+
+

परराष्ट्रमन्त्रीमा एनपी साउद, आइतबार शपथ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २ गते २०:१०
कांग्रेस नेता एनपी साउद ।

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । उनले भोलि (आइतबार) पद तथा गोपनीयताको शपथ लिने तय भएको छ ।

सत्तारुढ गठबन्धनमा १० वैशाखको उपचुनावपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी भएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावित भारत भ्रमणको तयारीका लागि तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्न लागिएको हो ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुबीच शनिबार विहान, बालुवाटारमा भएको छलफललगत्तै साउदको नियुक्ति तय भएको एक नेताले जानकारी दिए । ‘परराष्ट्रमन्त्री नभएकै कारण भ्रमणको तयारीका कामहरु रोकियो भनेकाले तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्न लागिएको हो’, ती नेताले भने ।

उनको शपथ आइतबार दिउँसो ३ बजेका लागि तय भएको छ ।

१७ चैतको मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा नै साउदलाई परराष्ट्रमन्त्री बनाउने तयारी थियो । तर कांग्रेसभित्र भागवण्डा नमिलेपछि रोकिएको थियो ।

सत्ता गठबन्धनमा भएको भागवण्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो । सभापति शेरबहादुर देउवाले आफ्नो पक्षका ६ नेता तय गरेर शेखर कोइराला–गगन थापा समूहसँग दुई मन्त्रीको नाम मागेका थिए । तर शेखर–गगन समूहले ३ मन्त्री पाउनुपर्ने, नभए नाम नै नदिने अडान लिएपछि देउवाले चार जनालाई मात्र सरकारमा पठाए ।

पछिल्लो समय थप एउटा मन्त्रालय लिएर भएपनि कांग्रेसको आन्तरिक भागवण्डा मिलाउन खोजिएको छ । हालै मात्र आफ्नो समूहको छलफलमा शेखर कोइराला र गगन थापा दुबैले आफूहरुले ३ मन्त्री र एक राज्यमन्त्री पाउने बताएका थिए । तर मन्त्रिपरिषद्ले पूर्णता भने १० वैशाखको उपचुनावपछि मात्र पाउने नेताहरु बताउँछन् ।

प्रदेशस्तरको भागवण्डा पनि उपचुनावपछि नै

एकीकृत समाजवादीका नेताहरुले बागमती प्रदेश सरकारमा आफ्नो दललाई सहभागी नगराएकोमा असन्तुष्टि जनाएका छन् ।

मुख्यमन्त्री शालिकराम जमकट्टेलले २७ चैतमा कांग्रेसबाट बहादुर सिंह लामा र तीर्थ लामालाई मन्त्री नियुक्त गरेका थिए । आफ्नो दललाई समावेश नगराएकोमा एकीकृत समाजवादीका नेताहरुले शनिबार प्रधानमन्त्रीसँगको बैठकमा असन्तुष्टि जनाएका छन् ।

एक नेताका अनुसार १० वैशाखको उपचुनावपछि लगातार छलफल गर्ने र भागवण्डा टुंग्याएर प्रदेश सरकारलाई पूर्णता दिने समझदारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?