+
+
अभिनेता धीरज मगरसँग संवाद :

लाहुरे बन्न इन्कार गरेर हिरो बनेका धीरज

धीरजले पटक-पटक फिल्मको कथालाई आफ्नो ‘रियालिज्म’सँग जोड्ने प्रयास गरे । फिल्ममा उनले धराने केटाको भूमिका निर्वाह गरेका छन् । जसको सपना डान्सर बन्नु हो । तर समाज र परिवारको दबाब उसलाई लाहुरे बनाउने छ ।

विष्णु शर्मा विष्णु शर्मा
२०८० वैशाख ७ गते १६:४०

काठमाडौं । डेब्यु फिल्म हिट भएपछि धीरज मगरले पछाडि फर्केर हेर्नुपरेन । यस अर्थ उनी एक भाग्यमानी अभिनेता हुन् । ‘इन्टुमिन्टु लण्डनमा’ सफल भएसँगै धीरजको धैर्यता आजपर्यन्त छ । झट्ट हेर्दा कोरियन लुक्सका यी ठिटा पछिल्लो समय घरेलु फिल्मका व्यस्त कलाकारमध्ये पर्छन् ।

‘बाबरी’ हुँदै धीरजको पछिल्लो डान्स ड्रामा ‘ज्याकी : आई एम ट्वान्टी वान’ वैशाख २१ गते रिलिजको तयारीमा छ । झण्डै ६० वर्ष लामो इतिहास बोकेको नेपाली फिल्ममा सम्भवतः पहिलोपटक नृत्यको जनरामा आधारित फिल्म बनेको छ । तपाईंले हलिउड र भारतीय फिल्ममा डान्स ड्रामा प्रशस्तै हेर्नुभएको होला । तर यो फिल्ममा चाहिं नेपाली परिवार र समाजको टोन मिसाइएको छ ।

लाहुरे परिवारमा जन्मिएर लाहुरे नै हुनुपर्छ भन्ने जुन भाष्य निर्माण भएको छ, त्यसलाई अवज्ञा गर्दै धीरज अभिनयमा होमिएका हुन् । लगभग फिल्मको कथा उनको जीवनको निकटजस्तो पनि देखिन्छ । यसलाई धीरज स्वयं स्वीकार्छन् । सानैदेखि बाबुलाई हेर्दा देखिने लाहुरेको रवाफले धीरजलाई पनि त्यता तान्यो । उनले लाहुरे बन्ने लिडरसिप ट्रेनिङ पनि लिए ।

तर जीवनले उनलाई कलाकार बनाइदियो । कहिल्यै अभिनेता बन्ने सोचेनन् । हुन सक्छ, यही कारण उनी बेलायत छाडेर नेपाल आइपुगेका छन् । अनलाइनखबरसँग गफिंदा धीरजले पटक-पटक फिल्मको कथालाई आफ्नो ‘रियालिज्म’सँग जोड्ने प्रयास गरे । फिल्ममा उनले धराने केटाको भूमिका निर्वाह गरेका छन् । जसको सपना डान्सर बन्नु हो । तर समाज र परिवारको दबाब उसलाई लाहुरे बनाउने छ ।

‘धरानका ८० देखि ९० प्रतिशत युवा लाहुरे बन्ने सपना देख्छन् । लाहुरे बनेर यूके र सिंगापुरमा जीवन सेटल हुने सोच हुन्छ । बाँकी १०-२० प्रतिशत युवाहरुको सपना गायक, कलाकार र अभिनेता बन्ने हुन्छ । मेरो पनि यस्तै छ,’ फिल्मबारे उनी भन्छन्, ‘उनीहरुको कथा यो फिल्ममा छ । यो फिल्म सपना बोकेर दौडिने युवाको कथा हो । सपना पूरा नहुँदा देश छाड्नुपरेको छ । एकदमै हृदय छुने कथा छ ।’

लाहुरे बन्न हिंडेका धीरज कसरी कलाकारितातर्फ मोडिए । जसबारे बुझ्न लण्डन पुग्नुपर्छ, जहाँ केही वर्षअघि उनले गर्मीयामको बिदामा युट्युब भिडियो बनाउन सिकेका थिए । रमाइला र भ्लग टाइपका भिडियो बनाउँदा बनाउँदै उनको मन कतिबेला कलाकारितातर्फ डोरियो पत्तै भएन । दक्षिण कोरियाको पर्यटन बोर्डले पनि खाना, ठाउँलाई युट्युबमार्फत प्रचार गरिदिन र आवश्यक सहयोग गर्ने वचन धीरजलाई दिएको थियो । उनले केही समय काम पनि गरे ।

भिडियो बनाउँदा बनाउँदै उनको भेट फिल्म निर्देशक तथा कोरियोग्राफर रेनशा राईसँग भयो । अनि सबथोक बदलियो । रेनशाकै डेब्यु निर्देशकीय फिल्म ‘इन्टुमिन्टु लण्डनमा’बाट धीरजले नायक बनेर डेब्यु गरे । काठमाडौंमा कोरियन क्रेज पोखिएको बेला धीरजको डेब्युले फिल्म उद्योग तरंगित भएको थियो । सहरले नयाँ हिरो पाएको भन्दै उनको प्रशंसा पनि भयो । हुन पनि पहिलो फिल्म नै हिट भइदियो । अनि उनले पछाडि फर्केर हेर्नुपरेन । अनि उनको जीवनको लय पूर्ण रुपमा बदलियो ।

‘ज्याकी’मा उनले शीर्ष भूमिका निर्वाह गरेका छन् । फिल्मले नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको डान्स कोरियोग्राफी छ भने सन्देश दिने उनी बताउँछन् । ‘यो डान्स माध्यम मात्र हो । डान्सरको माध्यमबाट सबैकुरा भनिएको छ । यसमा कोही एक्टर, राइटर बन्छु भनेर सपना बोकेको होला । कतिपय केही गर्न काठमाडौंमा आएको होला,’ उनी भन्छन्, ‘नेपाली कल्चर र सोसाइटीको भ्यालुसँग सम्बन्धित भएर कथा भनिएको छ । यसको कोरियोग्राफी अन्तर्राष्ट्रिय लेभलकै छ ।’

धीरजले इन्टुमिन्टु लण्डनमा र बाबरीमा पनि डान्स गरे । तर ती फिल्ममा नाच्ने र हल्लिने शैलीको मात्र कोरियोग्राफी थिए । धीरजलाई लाग्छ ज्याकीको डान्स केवल नृत्य मात्र होइन, गम्भीर अभिनय पनि हो । ‘यसमा हिपहप जनराको कोरियोग्राफी छ । लकिङ, बी बोइङ, फ्लिप्सहरु भिन्न छन् । वाइल्ड रिपर्जले कहिल्यै नसिकेको डान्स सिकाउनुभयो । नाच्ने र हल्लिने त हुन्थ्यो नै नेपालमा पनि यो लेभलको कोरियोग्राफी छ है भनेर देखाउन हामीले दुई वर्ष कोरियोग्राफी सिक्यौं । लकडाउनको समयमा पनि डान्स सिक्दै बस्यौं । निकै कठिन थियो,’ उनी सम्झिन्छन् ।

सामान्य अभिनय र नृत्यमार्फत अभिनय गर्नुमा भिन्नता देख्छन् उनी । ‘डान्समार्फत अभिनय गर्दा हामी नाचिरहेका मात्र छैनौं, नाच्दा नाच्दै एक्टिङ पनि गरिरहेका छौं । पात्रको इमोसन र फ्रस्टेसन पनि पोखिरहेका छौं । एक्सप्रेसनमा पनि ध्यान दिनुपर्‍यो । रुबी यता काठमाडौंमा नाचिरहेकी छन् भने ज्याकी धरानमा नाचिरहेको छ,’ उनी भन्छन्, ‘दुई जनाको रिसराग र इमोसन पनि मिलाउनुपर्‍यो । साथै डान्स पनि त्यही लेभलमा गर्नुपर्‍यो ।’ फिल्म ज्याकीका लागि जसिताजस्तो अब्बल कलाकार हुन नसक्ने धीरजको ठम्याइ छ ।

धीरजले डेब्यु फिल्ममा साम्राज्ञी र दोस्रो फिल्म बाबरीमा अदिती बुढाथोकीसँग स्क्रिन सेयर गरे । जसिता को-स्टारको रुपमा यसमा छिन् । तीनै जना अभिनेत्रीसँग काम गर्दा ‘कम्फर्टेबल’ महसुस गरेको धीरजको अनुभव छ । ‘सबैका आफ्ना विशेषता थिए । पहिलो फिल्ममा साम्राज्ञीले क्यामेरा कसरी फेस गर्ने भनेर सिकाउनुभयो । बाबरीमा म जे होइन त्यही बनिरहेको थिएँ । यसरी काम गर्न अदितीले सघाउनुभयो । जसितासँग फिल्मअनुसारकै रोल मिलेको छ । खुसी लागेको छ,’ फिमेल को-एक्टरबारे उनी भन्छन् ।

रियल लाइफमा भने धीरजको रिलेसनसिप स्टाटस सिंगल हो । उनी आफूलाई बुझ्ने पार्टनर चाहन्छन् । ‘हाम्रो काम अरुभन्दा भिन्न छ । सबैभन्दा पहिलो कुरा अन्डरस्ट्यान्डिङ हुनुपर्‍यो,’ उनी भन्छन्, ‘अप्रोच त आइरहेका हुन्छन् तर म आफ्नै काममा बिजी छु । काममा निखारिने प्राथमिकता मेरो छ । त्यसपछि सोचौंला । लाइफ पार्टनर जो पनि बन्न सक्छ, ठ्याक्कै यही क्षेत्रको हुनुपर्छ भन्ने छैन ।’

बक्स अफिसमा प्रदीप खड्का र अनमोल केसीलाई धीरजको प्रतिस्पर्धी मानिन्छ । यी दुई एक्टरले धीरजको पछिल्लो फिल्मको प्रचारमा पनि साथ दिइरहेका छन् । यस्तो सहिष्णुता कमै देखिन्छ । धीरज पनि यी दुई एक्टरलाई सिनियर भन्न रुचाउँछन् । यसले फिल्म उद्योगलाई फाइदा पुग्ने धीरजको ठम्याइ छ । ‘कम्पिटिटर अरुले भन्ने हो । बाहिरबाट हेर्दा त्यो लाग्छ जुन जायज नै हो । एकअर्काको फिल्म आउँदा एकअर्कालाई सपोर्ट गर्दा उद्योगलाई ग्रोथ हुन राम्रो हुन्छ । निकट भविष्यमा उहाँहरुसँग काम गर्न इच्छुक छु,’ उनी भन्छन् ।

धीरजको सोच चाहिं स्टार होइन, एक्टर बन्नुु हो । के ‘ज्याकी : आई एम ट्वान्टी वान’ले उनको सोच पूरा गर्ला ? यो सोचनीय पक्ष हो ।

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?