+
+

भारतीय दूतावास भन्छ– अमृतपाल सिंह नेपालमा लुकेका छन्, प्रहरी भन्छ– छैनन्

गौरव पोखरेल गौरव पोखरेल
२०७९ चैत १५ गते २०:१५

१५ चैत, काठमाडौं । भारतको पञ्जाबमा स्वतन्त्र राज्य खालिस्तानको माग गर्दै आएका सिख अभियन्ता अमृतपाल सिंह नेपालमा लुकेर बसेको भारतीय दूतावासले दाबी गरेको छ । नेपालस्थित भारतीय दूतावासले परराष्ट्र मन्त्रालयमार्फत अध्यागमन विभागलाई पठाएको पत्रमा उनी अहिले नेपालमा लुकिरहेको दाबी गरिएको छ ।

भारतीय राजदूतावास, काठमाडौंले शनिबार लेखेको पत्रमा अमृतपालविरुद्ध भारतमा ‘लुकआउट सर्कुलर’ जारी भएको भन्दै उनी नेपालमार्फत भारतीय वा कुनै मुलुकको नक्कली राहदानी लिएर तेस्रो मुलुक भाग्ने प्रयास गर्न सक्ने भनिएको छ ।

‘उनी अहिले नेपालमा लुकिरहेका छन्, उनको सम्भावित हुलिया र उनले प्रयोग गर्न सक्ने पासपोर्टको कपि पनि यसैसाथ संलग्न गरिएको छ’, अनलाइनखबरलाई प्राप्त दूतावासले लेखेको पत्रमा भनिएको छ, ‘उनलाई नेपालबाट तेस्रो मुलुक जान नदिन र नेपालबाट भाग्न खोजे पक्राउ गर्न अनुरोध छ ।’

दूतावासले पत्र लेख्नुअगावै उनी नेपाल छिरेको हुनसक्ने अनुमानसहित भारतीय सञ्चारमाध्यममा समाचार आएपछि नेपाल प्रहरीको विशेष ब्यूरो र सशस्त्र प्रहरीले बलले चासो देखाएको थियो ।

‘उनलाई खोज्न भन्दै सुरक्षा निकायलाई औपचारिक जानकारी आएको छैन, तर छिमेकी मुलुकमा सर्वाधिक खोजी सूचीमा रहेका व्यक्ति नेपाल आएको हुनसक्ने खबरप्रति प्रहरीले स्वभाविक रुपमा चासो राखेको छ’, नेपाल प्रहरीका उच्च स्रोतले अनलाइनखबरसँग भन्यो, ‘नेपालमा आएर कुनै मुलुकविरुद्ध गतिविधि नहोस् भन्नेमा हामी सचेत छौं ।’

स्रोतका अनुसार उनी सुरुमा महेन्द्रनगर नाका हुँदै नेपाल प्रवेश गरेको भनिएको थियो । पछि नेपालगञ्ज पुगिसकेको सूचना समेत भारतीय पक्षले चुहाएको थियो । त्यही आधारमा उनी बस्न सक्ने सम्भावित स्थान र धार्मिक क्षेत्रहरुमा एक सुरक्षा निकायको टोलीले छापा हानेको थियो । उनले सेल्टर लिनसक्ने सम्भावित स्थानमा प्रहरीले अझै निगरानी उच्च पारेको छ ।

तर, सिंह नेपाल छिरेको सूचना प्रहरीले स्वतन्त्र रुपमा पुष्टि गर्न सकेको छैन । केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलले सिंह नेपालमा प्रवेश गरेको आफूहरुलाई जानकारी नभएको अनलाइनखबरलाई बताए ।

‘बाहिर आए जस्तो आधिकारिक जानकारी प्रहरीलाई छैन’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोखरेलले भने, ‘जहाँसम्म उनी नेपाल आउन सक्ने कुरा छ, नेपाल प्रहरी सीमामार्फत हुनसक्ने आपराधिक गतिविधि र त्यस्ता कार्यमा संलग्न व्यक्तिको निगरानीमा सधैँ उच्च सतर्कताका साथ बसेको छ ।’

भारतमा गम्भीर अपराधमा संलग्न व्यक्ति पक्राउ नपरेर प्रहरीमाथि प्रश्न उठिरहेका बेला उनीहरु नेपाल छिरेको सूचना चुहाउने प्रवृत्ति नौलो होइन

सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी पुरुषोत्तम थापाले पनि सिंह नेपाल प्रवेश गरेको यकिन जानकारी आफूहरुलाई नभएको बताए । उनले भने, ‘यद्यपि, सीमामा सशस्त्र प्रहरी बल सधैँ सतर्क छ ।’

राष्ट्रिय अनुसन्धान विभागले पनि यो प्रकरणमा चासो देखाएको छ । तर, सिंह नेपाल प्रवेश गरेको हुन् भन्ने कुनै आधार फेला नपरेको विभाग उच्च स्रोतको भनाइ छ । ‘भारतमा मोस्ट वान्टेड व्यक्ति पक्राउ पर्न नसक्दा नेपालतिर देखाइदिने पुरानै प्रवृत्ति हो’, विभागका एक अधिकारीले अनलाइनखबरसँग भने, ‘सिंह प्रकरण पनि त्यसकै श्रृंखला हुनसक्छ ।’

विगतमा पञ्जाबका गायक सिद्धु मुसेवालाको गोली हानी हत्या गरिएको प्रकरणका आरोपी पक्राउ पर्न नसकेका बेला भारतीय सञ्चारमाध्यममार्फत आरोपीहरु नेपाल प्रवेश गरेको सूचना चुहाइएको थियो ।

दुई महिलाको बलात्कार गरेको अभियोगमा भारतका धर्मगुरु गुरमित रामरहिम सिंह पक्राउ परेपछि भूमिगत भएकी धर्मपुत्री हनिप्रित इन्सान पनि नेपाल प्रवेश गरेको सूचना २०७४ असोजमा भारतीय टेलिभिजनमार्फत चुहिएको थियो । सिंह दोषी ठहर भएपछि भारतमा भड्किएको हिंसाका लागि हनिप्रितलाई जिम्मेवार मानिएको थियो र उनलाई देशद्रोहको आरोप पनि लागेको थियो ।

भारतका टेलिभिजन च्यानल नै पिच्छे फरकफरक दाबी त्यसबेला सार्वजनिक भएका थिए । कतिपयले हनिप्रित गौरीफन्टा नाकाबाट नेपाल प्रवेश गरेर इटहरी, विराटनगर लगायत पूर्वी क्षेत्रका शहरतिर पुगेको उल्लेख गरेका थिए । केही च्यानलमा हनिप्रित मुग्लिन हुँदै पोखरातिर गएको भन्दै ‘एउटा गाडी देखिने फुटेज’ पनि देखाइएको थियो ।

पछि हनिप्रितलाई प्रहरीले पञ्जाबको मोहाली क्षेत्रबाट पक्राउ गर्‍यो, त्यसपछि उनले आफू फरार भएका बेला दिल्ली, हरियाणा, राजस्थान, पञ्जाब वरपर घुमेर बसेको बताइन् ।

पञ्जाबमा प्रहरीले खोजी तीब्र पारिरहेकै बेला सार्वजनिक भएको अमृतपाल सिंहको पछिल्लो तस्वीर । स्रोतः सामाजिक सञ्जाल

‘भारतीय प्रहरीको अनुसन्धानमाथि प्रश्न उठिरहेका बेला सबैको ध्यान नेपालतिर डाइभर्ट भएको थियो, पछि नेपालमा नभएको आफैं पुष्टि भयो’ एक अधिकारी भन्छन्, ‘गम्भीर अपराधका कसूरदारलाई पक्राउ गर्न नसक्दा आरोपी भारततिर लुकेको देखाइदिने चलन नेपाल प्रहरीमा पनि नभएको होइन ।’

३० वर्षका अमृतपाल सिंह ‘वारिस पञ्जाब दे’ नामक संगठनका प्रमुख हुन् । उनले पृथकतावादी अभियान चर्काउन खोजेको भन्दै पञ्जाब प्रशासनले उनलाई मोस्ट वान्टेड सूचीमा राखेको छ । पञ्जाबको एक प्रहरी चौकीमा हमला गरेको आरोपमा उनका समर्थक र कार्यकर्ताहरु पक्राउ परिरहेका छन् ।

संगठनसँग जोडिएका सिखहरुलाई बदनियतपूर्ण तरिकाले हिरासतमा लिएको भन्दै गत महिना सिंहले विरोध प्रदर्शन चर्काएका थिए । आफ्ना संगठनका सदस्यहरुको रिहाइको माग गर्दै प्रहरी चौकी अगाडि गरिएको प्रदर्शनले हिंसात्मक रुप लिएको थियो । त्यसमा जोडिएको भन्दै पञ्जाब प्रशासनले उनका समर्थकहरुलाई पक्राउ गरिरहेको छ ।

पञ्जाब प्रशासनले अमृतपाल सिंहमाथि प्रहरी अधिकारीविरुद्ध हमला, सरकारी अधिकारीलाई काममा अवरोध पुर्‍याएको, हत्या प्रयास र सामाजिक द्वेष फैलाएको अभियोग लगाएको छ ।

भारतीय अनलाइन समाचार पोर्टल स्क्रोल डट इनका अनुसार अमृतपाल एक वर्षअघिसम्म पञ्जाबमा चिनिएका व्यक्ति थिएनन् । सन् २०२० मा मोदी सरकारले कृषि सम्बन्धी तीन कानून ल्याएपछि त्यसविरुद्ध भएको किसान आन्दलोलनका क्रममा अभियन्ता सन्दिप सिंहलाई सहयोग गर्दै सामाजिक सञ्जालमा भिडियोहरु पोष्ट गरेपछि अमृतपालको पक्षमा समर्थन बढ्न थालेको थियो ।

सन् २०२२ को मार्चमा एक्कासी ‘वारिस पञ्जाब दे’ संगठनको प्रमुख चुनिएको खबर आएपछि उनी थप चर्चाको केन्द्रमा आएका थिए । पहिले संगठनको नेतृत्व गरिरहेका सन्दीपको कार दुर्घटनामा निधन भएप्छि अमृतपाल संगठन प्रमुख बनेका थिए ।

स्क्रोलमा प्रकाशित एक रिपोर्टिङ अनुसार पञ्जाब डी सन् २०२१ को सेप्टेम्बरमा स्थापना भएको संगठन हो, त्यसबेला सन्दीपले यसलाई पञ्जाबको अधिकारका लागि केन्द्र सरकारविरुद्ध लड्नका लागि दबाब समूह भएको बताएका थिए ।

‘राज्यको संस्कृति, भाषा र जीवनशैलीमाथि भइरहेको हमलामाथि विरोध गर्नलाई यो दबाब समूह हो’, उनले भनेका थिए, ‘हिन्दु, मुस्लिम, सिख वा क्रिस्चियन यो सबैका लागि हो, पञ्जाबको अधिकारका लागि हो ।’

अमृतपाल सिंह संगठन प्रमुख घोषणा हुनुअघि दूबईमा थिए । उनी त्यहाँ परिवारले झण्डै एक दशकदेखि चलाइरहेको यातायात व्यवसाय गरिरहेका थिए । संगठन प्रमुख घोषणा भएपछि उनी पञ्जाब फर्किएका थिए । संगठन प्रमुख चुनिएपछि उनले एक युट्युब च्यानललाई अन्तरर्वार्ता दिँदै भारतमा पञ्जाबमाथि उपनिवेशिक शासन रहेको बताएका थिए ।

केही भारतीय सञ्चारमाध्यममा उनलाई पाकिस्तानसँग समेत जोडेर समाचार प्रकाशित गरेका छन् । हिन्दुस्तान टाइम्सले भारतीय गुप्तचर स्रोतलाई उदृत गर्दै उनलाई पास्कितानी खुफिया एजेन्सीबाट परिचालित व्यक्ति भएको आशंका गरिएको बताएको छ ।

पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले पनि उनलाई पाकिस्तानको समर्थन रहेको दाबी गरेका छन् ।

पञ्जाबका मुख्यमन्त्री भगवन्त मान हुनु पर्नेमा अन्यथा भएकाले सच्याएका छाैं – सं.

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?