स्मरण क्षमता बढाउने कुनै सजिलो तरिका हुन्छ ?

आमाको गर्भमा आएको चार हप्ताबाट मस्तिष्कको विकास हुन थाल्छ । तर त्यसको कार्यक्षमताको विकास भने जन्मेको दिनबाट हुन्छ ।
जन्मपछि पाँचवटा इन्द्रियले काम गर्न थाल्छ र मस्तिष्कको कार्यक्षमताको विकास हुन्छ । ६५ वर्षको उमेरपछि मस्तिष्कको विकास कम हुन्छ भनिन्छ । तर ७० वर्षको उमेरमा पनि कसैले नयाँ कुरा सिकेको उदाहरण छ । त्यसैले दिमागी रोग छैन भने जीवनभरि नै मस्तिष्कको विकास भइरहन्छ । १५ देखि ३० वर्षको उमेरमा भने मस्तिष्क एकदमै धेरै सक्रिय हुन्छ ।
जो मान्छेमा धेरै जिज्ञासा, उत्सुकता हुन्छ उसले नै धेरै कुरा सिक्छ । त्यो उत्सुकता र जिज्ञासा जगाउन मस्तिष्कमा इन्डोर्फिन लगायतका हार्मोन निस्कन्छ । यी हार्मोनले मस्तिष्कलाई ताजा बनाएर मस्तिष्कको क्षमता बढाउँछ ।
मस्तिष्कको आकार ‘हार्डवेयर’ ठूलो हुनु यसको विकास राम्ररी भएको छ भन्ने होइन । आकारभन्दा त्यसको कार्य क्षमता ‘सफ्टवेयर’ राम्रो छ भने त्यसको विकास राम्ररी भएको छ भनेर बुझ्नुपर्छ ।
कसरी हामी धेरै कुरा सम्झिन सक्छौं ?
हाम्रो मस्तिष्कको क्षमता असीमित हुन्छ । जीवनभरमा पनि हामीले हाम्रो मस्तिष्कलाई पूरा प्रयोग गर्न सक्दैनौं । पाँचदेखि १० प्रतिशत मात्र मस्तिष्कलाई प्रयोग गर्न सके पनि पुग्छ । तर सही तरिकाले सही ठाउँमा प्रयोग गर्नुपर्छ ।
हाम्रो मस्तिष्कमा चार भाग हुन्छन्, ‘फ्रन्टल लोब’, ‘पेराइटल लोब’, ‘टेम्पोरल लोब’ र ‘आक्सिपिटल लोब’ ।
यीमध्ये हामीले पढेको, सुनेको, देखेको कुरा ‘टेम्पोरल लोपमा गएर बस्छ र पछि त्यो गएर ‘फ्रन्टल लोब’मा गएर संग्रहित हुन्छ । त्यो कुरालाई हामीले बारम्बार सोच्न थाल्यौं भने मस्तिष्कको सबै भागमा फैलिएर बस्छ र त्यो लामो समयसम्म स्मरण हुन्छ ।
विद्यार्थीहरूले कुनै पनि चीज पढेर बिर्से जस्तो लाग्छ भने त्यसमा आत्तिनु पर्दैन त्यो ‘सर्ट टर्म मेमोरी’ हो । हामीले पढेको कुरालाई दोहोर्यायौं र सोच्यौं भने त्यो ‘लङ टर्म मेमोरीमा’ जान्छ ।
कुनै कुरा कसरी स्मरणमा राख्ने ?
पढेको कुरालाई लामो समय स्मरण गर्नु छ भने हाम्रो पाँच इन्द्रियलाई सक्रिय गराउनुपर्छ । कुनै कुरालाई पढेर मात्र बुझिंदैन भने त्यसलाई श्रव्य-दृश्य मार्फत सुन्नु हेर्नु पनि पर्यो । यसो गर्दा हाम्रो इन्द्रिय सक्रिय हुन्छ र त्यो कुरा लामो समयसम्म याद रहन्छ ।
कुनै पनि कुरालाई स्मरण गरिराख्न ‘निमोनिक्स’ छोटकरी सूत्र अपनाउन सकिन्छ । जस्तो काठमाडौंलाई ‘केटीएम’ भनेर छोटो रुप बनायौं भने सम्झिन सजिलो हुन्छ । वरपरको वातावरणले पनि स्मरण क्षमता बढाउनमा भूमिका खेल्छ । विद्यालयको वातावरण, घरको वातावरण राम्रो छ भने बच्चालाई तनाव हुँदैन र उसले कुनै पनि कुरालाई छिट्टै बुझ्न सक्छ, सम्झिन सक्छ ।
स्मरण क्षमता बढाउन यी माथिको सबै कुरा लागु भएको छ तै पनि स्मरण क्षमता राम्रो छैन भने मस्तिष्कसम्बन्धी केही बिरामी पो छ कि भनेर जाँच गर्नुपर्छ । समस्या छ भने उपचारपछि स्मरण क्षमता बढ्न सक्छ ।
तपाईंलाई के कुरा बढी जरुरी छ त्यो कुराले पनि कति समयसम्म स्मरण रहन्छ भन्ने कुरा निर्धारित गर्छ । मानौं तपाईंलाई आमाको फोन नम्बर याद हुन्छ । तर साथीको नम्बर याद नहुन सक्छ । त्यसैले मलाई यो कुरा जरुरी छ है भनेर हामीले सोच्यौ भने पनि त्यो कुरा लामो समय स्मरण हुन्छ ।
किन स्मरण क्षमता कमजोर हुन्छ ?
हाम्रो मस्तिष्कमा हजारौं ‘न्युरोन’हरू हुन्छन्, जसले विभिन्न केमिकलमार्फत सन्देश प्रवाह गरिरहेको हुन्छ । मस्तिष्कले आराम पाएन भने हाम्रो मस्तिष्कमा भएको ‘न्युरोन’ केमिकलमा परिवर्तन आउँछ र स्मरण क्षमता कम हुन्छ ।
विद्यार्थी जीवनमा पढेको स्मरण नै भएन, पढेको कुरा एकैछिनमा भन्ने गुनासो त प्रायः सबैको हुन्छ । यो समस्यालाई मानसिक स्वास्थ्यको दृष्टिकोणले हेर्दा तनावको कारण यस्तो हुन्छ । पढाइको तनावले गर्दा नै यो समस्या हुन्छ । कम पढ्ने तर पढ्नुपर्छ भन्ने तनाव चाहिं बढी लिंदा हाम्रो स्मरण क्षमता राम्रो हुँदैन । पढ्नुपर्छ भन्ने कुरालाई मनदेखि आत्मसात नगर्दा त्यो स्मरणमा गएर बस्दैन र चाहिएको बेला याद पनि आउँदैन ।
बालबालिकामा स्मरण क्षमता कमजोर हुने अर्को कारण पर्याप्त मात्रामा निद्रा नपुग्नु हो । अहिले बालबालिका मोबाइलमा धेरै समय बिताउँछन्, जसले गर्दा उनीहरूको सुत्ने रुटिन बिग्रिएको छ, पर्याप्त निद्रा पुग्दैन । निद्रा नपुग्दा हाम्रो मस्तिष्कले आराम पाउँदैन । तनाव, निद्राको कमी, खानपान, व्यायामको कमी, धुम्रपान-मद्यपानको सेवन र जथाभावी औषधिको सेवनले पनि स्मरण क्षमता कमजोर हुन्छ ।
मस्तिष्कको क्षमता बढाउन
तनावमुक्त हुने : तनावले गर्दा विभिन्न मानसिक समस्या निम्तिन सक्छ, जसले गर्दा मस्तिष्कको कार्यक्षमता कम हुन्छ । त्यसैले मस्तिष्कको कार्यक्षमता बढाउन तनावमुक्त हुनु एकदमै जरुरी छ । तनावमुक्त भयो भने स्मरण शक्ति बढ्छ ।
शारीरिक व्यायाम : शारीरिक रूपले सक्रिय हुनु मस्तिष्कको स्वास्थ्यका लागि ठूलो काम गर्छ । व्यायामले मस्तिष्क रसायन विज्ञानलाई परिवर्तन गर्छ । यसले मस्तिष्कलाई रक्त र अक्सिजनलाई पम्प गर्न पनि सहयोग गर्छ ।
सन्तुलित खानपान : हामी जे खान्छौं, त्यसको असर मस्तिष्कको क्रियाशीलता, स्मरण र तार्किक क्षमतामा पनि पर्छ । मस्तिष्कका लागि सन्तुलित र पोषणयुक्त भोजनको आवश्यकता हुन्छ, जसले यसलाई क्रियाशील बनाउँछ ।
कुलतबाट बच्ने : चुरोट तथा रक्सीले शरीरको हरेक अंगमा हानि गरे जस्तै मस्तिष्कमा पनि असर पुर्याउँछ । त्यसैले मस्तिष्कको क्षमता शक्ति बढाउन चुरोट, रक्सीको लतबाट बच्नुपर्छ ।
पर्याप्त मात्रामा निदाउने : मस्तिष्कको क्षमता बढाउन निद्रा पनि उत्तिकै जरुरी छ । दैनिक कम्तीमा पनि आठ घण्टा निदाउनुपर्छ । निद्रा पुग्दा मस्तिष्कले आराम पाउँछ र यसको क्षमता बढ्छ ।
औषधिको कम प्रयोग गर्ने : मेडिकल वा आयुर्वेदिक कुनै पनि प्रकारको औषधिको धेरै सेवनले मस्तिष्कको कार्यक्षमता कमजोर हुन्छ । त्यसैले साधारण दुखाइमा पनि औषधिको सेवन गर्नु हुँदैन ।
आत्मविश्वास बढाउने : आफू र आफ्नो क्षमतामा विश्वास गर्नुपर्छ । म जस्तो छु, ठीक छु भनेर आफ्नो आत्मविश्वास बढाउनुपर्छ । अरुसँग आफूलाई तुलना नगर्ने र खुसी हुने हो भने आत्मविश्वास बढ्छ । आत्मविश्वास बढेपछि मस्तिष्कको क्षमता पनि बढ्छ ।
(डा. थापा महाराजगन्जस्थित नेसनल न्युरो सेन्टरका वरिष्ठ न्युरोलोजिस्ट हुन् । उनीसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया 4