+
+

के-पप जगतको अँध्यारो पाटो : कलिलै उमेरमा मृत्युको बाटो रोज्दैछन् कोरियाली पपस्टार

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ७ गते १३:४५
बुधबार राति निधन भएका दक्षिण कोरियाली पपस्टार मुन बिन

काठमाडौं । दक्षिण कोरियाली पपस्टार मुन बिनको बुधबार राति २५ वर्षको कलिलै उमेरमा निधन भयो । दक्षिणी सियोलको स्थानीय गङनम पुलिस स्टेसनको प्रारम्भिक विवरणअनुसार उनले घरमै आत्महत्या गरेजस्तो देखिएको छ । प्रहरीले उनको मृत्यु हुनुमा अन्य कारण अहिलेसम्म फेला पारेको छैन ।

बिनको निधनले के-पप जगत र फ्यान स्तब्ध छन् । उनको निधनपछि सामाजिक सञ्जालमा श्रद्धाञ्जलीको ओइरो लागिरहेको छ । सन् २०१६ मा एल्बम ‘एस्ट्रो’बाट गायनमा डेब्यु गरेका बिन पछिल्लो समय के-पपमा चलेका स्टार हुन् । सन् २००९ मा कोरियाली सिरिज ‘ब्वाइज ओभर फ्लावर्स’मार्फत उनी मनोरञ्जन जगतमा प्रवेश गरेका थिए ।

केही वर्षभित्रै दक्षिण कोरियाको मनोरञ्जन जगतले तन्नेरी कलाकार गुमाइरहेको छ । दर्शकले आइडल मान्ने स्टारहरुले नै मृत्युको बाटो रोजेपछि कोरियामा मानसिक स्वास्थ्यमा बहस सुरु भएको छ । २३ जनवरी २०२१ मा पपस्टार सङ-यो-जङको २६ वर्षको उमेरमा निधन भयो । उनको एजेन्सी सबलाइम आर्टिस्टले अहिलेसम्म मृत्युको कारण बाहिर ल्याएको छैन ।

चोई जिन-रीउर्फ सुल्ली चर्चित कोरियाली पपस्टार हुन् । पहिले एफ एक्स ब्याण्डकी सदस्य सुल्लीले अभिनय करिअरमा ध्यान दिन भन्दै सन् २०१५ मा यो ब्याण्ड छाडिन् । इन्स्टाग्राममा ५० लाखभन्दा बढी फलोअर्स भएकी यी स्टारले साइबर बुलिङको घटनापछि सन् २०१९ मा आत्महत्या गरिन् । उनले त्यतिबेला ‘ब्रेसलेस’ नामक नारीवादी अभियान पनि चलाएकी थिइन् ।

कोरियाली पपस्टार सुल्ली

सुल्लीले आत्महत्या गरेको ६ हप्तापछि २८ वर्षीया गू हारा आफ्नै घरमा मृत फेला परेकी थिइन् । उनले आफ्नो इन्स्टाग्राममा ‘गुडबाइ’ शब्द पोस्ट गरेकी थिइन् । के-पप स्टारडम र सार्वजनिक छानबिनको ठूलो दबाबलाई हाइलाइट गर्दै गूले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘म जस्तो सार्वजनिक मनोरञ्जनकर्तालाई यो सजिलो छैन । हामीसँग हाम्रो निजी जीवन अरू कसैको भन्दा बढी जाँच गरिन्छ र हामीले पीडा भोग्छौं । हामी हाम्रो परिवार र साथीसँग पनि छलफल गर्न सक्दैनौं ।’ यसअघि उनका प्रेमीले सेक्स-टेप सार्वजनिक गर्ने धम्की दिएको कुरा सार्वजनिक भएपछि गू आत्महत्याको प्रयासबाट बच्न सफल भएकी थिइन् ।

गू हाराको आत्महत्याको केही दिनमै अभिनेता चा इन-हा सोलस्थित आफ्नै घरमा मृत फेला परेका थिए । चा जसको वास्तविक नाम ली जे-हो हो । सन् २०१७ मा उनले फिल्ममा ड्ब्यु गरे र पहिले पाँच सदस्यीय केटा ब्यान्ड सरप्राइज युको सदस्य थिए । उनको मृत्युको कारण सार्वजनिक भएन । अन्य स्टारले सहने अनलाइन बदमासकिो सिकार भएको कुनै रिपोर्ट थिएन । चाले टेम्परेचर अफ लभ, द बैंकर र क्लिन विथ प्यासन फर नाउमा अभिनय गरे ।

कोरियाली पपस्टार गू हारा

कोरियाली केटा ब्याण्ड शिनीको नौ वर्षसम्म प्रमुख गायक किम जोङ ह्युन अर्थात् जोङह्युनले २०१७ मा २७ वर्षको उमेरमा आफ्नो ज्यान लिएका थिए । उनको मृत्युको एक दिनपछि सार्वजनिक भएको जोङह्युनको नोटमा यस्तो लेखिएको थियो, ‘मभित्रबाट टुटेको छु । मलाई बिस्तारै चकित पार्ने डिप्रेसनले अन्ततः मलाई पूरै घेरेको छ ।’

धेरै रिपोर्टका अनुसार उनको मृत्युको कारणले स्तब्ध पार्ने कुरा यो थियो कि मृत्युको केही दिनअघि सार्वजनिक उपस्थितिमा उनी खुसी देखिन्थे । उनी दक्षिण कोरियाली मनोरञ्जन उद्योगको सबैभन्दा आशाजनक स्टारमध्ये एक थिए । ‘सानै उमेरमा डेब्यु गरेका धेरै सेलिब्रेटी डिप्रेसन र चिन्ताबाट ग्रस्त हुन्छन्, किनकि उनीहरूलाई सार्वजनिक नजरमा बस्नुपर्छ । यदि उनीहरूले धेरै ध्यान प्राप्त गरे भने तिनीहरू कमजोर हुन सक्छन्,’ सियोलको योन्सेई बोम मनोचिकित्साका प्रमुख डाक्टर पार्क जोङ-सेओकले भने, ‘तिनीहरू साथी समूहसँग साँचो मित्रता र स्थिरताको अनुभव नगरी किशोरावस्थामा जान्छन् ।’

कोरियाली पपस्टार जोङह्युन

पार्कका अनुसार सार्वजनिक नजरमा बस्दा सेलिब्रिटीमा आत्मविश्वासको कमी, भावनात्मक अस्थिरता, बदलाको व्यवहार र घुलमिल हुन नसक्ने अवस्था आउन सक्छ । उनले भने, ‘उनीहरूले आफ्नो परिवार र साथीसँग पर्याप्त समय नपाएका कारण अभावको भावना महसुस गर्न सक्छन् । सफल हुने र चरम प्रतिस्पर्धामा बाँच्ने हुटहुटीले पनि इन्फेरियरिटी कम्प्लेक्स निम्त्याउन सक्छ ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?