+

कसरी बढाउने आत्मविश्वास ?

२०७९ चैत  ९ गते १३:४१ २०७९ चैत ९ गते १३:४१
कसरी बढाउने आत्मविश्वास ?

काठमाडौं । आत्मविश्वास अर्थात् आफैंमा विश्वास गर्नु । आत्मविश्वासले भरिएको व्यक्तिले आफ्नो निर्णय आफैं लिने मात्र होइन, सकारात्मक ऊर्जा पनि उत्सर्जन गर्छ । यस्तो  व्यक्ति कठिन परिस्थितिमा पनि डराउँदैन । त्यसैले हरेक व्यक्तिलाई आफूमा आत्मविश्वास होस् भन्ने लाग्छ ।

आत्मविश्वास एउटा भावना हो । जो व्यक्तिलाई आफूमा र आफ्नो क्षमतामा विश्वास हुन्छ,  उसमा आफ्नो लक्ष्यमा अघि बढ्ने शक्ति पनि हुने प्रेरकवक्ता मान्सी अग्रवाल बताउँछिन् ।

‘हरेक व्यक्ति कुनै न कुनै कुरामा आत्मविश्वासी हुन्छ । तर सबै कुरामा आत्मविश्वासी हुन सक्दैन । एउटा कुरामा आत्मविश्वास नभएको मान्छे अर्को कुरामा आत्मविश्वासी हुन सक्छ,’ उनी भन्छिन् ।

मानौं, कुनै व्यक्ति धेरै जनाको अघि स्टेजमा गएर बोल्न सक्दैन वा क्यामराको अघि बोल्न सक्दैन । तर त्यो व्यक्ति बन्जी जम्प गर्नमा भने आत्मविश्वासी हुन सक्छ ।

‘कुनै एउटा क्षेत्रमा आत्मविश्वासी हुने र हरेक क्षेत्रमा आत्मविश्वासी हुने अलग कुरा हो । यदि कुनै व्यक्तिलाई आत्मविश्वास बढाउनु छ भने कुन कुरामा आत्मविश्वास बढाउने भन्ने कुरा पहिले तय गर्नुपर्छ,’ अग्रवाल भन्छिन्, ‘सार्वजनिक स्थलमा भाषण गर्न आत्मविश्वास बढाउनुपर्ने हो वा गाडी चलाउनका लागि । जुन कुरामा आत्मविश्वास बढाउनुपर्ने हो, त्यो कुरामा बढी केन्द्रित हुनुपर्छ ।’

आत्मविश्वास जन्मजात आउने कुरा पनि होइन, यो पछि विकास हुने कुरा हो । हामी कस्तो वातावरणमा हुर्किन्छौ, के कस्ता कुरा सिक्छौं त्यसले आत्मविश्वास बढ्दै जान्छ । जुन क्षेत्रमा आत्मविश्वास बढाउनु पर्ने हो त्यसलाई निश्चित गरेर आत्मविश्वास बढाउन सकिने अग्रवाल बताउँछिन् । ‘यसमा उमेरको कुनै हद हुँदैन, जुनसुकै उमेरका मान्छेले पनि आत्मविश्वास बढाउन सक्छन्,’ उनी भन्छिन् ।

जीवनमा आत्मविश्वासको प्रभाव

आत्मविश्वासले मानिसको जीवनमा ठूलो प्रभाव पार्छ । ‘मानौं, कसैलाई नृत्यमा आत्मविश्वास बढाउनु छ । नृत्यमा आत्मविश्वास बढाउन तपाईं अभ्यास गर्नुहुन्छ, त्यसबारेमा धेरै ज्ञान हासिल गर्नुहुन्छ । यसले सीप बढ्छ,’ अग्रवाल भन्छिन्, ‘यसरी आत्मविश्वास बढ्ने बित्तिकै त्यसलाई नयाँ तरिकाले प्रस्तुत गर्ने कला विकास हुन्छ ।’

आत्मविश्वासका साथ गरिएको कामले नतिजा राम्रो दिन्छ । त्यसैले कुनै पनि कुरामा सफ हुन सीप र आत्मविश्वास दुवै चाहिने अग्रवाल बताउँछिन् ।

‘एक–दुई वर्षको उमेरमा नै हामी बोल्न त थाल्छौं । कसरी बोल्ने भनेर थाहा छ, त्यसैले सार्वजनिक स्थलमा धेरै जनाको अघि पनि बोल्न सक्छु होला जस्तो लाग्छ,’ अग्रवाल भन्छिन्, ‘तर धेरैको गुनासो हुन्छ सार्वजनिक स्थलमा धेरै जनाको अघि बोल्न र क्यामेराको अघि बोल्न आत्मविश्वास नै छैन । स्टेजमा पुगेपछि मुख, कान रातो हुने, हातखुट्टा काँप्ने हुन्छ ।’

बोल्न आउँछ भन्दैमा सार्वजनिक रूपमा बोल्न सक्नुपर्छ भन्ने होइन । सार्वजनिक रूपमा बोल्नु कला हो यसको लागि पनि अभ्यास र सीप जरुरी हुने उनी बताउँछिन् ।

आत्मविश्वास बढाउने तरिका

कुन क्षेत्रमा आत्मविश्वास बढाउने तय गर्ने

मान्छे सबै क्षेत्रमा आत्मविश्वासी हुनु जरुरी छैन । त्यसैले कुन क्षेत्रमा आफूलाई आत्मविश्वास बढाउने हो त्यो तय गर्नुपर्छ । यसो गर्दा त्यसमै केन्द्रित भएर आत्मविश्वास बढाउन सकिने अग्रवाल सुझाउँछिन् ।

‘यदि एउटा क्षेत्रमा मात्र आत्मविश्वास बढाउनु छैन समग्र रूपमा आत्मविश्वास बढाउनु छ भने एक वर्षको लागि नयाँ ठाउँमा गएर बस्नुस् । थोरै पैसा बोकेर जानुस् । केही पनि थाहा नभएको नयाँ ठाउँमा गएर एक वर्ष बिताउँदा त्यहाँ विभिन्न कुराहरूको सामना गर्नुपर्छ । धेरै दुःख अभाव भोग्नुपर्छ यसले आफ्नो बारेमा धेरै कुरा थाहा हुन्छ र आत्मविश्वास पनि बढ्छ,’ उनी भन्छिन् ।

नयाँ कुरा गर्न प्रयास गर्नुपर्छ, नयाँ ठाउँ घुम्नुपर्छ । यसो गर्दा केही कुरामा असफल पनि भइएला तर यसले आत्मविश्वास बढ्छ । ‘म समग्र रूपमा आत्मविश्वासी छु’ भन्ने व्यक्ति पनि कुनै कुरामा डराउन सक्छ । त्यसका लागि तीन कुरामा विशेष ध्यान दिनुपर्ने अग्रवाल सुझाउँछिन् ।

ज्ञान

जुन कुरामा आत्मविश्वास बढाउनुपर्ने हो । त्यो कुराको बारेमा जति ज्ञान हासिल गर्न सक्यो उति आत्मविश्वास बढ्दै जान्छ । त्यो कुराको बारेमा जति शिक्षा लिन, बुझ्न सक्यो भने आत्मविश्वासको पहिलो कदम पार गर्न सकिन्छ ।

अभ्यास

कुनै पनि कुरामा आत्मविश्वास बढाउन अभ्यास गर्न एकदमै जरुरी छ । जति अभ्यास गर्‍यो, त्यो कुरालाई त्यति नै राम्ररी बुझिन्छ । ज्ञान र अभ्यासले एउटा लेभलसम्मको आत्मविश्वास हासिल हुन्छ । एक–दुई पटक मात्र होइन, धेरै पटक अभ्यास गर्नुपर्छ ।

प्रतिक्रिया

आत्मविश्वास बढाउन यो कुरा महत्त्वपूर्ण छ । कुनै कुरा सिक्दै गर्दा त्यसको बारेमा धेरै अभ्यास गरेपनि मैले कस्तो गर्दै छु भनेर अरुसँग प्रतिक्रिया नलिंदासम्म त्यो कुरामा अब्बल हुन सकिंदैन । कस्तो गर्दै छु, कत्तिको सुधार भएको छ भनेर अरूबाट सुझाव लिएर त्यो सुझावलाई अवलम्बन गरेर अघि बढियो भने आत्मविश्वास बढ्दै जान्छ ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

आत्मविश्वास मान्सी अग्रवाल
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

पायल्स रोगीले खुर्सानी खान हुन्छ कि हुँदैन ?

पायल्स रोगीले खुर्सानी खान हुन्छ कि हुँदैन ?

भिटामिन बी-१२ को कमी हुँदा स्वास्थ्यमा कस्तो असर पार्छ ?

भिटामिन बी-१२ को कमी हुँदा स्वास्थ्यमा कस्तो असर पार्छ ?

वीरमा अब पार्किन्सन, छारेरोग, डिप्रेसनको नयाँ प्रविधिबाट उपचार

वीरमा अब पार्किन्सन, छारेरोग, डिप्रेसनको नयाँ प्रविधिबाट उपचार

गुलियो चिनीको तीतो असर

गुलियो चिनीको तीतो असर

‘खानेकुराकै कारण मात्रै अपचको समस्या आउने होइन’

‘खानेकुराकै कारण मात्रै अपचको समस्या आउने होइन’

बालबालिकाले परीक्षामा लिने तनावले मानसिक समस्या निम्त्याउँछ ?

बालबालिकाले परीक्षामा लिने तनावले मानसिक समस्या निम्त्याउँछ ?