+
+

नारायण वाग्लेको किसान अवतार

नारायण वाग्ले आफ्नै विम्बहरू विघटन गरिरहन्छन् । उनको जीवनको उपन्यासमा कुनै ‘ट्वीस्ट’ आएन भने यो नयाँ दशकमा नेपाली समाजले उनलाई किसानका रूपमा चिन्नेछ । तनहुँ फार्म पुगेर अनलाइनखबरले गरेको स्टोरी :

बसन्त बस्नेत बसन्त बस्नेत
२०८० वैशाख ८ गते २०:०६

स्वर्णिम वाग्ले भोट माग्न आउनु अघिसम्म नारायण वाग्लेको घर शान्त थियो । उनी आफ्ना सहयोगीसहित ७० वर्षे घर ठोकठाक, टालटुल र बारबेर गर्दै थिए। स्लेट ढुंगाले छाएको घर प्रजातन्त्रजत्तिकै पुरानो छ ।

तर आज उनको दिन उम्मेदवार झेल्दैमा जाला जस्तो छ । घण्टीछाप वाग्ले गएको केही बेरमै सूर्यछाप सर्वेन्द्र खनाल आउनेवाला छन् । १० वैशाखमा हुने तनहुँ–१ उपचुनावको विश्लेषण गरिदिन नारायण वाग्लेलाई तारन्तार फोन आएको आयै छ । इः यति भनिनसक्दै भर्खरै उनको मोबाइलमा टिनिन्न घण्टी बज्यो । ‘घण्टी’ भनेर छक्क नपर्नुस् । यो फोन बीबीसीकी रमा पराजुलीको हो ।

वाग्लेलाई छुः मतलब ! उनले यस्सै केही विनम्र वाक्यहरू बोलेर, अन्तिममा ‘गुड, गुड’ भनेर फोनकर्तालाई बिदा गरे ।

ट्वीटर बायोबाट ‘जर्नालिस्ट’ हटाएर ‘राइटर, नेचर वर्कर’ बनेका उनलाई आम चुनाव त लागेन, उपचुनाव लाग्ने कुरै भएन । आफू समेतले हुर्काएको बृहत् नागरिक आन्दोलनको सडकमा समेत हिजोआज उनको हाजिरी नियमित छैन । यद्यपि तनहुँको पहाडबाट नागरिक आन्दोलनबारे उनी सोचिबस्छन् । नेपालको अर्थ प्रणाली, चुनाव प्रणालीमा अझै पनि गडबडी रहेकाले ढिलोछिटो तेस्रो जनआन्दोलन हुनुपर्ने उनको तर्क छ ।

दमौलीपूर्व पृथ्वी राजमार्गको घाँसीकुवाबाट तनहुँसुर जाने बाटोमा फराकचौर उपत्यका छ । त्यसैको जामुने गाउँमा यो घर पुनःनिर्माण हुँदैछ । ६० रोपनीजति उनको जग्गामा एक तिहाइ भाग जंगलको छ । बाँकी घरगोठ, बारीबगैंचा । गाईवस्तु, कुखुरा, बाख्रापाठा स्याहार्नु ५५ वर्षीय वाग्लेको दैनिक कार्यसूची हो ।

बारीमा अनेकथरी बिरुवा रोपिसकेर उनी अब कफीका बेर्ना सार्न लाग्दैछन् । पल्पसा क्याफे उपन्यासमा मुखपात्र दृश्यको इच्छा थियो-गण्डकीको कुनै पहाडमा कफीखेती लगाउँ । पाहुनालाई फस्ट क्लास कफी सर्भ गरुँ । पेन्टिङको क्यानभास चियाउँ । अंग्रेजी, फ्रेन्च, कोरियाली, सिंहला गरी चार भाषमा अनूदित बहुचर्चित उपन्यास पल्पसा क्याफेले विश्वयात्रा गरेको झन्डै दुई दशकपछि सम्झँदा लाग्छ– ‘दृश्य’ तिनै वाग्लेको ‘अल्टर इगो’ थियो ।

अनि लाग्छ : पल्पसा क्याफेमा दृश्यको चाहना नै यसका लेखकको भविष्यको घोषणापत्र ।

संजोग पनि कस्तो ! वाग्लेको घर जाँदै गर्दा मेरो मोबाइलमा ‘दृश्य’ नामक लेखकको फोन म्यासेज आइरहेको थियो । उनले उपेन्द्र सुब्बाकृत सिनेमा ‘जारी’बारे विस्तृत समीक्षा लेखेर पठाएको जानकारी गराउँदै थिए ।

यी तिनै सिने समीक्षक हुन्, जसले आफ्नो नाम वाग्लेकै पल्पसा क्याफेको पात्र दृश्यको प्रभावमा राखेका थिए । ‘पल्पसा क्याफे पढ्दा म आफूलाई पाउँछु । म दृश्य जस्तै मनमौजी छु, कला मलाई मन पर्छ’ अनलाइनखबरले राखेको जिज्ञासाको दृश्यले उत्तर गरे ।

मैले मोबाइलबाटै गुगल डक खोलेर ‘जारी’ सिनेमामाथि उक्त आलेख सम्पादन गरी डेस्कमा फरवार्ड गरिभ्याएको थिएँ । धादिङ हुँदै तनहुँ जाँदा ठाउँ-ठाउँमा पल्पसा क्याफे होटल एण्ड लज, पल्पसा क्याफे सेकुवा कर्नर भेटिन्छन् ।टुबोर्ग र अरू बियरले प्रायोजन गरेका होर्डिङ बोर्डमा पल्पसा क्याफे लेखिएला भन्ने कल्पना पक्कै आख्यानकार वाग्लेलाई थिएन । तर आम मान्छेहरूले आफ्नो व्यावसायिक जीवनमा आख्यानको प्रभाव प्रतिस्थापित गर्नु वास्तवमै मिठो कुरा थियो । सुरज सुवेदीको नाट्य रुपान्तरणमा विमल सुवेदीले पोहोर साल नाटक बनाएसँगै पल्पसा क्याफेको रंगमञ्च अवतार अझ नयाँ उचाइमा अग्लिएको थियो ।

आज तनहुँको यो भेटमा नेपाली आख्यान आकाशमा पल्पसा क्याफेको उडान, यसको सौन्दर्यशास्त्रीय गरिमा र महत्ताबारे कुनै समालोचकीय मस्तिष्क विचरण गरिएन । हामी यसका लेखक तथा दुई कार्यकाल कान्तिपुर सम्पादक भइसकेका पत्रकारको किसानी जीवनलाई नजिकैबाट अवलोकन गर्न चाहन्थ्यौं । र, उनी सकभर आफूलाई पन्छाइरहेका थिए । अहिले नै यो सबै खेतीपातीको कुरा गर्ने बेला भइसकेको छैन भन्ने उनको अडान थियो । उनलाई हामीले पत्रिकामा छाप्ने गरी कुराकानी गर्न मनाएका थियौं ।

डेढ वर्षदेखि व्यास नगरपालिका-११ मा पर्ने यो जामुने गाउँमा खेतीपाती गर्दैछन् वाग्ले । वकिल पत्नी नितिका र कक्षा नौ पुगेकी छोरी नसना भेट्न उनी काठमाडौं गइरहन्छन् । अमेरिकामा चिकित्सक रहेका भाइ जनकसँग खेतीपातीका कुरा सुनाइराख्छन् ।

यही जामुनेको घरमा बसेर त हो नारायण र जनकले पढेको । नारायणले यहींबाट एसएलसी पास गरे । जनकले कक्षा ७ सम्म पढे । दाजु क्याम्पस पढ्ने भएपछि भाइ पनि उनकै पछि लागेर काठमाडौं पढ्न गए ।

कलेस्ती मास्तिर क्यामिन छापथोकमा २०२५ सालमा जन्मेका वाग्ले यहाँ २०३८ सालमा आए । सुरुमा उनका बुवा लेखनाथ र आमा प्रेमकुमारीले दमौली नजिकै राखेका थिए । उनी र भाइ जनक दमौली मुन्तिर मादी सेतीको किनारमा बाढीकै बेला पनि मस्त पौडी खेल्न थालेपछि बुवा डराए ।

उपद्र्याहा छोराहरूलाई नदीले सम्झाउँदैन, बाउआमाले सम्झाउँछन् । नत्र कन्सिरी उखेल्छन् । वाग्ले जुनियरहरुलाई भने त्यसले पनि नैतिक शिक्षा प्राप्त भएन । केही सीप नलागेर बाउआमाले बसाई सारे । नदीबाट मान्छे जोगाउने बेला थियो त्यो । अहिलेजस्तो मान्छेबाट नदी जोगाउने बेला थिएन । उनीहरुले आफ्नो वास सारेर जामुने भालुखोलाको छेउमा ल्याइपुर्‍याए । यस खोलामा डुबिने सम्भावना हुँदैनथ्यो ।

बुवा लेखनाथले पहिल्यै बनेको घर किनेर सरेका थिए । बेच्ने व्यक्तिचाहिं मधेश लागेछन् । वाग्लेको जीवनको ‘फर्मेटिभ फेज’ यही घरमा बित्यो ।

२०५४ सालमा बुवा, २०६८ मा आमा बितेसँगै घर रित्तियो । थातथलो छाडिगएका दुई छोराहरूले आ–आफ्ना पेशामा सुनाम कमाए । छोराछोरी पुस्ताका धेरैले कृषिकर्म छाडेर अन्य पेशा रोज्दा छोरा वाग्लेहरू कसरी पो अपवाद हुन्थे ?

अनलाइनखबरका पोखरा ब्यूरो संयोजक अमृत सुवेदी, फोटोकर्मी आर्यन धिमाल र यो लेखक उपचुनाव रिपोर्टिङ सिलसिलामा घुम्दै जाँदा नारायण वाग्ले त्यही वास सरी आएको घरको आँगन नजिकै धारामा गाँजर, सलाद साग र काँक्रो धोइपखाली गर्दैथिए ।

आँगनमा कुखुरा र हाँसका चल्ला फुत्रुकफुत्रुक गरिरहेका थिए। गोठबाट गोबरको गन्ध आँगनसम्मै आइपुगेको थियो । रैथाने गोबरको गन्ध सुँघ्न धेरैपछि सम्भव भइरहेको थियो। भर्खर काटेर आँगनमा सुकाएको उवाले सोमबारको बिहान नै रमाइलो भइरहेको थियो ।

‘पहिला यो काँक्रा, गाँजर, साग खाऊ’ वाग्ले बोले, ‘काठमाडौंमा जस्तो तिमीले गाँजरको बाहिरी भाग ताछेर फ्याँक्नु पर्दैन । यो सप्पै रैथाने ।’

मतलब रैथाने बीउ, रैथाने मल । विषादीको एक चुस्को पनि पर्न नदिएको ताजा पहाडी माटो । व्यास–११ को वडा कार्यालय नजिकै वाग्लेकै हिमालचुली व्यक्तित्व झल्काउने एउटा घर छ, अलग्गै । यी डेढ वर्षमा उनले अनेकथरी बिरुवा लगाएछन् । किसिम किसिमका फलादि हुने गरी बहुजातीय बिरुवाका बेर्ना, अनि फल्न थालेका तरकारी र फलफूल ।

जिब्रोले चाख्नै बिर्सेको स्वाद कुनै डेजा भु भएझैं हामीले खायौं । पहिला कतै चारखोल पान्थरतिर खाएझैं लाग्छ यस्तो स्वादिलो काँक्रो, साग । अचेल त त्यहाँ पनि विषादी पुगिसक्यो ।

नेपालको अब्बल सम्पादक, सर्वाधिक लोकप्रिय आख्यानकारको हैसियत बनाएर पनि वाग्लेले काठमाडौंमा घरगाडी जोड्ने मध्यमवर्गीय सपनातिर दिलचस्पी देखाएनन् । उनलाई सधैं ब्याकप्याक र ट्रेकिङ सुजमा काठमाडौंका सडकमा लमक-लमक लम्किएको देख्न पाइन्थ्यो । कफीका अम्मली वाग्लेका कफीगफकै लागि कुनै बेला कान्तिपुर किन्नेहरू प्रशस्तै थिए ।थियौं । उनकै सिको गरेर कफी पिउन क्याफे जानेहरु त्यत्तिकै ।

वाग्लेले रिपोर्टरदेखि प्रधान सम्पादकसम्मको जिम्मेवारीमा आफूलाई प्रमाणित गरे । पत्रकारितामा आफ्ना बहुविध भूमिकाहरूबारे उनको एकनासे अनुभूति भने छैन ।

सम्पादक बन्दाका वर्ष, अनि डेस्कमा बसेर कपी एडिटिङ गर्दाका वर्षहरूलाई उनी खेर गएका वर्षका रूपमा अर्थ्याउँछन् । ‘दोज् आर माई लस्ट इयर्स’ उनी भित्री भोगाइ सुनाउन अंग्रेजीको सहायता लिन्छन् ।

शायद त्यसैले हुनुपर्छ कति सहकर्मीझैं उनी यो पेशामा चित्त बुझे पनि नबुझे पनि लागिराख्नुपर्छ भन्नेमा लागेनन् । नागरिक पत्रिकालाई सुरुवाती वर्षहरूमै उचाइ दिलाएका उनले केही वर्षपछि कान्तिपुरको छोटो यात्रा गरे । थुप्रै नयाँ बुझाइ र सोचाइसहित न्युजरुम प्रवेश गरेका उनको तालमेल कति मिल्यो, मिलेन भन्नेबारे यो रिपोर्टाजमा समीक्षा सम्भव छैन । तर त्यस वहिर्गमनपछि पत्रकारितासँग उनको दूरी बढेकै देखिन्छ ।

वाग्ले न्यूजरुममा हुँदा या नहुँदा पनि नेपाली पत्रकारितामा अरूले भेट्टाउन मुश्किल पर्ने दुर्गम उचाइ हुन् । यो यात्रामा ब्रेक लगाउँदै काठमाडौंबाट तनहुँ फर्किने उनको निर्णय कतिपयका लागि अनौठो थियो ।

प्रत्यागमन

किसानका छोराछोरीहरू आमाबाबुको पेशा अँगाल्ने सम्भावना एकदमै थोरै हुन्छ । सुखसयलको सपनामा किसानी जीवन पर्दैन । यो त्याज्य, परित्यक्त र एक हदसम्म सामाजिक प्रतिष्ठाको सोपानमा अपहेलित छ । वाग्ले चाहिं किन यतापट्टि छन् ? यो सबै सोध्नुअघि एउटा रेडिमेड प्रश्न सोधियो । उपचुनावको अपडेट पनि त लिनुपर्‍यो, ‘स्वर्णिम वाग्लेले भोट माग्न आउँदा अघि तपाईंलाई के भनेर जानुभयो ?’

उनी लामो हाँसे ।

‘के हुनु र ! सोध्नुभयो उहाँले, कमर्सियल ढंगले खेती गर्नुभयो ? पक्कै बैंकबाट लोन लिएर थाल्नुभयो होला । हाम्रो साथ सहयोग हुन्छ । यस्तै ।’

ठिकै त भने ती वाग्लेले । यसमा यी वाग्लेलाई के आपत्ति ?

‘ल, के आपत्ति रे ? किसानहरूको बिचल्ली हुनुको कारण नै यही व्यावसायिक बनाउने लहड हो । यस्तो भन्नेहरूका लागि स्ट्रबेरी वा एभोकाडो लगाए व्यावसायिक खेती । उवा वा अर्को केही फलाए अव्यावसायिक ।’

कमर्सियलाइजेसनको सोचाइले किसानलाई व्यापारको औजार मात्रै बनाउने वाग्लेको ठहर छ । यसले किसानलाई वास्तविक खेतीबाट विमुख गरेर सीधै बजारमा आश्रित बनाउने उनी ठान्छन् ।

ल, गफैगफमा आइपुगे एमाले उम्मेदवार सर्वेन्द्र खनाल । नमस्कार आदानप्रदान, भोट माग्ने क्रम चल्यो ।

‘गज्जब नारायण दाइ, कृषिलाई आधुनिकीकरण, यान्त्रिकीकरण गर्नुपर्छ । अबको समय व्यावसायिक कृषिको हो, यसमा मेरो सहयोग हुन्छ’ खनालले उत्साहित बनाउन खोजे । वाग्लेले भृकुटी खुम्च्याए । उनलाई यान्त्रिकीकरण, व्यावसायीकरणसँग एक कोस टाढा बस्नु छ । वाग्ले ठान्छन्, ‘मेरो बाटै बेग्लै । त्यसैले नेताहरूले मलाई सहयोग नगरिदिए हुन्थ्यो । किनभने उनीहरूसँग बातचितको कुरै मिल्दैन ।’

कृषिको व्यवसायीकरण भनेर नेताहरूले भोटको सजिलो राजनीति गर्न खोजेको वाग्लेको आरोप छ । आफू राजनीति नै योभन्दा फरक ढंगले जानुपर्छ भनिरहेको उनको तर्क छ ।

तर यो सबै कुरा वाग्ले, खनाल आदिलाई अहिले भन्ने पक्षमा छैनन् उनी । भोटको माहोलमा तर्क–वितर्क गरिबस्नुको के अर्थ ? चुनावका बेला यस्ता कुरामा बुद्धि लडाउने फुर्सद न खनाललाई छ न वाग्लेलाई खेतीपातीका बारेमा आदर्श वाक्यहरू सुनाउनु छ । मुस्कान सबै तर्कहरूभन्दा माथि हुन्छ । वाग्लेले उम्मेदवारबाट फुत्किन यही चोरबाटो अपनाए ।

‘लु, दाइले मलाई शुभकामना दिनुपर्‍यो’, सर्वेन्द्रले भोट मागे । तनहुँ-१ का मतदाता वाग्लेले केही जवाफ दिएनन् । एक अँगालो शुभकामना दिएर बिदा गरे । शुभकामनाको पेटिकामा धेरैवटा पत्र हुन्छन् । जति जनालाई शुभकामना दिए पनि मसी लत्पतिंदैन, मत बदर हुँदैन ।

हामीले सोध्यौं, ‘कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई पनि आइपुग्नुभयो ?’

‘आइपुग्नुभएको छैन । तर म पक्का छु, उहाँले पनि भन्ने यस्तै यस्तै हो । नेपालका ग्रामीण किसान र भुइँमान्छेका मुद्दाहरूका लागि सबै नेताहरूको विचार करिब एउटै पार्टी हो । उस्तै हुन्छ, केही फरक छैन ।’

उनी यसमा प्रेसलाई पनि दोष दिन्छन् । पत्रकारहरूले कृषिलाई केवल अंकमा परिणत गरिदिएको उनको गुनासो छ । ‘तिमीले कति अण्डा बेच्यौ ? इः यति बेचें । यति लाखको, यति हजारको ।’

मैले हल्का प्रतिरक्षा गरें : ‘यस्तो कुरा पनि त गर्नैपर्‍यो नि ! किसानले कुनै न कुनै खालको आर्थिक लाभ पाउनुपरेन ?’

वाग्ले बोले, ‘पर्‍यो । पर्‍यो । गुड क्वेश्चन ।’

वाग्लेको जवाफ दिने डेमोक्रेटिक तरिका हो, यो । उनी ‘गुड गुड’ त जतिखेरै भन्दिन सक्छन् । रमा पराजुलीलाई जस्तो । आफूलाई चित्त नपरेका कुरामा पनि । उत्तर दिन झिज्याहट लागेर पो ‘गुड क्वेश्चन’ भनी टार्न खोजे कि ? कतै खेतीपातीका बारेमा उनले लिएको ‘कार्यदिशा’ बढी नै आदर्शवादी भइदियो कि ?

उनले यसको जवाफ भने मज्जैले दिए : ‘स्थानीय नै स्वस्थ र सस्तो हुन्छ भन्ने साबित गर्न सकेपछि स्वतः आर्थिक लाभ भइहाल्छ नि ! आफ्नो उत्पादन वरपर खपत बढाउने, मूल्य लिने, जति खर्च  हुन्छ त्यति उठाउने । रैथाने बालीमा बास्ना फर्काउन सके पारखी बजार पाउन के को समस्या ?’

उनको योजना छ : फलफूल र त्यसमा आधारित सहउत्पादन गर्न सके, अनि बाह्रैमास तरकारी फलाए नगदको इन्तजाम कठिन पर्दैन । उनी टेन्टेड क्याम्प राख्ने, फार्म स्टे गराउने, पाहुना बढाउने सुरमा छन् । ऐतिहासिक तनहुँसुर जाने बाटोमा कफीगफी वाग्लेको तनहुँ फार्म ।

तनहुँ फार्म उनले खेती गर्ने ठाउँको नाम । काठले बारेर राम्रो क्याफे बनाउँदैछन् । तीन वर्षभित्र आफैंले फलाएको कफी पिलाउने उनको योजना छ । केही दिनमा शुक्लागण्डकी गएर कफीका बेर्ना ल्याउँदैछन् ।

उनलाई होली ग्रीन अर्गानिक फार्मका महेन्द्रकुमार श्रेष्ठले बायोडाइनामिक फार्मिङबारे ज्ञानगुन सिकाइरहेका छन् । वाग्ले आफैं पनि खेतीपातीसम्बन्धी पुस्तकहरू पढ्न, अनलाइन कोर्सहरू गर्न लागेको धेरै भइसक्यो ।

शुक्लागण्डकीका बेर्ना सारेर रोप्ने कफीहरू सर्भ गर्ने क्याफेको नाम जुराउन बाँकी छ । पल्पसा क्याफे त होइन होला । वाग्लेले कुन किसिमको कफीसप बनिसक्छ, त्यस अनुसार नाम राख्न सकिने सोचेका छन् ।

रमाइलै होइन त ? थुप्रै विद्वानहरू, नेपाल बनेन भन्नेहरू, नेपाल किन बनेन भनी सोध्नेहरू, नेपाल यसकारण बनेन भन्नेहरू, नेपाल मैले पाएँ भने राम्रो बनाउँछु भन्नेहरू कोही सांसद, मन्त्रीको दौडमा, कोही आकर्षक नियुक्तिको मिठो प्रतीक्षामा । वाग्लेलाई पनि लाग्दो हो, नेपाल बने हुन्थ्यो । तर एक्लै भिडेर नेपालको उद्धार गर्न सकिन्छ भन्ने ‘रवि(न)हुड’ मनसुबा उनमा छैन ।

उनी कुनै मालदार नियुक्तिको दौडमा छैनन् । फलानो संस्थामा यो यो पदमा काम गरेको सिभी पोर्टफोलियो देखाएर कुनै राजनीतिक दलबाट लड्ने तयारी छैन । बरु लोकतान्त्रिक अधिकार खोसिएका बेला उनले विगतमा पटक-पटक सडकमा ओर्लिएर पक्षधरता देखाए ।

प्रहरी प्रशासनको दुर्व्यवहार झेले । आफ्ना भाषणहरुका लागि अझै पनि फोकटमा गाली पाइराख्छन् । यो देशमा अपार सम्भावना देखाएर आफू राजनीतिमा आउने जमिन तयार पारेजस्तो लाग्दैन । न त विदेशिने सुरमा छन् ।

पल्पसा क्याफेका शब्द सौन्दर्यले सम्मोहित भएर फ्यान बनेकाहरू पनि उनले काठमाडौं कमलपोखरीमा माटोको टीका लगाएर कित्ता स्पष्ट गर्दा घटेकै होलान् । झण्डाबाहिर नारायण वाग्लेको नागरिक राजनीति कतिलाई हजम भइरहेको छैन ।

अचेल उनी शब्दको सौन्दर्यभन्दा बढ्ता शब्दको सामर्थ्यमा विश्वास गर्न थालेझैं लाग्छन् । वामपन्थीहरूले उनलाई रुपवादी लेखक भनेर डाम्ने खतरा शायद कम हुन सक्छ ।

वाग्लेले भने हिजोआज यस्ता कुरा पर्वाह गर्न छाडेजस्तो छ । उनी एक्लै लमक-लमक । अझ ब्याकप्याक फालेर घरबुना झोलामा हिंडिरहेका भेटिन्छन् ।

गन्तव्य रैथाने

‘तिमी यहाँको फाँट देखेर मख्ख नपर, तिम्रो इलाम जस्तो छैन तनहुँ । यहाँ औलको जस्तो गर्मी छ ।’

सहकर्मी अमृतले सोधे, ‘तपाईं यहाँ नहुँदा खेतीपाती कसले हेर्छ ?’

‘उः यो भाइले’ उनले सुरेन्द्रलाई देखाउँदै भने । सुरेन्द्र थापा वस्तुभाउलाई कुँडो पकाउँदै थिए ।

वाग्ले गोठमा बाँधिएको गाईका छेउमा गएर पारंगत ग्वालाझैं त्यसको लुर्कनमा सुम्सुम्याउन थाले । गाईले उनका हातहरूलाई सहज मानेको देखिन्थ्यो । ‘इः हेर यो लोकल गाई । यो अब दुर्लभ गाई हो । हाम्रो देशमा रैथाने गाई ६ थरी छन् ।’

‘इः यो मौरीको घार । जेठमा आऊ, म तिमीलाई मह खुवाउँछु ।’

उनी अम्बाको रूखमुनि गए । यतातिर बेलौती भन्छन् । वाग्लेलाई बेलौती टिप्न के समस्या ? उभिएरै हाँगामा पुगिहाल्छन् । वैशाख याममा बेलौती चाख्न पाइयो ।

बाहिर गर्मी बढ्न थाल्यो । उनले शीतलुको संकेत गरे । भित्र निर्माणाधीन छ भन्ने बुझ्यौं । वाग्लेको विचारमा यस्तो उखुम गर्मीमा माटोको घरभित्र बस्नु भनेको एसी रुमभन्दा सन्तोषजनक कुरा हो । त्यसका लागि अतिरिक्त ऊर्जा चाहिंदैन । बिजुली खाँदैन यस्तो घरले । रुम टेम्परेचर भन्छन्  नि, खासमा उनले बनाउँदै गरेको घरको भित्रीभागसँग मेल खान्छ ।

वाग्लेले औंला चलाए, ‘उः पर रातो घर हेर त । वडा कार्यालय हो । सिमेन्टीले बनेको । गाउँमा हिजोआज यस्ता घर बनाउनु इज्जतको विषय भइगयो । ढलानका पक्की घरले बाहिरजस्तै गर्मी हुन्छ । पंखा चलाएर हुन्छ र ?’

उनले आफैं जवाफ गरे, ‘त्यसमाथि महँगो घर बनाउन ऋणको पासो । अब वातावरण जोगाउने हो भने वास्तुकलामा समेत काम गर्नुपर्छ । ऊर्जा संचय गर्ने यही हो उपाय ।’

हामी बारीमा गयौं । उनले बाह्रै महिना तरकारी खान पाइने गरी मौसमी योजना गरेका छन् । विभिन्न किसिमका सलाद, अनि रैथाने रूखकटहर । नधोईकनै कुरुमकुरुम चपाए पनि भयो । कुनै विषादी छैन ।

कान्ला पर्तिरका रूखबाट डालेघाँस झार्न मिल्छ । जामुनका ठूल्ठूला रूखहरू । यसैबाट गाउँको नाम जामुने राखिएको रहेछ । असार-साउनका बेला यसले मिठो फल दिन्छ भन्ने उनले पत्तो पाइसके । छेउमा अमलाका बोटहरू छन् ।

सबै रैथाने चलाउने, हाइब्रिड समेत राख्न नदिने नीति हो वाग्लेको । उनले थाहा पाए, लोकल बीउ समेत हाइब्रिडले खत्तम गर्छ ।

‘इः हेर, यो उवा हो । गहुँ, जौ जाति प्रजातिकै हो । हिमाली भेगमा हुन्छ । तिब्बतको मुख्य खाना । चम्पा, यसको सातु बनाउने । रोटी बनाउने । चौंरीको दूधमा घोटेर खाने । अनि हेर, यो आलस हो ।’

यो जई घाँस ।

यस्तै के के जाति बिरुवा चिनाएको चिनायै गरे उनले । मेरो दिमागले सप्पै ठम्याउन सक्ने कुरै थिएन । कुनै भेलामा एकैपल्ट बीसौं मानिस चिनाएझैं भयो । कसरी सम्झन सक्नु । उनीझैं बिरुवा र माटोसँग तन्मय साधना गर्ने धीरता हाम्रो टिकटक पुस्तामा कहाँ ?

‘इः हेर, यो उवा हो । गहुँ, जौ जाति प्रजातिकै हो । हिमाली भेगमा हुन्छ । तिब्बतको मुख्य खाना । चम्पा, यसको सातु बनाउने । रोटी बनाउने । चौंरीको दूधमा घोटेर खाने । अनि हेर, यो आलस हो ।’

ढुंगैढुंगाको चाङमा सर्‍याक सर्‍याक सर्दै, वाग्लेकै पाइलामा सार मिलाउँदै हामी चढ्यौं । जस्तोगरी वाग्लेसँग हरेक माटोको कथा छ उस्तै गरी हरेक ढुंगाको पनि । कहाँबाट आए होलान् यति ठूला र चर्लक्क चिरिएका ढुंगा ?

गाईवस्तुलाई खुवाउने नेपिएर घाँसको जरा उखेल्न डोजर चलाएछन् वाग्लेका एक जना सहयोगीले । त्यही क्रममा यी ढुंगा निस्केका रहेछन् । वाग्ले पीरमा छन्, अब दुईचार वर्ष कमसल हुने भयो त्यो गरा ।

‘आई फेल्ट भेरी सरी’ ढुंगामाथि चढेर वाग्लेले भने, ‘माटोको ६ इन्चसम्म जीवाणुहरूको ठूलो सभ्यता बसेको हुन्छ । दुई–तीन सय वर्षसम्म बसेको मान्छेको शहर जस्तै । त्यसरी डोजर लगाउँदा सबै माटो उलटपुलट भयो ।’

उनले कुनै मेयरलाई इ‌ंगित गरेझैं भने, ‘मान्छेको मात्रै शहर हुन्छ र ? कीरा र जीवहरूको पनि शहर हुन्छ । हामीले मनलाग्दी डोजर चलाउनु हुँदैन ।’

वाग्लेका कुरा बुझ्न समय लाग्ने भयो हामीलाई । मान्छेले आफ्नो पैसा खर्चेर कुनै जग्गा किन्यो भन्दैमा त्यो उसको मात्रै अब नहुने भयो त ? ती जीव र कीराहरूको पनि हुनेभयो त ? उनले घरमा पालेका काले र खैरे कुकुरको पनि घरमा हक लाग्ने भयो त ?

पृथ्वीलाई बुझ्ने ‘एन्थ्रोपोसेन भ्यु’ले मात्रै अब काम नगर्ने भयो त ? वाग्लेको पछिल्लो किताब कोरियाना : कफी गफले यस्ता अनेक विषयमा मिहिन केलाएको छ ।

वाग्ले कोरियानामा लेख्छन् :

झ्यालमा कुनै कीराले जाल बुन्न भ्याएको देख्नुभएन भने तपाईंको यात्रा छोटो भयो ।

कीराले कति दिन लगाएर धागो निकालेको हुन्छ र कति चित् खाँदै आफ्नो बस्ने ठाउँ वा खेल्ने वा झुण्डिने वा तन्किने हवाई बाटो बनाएको हुन्छ, हामी ख्याल गर्दैनौं ।

उसका प्रतिभा, संघर्ष, शिल्प, कल्पना र कलाको कदर गर्नुहुन्न भने आफूले धीत मार्न कति ढाँचा पारेर लेख्न खोजेको कथा पनि केवल एउटा प्रयत्न ।

तपाईं घरको चारैतिर डुल्नुहोस् । कहीं न कहीं कुनै न कुनै कीराले कति धागो बाट्दै कता बेरिरहेको हुन्छ, देख्नुहुन्छ । (पृष्ठ १५३, कोरियाना)

यी सब सम्झँदै उनका बारीका कान्लाहरू काट्दै जाँदा एउटा बार आइपुग्यो । वासु शशीले लेखेकै छन् : पर्खाल लगाएपछि धेरैथोक बाहिर पर्छ ।  तारबार बाहिर चाहिँ कसको पर्छ ?

‘बारभन्दा बाहिरको जग्गा पनि हाम्रै हो । खोलासम्मको जग्गा । तर त्यो प्रकृतिका लागि छाडिदिएको’ वाग्लेले यसो भन्दा हामी एक अर्कामा हेरेर वाल्ल पर्‍यौं ।

वाग्लेले आफ्नै जग्गा बाँकी रहँदै बार लगाएछन् । त्यसभन्दा उताको खाली ठाउँ चाहिं तल्तिर बग्दै गरेको खोलालाई अरे । पाएसम्म खोलाको भाग पनि मिचुँ भन्ने कतिपयको ध्येय हुन सक्छ । तिनको कोणबाट हेर्ने हो भने यी वाग्ले जुग नसुहाउँदा मानिस हुन् । यिनको क्यै काम छैन ।

बालीको बास्ना

‘कुन खोला हो यो बगिरहेको ?’

वाग्लेको जवाफ नबुझेर मैले पक्का हुन सोधें, ‘भानु खोला ?’

‘होइन, भालु खोला ।’

आफूलाई चाहिं तनहुँका सबै खोलानाला पनि भानुकै नामबाट राखेजस्तो लाग्ने । अघिल्लो दिन मात्रै हामी भानु नगरपालिका घुम्दै थियौं । एमाले अध्यक्ष केपी ओलीदेखि यो उपचुनावका थुप्रै उम्मेदवार सबै आदिकवि भानुभक्तकै जस्तो बिर्खेटोपीमा केही समयअघि घुमेका थिए । भोट तान्ने मनसुवाले कोही त फेसबुक प्रोफाइलमै भानु बनेका छन् ।

नारायण वाग्लेलाई भानुभक्तकै घाँसीको कथा सुनेर ‘म नारायण वाग्ले भइकन किन यस्तो’ भन्ने त पक्कै भएन होला । तनहुँमा अचेल त घाँस बिक्दैन, उसबेला के बिक्यो होला ?

वाग्ले हामीलाई आफूले लगाएको तारबारभन्दा तल्तिरपट्टि रोपिएका फलफूलका सयौं बिरुवा देखाउँदैछन् । पोहोरदेखि लगाएका एभोकाडो, लिची, आँप, क्रस कटिङ गरेका बिरुवाहरू । हेर्दा सानै भए पनि पोथ्रामै फल लाग्लान् जस्ता पुड्का रूखहरू ।

‘यहाँको माटोमा यी बिरुवा फल्लान् र ?’ प्रश्न अमृतको थियो ।

वाग्ले अडिए, र हामीतिर फर्किए । उनी विज्ञबाट विज्ञानलाई बचाउने ध्याउन्नमा रहेछन् । यो कुरा बुझ्न फेरि अर्को महाभारत थियो । हामी महाभारत रचयिता व्यासकै उद्गम क्षेत्रमा यी सबै कुरा गर्दैछौं ।

‘६०–७० वर्षदेखि हाम्रो देशमा जुन विज्ञानको कुरा चल्दैछ, यसले कतिपय कुरा बिगारेको छ । आधुनिकीकरणका नाममा बिकास र बिज्ञानको राजनीति भयो। कृषि संस्थापन, नीति निर्माता र वैज्ञानिकले रैथाने ज्ञान र बिऊ बेवास्ता गर्दा आज हामीलाई पर निर्भर र पराधीन हुन पुग्यौँ । धेरै विज्ञ भनिनेहरुले विज्ञानको दुरुपयोग गरे ।’

वाग्ले भन्दै गए : ‘यी विज्ञहरू वैदेशिक सहायतामा आउने हाइब्रिड, विषादीको कार्टेलिङ, केमिकल फार्मिङको साम्राज्यबाट कोर्स डिजाइन गर्छन् । हाइब्रिडका ठूल्ठूला कम्पोनेन्ट बनाउने नाममा बाउबाजेको खेतीप्रणाली ध्वस्त बनाए ।’

बाउबाजेका पालाको ज्ञानले मात्रै नपुग्ने भएर त विज्ञान आएको होला नि ? जस्तो कि माटो परीक्षण ? किनभने वाग्ले माटो परीक्षणकै विरोध गरिरहेका थिए ।

मेरो एउटा अनाडी प्रश्न गयो, ‘सोइल टेस्ट अर्थात् माटो परीक्षण गर्नेहरूको नियतमै प्रश्न गर्न मिल्ला ? उनीहरूको पनि त यही माटोको स्तरोन्नति होस् भन्ने त होला ?’

उनी बोल्नुअघि नै मैले आफ्नो प्रश्न अझ बलियो बनाउन खोजें, ‘पुरातनतिर फर्काउन खोज्ने ? विज्ञानलाई उपेक्षा गर्ने ?’

वाग्लेले भने : ‘बिरुवाले भन्दा राम्रो माटो परीक्षण अरू केहीले पनि गर्न सक्दैन । बिरुवा सही तरिकाले रोपौं, हुर्काउँ । त्यसैले भनिहाल्छ यहाँ उमार्नु उपयुक्त छ कि छैन भनेर ।’

वाग्लेले तुरुन्त फर्काए, ‘धेरै उत्पादन आफैं एउटा नारा हो । उनले आफ्ना लामा औंलाले पल्लो गरातिर देखाउँदै भने, इः यो बाली छ नि, जिरो केमिकल फर्टिलाइजरमा फलाएको हो । गाउँलेले यसरी रोप्दा बाली लाग्दैन, यसो नगर्नु बाबु, हतार नगर्नुस् । विस्तारै विस्तारै विषादी घटाउनुस् भनेर विनम्र अनुरोध नै गरे । मैले मानिनँ । बलजफ्ती गरेर फलाएको हुँ ।’

वाग्ले भारतमा नरेन्द्र मोदी सरकारले गरिरहेको कृषि कामबाट प्रभावित छन् । उनलाई मोदीको राजनीति मात्रै विषादीयुक्त लाग्छ । प्राकृतिक कृषि लगायत अरू थुप्रै कामको प्रभावमा छन्, उनी ।

बीउविजनमा विषादीले किसानको जीवनपद्धति महँगो र धान्नै नसक्ने बन्न पुगेको भएर भारतमा जिरो बजेटिङ फार्मको नीति आएको उनले बताए । बीजामृत, जीवामृत जस्ता किसानले दशऔंला खियाएर आर्जेको ज्ञानलाई राज्यले उपयोग, प्रोत्साहित गर्नुपर्ने उनको भनाइ छ । काठमाडौं विश्वविद्यालयले अहिले पढाइरहेको वैदिक कृषिजस्तो अध्ययन अरूतिर पनि हुनुपर्ने उनको विचार छ ।

कतिपयले प्रश्न गर्ने गर्छन्, घुमाएर फेरि धार्मिक पन्थतिर फर्काउने नीति त होइन यो ? तर हिन्दु मात्रै नभई कतिपय आदिवासीहरूको कृषिज्ञानमा समेत बीजामृतको धारणा पहिलेदेखि नै रहेकाले त्यो पुनः प्रयोगमा आउनुपर्ने मत बलियो बन्दैछ । परम्परा भन्दैमा सबै त्याज्य हुँदैन । नयाँ सबै राम्रो हुँदैन ।

हाम्रो प्रश्न उही किसिमको छ : धेरै उत्पादन गर्न पनि चाहियो होला नि मल, विषादी ?

वाग्लेले तुरुन्त फर्काए, ‘धेरै उत्पादन आफैं एउटा नारा हो । उनले आफ्ना लामा औंलाले पल्लो गरातिर देखाउँदै भने, इः यो बाली छ नि, जिरो केमिकल फर्टिलाइजरमा फलाएको हो । गाउँलेले यसरी रोप्दा बाली लाग्दैन, यसो नगर्नु बाबु, हतार नगर्नुस् । विस्तारै विस्तारै विषादी घटाउनुस् भनेर विनम्र अनुरोध नै गरे । मैले मानिनँ । बलजफ्ती गरेर फलाएको हुँ ।’

शुक्लागण्डकीका उनका गाइड महेन्द्र श्रेष्ठको सहायता लिएर केमिकल हालेको भन्दा कम होइन, अझ बढी उब्जनी गराएर देखाइदिने उनको इख छ । ‘मलका लागि लाइन लागेका किसानलाई लाठीचार्ज गरिरहेको हुन्छ पुलिसले । त्यो मलकै पछि नलाग्नुस् भन्छु’, उनी भन्छन् ।

गाउँ फर्केपछि उनलाई कतिपय गाउँलेले झाडी फाल्न सुझाएछन् । चिलाउनेका रूख डोजर हानेर सिनित्तै पार्नुपर्ने तिनको तर्क उनलाई जँच्ने कुरै भएन । जिल्ला वन कार्यालय जाँदा पनि आफ्नो वनमा भएका चिलाउनेका रूख हटाएर अरू रूख लगाउन सुझाव पाएछन् ।

अहिले एकलजातीय जंगल छ, अर्को वर्षसम्म यसलाई मोनोकल्चरलबाट मल्टिकल्चरल बनाउने उनको योजना छ । जबकि भएका रूख समेत काट्न उनी सुझाव पाइरहेका रहेछन् ।

‘मलाई तिनका कुरा सुनेर गालामा पड्याङ्ग पिट्न मन लागेको थियो, हाम्रा ज्ञानका स्रोतहरूको हालत यस्तो छ’ वाग्ले आफ्नो अरुचि स्पष्ट गर्छन्, ‘उनीहरूले चिलाउनेको महत्व बुझेकै छैनन् । उनीहरूले थाम, दलिन फेर्नुको कारण नै बुझेका छैनन् । पानीबाट जोगायो भने चिलाउने साल भन्दा बलियो रूख हो ।’

आफ्नो बस्ती नै मास्तिर भएको चिलाउनेको जंगलका कारण टिकिरहेको उनले दाबी गरे । भानुभक्तको घाँसीले कुवा खनाएझैं वाग्लेले पोखरी खनाए । गर्मीयाममा दिउँसो उत्पात गर्मी हुने फराकचौरमा चिलाउनेको जंगल र खनिएका यी पोखरीले शीतलता छरेका छन् । बर्खाभरि पानी भर्‍यो भने पछिसम्म चिसो बनाइराख्छन् यिनले ।

वरपर सप्पैले चैते धान लगाइसक्दा पनि वाग्ले किन नरोपी बसे होलान् ? उनका विचारमा माटोको धेरै शोषण गर्नुहुँदैन । हरेक वर्ष माटोले पोषण पाउनुपर्छ । धान, मकै, कोदोका तीन चार प्रकार जुगाड गर्दैछन् । अमरनाथ लट्टे, चिनो, कागुनो, कालो कोदो, सेतो कोदो, तल्लो कोदो जस्ता विभिन्न फलादि लगाउने उनको योजना छ ।

धानको बीउ पोहोरभन्दा अझ राम्रा खाले संग्रह गर्दैछन् । पोहोर पन्ध्रथरी धान लगाए । अनदी, कालो मसिनो, झिनुवा, जर्नेली, पहेंले, एक्ले, जेठोबुढो जस्ता अनेक धान लगाए । यहाँको मौसममा कुन कोदो अत्युत्तम हुन्छ भनी उनी पत्ता लगाउनेमा छन् । कालो झिनुवा, सेतो झिनुवा जस्ता अनेकौं बीउमा उनको चासो छ ।

उनी भन्छन्, ‘अब म बालीको बास्ना फर्काउने सोचाइमा छु । हामी सानोमा स्कुल जाँदा मंसिरमा लहलह धानको बास्ना आउँथ्यो । अहिले रसायन, विषादीले माहुरी, कीराफट्यांग्रा हराए । पोषण त हरायो नै बास्ना पनि हरायो ।’

आर्यनले वाग्लेलाई ढुंगामा पोज दिन लगाए । पोज दिने कुरा वाग्लेलाई खासै मन पर्दैन । तर देऊ भनेपछि दिनैपर्‍यो ।

रैथाने गाईवस्तु, झार, कीरा, चरा

पूर्वतिर विभिन्न विदेशी जातका गाईको लहर छ । वाग्लेको जोड चाहिं किन लोकल गाईमा ?

अहिले रैथानी बीउबिजन मात्रै होइन, पशु पनि हराउँदै गएकोमा उनी चिन्तित देखिन्छन् । बायोडाइभर्सिटी पहिलेभन्दा झन् अत्यधिकीकरण गराउँदै, फार्मको क्षमता बढाउँदै जाने, प्रांगारिक खेतीमा जोड दिने गरे मात्रै कृषि पशुपालन उँभो लाग्ने उनको विचार छ । किसानसँग दुई वा एक रोपनी मात्रै जग्गा छ भने पनि त्यसलाई कसरी बढी उपयोगी बनाउने भन्ने उनको चिन्तन छ ।

वाग्ले यतिबेला सिरी गाई, नौमुठी गाईहरूको बारेमा अध्ययन गर्दैछन् । तिनलाई कसरी आफ्नो फार्ममा राखेर बढ्ता पोषण प्राप्त गर्ने भन्ने उनको सोचाइ हो । सिरी गाई पूर्वतिर पाइन्छ । नौमुठी गाई अछामतिर । टाउकोदेखि पुच्छरसम्म जहाँ समाए पनि मुठीमै आउन सक्ने भन्ने अर्थमा त्यसको नाम नौमुठी भएछ ।

‘त्यो नौमुठी गाई भनेको सम्भवतः संसारकै सबैभन्दा सानो गाई हो, अछामका पालिकाहरूले पूरै प्रचार गरेर यतिन्जेलसम्म पर्यटक ल्याइसक्नुपर्ने’ वाग्ले भन्छन्, ‘यति सानो भइकन पनि गाई कति पोषिलो दूध दिन्छ भनेर ।’

वाग्लेले खरी बाख्रा पालेका छन् । बन्दीपुर बाख्रा फार्मले लोकल बाख्रा वितरणका लागि कुरा गरेछन् । तर त्यहाँ पनि हाइब्रिड र क्रस बिडिंगकै कुरा छ । त्यसलाई सफलताको कथा मानेर प्रचार गरिएको, तर लोकल खरी बाख्रा लगायतलाई भने प्रोत्साहन नभएकोमा उनको चित्त बुझेको छैन ।

बाच्छा फुकेर चर्न थालेपछि वाग्ले हामीसँग कुरा गर्न छाडेर त्यतै दौडिए । त्यसलाई गोठमा पुर्‍याएपछि उनी फर्के । त्यसपछि उनी गाँजर टिप्न हिंडे । भुइँमा उनी निहुरिंदा लामो इन्द्रेणी पृथ्वीमा निहुरिएझैं धर्काको छायाँ बन्यो ।

फलफूलहरू टिपेर धारामा खलल्ल पखाले । उनको किसानी जीवनलाई हामीले छाँटले नियाल्यौं । उनी लमक्-लमक् हामीतिर आए ।

अघिकै कुरामा जोडे, ‘लोकल गाईको गोबरमा जति संख्यामा जीवाणु संख्या छ, अरू मलमा पाइँदैन । त्यसैले हामीले कृषिजत्तिकै ध्यान पशुपालनमा पनि दिंदै जानुपर्छ ।’

लेखकहरू चरालाई बढ्तै प्रेम गर्छन् । किरालाई भगाउन खोज्छन् । किराको विम्ब पनि खासै गतिलो बनाउँदैनन् । वाग्लेचाहिं कीरालाई पनि अभिन्न माया दिएर बस्छन् ।

घरछेउको नास्पातीको बोट अस्ति चैतको हुरीले ढालेको छ । त्यसमा असंख्य कीराहरू ताँती लागेर बसेका छन् । पहिला कसैले गोठ ढलान गर्ने हुँदा त्यो बोटको एउटा जरा छिनिएको रहेछ ।  जीवन ज्याद्रो चीज हो ।  बाँकी रहेको जराको बलमा त्यो नास्पातीको बोट अझै धिकिर-धिकिर बाँचिरहेको छ ।

वाग्लेले खरी बाख्रा पालेका छन् । नजिकै बन्दीपुरमा राष्ट्रिय  बाख्रा कार्यक्रम छ । तर त्यहाँ पनि  हाइब्रिड र क्रस बिडकै मात्र काम हुन्छ । त्यसलाई सफलताको कथा मानेर प्रचार गरिएको, तर लोकल खरी बाख्रा लगायतलाई भने प्रोत्साहन नभएकोमा उनको चित्त बुझेको छैन ।

अब केही दिनमा वाग्ले यही घरमा सर्नेछन् । उनको सुत्ने कोठा बनिसक्न लागेको छ । सहकर्मी भाइ सुरेन्द्र थापाको कोठा त बनिसक्यो ।

चुलोमा पटक्कै ऊर्जा खर्च नगर्ने योजना छ उनको । सुरुमा अलिकति चलाए पनि पछि शून्य बनाउँदै जाने सोचाइमा छन् उनी । नेपालगञ्जबाट चुलो मगाएका छन् । त्यसमा दाउरा राखेर पकाउने । धुवाँ नहुने गरी दाउरा राख्न मिल्ने, त्यसको तातोले खाना पकाउने ।

‘नुनबाहेक केही किन्न नपरोस् भन्ने चाहना छ’, उनले भने ।

कुखुरा उसैगरी कुदिरहेका छन् । आगो बलिरहेको छ । दुई कुकुर सुतिरहेका छन् ।

वाग्लेको घरमा खानेबस्ने चाँजो मिलाउन अझै केही साता लाग्छ । उनी नजिकैको घरमा बसेर सबै काम हेर्दैछन् । उनले हामीलाई खाना खुवाउन रामथुम्कीस्थित ब्याम्बो कटेज लगे ।

जैविक विविधता झल्काउने अनेकथरी खानाहरूको परिकार, अनि त्यहाँ लगाइएको बोटबिरुवा हेरेर हामी फेरि गफिन थाल्यौं । कटेजमा हामीलाई मोरिंगाका टुसा दिइयो । त्यहाँका मित्रले भने, ‘मोरिंगा यार्चागुम्बाकै लेभलको हो ।’ उनले यसो भन्दा हामी दकस मान्यौं । वाग्ले हाँसे ।

वाग्लेले चितवन रामपुरमा भएका राष्ट्रिय गाई कार्यक्रम, राष्ट्रिय मकै कार्यक्रम लगायत ठाउँमा भइरहेको बेथितिलाई नजिकैबाट अध्ययन गरेका छन् । उसै त कृषिको अनुसन्धान कम, त्यसमाथि  त्यही जग्गा क्रिकेट रंगशाला बनाउन धुर्मुस सुन्तलीलाई दिएकोमा उनले फिटिक्क चित्त बुझाएका छैनन् ।

‘नेपाल कृषिप्रधान देश कि क्रिकेटप्रधान देश ?’ उनी सोध्छन्, ‘त्यो रंगशाला त्यही बाली अनुसन्धानकै ठाउँमा चाहिने ? अन्यत्र बनाए हुँदैन ?’

अहिले नेपालमा भइरहेका कृषि अनुसन्धानले किसानलाई बलियो बनाउने नभई झन् कमजोर र असहाय बनाउन लागेको ठान्छन् उनी ।

आयातीत र वर्णसंकर जातका मकैका बीज भण्डारको व्यापार, अनि बीउमल सबै बजारको भागमा छाडिदिंदा किसानलाई मैले घरमा बीउ, मल राख्नुपर्छ भन्ने ज्ञानसमेत हराउन थालेको उनको चिन्ता छ ।

यस्तैमा उनले आफ्नो खेतीमा लगाउन खुमलटार गएर काँक्राको बीउका लागि फारम भरेछन् । उनी रैथाने बिऊ वरपर नभेटे कृषि अनुसन्धान परिषदको खुमलटारस्थित जीन ब्यांक जान्छन् र पर्खेर बिऊ ल्याउँछन् । यो सबै काम गर्न आम किसानले नसक्ने भएकाले पालिकाले सघाउनुपर्ने उनको मत छ ।

‘कृषिमा सफलता पाउनु भनेको के हो भन्ने परिभाषा नै फेरिनुपर्छ, खालि क्रस र हाइब्रिड भनेर कुदेर हुँदैन’ उनी भन्छन्, ‘यसो गर्न सकिएन भने किसान अहिलेको सिस्टममा झन् निरुत्साहित हुँदै जान्छन्, तिनका सन्तान खेतीबाट झन् टाढिंदै जान्छन् ।’

वाग्लेले कृषिकर्मलाई गाउँघरको सामुदायिक अभियान मानेका छन्, न कि कुनै नाफामुखी । यद्यपि उत्तरदायी र गुणस्तरीय खेतीपातीबाटै पैसा आर्जन गर्न सम्भव देखेका छन् उनले । हेरौं उनको प्रयासले कस्तो नतिजा पाउने हो ?

‘खेती सामूहिक सभ्यता हो खासमा, तर मेरा लागि यो एकल संघर्ष जस्तो भएको छ’ उनी भन्छन्, ‘पन्ध्रथरी धान ल्याउन म पन्ध्रै ठाउँमा जानुपर्‍यो । बीज भण्डार केवल व्यापार गर्दैछन् । विषादी मास स्केलमा छ । चराहरू गुँडबाट उडेर जान्छन्, फर्किने टुंगो हुन्न । के विषादी खान्छन्, बाटोमा फ्यात्त खसिरहेका हुन्छन् । पुतली, माहुरी, चराहरूको अवस्था यस्तै छ ।’

वाग्लेको खेतीमा भने चराहरू टन्नै छन् । के कारणले होला ?

यहाँ माटोमा खतरा नभएरै कीराहरू आएका हुन् रे ! अनि बाली बिरुवामा खतरा नभएर चराहरू । तर खतरा माटोमा होइन, आकाशमा छ । पहिले कुनै बेला बिजुलीको तार लैजाँदा विचार नगरी पोल गाडिएको छ । एउटा तारमा टेके चरालाई केही हुन्न । दुईवटै तारमा सँगै खुट्टा राखे चरा सीधै भुइँमा फत्रक्कै झर्छन् । पानी हाल्न खेतमा जाँदा वाग्ले चरा मरिरहेको देख्दा रहेछन् ।

चरालाई जंगल बसेर पुग्दैन । अन्नका लागि खेतबारी चाहिन्छ ।  दिउँसो कराउने कीरा कराइरहेका छन् । च्याउँ-च्याउँ-च्याउँ आवाज आइरहेको छ । कुनै दिन वाग्लेले यसैबारेमा किताब लेख्लान् ।

‘लेखिएला पनि, तर अहिले खेतीमै ध्यान छ’ उनले भने, ‘यो घरको धेरैजसो काम सकिएपछि नयाँ उपन्यासलाई विस्तारै समय दिने सोचाइ छ ।’

थपे, ‘कम्तीमा दिनको दुई-तीन घन्टा समय उपन्यासलाई दिन्छु होला ।’

अहिले त उनलाई झोला बोकेर बीउ खोज्नकै भ्याई-नभ्याई छ । उखुका ३०० वटा आँख्ला खोजेर लगाउने सुरमा छन् ।  आँख्ला बेच्नेले शर्त राखेछन् – पहिला धमिरा मार्ने बिख हाल्नुहोस् । वाग्ले बिख हाल्न नमान्ने । आँख्लावाला त्यसो नगरे बेच्न नमान्ने ।  विषादीबेगर रोप्नु भनेको पैसाको सत्यानाश भनेर उल्टो उनलाई पढाएछ । उनले विषादीबेगर रोप्ने अड्डी लिइरहेका छन् । यसअघि अर्गानिक उखु उमार्न खोज्दा असफल हुनुलाई उनले घाटा मानेका छैनन् । बरु समय गलत रोजेको उनको जिद्दी छ । उनले यसलाई सिकाइ नै ठानेका छन् । यसपल्ट पनि बिखादी बेगर नै रोप्ने उनको जिकिर छ ।

खेती लोकतान्त्रिक कर्म हो । जबर्जस्ती अर्गानिक या यस्तोउस्तो भन्न खोज्दा श्रीलंकाको जस्तो बेहाल हुन्छ, यो वाग्लेकै निष्कर्ष हो । किसानमाथि सैन्य शासन थोपरेर हुन्छ र ?

कर्पोरेट खेती प्राेत्साहन गर्ने वर्गले आफूलाई सही, अर्गानिक फार्मिङलाई गलत देखाउनका लागि अक्सर श्रीलंकाकै दृष्टान्त दिन्छ । कर्पोरेटवालाहरूसँग जुध्नुपर्ने किसानहरूका लागि जब सरकारले मलसमेत चीनबाट मगाइदिन थाल्यो, त्यसले के अर्गानिक फार्मिङ हुन्थ्यो ? मल त आफ्नै चाहियो नि !

तर उम्मेदवारहरू वाग्ले, खनाल सबै कृषिको यान्त्रिकीकरण, व्यवसायीकरण, व्यवस्थितिकरण गर्ने भन्छन् । प्रदेश प्रदेशमा रासायनिक मल कारखाना खोल्नुपर्ने राजनीतिक एजेन्डा बिकिरहेको छ देशमा ।देशको कृषि शिक्षा विदेशी । रैथाने ज्ञान त्याज्य । किसान अशिक्षित कहलिन पुगे। यस्तो हुनु उँभो लाग्ने संकेत होइन । छिमेककै भारतबाट मात्रै सिक्न खोज्दा पनि धेरै फरक पर्ने वाग्लेको भनाइ छ ।

‘किसानसँग आफ्नै मल बनाउन कम्तीमा गाईवस्तु, बाख्राबाख्री आदि हुनुपर्‍यो । एक्लै नसके गाउँलेसँग मिल्ने हो’ उनी भन्छन्, ‘रासायनिक मलजस्तै अर्गानिक मलको पनि कारखाना खोल्न लागे बर्बाद हुन्छ ।’

‘खास म जिज्ञासु हुँ । लेख्न सके लेखक, खेती गर्न सके किसान । हिंड्न सके हिंडुवा । अहिले म मीठो मसिनो स्वस्थ ताजा खान मन पराउने खञ्चुवा ।’

यति लामो बात मारिसकेपछि खानाले अघाएको पेट बढ्ता आत्मविश्वासी बन्यो । उनलाई सुरुमा सोध्न नसकेको कुरा सोधियो : अरूका छोराछोरीले बाउबाजेको पेशा त्यागे, तपाईंचाहिं स्थापित पेशा छाडेर किन किसानीमा ?

वाग्लेले भने : ‘जन्माइ र हुर्काइ किसान परिवारमा भएकाले मलाई स्वाभाविक लाग्यो, यसमा फर्किन । अर्को कुरा, मैले उत्पादन जति श्रेष्ठ कार्य सम्पादन अर्को शायदै होला भन्ने बुझें । सबभन्दा श्रेष्ठ सेवा । आजको दिनमा यावत् प्रतिकूलता सामना गर्दै प्रकृतिसम्मत खेती आफैंमा संघर्ष हो । यो मेरा लागि अर्को श्रेष्ठ आन्दोलन हो ।

वाग्ले पुर्खाको अनुभव, अनि आफूले हासिल गर्ने ज्ञानबाट खेतीका संकटबारे आफैं सोधखोजमा लागेका छन् । यसमार्फत उनी फेरि नयाँ सिकाइ सुरु गर्ने चरणमा छन् । आफूलाई स्वस्थ, सक्रिय, सिर्जनशील, स्वाध्यायमा आधारित तन्नेरी बनाइराख्न पनि उनी माटोमा दशऔंला गाडेर माटोसँग अन्तरक्रिया गर्न खोजिरहेका छन् । गाईवस्तु, वनस्पति, झार, चरा र कीराको संसारमा आफूलाई समर्पित गर्दैछन् ।

उनको जीवनको कथानकमा कुनै चढाव आएन भने यो नयाँ दशकमा नेपाली समाजले नारायण वाग्लेलाई किसानका रूपमा चिन्नेछ ।

वाग्ले आफ्नै विम्ब विघटन गरिरहन्छन् । ४० दशकको अन्तिम वर्षहरूमा कवि भएर त्रिचन्द्र क्याम्पस वरिपरि फन्को मारे । ५० को दशकमा उनी घुमन्ते संवाददाता, अनि कफीगफी बने । ६० को दशकमा कान्तिपुर र नागरिकका सम्पादक तथा प्रसिद्ध उपन्यास पल्पसा क्याफेका आख्यानकार बने ।

७० दशकमा धेरथोर पत्रकारिता, बढी लेखन कार्यशाला र नागरिक आन्दोलन । अब ८० दशकमा उनको कायाकल्प हुँदैछ खेती किसानी र गोठाला गर्ने नारायण वाग्लेका रूपमा ।

यी सप्पै उनकै परिचय हुन् । तर यीमध्ये उनी बढ्ता के हुन् ? को हुन् !

ब्याम्बो कटेजबाट फर्किंदा बाटोमा मैले उनलाई सोधें, ‘तपाईं खासमा हो चैं के ? आख्यानकार ? पत्रकार ? नागरिक आन्दोलनकारी ? खेतीवाल ?

प्रश्न यस्तरी सोधियो, मानौं यो परीक्षाको ‘कुनै एक उत्तरमा रेजा लगाउनुहोस्’ भन्ने प्रश्नखण्ड हो ।

वाग्लेले चिह्न लगाएनन्, बरु सप्रसंग व्याख्या गरे ।

‘खास म जिज्ञासु हुँ । लेख्न सके लेखक, खेती गर्न सके किसान । हिंड्न सके हिंडुवा । अहिले म मीठो मसिनो स्वस्थ ताजा खान मन पराउने खञ्चुवा ।’

उनले एकै सासमा भनिभ्याए, ‘यो चरणमा म हाम्रो माटो किन बिग्रियो, खेती कसरी गर्ने, किन गर्ने, के गर्ने, कसले गर्ने भन्ने जान्न उत्सुक हुँ । खेतीमार्फत प्रकृति कसरी व्यापक संरक्षण गर्ने, किसानलाई कसरी आत्मनिर्भर र आत्मसम्मानित बनाउने, स्वस्थ खाना र स्वस्थ पृथ्वीको पैरवी कसरी गर्ने जिज्ञासासहित म किसान हुँ । लोकतन्त्रलाई लोक र लोकजीवनका संकट सामना गर्न सक्ने गरी कसरी लोकप्रिय बनाउने भन्नेमा म नागरिक आन्दोलनकारी । कल्पना र यथार्थ घोलेर रोमाञ्चित हुन लेखक । म नितान्त व्यक्तिगत रुचि र स्वभावले निर्देशित एक स्वतन्त्र लेखक, तर पृथ्वी र प्रकृतिमाथि आज विश्व व्यवस्थाले निर्मम दोहन गरिरहेको देखेर आक्रोशित एक किसान ।’

अब प्रश्नहरू करिब सकिए । सधैंका भेटमा जस्तो आज कफीको कुनै सम्भावना थिएन । नत्र उनी त कतिसम्म कफी अम्मली भने, मेरो विगत वर्षको युट्युब शो ‘च्या खानु भो ?’ मा पाहुना बन्दासमेत आफैं घरबाट झोलामा कफी ल्याएर सर्भ गर्न उद्यत थिए ।

आज कफी छैन । वाग्ले पहिले जस्ता छैनन् ।

तर झन् पहिले जस्ता रैथाने नारायण वाग्ले छन् ।

छुट्नुअघि उनले भने– ‘यो घरकै कुखुराले पारेको लोकल अन्डा नितिका र छोरीलाई लगिदेउ ल ।’

सुन्दा साधारण लाग्ने कस्तो भावुक वाक्य थियो त्यो– घर फर्किने हुँदा शहरभन्दा पर बसेको एउटा लोग्ने र बाबुको ।

मैले ‘हुन्छ’ भनें । उनी ‘गुड गुड’ भन्दै उसैगरी बिदा हुन लागे ।

उचाइले मात्र  होइन, सोचाइले पनि भीडमा परैबाट छुट्टिन्छन् वाग्ले । सबैसँग मिलनसार छन्, तर सबैको बथानमा मिल्न सक्दैनन् ।

सेतो कपाललाई हत्केलाले निधारपछाडि लैजाँदै घरबुना हरियो झोला बोकेर यी भला मानुष दमौली झर्दैछन् । अन्नबाली, झार, कीरा र चराका साथी  उनलाई बीजामृत बनाउने भाँडा ल्याउनु छ ।

हामी उनलाई पछ्याउँदै छौं । कुदेर भेट्टाएनौं भने पछाडि नै छुट्छौं होला ।

लामा खुट्टा भएको सेतो चरो उड्दै भालुखोलातिर छड्किंदै छ ।

‘मलेवा हो ?’

अमृतले भने, ‘बकुल्ला हो ।’

तस्वीर/ भिडियो : आर्यन धिमाल

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?