+
+

पढ्न थाले माओवादी

‘१५ वर्ष भएछ हाम्रो पार्टी स्कुल नचलेको । यसबीचमा हाम्रो विचारधारात्मक स्तर निकै कमजोर भएर गएछ’ माओवादी स्कुल विभाग संयोजक गिरिराजमणि पोखरेल भन्छन् ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ चैत ८ गते २१:०८
पेरिसडाँडामा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड । तस्वीर : प्रधानमन्त्रीको सचिवालय ।

८ चैत, काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता/कार्यकर्ता पढ्न थालेका छन् । मंगलबारदेखि पार्टीको कार्यालय पेरिसडाँडामा प्रशिक्षणात्मक कक्षा चलिरहेको छ । ७७ जिल्ला, प्रदेश, गैर–भौगौलिक जिल्ला र प्रदेश कमिटीबाट छनोट गरिएका १५७ जना सहभागी उक्त प्रशिक्षण चैत ११ गतेसम्म चल्नेछ ।

केन्द्रीय स्कुल विभागका संयोजक गिरिराजमणि पोखरेलका अनुसार आलोचनात्मक चेत भएका मान्छे उत्पादन गर्ने र नेता/कार्यकर्ताहरुलाई जनसमुदायसँग गाँसिएको सेवक बनाउने पाँचदिने प्रशिक्षणको मुख्य उद्देश्य छ ।

सशस्त्र युद्धका बेला पार्टीले स्कुलिङ र विचारधाराको कामलाई धेरै महत्व दिने गरेको पोखरेल बताउँछन् ।

तर, शान्ति प्रक्रियामा आएपछि पार्टीको स्कुल विभाग प्राय: निष्क्रिय रह्यो । ‘१५ वर्ष भएछ हाम्रो पार्टी स्कुल नचलेको’ नेता/कार्यकर्तालाई पढाउनुपर्नाको कारणबारे स्कुल विभागका संयोजक पोखरेल भन्छन्, ‘यसबीचमा हाम्रो विचारधारात्मक स्तर निकै कमजोर भएर गएछ ।’

अध्यक्ष प्रचण्डले नै चासो देखाएपछि केन्द्रीय स्कुल विभागले भूगोल, जिल्ला, विशेष कमिटी र जनवर्गीय संगठनका छानिएका प्रतिनिधिहरूलाई पार्टी नेता र विषयविज्ञहरूले पढाउने गरी योजना तय गरेको हो ।

माओवादीको विचारधारात्मक आन्दोलन कमजोर हुँदा कम्युनिष्ट आन्दोलनमै दक्षिणपन्थी विचारहरुको बोलवाला हुँदै गएको पोखरेललाई लाग्छ । उनी थप्छन्, ‘हामीले विचारधारात्मक कामहरुलाई छोड्यौं । परिणाममा कम्युनिष्ट आन्दोलनमा विसर्जनवादी विचारहरु देखा पर्न थाले ।’

कम्युनिष्ट आन्दोलनलाई पुनः ब्यूँझाउन प्रशिक्षकहरु उत्पादन गर्ने र देशभर खटाउने माओवादी केन्द्रको तयारी छ । ‘विचार रिचार्ज गरिराख्नुपर्छ अनि मात्र मान्छे सशक्त हुन्छ, आफूलाई मजबुत बनाउँछ’ प्रशिक्षणको उद्देश्यबारे थप प्रष्ट्याउन खोज्छन्, ‘हामीले आलोचनात्मक चेत भएको मान्छे बनाउन खोजेका हौं । जनसमुदायसँग गाँसिएको सेवक पनि बनाउन खोजेका हौं ।’

बुधबार पहिलो दिनको कक्षामा अर्थ–राजनीतिक विश्लेषक हरि रोका र आदिवासी जनजाति आन्दोलनका अग्रज परशुराम तामाङले राजनीतिक अर्थशास्त्र र विश्व अर्थ व्यवस्थाबारे नेता/कार्यकर्तालाई प्रशिक्षण दिए ।

केन्द्रीय स्कुल विभागले तय गरेको पाठ्यक्रम अनुसार प्रशिक्षार्थीले २६ वटा कक्षा लिनेछन् । जहाँ दर्शनशास्त्रको विकासक्रम, द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, वर्तमान विश्व र दर्शनको विकास, राजनीतिक अर्थशास्त्र, विश्व अर्थतन्त्र, समाजवादी अर्थतन्त्र, नेपाली अर्थतन्त्र, विशेषता र सम्भावना, वैज्ञानिक समाजवाद र विकासक्रम, समाजवादको सैद्धान्तिक पक्ष, समाजवादको नेपाली विशेषता र कम्युनिष्टहरूको कार्यभारबारे पढाइनेछ ।

बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालित कक्षामा प्रशिक्षार्थीहरुलाई मोबाइल फोन अफ गर्न लगाइएको छ ।

वैज्ञानिक दृष्टिकोण, विज्ञानका नयाँ आयामहरूमाथि विश्लेषण, विश्व एवं नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास, राजनीतिक कार्यदिशा र विकास, पार्टी संगठन र परिचालन, व्यवस्थापन, आत्मनिर्भरता र विकास, राष्ट्रियता र भूराजनीति, संस्कृति र समाजवाद, उत्पीडित समुदायको सवाल, महिला, जातीयता, समावेशिता, विकास, योजना निर्माण, बजेट र राष्ट्रियताको सवाल लगायत विषयहरूबारे विषयविज्ञहरुले माओवादी नेता/कार्यकर्तालाई पढाउनेछन् ।

बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालित कक्षामा प्रशिक्षार्थीहरुलाई मोबाइल फोन अफ गर्न लगाइएको छ । नेताहरुका अनुसार सिकाइएका र सिकेका विषयको गहिराइमा पुग्न सकियोस् र प्रशिक्षणमा सहभागीहरुको ध्यान अन्यत्र नमोडियोस् भनेर मोबाइल फोन अफ गर्नुपर्ने कडा नियम बनाइएको हो ।

नेताहरुका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयंले चासो देखाएपछि केन्द्रीय स्कुल विभागले भूगोल, जिल्ला, विशेष कमिटी र जनवर्गीय संगठनका छानिएका प्रतिनिधिहरूलाई पार्टी नेता र विषयविज्ञहरूले पढाउने गरी योजना तय गरेको हो । यस योजना अनुसार जिल्ला अब तहमा समेत प्रशिक्षणहरु हुनेछन् । त्यसका लागि प्रशिक्षक उत्पादन गर्न यो प्रशिक्षण भइरहेको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि विचार महत्वपूर्ण शक्ति भएको बताउँछन् । मंगलबार प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले भनेका छन्, ‘तथ्य, सच्चाइ र तर्कको बलमा जसले व्यवस्थित रूपमा विचार प्रस्तुत गर्न सक्दछ, उसले नै समाज र राष्ट्रको नेतृत्व गर्दछ ।’ विचारधारात्मक स्पष्टताले जनताको मुक्ति र परिवर्तनको पक्षमा महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य कुमार पौडेल पार्टीको सिद्धान्त, नीति, कार्यक्रम, मार्क्सवाद, लेनिनवाद र माओवादका आधारभूत सिद्धान्तहरुबारे जनता र कार्यकर्ताहरुमा एकरुपताका साथ लैजान प्रशिक्षण फलदायी हुने विश्वास गर्छन् ।

‘विचार विनाको आन्दोलन बन्दैन । पार्टी बन्दैन । विचार विना समाजलाई गाइड गर्न सकिंदैन’ उनी भन्छन्, जब कार्यकर्ता वैचारिक रुपमा भुत्ते हुन्छन् त्यो कार्यकर्ताले समाज र देशको नेतृत्व गर्न सक्दैन । पार्टीको नेतृत्व गर्न सक्दैन ।’

नेता र कार्यकर्तालाई वैचारिक रुपमा निरन्तर अध्ययन गराउने, स्कुलिङहरु चलाउने र प्रशिक्षित गरिराख्ने योजना तय भएको र त्यस अनुसार पार्टी प्रशिक्षणात्मक कार्यक्रमहरुका केन्द्रित भएको उनी बताउँछन् ।

माओवादी केन्द्र बागमती प्रदेश समिति सदस्य विदुर खड्का युवाहरुले नेतृत्व तहसम्म पुग्नका लागि अध्ययन, अनुसन्धान र वैचारिक कामहरुमा पनि ध्यान दिनुपर्ने बताउँछन् । यसका लागि वैचारिक प्रशिक्षणहरु महत्वपूर्ण अवसर हुने उनको विश्वास छ ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?