक्रमण हुने गर्छ ।

कति लाग्छ खर्च ?

सामान्यत एपेन्डिसाइटिस शल्यक्रियाका लागि ४० हजार देखि एक लाखसम्म खर्च लाग्छ । तर त्यो बिरामीको अवस्था र अस्पतालमा भर पर्छ ।

यो कति जटिल हुन्छ ?

एपेन्डिसाइटिसको शल्यक्रियामा सुरुवाती चरणमा हो भने थोरै मात्र जटिल हुन्छ । एपेन्डिसाइटिस पेटभित्र फुटेर फैलिएको छ, संक्रमण भएको छ भने निकै जटिल हुन सक्छ ।

पूर्ण निको हुन कति समय लाग्छ ?

एपेन्डिक्स भएको सुरुको चरणमा बिरामीले उपचार गराएको खण्डमा एपेन्डिसाइटिसको शल्यक्रिया गरेको ५–६ घण्टापछि नै डिस्चार्ज गरिन्छ । शल्यक्रिया गरेको करिब एक हप्तापछि बिरामी पूर्ण निको भएर आफ्नो दैनिक काममा फर्कन सक्छ ।

एपेन्डिक्स हुनै नदिन के गर्ने ?

ठ्याक्कै यही भनेर त छैन । यसको लागि सामान्यतया फाइबर आहार खानुपर्ने हुन्छ, जसले  कब्जियत हुने समस्या नरहोस् । कब्जियत नभएपछि फिकोलिथ (ढुंगा जस्तो बनेर आउने दिसा) कम हुन्छ । त्यो कम भएपछि रोकथाम गर्न सजिलो हुन्छ ।

यसका लागि खानपानमा पनि ध्यान दिनुपर्छ । खासगरी मौसमी सागपात र फलफूल खाने, मद्यपान र धुम्रपान नगर्ने, रातो मासु वा बोसोयुक्त खानेकुरा कम खाने गर्नुपर्छ ।

(डा. शाह ग्यास्ट्रोइन्टेस्टाइनल एण्ड एचपीबी सर्जन हुन् । उनी पाटन अस्पताल र बयोधा अस्पतालमा कार्यरत छन् ।)

एपेन्डिक्स एपेन्डिसाइटिस ठूलो आन्द्रा
डा. सुरेन्द्र शाह
लेखक
डा. सुरेन्द्र शाह
ग्यास्ट्रोइन्टेस्टिनल लेजर एण्ड ल्याप्रोस्कोपिक सर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ४८९३ अध्ययन : एमबीबीएस, जनरल सर्जरीमा एमएस, ग्यास्ट्रोइन्टेस्टेनियल, हेपाटोबिलोरी र प्यानक्रिएटिक सर्जरी ल्याप्रोस्कोपिक सर्जरी, लेजर थेरापीमा तालिम हाल ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौंस्थित बयोधा अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मिर्गौला खराब हुँदा देखिने सुरुवाती ७ संकेत

मिर्गौला खराब हुँदा देखिने सुरुवाती ७ संकेत

पाठेघर नै नभएकी डाक्टर, आमा बन्ने चाहना राख्दा गुहार्नु पर्‍यो अदालत

पाठेघर नै नभएकी डाक्टर, आमा बन्ने चाहना राख्दा गुहार्नु पर्‍यो अदालत

मस्तिष्कको रहस्यमय पिनियल ग्रन्थी, जसले नियन्त्रण गर्छ चेतना

मस्तिष्कको रहस्यमय पिनियल ग्रन्थी, जसले नियन्त्रण गर्छ चेतना

स-साना कुरामा पनि तनाव भइरहनु, के यो मानसिक समस्या हो ?

स-साना कुरामा पनि तनाव भइरहनु, के यो मानसिक समस्या हो ?

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल : अंग प्रत्यारोपितको टोली विजयी

विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल : अंग प्रत्यारोपितको टोली विजयी