+
+

शुद्ध तेल चिन्ने कसरी ?

अनुश्री आचार्य, पोषणविद् अनुश्री आचार्य, पोषणविद्
२०७९ चैत १९ गते १७:०८

हाम्रो खानेकुरामा तेल अनिवार्य जस्तै नै हुन्छ । तोरी, भटमास र सूर्यमुखीको तेल भान्सामा धेरै खपत हुन्छन् । जैतुनको तेल अर्थात् ओलिभ आयल पनि केही मात्रामा प्रयोग हुने तेलमा पर्छ । खानेकुरामा तेल प्रयोग गरिरहँदा यो कति स्वास्थ्यवद्र्धक छ भन्नेमा भने हामीमध्ये धेरैले चासो दिएका हुँदैनौं ।

कुनै पनि तेलले बेफाइदा त गर्दैन तर कति स्वास्थ्यवर्द्धक छ ? भन्ने कुरा दैनिक कति तेलको प्रयोग भइरहेको छ भन्नेमा भर पर्छ । तेललाई धेरैबेर तताउने, एकपटक प्रयोग गरेको तेल पटक-पटक प्रयोग गर्ने गरेमा त्यसले स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउँछ ।

तोरी, भटमास र सूर्यमुखीको तेल बढी उपभोग हुने नेपालमा ओलिभ तेल भने खासै प्रयोग गर्ने गरेको पाइँदैन । ओलिभ तेल विदेशमा मात्रै उत्पादन हुने भएकाले उच्च मूल्यका कारण यसको उपभोग कम भएको हुन सक्छ ।

तोरी र सूर्यमुखीको तेलमा पोषक तत्व फरक हुन्छ ?

तोरी र सूर्यमुखीको तेलमा एउटै पोषक तत्व ओमेगा सिक्स पाइन्छ । किनकि यी दुवै तेल वनस्पतिबाट बनेका हुन्छन् । यसमा भटमास र नरिवलको तेल पनि पर्छन् ।

तेलबाट पाइने अर्को पोषक तत्व हो ओमेगा थ्री, जुन जीवजन्तुबाट पाइन्छ । जस्तै माछाको तेल, समुन्द्रमा पाइने जीवजन्तुबाट पाइने तेलमा ओमेगा थ्री पाइन्छ ।

वनस्पतिजन्य तेल र जीवजन्तुबाट पाइने तेलमा पाइने पोषक तत्व फरक हुने भएकाले हप्तैपिच्छे तेल परिवर्तन गरेर खाने गरे राम्रो हुन्छ ।

शुद्ध तेल चिन्ने कसरी ?

पहिले पहिले जस्तो शतप्रतिशत शुद्ध तेल पाउन त गाह्रै हुन्छ । यद्यपि अहिले बजारमा पाइने तेल हानिकारक हुन्छन् भन्न खोजिएको होइन । तर सूर्यमुखी तेल आयातीत भएकाले शुद्धतामा शंका गर्न सकिन्छ ।

पहिले मिलबाट प्रत्यक्ष तेल ल्याइने भएकाले त्यसलाई धेरैबेर तताएर मात्रै खानेकुरा पकाउनुपर्ने हुन्थ्यो । तर अहिले उद्योगमा भुटेर, पकाएर, विभिन्न तत्व मिसाएर प्याकिङ गरी आएका हुन्छन् । यस्तो तेललाई धेरै तताउनु पर्दैन । हल्का तताएर तरकारी वा अन्य खानेकुरा पकाउँदा हुन्छ । यसो गर्नाले तेलमा पाइने पोषक तत्व नष्ट हुन पाउँदैन ।

शरीरलाई दैनिक कति तेल चाहिन्छ ?

मानिसका लागि दैनिक कम्तीमा १० एमएल तेल खान जरुरी हुन्छ । जुन दिनभरि बिहान, दिउँसो र बेलुका गरी उपभोग गरिन्छ । एकैचोटि गर्दा नकारात्मक असर पर्न सक्छ ।

तेल धेरै खाएमा के हुन्छ ?

तेल धेरै खाएमा मोटोपन बढ्ने सम्भावना हुन्छ । कोलेस्टेरोल बढ्ने, मधुमेह, उच्च रक्तचाप, फोक्सो, मुटुलाई तेलले असर पार्न सक्छ । धेरै तेलको प्रयोगले विभिन्न रोगको जोखिम हुन्छ ।

तर तेल खाँदै नखाने गरेमा पनि शरीरमा आवश्यक पोषण पुग्दैन । तेलको परिपूर्ति घिउ र बटरले गर्ने गरे पनि हुन्छ ।

(पोषणविद् आचार्यसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?