+

यी लक्षण देखिए हुन सक्छ क्षयरोग

२०७९ चैत  ८ गते १३:३९ २०७९ चैत ८ गते १३:३९
यी लक्षण देखिए हुन सक्छ क्षयरोग

क्षयरोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्छ । चिकित्सकीय भाषामा यसलाई ट्युबरकुलोसिस भनिन्छ । छोटकरीमा यो रोगलाई टीबी भनेर चिनिन्छ ।

क्षयरोग माइकोब्याक्टेरियम ट्युबरकुलोसिस नामक कीटाणुबाट लाग्ने एक किसिमको सरूवा रोग हो । यो सरुवा रोग भएपनि खाना र यौनजन्य क्रियाकलापबाट सर्दैन ।

क्षयरोग कति तीव्र सर्छ भन्ने कुरा व्यक्तिको रोगप्रतिरोधात्मक क्षमतामा पनि भर पर्छ । रोगसँग लड्ने क्षमता कम भए क्षयरोगको कीटाणुले छिटो आक्रमण गर्छ । कुपोषण, दीर्घरोगी, एचआईभी संक्रमण भएका व्यक्तिमा यो रोग छिटो हुने जोखिम हुन्छ । यसले फोक्सोमा मात्र नभई शरीरको विभिन्न अंगलाई असर पार्न सक्छ ।

क्षयरोगलाई दुई भागमा विभाजन गर्न सकिन्छ । एउटा फोक्सोको क्षयरोग र अर्को फोक्सोबाहेकका अंगमा लाग्ने क्षयरोग । फोक्सोबाहेक ग्रन्थि, आन्द्रा, मस्तिष्क, हाड वा हड्डीको जोर्नी, मुटु, प्रजनन् तथा मूत्र प्रणाली, छाला, आँखा लगायत अंगमा पनि क्षयरोग हुन सक्छ । फोक्सोबाहेकका अंगमा भएको क्षयरोगको निदान तुलनात्मक रुपमा गाह्रो हुन्छ ।

क्षयरोगका लक्षण

नियमित खोकी लाग्नु, रुघाखोकी हुनु, खकारमा रगत देखा पर्नु, साँझपख ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु, तौल घट्दै जानु, खाना नरुच्नु क्षयरोगीमा देखिने लक्षण हुन् । यदि हड्डी वा हड्डीको जोर्नीमा क्षयरोग भएको खण्डमा यी माथिल्लो लक्षणबाहेक हड्डी दुख्ने, सुन्निने, छाला रातो हुने जस्ता लक्षण देखिन्छ । त्यस्तै ग्रन्थिमा क्षयरोग भएमा ग्रन्थिमा पीप बग्ने, गाँठो बढ्दै जाने, आन्द्रामा भएको भए खाना कम रुच्ने, कब्जियत हुने जस्ता समस्या देखिन थाल्छन् ।

मस्तिष्कमा भए टाउको दुख्ने, बान्ता हुने, बेहोस हुने जस्ता लक्षण देखिन्छ भने मुटुमा भए श्वास फेर्न गाह्रो हुने, थोरै हिंड्दा थकान महसुस हुने, स्याँ स्याँ हुने लक्षण देखिन्छ ।

हुन त क्षयरोगमा देखिने प्रारम्भिक लक्षण अन्य रोगमा पनि देखिन्छन् । तर दुई हप्ताभन्दा बढी लगातार खोकी लागिरहेमा भने खकार जाँच गरेर क्षयरोग हो कि होइन भन्ने थाहा पाउन सकिन्छ । ग्रन्थिमा भए गाँठोको जाँच गरिन्छ ।

उपचार के छ ?

क्षयरोगको निदान औषधिबाटै हुन्छ, शल्यक्रिया गर्नुपर्दैन । यसमा बिरामीले लामो समयसम्म औषधि खानुपर्ने हुन्छ । यसको औषधि देशभरका स्वास्थ्य केन्द्रमा निःशुल्क पाइन्छ । औषधि खाँदा खानेकुरा बार्नुपर्दैन ।

उपचार गर्न कति खर्च ?

औषधि निःशुल्क पाइने भएकाले यसका लागि खर्च लाग्दैन । तर लक्षणको आधारमा खकार लगायत जाँच गराउँदा अस्पतालमा केही खचए लाग्न सक्छ । अरु सबै उपचार निःशुल्क हुन्छ ।

सामान्य खालको क्षयरोगमा ६ महिनासम्म नियमित औषधि खाए निको हुन्छ भने जटिल खालको भए २४ महिनासम्म पनि औषधि खानुपर्ने हुन सक्छ । नियमित औषधि आए क्षयरोग पूर्ण रुपमा निको हुन्छ ।

क्षयरोगको जोखिम कसलाई ?

क्षयरोगको जोखिम सबै उमेर समूहलाई हुन्छ । यद्यपि, बालबच्चा, वृद्धवृद्धा र दीर्घरोगी क्षयरोगको बढी जोखिममा हुन्छन् ।

आराम गर्ने, पोषणयुक्त खाना खाने, मद्यपान र धुम्रपान नगर्ने, हरियो सागपात, फलफूल, माछा-मासु प्रशस्त खाने, पोषिलो तरल खाना खाने गरे क्षयरोग लाग्नबाट बच्न सकिन्छ ।

(डा. मिश्र छातीरोग विशेषज्ञ हुन् । उनी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत छन् । डा. मिश्रसँग रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

क्षयरोग डा. नवीनकुमार मिश्र
डा. नवीनकुमार मिश्र
लेखक
डा. नवीनकुमार मिश्र
फोक्सो तथा दमरोग विशेषज्ञ 

मेडिकल काउन्सिल दर्ता नम्बर : ८५९७ एमडी, फेलो अमेरिकन कलेज अफ चेस्ट फिजिसियन (एफसीसीपी) र फेलो एसियन प्यासिफिक सोसाइटी अफ रेस्पिरोलोजी (एफएपीएसआर) हाल सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मिर्गौलालाई स्वस्थ राख्न अपनाउनैपर्ने कुरा

मिर्गौलालाई स्वस्थ राख्न अपनाउनैपर्ने कुरा

यसरी कम गर्न सकिन्छ अनुहारको चाउरीपन

यसरी कम गर्न सकिन्छ अनुहारको चाउरीपन

पिसाबमा रगत आउँछ, कारण के हुनसक्छ ?

पिसाबमा रगत आउँछ, कारण के हुनसक्छ ?

वैदेशिक रोजगारीमा रहेका श्रमिकमा के-कस्ता स्वास्थ्य समस्या देखिन्छन् ?

वैदेशिक रोजगारीमा रहेका श्रमिकमा के-कस्ता स्वास्थ्य समस्या देखिन्छन् ?

रुघाखोकीले सतायो ? फ्लुभिड हुनसक्छ

रुघाखोकीले सतायो ? फ्लुभिड हुनसक्छ

घुँडा दुखाइको उपचारमा पीआरपी थेरापी कति उपयोगी ? (भिडियो)

घुँडा दुखाइको उपचारमा पीआरपी थेरापी कति उपयोगी ? (भिडियो)