+
+

विद्वान राजा जो सर्वत्र पुजिए 

मनका पाशविक वृत्ति माथि जय पाए जगत जितिन्छ अर्थात् ‘मनो जयति यः जयति ब्रह्माण्ड’ राजा जयपृथ्वीबहादुर सिंहको दर्शनको मूल सूत्र हो। सिंहको मानवतावादमा बुद्धको धम्मपद र शंकराचार्यको अद्वैत वेदान्तको व्यावहारिक सम्मिश्रण पाइन्छ।

डा. विष्णुप्रसाद जोशी डा. विष्णुप्रसाद जोशी
२०७९ चैत १५ गते १७:१३

राजा-राणा भन्नासाथ तपाईंको मनमा कस्तो विचार आउँछ ? आम जनताको क्षमता र उत्कृष्टता भन्दा वंश र धर्मको वर्चस्वमा विश्वास गर्ने, राज्य सत्ताको आसपास रहेर शक्तिको आडमा जनतामाथि दमन गर्ने आदित्यादि।

नेपालमा जनता जागरूक भएपछि जहानियाँ राणाशासन र निरङ्कुश राजतन्त्रको अन्त्यसँगै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो। तर आज पनि हरेक बझाङ्गीले एक राजालाई आफ्नो हृदयको गद्दीमा श्रद्धाभावका साथ राखेका छन्। उनी हुन्- राजा जयपृथ्वीबहादुर सिंह। सिंह नेपालको इतिहासमा राजावादी र गणतन्त्रवादी सबैले सम्मान गर्ने सीमित पात्रमध्ये एक हुन्।

जहानियाँ राणाशासनमा देश छोड्न बाध्य पारिएका प्रजावत्सल उदार राजा जयपृथ्वीबहादुर सिंहको जीवन र प्रगतिशील दर्शनबारे हामीले कमै चर्चा गर्दै आएका छौं। शाहवंशीय राजाका गुणगान गर्न तल्लीन पञ्चायतकालले उनको योगदानलाई विस्मृतिमै राख्यो। प्रजातन्त्र स्थापनापछि उनको जीवन–दर्शनको चर्चा पुनः जागृत हुँदै गयो। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले ढिलै भए पनि राजा जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूतिका रूपमा सम्मान दियो।

५ भदौ १९३४ मा बझाङमा जन्मिएका सिंह जङ्गबहादुर राणाका भान्जा र चन्द्रशमशेरका ज्वाइँ हुन्। यद्यपि उनमा न राणाहरूको जस्तो सत्ता स्वार्थ देखियो न राजा हुँ भन्ने घमन्ड नै। जतिबेला नेपालका राजा-राणा आफ्नो गद्दी बचाइराख्न जनतालाई शिक्षित गर्न चाहँदैनथे, भाइ-भाइको हत्या गरेर अनेक पर्व मच्चाई जसको तरबार उसकै दरबार भन्ने जङ्गलराजमा विश्वास गर्थे, त्यही कालखण्डमा बझाङमा जन्मिएका जयपृथ्वीबहादुर सिंहले जनता पढाउन आफ्नो श्रीपेच धरौटी राखे र जनताको सेवा गर्न आफ्नो राजगद्दी समेत त्यागे।

बाल्यकालको शिक्षा-दीक्षा काठमाडौंको थापाथली दरबारमा लिएका सिंहले स्नातक तहसम्मको अध्ययन भारतको कोलकातामा गरे। तर उदार हृदयका धनी सिंह राणाहरूको जहानियाँ सोचको विपरीत जनता पढाउन चाहन्थे। सिंहले १९६३ सालमा नक्सालस्थित आफ्नै दरबारमा सत्यवादी पाठशाला खोलेर आफैं अध्यापन गर्न थाले। त्यहाँ पढाइ हुने आधारभूत शिक्षासम्बन्धी अक्षरमाला, प्राकृत व्याकरण, शिक्षा दर्पण जस्ता पाठ्यपुस्तकहरू पनि उनले नै लेखे।

डा. विष्णुप्रसाद जोशी

चन्द्रशमशेरले बन्द गरिदिने आशङ्कामा जयपृथ्वीले १९६९ सालमा बझाङको चैनपुर हुँदै १९७३ सालमा त्यो सत्यवादी विद्यालयलाई बझाङको मेल्लेख सारे। पछि सत्यवादी हाईस्कूल भोपुरका नामले प्रचलित विद्यालयमा यस स्तम्भकारका बुवाले पनि पढ्ने अवसर प्राप्त गरेका थिए। यसरी आज म लगायत कैयौं बझाङ्गी शिक्षित हुनुमा राजा जयपृथ्वीको योगदान छ।

शिक्षामा प्रत्यक्ष योगदान बाहेक जयपृथ्वीबहादुर सिंहले साहित्यमा पुर्‍याएको योगदान पनि अतुलनीय छ। उनले लेखेका ज्ञानमाला र श्रेस्ता बोध लगायत पुस्तकहरू नेपाली भाषा साहित्यका अमूल्य निधि हुन्। आधारभूत शिक्षा र साहित्यका बाहेक जयपृथ्वीले तत्त्व प्रशंसा, पदार्थ तत्त्व र मानवतावाद जस्ता गहन दर्शनको प्रतिपादन समेत गरेका थिए।

गोरखापत्रको स्थापना र सञ्चालनमा प्रमुख भूमिका खेलेका सिंहले सञ्चार र पत्रकारिताको विकासमा समेत महत्त्वपूर्ण योगदान दिएका थिए। गोरखापत्रको शीर्ष भागमा प्रकाशित हुने ‘सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया:’ भन्ने शान्ति पाठको अंश (संस्कृत श्लोक) समावेश गर्ने अभ्यासको सुरुवात सर्वप्रथम १९५८ तत्कालीन गोरखापत्रका सम्पादक जयपृथ्वीबहादुर सिंहले नै गरेका थिए। यसबाट पनि उनको सबै प्रजा सुखी र स्वस्थ रहून् भन्ने कामना प्रष्ट हुन्छ। जयपृथ्वी शिक्षाबाटै नै समाज परिवर्तन र मानवतावादद्वारा नै विश्व शान्ति स्थापित हुन्छ भन्ने मान्यता राख्थे।

सामाजिक न्याय र समावेशितामा विश्वास राख्ने उनी भन्थे, ‘मेरो जात मानव हो। मेरो धर्म मानवता हो। मेरो सिद्धान्त मानवतावाद हो। मेरो अरू कुनै धर्म र जात छैन।’ सामाजिक रूपान्तरणमा अनवरत प्रयत्न गरिरहने जयपृथ्वीले आजभन्दा एक शताब्दी अघि नै जातीय विभेद अन्त्य गर्दै सीमान्तकृत वर्गको सशक्तीकरणको लागि दलित समुदायका परम्परागत पेशाको आधुनिकीकरण प्रयास गरेका थिए।

बझाङको मुम्ला गाउँका रनी लुहार, मण्डिदयका कलु भुल (सार्की), चैनपुरका रविदास दमाई लगायत शिल्पी समुदायका ८ जनालाई विभिन्न सीप सिकाउन उनले काठमाडौं लगेर कृषि औजार, जुत्ता, तामा तथा ढलौट प्रशोधन सम्बन्धी तालिम दिलाई बझाङमा औद्योगीकरणको प्रयास समेत थालेका थिए। त्यस्तै बझाङी जनतालाई कानुनी अधिकार दिलाउन अदालत स्थापना गरी राजा-राणाहरूको शासनमा ‘दरबारले समेत अन्याय गरेमा त्यस विरुद्ध फिराद गर्ने प्रणालीको स्थापना’ को उद्घोष गरेका थिए।

आज नेपालका अन्य राजाहरूका नाम इतिहासका पानामा सीमित हुँदै गर्दा जयपृथ्वीबहादुर सिंहको जीवन र दर्शनमा अध्ययन, अनुसन्धान गर्न चाहनेहरूको सङ्ख्या बढ्दैछ। त्यसैले त भनिन्छ विद्वत्ता र नृपत्वको तुलना हुन सक्दैन किनकि राजाको जय जयकार एक गाउँमा हुन्छ, जबकि विद्वानको जय गान संसार भर।

भारतमा बालविवाह, सती प्रथा र जातपात विरुद्ध सामाजिक अभियान चलाउने प्रगतिशील सोच भएका राजा राममोहन रोय, शिक्षा सुधारमा ईश्वर चन्द्र विद्यासागर र पूर्वीय दर्शनमा स्वामी विवेकानन्दको नाम अग्रणी छ। त्यही कालखण्डमा नेपालमा जन्मिएका जयपृथ्वीमा यी तीनै समाजसेवीका सामाजिक न्याय, ग्रामीण शिक्षा सुधार र विश्व बन्धुत्वको मानवीय दर्शनको समायोजन देख्न सकिन्छ। राजनैतिक रूपमा प्रजातन्त्र रुचाउने सिंह गान्धीझैं अहिंसाद्वारा नै समाजमा परिवर्तन ल्याउन चाहन्थे। उनी शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवामा जनताको समान पहुँच हुनुपर्छ भन्ने विचारमा समाजवादी सिद्धान्तसँग नजिक थिए।

यस्ता प्रगतिशील विचार र समाज सुधारका कार्यले गर्दा सिंहको आफ्नै ससुरा श्री ३ चन्द्रशमशेरसँग वैमनश्यता बढ्न थाल्यो। अन्ततः सन् १९२४ मा भारतको बैंग्लोरमा निर्वासित हुन बाध्य पारिए।

पहिलो विश्वयुद्ध पश्चात् सन् १९२० मा गठन भएको ‘लिग अफ नेशन्स’ले विश्वमा राष्ट्रहरूबीचको वैमनश्यता र द्वन्द्व न्यूनीकरण गर्न सकिरहेको थिएन। उक्त विश्व परिवेशमा जयपृथ्वीले ‘लिग अफ नेशन्स’ का कमजोरीहरू औंल्याउँदै संयुक्त राष्ट्रसंघ निर्माणको दिशामा महत्त्वपूर्ण वैचारिक आधार तयार गरेका थिए जतिबेला उनी निर्वासनमा थिए। उनका गतिविधि, विचार र लेखहरूले त्यस समयका पत्रपत्रिका र मिडियाहरूमा राम्रै स्थान लिन्थे।

प्रथम विश्वयुद्धलगत्तै फैलिएको स्पानिश फ्लुको महाव्याधिले करोडौं मान्छे मारिए। सिंहले सन् १९२० को दशकमा मानवतामाथि लागेका चोटमा मल्हमपट्टी लगाउने क्षमता राख्ने मानवतावादको दर्शन प्रतिपादन गरे। सन् १९२८ मा बैंग्लोरमा रहँदा सिंहले दार्शनिक पुस्तक ‘मानवतावाद’ को पहिलो, दोस्रो र तेस्रो गरी तीन भाग प्रकाशित गरे।

‘मानव जातिका कष्टहरूको निवारण गर्न’ का लागि उनले मानवतावादको सिद्धान्तलाई तीन भागमा व्याख्या गरे। पहिलो भागमा ‘मानवका अनेक कष्टका कारणहरू’ शीर्षकमा दुःखको मुख्य कारण अल्प ज्ञानवश संसारमा विभाजन देख्नु हो भनेका छन्।

सिंहका अनुसार स्वार्थ, व्यक्तिवाद र वैमनस्य जस्ता गुणहरू हामीभित्र रहेका पशु प्रवृत्ति हुन् जसले विभाजन र द्वन्द्व निम्त्याउँछन्। यी पाशविक प्रवृत्तिलाई जित्न सिंहले मानवतावादी सोच र सह-अस्तित्वको परिकल्पना गरे। दोस्रो भागमा ‘चेतनशील मानव र ब्रह्माण्ड’ शीर्षकमा आत्मज्ञान र विज्ञानको पारस्परिकतादेखि कर्म, जीवन र मृत्यु जस्ता अस्तित्वका गहन पहेलीहरू समेटे।

तेस्रो तथा अन्तिम भागमा ‘मानव कष्टहरूको निवारण र शाश्वत सत्य’ शीर्षकमा सिंह जगतमा अनेकता र विभाजन देख्ने मानवको द्वेषपूर्ण बुझाइजन्य कष्टहरूको निवारण गर्न सक्ने दर्शन र पथको रूपमा मानवतावादको सिद्धान्त अघि सार्छन्। समग्रमा सिंहको मानवतावाद सिद्धान्तले अनेकतामा एकता, भाइचारा र सह-अस्तित्वको खोजी गर्छ।

मानवतावादको सिद्धान्त ‘अरूबाट आफूलाई जस्तो व्यवहारको अपेक्षा राख्छौं, हामीले पनि अरूलाई त्यस्तै व्यवहार गर्नुपर्छ’ भन्ने नैतिकताको सर्वमान्य अवधारणा भन्दा पनि अझै गहन अध्यात्मिक अन्तर्दृष्टिको प्रतिपादन गर्छ जहाँ पूर्ण ज्ञान प्राप्तिको अवस्थाले ‘आफूलाई अरूमा हेर्न’ आग्रह गर्दै अध्यात्मलाई मानवतासँग जोड्छ। मनका पाशविक वृत्ति माथि जय पाए जगत जितिन्छ अर्थात् ‘मनो जयति यः जयति ब्रह्माण्ड’ राजा जयपृथ्वीबहादुर सिंहको दर्शनको मूल सूत्र हो। सिंहको मानवतावादमा बुद्धको धम्मपद र शंकराचार्यको अद्वैत वेदान्तको व्यावहारिक सम्मिश्रण पाइन्छ।

सन् १९३० को दशकमा जयपृथ्वीले मानवतावादको सन्देश विश्वव्यापी बनाउने प्रयत्नमा विश्वभ्रमणको आरम्भ गरे। बैंग्लोरमा मानवतावादी क्लब, बर्मामा गएर ह्युमानिष्ट पाठशाला र अमेरिका, जापान, बेलायत लगायत देशमा यसका शाखाहरू खोले। भाइचारा र विश्वशान्तिको लागि आफूले प्रतिपादन गरेको मानवतावादको सिद्धान्तको प्रचारप्रसार गर्दै युरोपेली शहरहरू जेनेभा (स्विट्जरल्याण्ड), बर्लिन (जर्मनी), पेरिस (फ्रान्स) लगायत संयुक्त अधिराज्यको लन्डनमा विश्व शान्ति र विश्व बन्धुत्वको लागि राष्ट्रहरूबीचको एकता र सहकार्यको लागि ‘मानवतावाद’ को महत्व र मानवतावादी क्लबहरूको भूमिकाहरूको विषयमा आफ्ना धारणा राखे। यसरी विश्वबन्धुत्व र सह–अस्तित्वको सन्देश सहित विश्व भ्रमण गर्ने उनी पहिलो नेपाली थिए।

अमेरिकी राष्ट्रपति हर्बट हुबरको निमन्त्रणामा विश्व धर्म संघको दोस्रो महासभा आयोजनालाई सघाउन जयपृथ्वी अमेरिकाको सिकागो शहरमा पुगे। सन् १९३३ मा सम्पन्न धार्मिक सम्मेलनको दोस्रो संस्करणमा भाग लिने क्रममा उनले मानवतावाद र पूर्वीय दर्शनको बारेमा एउटा महत्त्वपूर्ण प्रवचन दिंदै भनेका थिए, ‘यस सभामा हामी विभिन्न धर्म, जाति र देशका प्रतिनिधि मानव प्रगतिका बाधक समस्याहरूका सामूहिक आध्यात्मिक समाधान खोज्न एकत्रित भएका छौं।’

यो त्यही धार्मिक सम्मेलन हो जसको पहिलो संस्करणमा स्वामी विवेकानन्दले सर्व धर्म स्वीकार्यता बारे गरेको सम्बोधनले उनलाई विश्व विख्यात बनाएको थियो। सन् १९३३ मा भएको यही धर्म सभामा राज्यले कुनै धर्मलाई भेदभाव नगरी सबैलाई समान दृष्टिले हेरिनुपर्छ भन्ने धर्मनिरपेक्षता र विश्व शान्तिको लागि सबै समुदाय एकापसमा मिलेर बस्न सह–अस्तित्वको सिद्धान्त प्रतिपादन गरिएको थियो।

त्यसैताका नेशनल ब्रोडकास्टिङ कम्पनीले प्रसारण गरेको अन्तर्वार्तामा उनले मानवतावादको सिद्धान्तको बारेमा आफ्नो विचार राख्दै भने, ‘म यहाँ पूर्वीय रहस्यवादी दर्शन- स्वर्गको आनन्द र नर्कको पीडाको भविष्यवाणी- गर्न आएको होइन। न त मलाई अहिले यहाँ एक डलर देऊ र तिम्रो सत्कर्मले तिमीलाई लाखौं मिल्ने छ भन्न आएको हुँ। न म यहाँ कसैलाई आफ्नो घरबार छोडेर जङ्गलमा जाऊ र ध्यान गरेर देवता, आत्म र मनमा लगाऊ भन्न आएको हुँ।

विश्वभरिका मान्छे आएर हार्वर्डका संस्थापक जोन हार्वर्ड विश्वविद्यालयको प्रतिमा अघि तस्वीर खिच्ने गर्छन्। यसको विपरीत संसारभर आफ्नै प्रतिमा बनाउन लगाउने कैयौं निरङ्कुश शासकका प्रतिमा ढालिए। वास्तविक नाम त जहानियाँ सत्ताले हैन विद्वत्ताले अमर हुन्छ।

म खाने, पिउने र रमाइलो गर्ने जस्ता जीवनका क्रियाकलापहरूबाट भाग्ने सल्लाह पनि दिन्नँ। मेरो दर्शन अत्यन्त सरल छ; कुनै पनि काम गर्नु भन्दा अगाडि दुईपटक सोच, यो नै मेरो सिद्धान्त हो। म यो कुरामा जोड दिन चाहन्छु कि तिम्रो कुनै पनि कार्य तिम्रै तर्क, बुद्धि र विवेकद्वारा निर्देशित हुनुपर्दछ।’ सिंहको विचार र दर्शनमा आध्यात्मिकता, प्रगतिशील सोच र वैज्ञानिक समालोचनात्मक चेतको गज्जब सम्मिश्रण पाइन्छ।

‘लिग अफ नेशन्स’ असफल भएर नाजीवाद र फासीवादले युरोपमा जरा गाडिरहेको १९३० को दशकको पूर्वार्धमा जयपृथ्वीबहादुर सिंहको सक्रियतामा भएको विश्व धर्म महासंघले प्रतिपादन गरेका विश्व बन्धुत्व र सह-अस्तित्वका सिद्धान्तहरूले नै द्वितीय विश्वयुद्ध पछि सन् १९४५ मा अमेरिकी राष्ट्रपति रुजवेल्ट र बेलायतका प्रधानमन्त्री विन्स्टन चर्चिल समेतको अगुवाइमा संयुक्त राष्ट्रसंघ गठन हुनको लागि पृष्ठभूमि तयार गरेको थियो। यसरी जयपृथ्वीले विश्वमा मानवतावादी दर्शन फैलाउन सफल भएका थिए। तर राष्ट्रसंघको स्थापना नदेख्दै १९९७ असोज १ (१५ अक्टोबर सन् १९४०) मा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको निधन भयो। उनको निधनमा हिन्दू दैनिक र अरु पत्रिकाहरूले ‘दोस्रो गौतम बुद्धको देहावसान’ भनेर सम्पादकीय लेखेका थिए।

उनी आज भौतिक रूपमा नरहे पनि उनको जीवन-दर्शन र शिक्षामा गरेको योगदानले सबै नेपालीलाई प्रेरित गरिरहेको छ। उनको योगदानलाई ढिलै भए पनि देशले चिनेर गत वर्ष उनलाई राष्ट्रिय विभूति घोषणा गरेको छ। जहानियाँ शासन, अधिनायकवाद लाद्ने प्रयास, भ्रष्टाचार, कुशासन, नातावाद, कृपावाद चलाएका आधारमा नेपालमा कुनै वंशप्रति घृणा गर्ने हो भने कैयौं जातिलाई घृणा गरे हुन्छ। तर राजा जयपृथ्वीबहादुर सिंहको मानवतावादी दृष्टिकोणले हेर्दा व्यक्ति भन्दा व्यक्तित्व, जातीय द्वन्द्व भन्दा भाइचारा र वर्ग संघर्ष भन्दा सह-अस्तित्वले नै समाजको दीर्घकालीन विकास र समृद्धि ल्याउँछ।

विश्वभरिका मान्छे आएर हार्वर्डका संस्थापक जोन हार्वर्ड विश्वविद्यालयको प्रतिमा अघि तस्वीर खिच्ने गर्छन्। यसको विपरीत संसारभर आफ्नै प्रतिमा बनाउन लगाउने कैयौं निरङ्कुश शासकका प्रतिमा ढालिए। वास्तविक नाम त जहानियाँ सत्ताले हैन विद्वत्ताले अमर हुन्छ।

आज नेपालका अन्य राजाहरूका नाम इतिहासका पानामा सीमित हुँदै गर्दा जयपृथ्वीबहादुर सिंहको जीवन र दर्शनमा अध्ययन, अनुसन्धान गर्न चाहनेहरूको सङ्ख्या बढ्दैछ। त्यसैले त भनिन्छ विद्वत्ता र नृपत्वको तुलना हुन सक्दैन किनकि राजाको जय जयकार एक गाउँमा हुन्छ, जबकि विद्वानको जय गान संसार भर।

विद्वत्वं च नृपत्वं च नैव तुल्यं कदाचन।

स्वग्रामे पूज्यते राजा विद्वान सर्वत्र पूज्यते।।

(बझाङमा जन्मिएका डा. जोशी हाल अमेरिकामा कार्यरत छन्।)

लेखकको बारेमा
डा. विष्णुप्रसाद जोशी

बझाङमा जन्मिएका लेखक हाल अमेरिकामा कार्यरत वैज्ञानिक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?