+

हड्डी भाँचिंदा कस्तो अवस्थामा रड राख्नुपर्छ ?

२०८० वैशाख  ६ गते १७:३२ २०८० वैशाख ६ गते १७:३२
हड्डी भाँचिंदा कस्तो अवस्थामा रड राख्नुपर्छ ?

काठमाडौं । चोटपटक वा दुर्घटनामा पर्दा हड्डी भाँचिन सक्छ । हड्डी भाँचिनुलाई चिकित्सकीय भाषामा ‘बोन फ्याक्चर’ भनिन्छ । यसको अर्थ हड्डीमा कुनै किसिमको चिरा पर्नु वा बनावट परिवर्तन हुनु हो । कुनै कारणले हड्डीमा धेरै दबाब परेमा भाँचिन्छ ।

हड्डी भाँचिएपछि त्यसलाई जोड्न कुनै अवस्थामा प्लास्टर गरे पुग्छ भने कतिपय अवस्थामा शल्यक्रिया नै गर्नुपर्छ ।

शरीरको ठाउँ र व्यक्तिको उमेर अनुसार हड्डी भाँचिदा गर्नुपर्ने उपचार फरक हुने राष्ट्रिय ट्रमा सेन्टरका सिनियर कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. ऋषि बिष्ट बताउँछन् ।

शल्यक्रिया गरेर पाता राख्नुपर्ने अवस्था

बालबालिको हड्डी भाँचिएमा शल्यक्रिया गर्नुपर्दैन । युवा तथा वृद्धावस्थाका व्यक्तिको हकमा भने शल्यक्रिया गरेर स्टिलको पाता वा रड राख्नुपर्ने हुन सक्ने डा. विष्ट बताउँछन् । ‘कुनै जोर्नी नजिक भएको फ्र्याक्चरलाई पहिलेकै अवस्थामा जोड्न पनि पाता तथा अन्य रडको प्रयोग गर्नुपर्छ,’ उनी भन्छन् ।

हड्डी जोड्न प्रयोग गरिने पाता र रड मुख्यतया स्टिल र टाइटानियम भन्ने धातुबाट बन्छ । भाँचिएका हड्डीलाई भित्रबाट ‘फिक्स’ गर्न रड, पाता, पेच किला, तारलगायत प्रयोग हुन्छ । यी धातुहरू शरीरमा मिल्ने चीजले बनेको हुने डा. बिष्ट बताउँछन् ।

सकारात्मक पक्ष

शल्यक्रियामार्फत स्टिल तथा रड राख्दा हड्डी छोटो समयभित्रै जोडिन्छ । प्लास्टर गर्दा हड्डी जोडिन तीन महिनाभन्दा बढी लाग्थ्यो भने शल्यक्रिया गरेर कुनै पाता वा रड प्रयोग गरियो भने चाँडो जोडिने डा. बिष्टले बताउँछन् ।

‘रड तथा पाता राख्दा जुन हड्डी पहिले भाँचिएको थियो, हुबहु पहिलेको जस्तै आकारमा जोडिन्छ । प्लास्टर गर्दा हड्डी पहिले जस्तो हुबहु आकारमा नजोडिन सक्छ,’ उनी भन्छन् ।

नकारात्मक पक्ष

शल्यक्रिया गर्दा केही जटिलता पनि देखिन्छन् । घाउ पाक्न सक्ने, नसा तथा अन्य संवेदनशील अंगमा चोटपटक लाग्न सक्ने हुन्छ । शल्यक्रिया गर्ने क्रममा एनेस्थेसिया दिइने भएकाले त्यसको पनि आफ्नै जोखिम हुन सक्ने विष्ट बताउँछन् ।

‘साथै यो खर्चिलो प्रविधि पनि हो । पाता नै महंगो हुन्छ, बेहोस गराउनुपर्‍यो, भर्ना गर्नुपर्‍यो । सबै जोड्दा खर्च बढ्छ,’ उनी भन्छन् ।

रड वा पाता कति समय राख्नुपर्छ ?

पहिले शरीरमा कुनै पनि पाता वा रड प्रयोग गरेमा त्यसलाई निकाल्नुपर्छ भन्ने थियो । तर पछिल्लो समय सबै प्रकारका पाता र रड झिक्नैपर्छ भन्ने छैन, आजीवन राख्न पनि सकिने डा. विष्ट बताउँछन्  । ‘उदाहरणको लागि हातको कुहिनाभन्दा माथि पाता राखिएको छ, त्यसले भाँचिएको हड्डीलाई राम्ररी जोडेको छ र कुनै समस्या दिएको छैन भने आजीवन नझिक्दा पनि हुन्छ,’ उनी भन्छन् ।

हिपको जोर्नी भाँचिएको अवस्थामा जोर्नी नै प्रत्यारोपण गरी फलाम राखिन्छ । त्यसलाई जीवनभर नै राख्नुपर्छ । बिग्रिएको भागलाई झिकेर परिपूर्तिको लागि रड वा फलामलाई राखिएको हुनाले त्यसलाई आजीवन नै राख्नुपर्ने विष्ट बताउँछन् ।

‘पाताले कुनै समस्या दिएको छैन भने पनि नझिक्दा पनि हुन्छ । हाम्रो शरीरमा हामी कुनै पनि प्रकारको बाहिरी तत्त्व राख्न चाहँदैनौं भने एकदेखि दुई वर्षभित्र झिक्न सकिन्छ,’ उनी भन्छन्, ‘पाता राखेको ठाउँ वरपर दुखिरहन्छ, सुन्निएको छ, बिझाउँछ भने पनि त्यसलाई दुई वर्षभित्र निकाल्नुपर्छ ।’

समस्या भएमा निकाल्नुपर्छ

पाता राखेको ठाउँ वरपर दुखिरहन्छ, सुन्निएको छ र बिझाउँछ भने डाक्टरको सल्लाह लिएर पातालाई निकाल्नुपर्ने बिष्ट बताउँछन् । ‘यी समस्या भइरहँदा पनि निकालिएन भने पाता राखिएको ठाउँमा थोरै चोटपटक लाग्दा पनि फेरि भाँचिने वा पाता वरपरको संवेदनशील नसा तथा अन्य अंग थिचिन सक्छ,’ उनी भन्छन् ।

कहिलेकाहीं पाता बांगिने, किला जाम हुने पनि हुन सक्छ, त्यस्तो बेला निकाल्नुपर्छ । डा. बिष्ट भन्छन्, ‘ननिकालेमा भाँचिएको ठाउँमा पाता राख्नभन्दा निकाल्न समस्या हुन सक्छ ।’

शरीर हड्डी
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय