+

स्मरण क्षमता बढाउने कुनै सजिलो तरिका हुन्छ ?

२०७९ चैत  १० गते १५:४४ २०७९ चैत १० गते १५:४४
Shares
स्मरण क्षमता बढाउने कुनै सजिलो तरिका हुन्छ ?

आमाको गर्भमा आएको चार हप्ताबाट मस्तिष्कको विकास हुन थाल्छ । तर त्यसको कार्यक्षमताको विकास भने जन्मेको दिनबाट हुन्छ ।

जन्मपछि पाँचवटा इन्द्रियले काम गर्न थाल्छ र मस्तिष्कको कार्यक्षमताको विकास हुन्छ । ६५ वर्षको उमेरपछि मस्तिष्कको विकास कम हुन्छ भनिन्छ । तर ७० वर्षको उमेरमा पनि कसैले नयाँ कुरा सिकेको उदाहरण छ । त्यसैले दिमागी रोग छैन भने जीवनभरि नै मस्तिष्कको विकास भइरहन्छ । १५ देखि ३० वर्षको उमेरमा भने मस्तिष्क एकदमै धेरै सक्रिय हुन्छ ।

जो मान्छेमा धेरै जिज्ञासा, उत्सुकता हुन्छ उसले नै धेरै कुरा सिक्छ । त्यो उत्सुकता र जिज्ञासा जगाउन मस्तिष्कमा इन्डोर्फिन लगायतका हार्मोन निस्कन्छ । यी हार्मोनले मस्तिष्कलाई ताजा बनाएर मस्तिष्कको क्षमता बढाउँछ ।

मस्तिष्कको आकार ‘हार्डवेयर’ ठूलो हुनु यसको विकास राम्ररी भएको छ भन्ने होइन । आकारभन्दा त्यसको कार्य क्षमता ‘सफ्टवेयर’ राम्रो छ भने त्यसको विकास राम्ररी भएको छ भनेर बुझ्नुपर्छ ।

कसरी हामी धेरै कुरा सम्झिन सक्छौं ?

हाम्रो मस्तिष्कको क्षमता असीमित हुन्छ । जीवनभरमा पनि हामीले हाम्रो मस्तिष्कलाई पूरा प्रयोग गर्न सक्दैनौं । पाँचदेखि १० प्रतिशत मात्र मस्तिष्कलाई प्रयोग गर्न सके पनि पुग्छ । तर सही तरिकाले सही ठाउँमा प्रयोग गर्नुपर्छ ।

हाम्रो मस्तिष्कमा चार भाग हुन्छन्, ‘फ्रन्टल लोब’, ‘पेराइटल लोब’, ‘टेम्पोरल लोब’ र ‘आक्सिपिटल लोब’ ।

यीमध्ये हामीले पढेको, सुनेको, देखेको कुरा ‘टेम्पोरल लोपमा गएर बस्छ र पछि त्यो गएर ‘फ्रन्टल  लोब’मा गएर संग्रहित हुन्छ । त्यो कुरालाई हामीले बारम्बार सोच्न थाल्यौं भने मस्तिष्कको सबै भागमा फैलिएर बस्छ र त्यो लामो समयसम्म स्मरण हुन्छ ।

विद्यार्थीहरूले कुनै पनि चीज पढेर बिर्से जस्तो लाग्छ भने त्यसमा आत्तिनु पर्दैन त्यो ‘सर्ट टर्म मेमोरी’ हो । हामीले पढेको कुरालाई दोहोर्‍यायौं र सोच्यौं भने त्यो ‘लङ टर्म मेमोरीमा’ जान्छ ।

कुनै कुरा कसरी स्मरणमा राख्ने ? 

पढेको कुरालाई लामो समय स्मरण गर्नु छ भने हाम्रो पाँच इन्द्रियलाई सक्रिय गराउनुपर्छ । कुनै कुरालाई पढेर मात्र बुझिंदैन भने त्यसलाई श्रव्य-दृश्य मार्फत सुन्नु हेर्नु पनि पर्‍यो । यसो गर्दा हाम्रो इन्द्रिय सक्रिय हुन्छ र त्यो कुरा लामो समयसम्म याद रहन्छ ।

कुनै पनि कुरालाई स्मरण गरिराख्न ‘निमोनिक्स’ छोटकरी सूत्र अपनाउन सकिन्छ । जस्तो काठमाडौंलाई ‘केटीएम’ भनेर छोटो रुप बनायौं भने सम्झिन सजिलो हुन्छ । वरपरको वातावरणले पनि स्मरण क्षमता बढाउनमा भूमिका खेल्छ । विद्यालयको वातावरण, घरको वातावरण राम्रो छ भने बच्चालाई तनाव हुँदैन र उसले कुनै पनि कुरालाई छिट्टै बुझ्न सक्छ, सम्झिन सक्छ ।

स्मरण क्षमता बढाउन यी माथिको सबै कुरा लागु भएको छ तै पनि स्मरण क्षमता राम्रो छैन भने मस्तिष्कसम्बन्धी केही बिरामी पो छ कि भनेर जाँच गर्नुपर्छ । समस्या छ भने उपचारपछि स्मरण क्षमता बढ्न सक्छ ।

तपाईंलाई के कुरा बढी जरुरी छ त्यो कुराले पनि कति समयसम्म स्मरण रहन्छ भन्ने कुरा निर्धारित गर्छ । मानौं तपाईंलाई आमाको फोन नम्बर याद हुन्छ । तर साथीको नम्बर याद नहुन सक्छ । त्यसैले मलाई यो कुरा जरुरी छ है भनेर हामीले सोच्यौ भने पनि त्यो कुरा लामो समय स्मरण हुन्छ ।

किन स्मरण क्षमता कमजोर हुन्छ ?

हाम्रो मस्तिष्कमा हजारौं ‘न्युरोन’हरू हुन्छन्, जसले विभिन्न केमिकलमार्फत सन्देश प्रवाह गरिरहेको हुन्छ । मस्तिष्कले आराम पाएन भने हाम्रो मस्तिष्कमा भएको ‘न्युरोन’ केमिकलमा परिवर्तन आउँछ र स्मरण क्षमता कम हुन्छ ।

विद्यार्थी जीवनमा पढेको स्मरण नै भएन, पढेको कुरा एकैछिनमा भन्ने गुनासो त प्रायः सबैको हुन्छ । यो समस्यालाई मानसिक स्वास्थ्यको दृष्टिकोणले हेर्दा तनावको कारण यस्तो हुन्छ । पढाइको तनावले गर्दा नै यो समस्या हुन्छ । कम पढ्ने तर पढ्नुपर्छ भन्ने तनाव चाहिं बढी लिंदा हाम्रो स्मरण क्षमता राम्रो हुँदैन । पढ्नुपर्छ भन्ने कुरालाई मनदेखि आत्मसात नगर्दा त्यो स्मरणमा गएर बस्दैन र चाहिएको बेला याद पनि आउँदैन ।

बालबालिकामा स्मरण क्षमता कमजोर हुने अर्को कारण पर्याप्त मात्रामा निद्रा नपुग्नु हो । अहिले बालबालिका मोबाइलमा धेरै समय बिताउँछन्, जसले गर्दा उनीहरूको सुत्ने रुटिन बिग्रिएको छ, पर्याप्त निद्रा पुग्दैन । निद्रा नपुग्दा हाम्रो मस्तिष्कले आराम पाउँदैन । तनाव, निद्राको कमी, खानपान, व्यायामको कमी, धुम्रपान-मद्यपानको सेवन र जथाभावी औषधिको सेवनले पनि स्मरण क्षमता कमजोर हुन्छ ।

मस्तिष्कको क्षमता बढाउन

तनावमुक्त हुने : तनावले गर्दा विभिन्न मानसिक समस्या निम्तिन सक्छ, जसले गर्दा मस्तिष्कको कार्यक्षमता कम हुन्छ । त्यसैले मस्तिष्कको कार्यक्षमता बढाउन तनावमुक्त हुनु एकदमै जरुरी छ । तनावमुक्त भयो भने स्मरण शक्ति बढ्छ ।

शारीरिक व्यायाम : शारीरिक रूपले सक्रिय हुनु मस्तिष्कको स्वास्थ्यका लागि ठूलो काम गर्छ । व्यायामले मस्तिष्क रसायन विज्ञानलाई परिवर्तन गर्छ । यसले मस्तिष्कलाई रक्त र अक्सिजनलाई पम्प गर्न पनि सहयोग गर्छ ।

सन्तुलित खानपान :  हामी जे खान्छौं, त्यसको असर मस्तिष्कको क्रियाशीलता, स्मरण र तार्किक क्षमतामा पनि पर्छ । मस्तिष्कका लागि सन्तुलित र पोषणयुक्त भोजनको आवश्यकता हुन्छ, जसले यसलाई क्रियाशील बनाउँछ ।

कुलतबाट बच्ने : चुरोट तथा रक्सीले शरीरको हरेक अंगमा हानि गरे जस्तै मस्तिष्कमा पनि असर पुर्‍याउँछ । त्यसैले मस्तिष्कको क्षमता शक्ति बढाउन चुरोट, रक्सीको लतबाट बच्नुपर्छ ।

पर्याप्त मात्रामा निदाउने : मस्तिष्कको क्षमता बढाउन निद्रा पनि उत्तिकै जरुरी छ । दैनिक कम्तीमा पनि आठ घण्टा निदाउनुपर्छ । निद्रा पुग्दा मस्तिष्कले आराम पाउँछ र यसको क्षमता बढ्छ ।

औषधिको कम प्रयोग गर्ने : मेडिकल वा आयुर्वेदिक कुनै पनि प्रकारको औषधिको धेरै सेवनले मस्तिष्कको कार्यक्षमता कमजोर हुन्छ । त्यसैले साधारण दुखाइमा पनि औषधिको सेवन गर्नु हुँदैन ।

आत्मविश्वास बढाउने : आफू र आफ्नो क्षमतामा विश्वास गर्नुपर्छ । म जस्तो छु, ठीक छु भनेर आफ्नो आत्मविश्वास बढाउनुपर्छ । अरुसँग आफूलाई तुलना नगर्ने र खुसी हुने हो भने आत्मविश्वास बढ्छ । आत्मविश्वास बढेपछि मस्तिष्कको क्षमता पनि बढ्छ ।

(डा. थापा महाराजगन्जस्थित नेसनल न्युरो सेन्टरका वरिष्ठ न्युरोलोजिस्ट हुन् । उनीसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

डा. लेखजंग थापा स्मरण क्षमता
डा. लेखजंग थापा
लेखक
डा. लेखजंग थापा
वरिष्ठ न्युरोलोजिस्ट

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३९०१ एमबीबीएस, एमडी (इन्टरनल मेडिसिन), डीएम (न्युरोलोजी) हाल नेसनल न्युरो सेन्टर महाराजगञ्ज, काठमाडौंका न्युरोलोजी विभाग प्रमुख, नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने, अब्स्ट्र्याक्ट पेश गर्न आह्वान

आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने, अब्स्ट्र्याक्ट पेश गर्न आह्वान

एचआईभी नियन्त्रणमा प्रगति भए पनि लाञ्छना र विभेद अझै

एचआईभी नियन्त्रणमा प्रगति भए पनि लाञ्छना र विभेद अझै

विश्वकप हेर्न रातभर बस्दा, स्न्याक्स खाँदा के कुरामा सतर्कता अपनाउने ?

विश्वकप हेर्न रातभर बस्दा, स्न्याक्स खाँदा के कुरामा सतर्कता अपनाउने ?

घाममा बसेर जुरुक्क उठ्दा किन चक्कर लाग्छ ?

घाममा बसेर जुरुक्क उठ्दा किन चक्कर लाग्छ ?

ब्रोंकाइटिस र निमोनिया, यी दुईमा के फरक छ ?

ब्रोंकाइटिस र निमोनिया, यी दुईमा के फरक छ ?

ट्रमा सोसाइटी अफ नेपाल गठन, अध्यक्षमा डा. प्रमोद लामिछाने

ट्रमा सोसाइटी अफ नेपाल गठन, अध्यक्षमा डा. प्रमोद लामिछाने