+

मुटु हल्लिने, उफ्रिने समस्या पनि हुन्छ ?

२०७९ चैत  १३ गते १३:४९ २०७९ चैत १३ गते १३:४९
मुटु हल्लिने, उफ्रिने समस्या पनि हुन्छ ?

कतिपयले मुटु हल्लियो, उफ्रियो भनिरहेका हुन्छन् । खासगरी सुतेको बेला मुटु हल्लियो, उफ्रियो भनेर चिन्तित हुने गर्छन् । के वास्तवमै यस्तो हुन्छ ? मान्छेले मुटु उफ्रिएको, हल्लिएको महसुस दुई अवस्थामा गर्छन् ।

१. मुटुको समस्या भएमा

२. मानसिक समस्या भएमा

मुटुको भल्ब साँघुरो भएपछि यसको कार्यक्षमता घट्छ । यस्तो स्थितिमा मुटु हल्लिएको, उफ्रिएको महसुस हुन्छ । यसलाई हामी चिकित्सकीय भाषामा ‘मुटुको चालको गडबड’ भनिन्छ । सर्वसाधारणले यसैलाई मुटु ‘उफ्रियो’ भनेका हुन् ।

त्यसो त आत्तिएको, डराएको, रिसाएको बेला पनि मुटुको चाल बढेको महसुस गर्न सकिन्छ । यसबाहेक अस्वाभाविक रुपमा पनि मुटुको चाल बढ्ने गर्छ । यसलाई मेडिकल भाषामा कार्डियाक आर्थिमिया भनिन्छ ।

छाती भारी हुनु मुटुरोगको लक्षण हो ?

धेरैले सोध्ने गर्छन्, ‘मेरो त छाती भारी भयो । के कारण यस्तो भएको हो ?’ यस्तो पनि दुवै कारणले हुन सक्छ । एक त, मुटुको समस्या भएर । अर्को चाहिं मानसिक समस्याले । मुटुको भल्ब बन्द हुँदा, नसाहरु साँघुरो हुँदा मुटुले राम्ररी पम्प गर्न सक्दैन । यस्तो स्थितिमा छाती भारी हुन्छ ।

मुटुरोग भएको बाहिरी लक्षणबाट थाहा हुन्छ ?

दौडिंदा, उफ्रिंदा, खेल खेल्दा, डराउँदा, रिसाउँदा मुटुको चाल बढ्नु स्वभाविक हो । तर सामान्य अवस्थामा वा सामान्य हिंडडुल गर्दा पनि मुटुको चाल घटबड हुन्छ भने त्यसले मुटुरोगको संकेत गर्छ ।

यस्तो स्थितिमा हामीले केही लक्षणहरु अनुभव गर्न सक्छौं, छाती भारी हुने, सास फुल्ने, छाती दुख्ने, भ¥याङ चढ्दा गाह्रो हुने । हुन त अरु समस्या हुँदा पनि यस्तो लक्षण देखिन सक्छ ।

मुटुमा समस्या हुँदा देखिने लक्षण

मुटुको समस्याअनुसार लक्षण एकैनास हुँदैन । जस्तै मुटुको चाल गडबड भएमा मुटु हल्लिएको, उफ्रिएको महसुस हुन्छ । यदि मुटुको काम गर्ने क्षमता कम भएमा दम बढ्ने, राति सुत्न गाह्रो हुने, स्वाँस्वाँ हुन्छ । त्यस्तै मुटुको भल्ब बन्द भएमा वा साँघुरो भएमा छिटोछिटो चाल बढ्ने, छाती दुख्ने समस्या हुन्छ । साथै शरीर कमजोर हुने, चक्कर आउने, एक्कासि बेहोस हुने जस्ता समस्या पनि मुटुरोगको कारण हुन सक्छ ।

नेपालीलाई मुटुको कुन समस्या बढी ?

नेपालीलाई मुटुको नसा बन्द हुने समस्या बढी देखिन्छ । खासगरी नसामा बोसो जमेर साँघुरो हुन्छ । यसले गर्दा त्यहाँ अक्सिजनको आपूर्ति राम्ररी हुँदैन । यसले गर्दा मुटु भारी हुने, दुख्ने समस्या हुन्छ ।

किन यस्तो हुन्छ ?

खासमा त हाम्रो खानपान र जीवनशैलीकै कारण मुटुरोग लाग्ने गर्छ । अत्यधिक सोडियमयुक्त खानेकुरा, ट्रान्सफ्याटयुक्त खानेकुरा, धुम्रपान, अनिद्रा, आरामको कमीले मुटुरोग लाग्न सक्छ । यसैगरी व्यायामको कमी वा निष्क्रिय जीवनले पनि मुटुरोग लाग्न सक्छ ।

उपचार

मुटुको उपचार धेरै प्रकारबाट गर्न सकिन्छ । यसको समस्या कस्तो छ त्यसमा भर पर्छ । यसको औषधिबाट तथा विभिन्न प्रविधिबाट मुटुभित्र यन्त्र जडान गरी पनि उपचार गरिन्छ । औषधि र यन्त्रबाट भएन भने शल्यक्रिया गरेर उपचार गरिन्छ । नेपालमा मुटुरोगसम्बन्धी सम्पूर्ण समस्याको उपचार गरिन्छ ।

(मुटुरोग विशेषज्ञ डा. विष्ट विराट मेडिकल कलेज शिक्षण अस्पताल, टंकीसिनुवारी, मोरङका कन्सल्टेन्ट कार्डियोलोजिस्ट हुन् । उनले सिंगापुरस्थित नेसनल हार्ट सेन्टरबाट  इन्टरभेन्सल कार्डियोलोजी फेलोसिप गरेका छन् । डा. विष्टसँग रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

डा. माधव विष्ट मुटुरोग
डा. माधव विष्ट
लेखक
डा. माधव विष्ट
मुटुरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ७६०९ एमबीबीएस, एमडी, सिंगापुरस्थित नेसनल हार्ट सेन्टरबाट इन्टरभेन्सल कार्डियोलोजी फेलोसिप मोरङको टंकीसिनुवारीस्थित विराट मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय