+

विना चिरफारको उपचार लेजर थेरापी

२०८० वैशाख  ८ गते १६:१५ २०८० वैशाख ८ गते १६:१५
विना चिरफारको उपचार लेजर थेरापी

विकिरणको माध्यमबाट विभिन्न रोगको उपचार गर्ने पद्धति लेजर थेरापी हो । बिना चिरफार सामान्यदेखि जटिल समस्याको उपचार सहज ढंगले गर्न सकिने भएको पछिल्लो समय यो विधिको प्रभावकारिता बढ्दो छ ।

लेजर प्रविधिबाट उपचार गर्दा शरीरमा कुनै रोग लाग्दा सम्बन्धित अंगका कोषिका निष्क्रिय पारिन्छ, जसकारण अन्य अंगमा कुनै असर पार्दैन ।

राम्रो विकल्प

आधुनिक लेजर प्रविधिको उपचार धेरै किसिमका रोगमा एउटा राम्रो विकल्पको रुपमा लिइएको छ । हाडजोर्नी, छालासम्बन्धी रोग, पेटसम्बन्धी रोग, मुटु, फोक्सो, नाक, कान, घाँटी, फिसर, फिस्टुला, पाइल्स लगायत रोग यो विधिबाट निको पार्न सकिन्छ । सबैभन्दा बढी फिसर, फिस्टुला, पाइल्सजस्ता मलद्वार वरपर लाग्ने रोग बिना चिरफार लेजर प्रविधि गर्दा छोटो अवधिमा ठीक हुने, दुखाइ कम हुने र अन्य तन्तुमा असर नगर्ने भएकाले अति प्रभावकारी मानिन्छ ।

लेजर विकिरण छालाको बाहिरी माध्यमबाट रोगको लागेको अंगमा पठाएर यसको उपचार हुन्छ । कुनै पनि अंगमा घाउ हुनु, दुख्नु, सुन्निनु भनेको त्यो अंगमा भएको कोषिका बिग्रिनु हो । थेरापीले विभिन्न कारण खराब हुन पुगेको कोषिकालाई सक्रिय पार्छ । त्यस्तै रक्तसञ्चार कम भएमा रक्तनली खोलिदिने, सुन्निएको अंग निको पार्ने लगायत काम गर्छ ।

शल्यक्रियाभन्दा उपयोगी

यसको काम रोगअनुसार हुन्छ । जस्तै, पाइल्स हुँदा मलद्वारको छेउमा रगतको नसा फुलेर छाला ठूलो भएर आउने वा कसैमा दिसा गर्दा छेउमा मासु फुलेर आउने गर्छ । त्यस्तो अवस्थामा पलाएको डल्लो आएको भागलाई लेजर प्रविधिले सुकाउने काम गर्छ ।

त्यस्तै, फिस्टुला भएकोमा दिसा गर्ने ठाउँमा छुट्टै नली बनेर आउँछ । चिरफारबाट त्यस नलीको शल्यक्रिया गर्दा दिसा रोक्ने क्षमता कम हुन सक्छ भने लेजर थेरापीबाट गर्दा अनावश्यक नलीको मात्र उपचार हुने हुँदा दिसा रोक्न सक्ने क्षमतामा कुनै असर गर्दैन । कुनै भाग काटेर फाल्नुपर्ने अवस्थामा पनि यो थेरापी स–साना प्वाल पारिने हुँदा घाउ र दुखाइ नै कम हुन्छ । घाउ र दुखाइ कम हुने हुँदा लेजर थेरापी गरेकै दिन बिरामीले डिस्चार्ज पाउँछन् ।

पाइल्स, फिस्टुलाजस्ता रोगमा उपयोगी

पाइल्स, फिस्टुलाजस्ता मलद्वार वरपर देखिने समस्या दोहोरिन पनि सक्छ । अझ पाइल्स त शतप्रतिशत निको हुन सक्दैन । फिस्टुला भने ७० देखि ८५ प्रतिशतमा ठीक हुन्छ । रोगको प्रकृति जटिल र धेरै पुरानो हुनेमा दोहोरिन सक्छ । त्यही उपचार चिरफार गर्दा झनै ठूलो घाउ हुने र असर पनि त्यही अनुसारको हुन्छ, जुन लेजर थेरापी गर्दा कम हुन सक्छ ।

कुन नकारात्मक असर ?

कुनै पनि अंगमा रोग लाग्दा त्यही रोगमै मात्र यसको प्रयोग हुने भएकाले वरपरको अन्य अंगमा घोच्ने, हल्लाउने र काटिने जस्ता गतिविधि हुँदैन, जसकारण साइड इफेक्ट कम हुन्छ । सानो घाउ र छोटो समयमा निको हुन सक्ने भएका कारण यसको प्रतिफल अन्य विधि भन्दा छिटो र राम्रो छ । थेरापी न्यून विकिरणमा गरिने भएकाले जटिल असर देखिंदैन ।

कसलाई बढी प्रभावकारी ?

यो थेरापी जुनसुकै उमेर समूहमा गर्न सकिन्छ । यद्यपि गर्भावस्थाका महिलाका, रक्तअल्पता र क्यान्सरका बिरामीमा यो थेरापी प्रभावकारी हुँदैन । आँखामा लेजर थेरापी गर्नुहुँदैन ।

खर्च कति ?

यसमा लेजर फाइबरको प्रयोग गर्नुपर्छ, जुन ६ जना भन्दा बढी बिरामीमा प्रयोग हुँदैन । त्यसैले यो लेजर फाइबरको मूल्य ६० हजार रुपैयाँ पर्ने महंगो उपकरण नै धेरैमा प्रयोग नआउने हुँदा यो सेवा अन्य शल्यक्रिया विधिभन्दा खर्चालु छ । रोगअनुसारको खर्च निर्धारण हुने भएकाले ५० हजारदेखि एक लाख रुपैयाँसम्म यसको शुल्क लाग्ने गर्छ ।

लेजर प्रविधिबारे व्यक्तिमा सजगता बढेको छ । जसले गर्दा खर्चको हिसाबले महंगो भए पनि  चिरेर बिना नै उपचार हुने भएकाले लेजर प्रविधि नै धेरैको रोजाइमा छ ।

(ग्यास्ट्रोइनटेस्टिनल एण्ड ल्याप्रोस्कोपिक सर्जन डा. शाह पाटन र योधा अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

डा. सुरेन्द्र शाह लेजर थेरापी
डा. सुरेन्द्र शाह
लेखक
डा. सुरेन्द्र शाह
ग्यास्ट्रोइन्टेस्टिनल लेजर एण्ड ल्याप्रोस्कोपिक सर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ४८९३ अध्ययन : एमबीबीएस, जनरल सर्जरीमा एमएस, ग्यास्ट्रोइन्टेस्टेनियल, हेपाटोबिलोरी र प्यानक्रिएटिक सर्जरी ल्याप्रोस्कोपिक सर्जरी, लेजर थेरापीमा तालिम हाल ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौंस्थित बयोधा अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय