+
+
जारी :

खुकुरीको धारमा अडिएको प्रेम

फिल्मले केही ठाउँमा भावुक बनाउँछ । केही ठाउँमा खित्का छोडेर हाँस्ने पनि बनाउँछ । जारी खुकुरीमा अडिएको प्रेमको कथा हो । घृणा र प्रेमको चक्र, जहाँ जित हार नगण्य हुन्छ ।

दृश्य  दृश्य 
२०८० वैशाख २ गते १८:४२

खचाखच हलमा बसेर फिल्म हेर्नुको अनुभूति शब्दातीत हुन्छ । भीडमा अनेक पृष्ठभूमि, दर्शन र कलाचेतका दर्शक हुन्छन् । सबैका आ-आफ्ना जिन्दगी हुन्छन् । आफ्नै बोझ हुन्छन् । तर, सयौं पृष्ठभूमिहरू एकै ठाउँमा बसेर समान भएका हुन्छन् । सयौं आँखा र सयौं कथाले एउटै कथा हेरिरहँदा उत्पन्न हुने भावले मलाई अक्सर रोमाञ्चित बनाउँछ । सिनेमा हलको यो चिरकालीन विशेषतालाई म चिरकालसम्म सम्मान गरिरहन्छु ।

म हलमा फिल्म मात्र हेर्न जाँदिनँ । मलाई दर्शकहरू पनि उत्तिकै रोचक लाग्छन् । कोही हाँसउठ्दा दृश्यमा गम्भीर भएर हेरिरहेका हुन्छन् । कोही गम्भीर दृश्यमा हाँसिरहेका हुन्छन् । कहिलेकाहीँ यस्तो भीडमा सन्नाटा हुन्छ । कहिले कुर्सीमा उफ्री-उफ्री छाती पिटेर हाँसिरहेका हुन्छन् । मानिसहरू रोचक प्राणी हुन् ।

‘केयर अफ कन्चरापालाम’ फिल्ममा एउटा संवाद छ, जहाँ मुख्य पात्र भन्छ “मलाई भगवानमा विश्वास लाग्दैन । म मानिसहरूमाथि विश्वास गर्छु ।” यो संवादले ममा धेरै प्रभाव पार्‍यो ।

मलाई पनि मानिसहरूमा विश्वास लाग्छ । मानिसहरू रोचक लाग्छन् । भगवान् इज बोरिङ । पिपुल आर नट ।

यस्तै मानिसहरूसँग बसेर नयाँ वर्षको दिन ‘जारी’ हेरियो ।

लेखक

‘जारी’को क्रेज व्यापक रहेछ । कमेडी फिल्ममा मात्र दर्शकको रुचि छ भन्ने तर्कको विपरीत गम्भीर प्रकृतिको फिल्ममा पनि मानिस ओइरिए । मानिसहरू टिकट नपाएर फर्किरहेको पनि देखियो ।

नेपाली फिल्मका लागि यस्तो क्रेज देख्दा भित्रैदेखि आनन्द महसुस भयो । किन यस्तो क्रेज ? सायद दयाहाङ राईका कारण पनि होला । उपेन्द्र सुब्बाको नामले पनि होला । फिल्मको टिजर पनि भिन्न थियो । एउटा कवि निर्देशकको छाप प्रस्ट देख्न सकिन्थ्यो । बिदाको दिन पनि थियो । अनेक कारण थिए ।

तर, मलाई रुचि जगाएको कारणचाहिँ दयाहाङको पात्र थियो । दयाहाङ यति रिसाएको खासै देखिँदैन । प्रायः रिसाहा पात्र पनि उनी बडो सौम्यपूर्वक निभाउँछन् । तर उनी जारीको टिजर र ट्रेलरमा खुब रिसाए । उनको दाह्रा किटेका दृश्यले ‘सुकुन’ दिए ।

‘जारी’ जेरीजस्तै मिठो छ । जेरीजस्तो पूरा घुमेर बेरिएको त छैन तर स्वाद आउँछ हेरुन्जेल । समय बितेको पत्तो हुँदैन । हुन त मध्यान्तरमा शौचालयतिर भेटिएका एक जनाले भन्दै थिए, ‘कमेडी होला भनेको अलि सिरियस रहेछ । निन्द्रा पो लाग्यो ।’

दोस्रो हाफमा उनी पक्कै गम्भीर बने होलान् । उनलाई अल्छी लागेन होला । फिल्मको दोस्रो हाफले धेरै ठाउँमा गम्भीर बनाउँछ । केही ठाउँमा भावुक बनाउँछ । केही ठाउँमा खित्का छोडेर हाँस्ने पनि बनाउँछ । जारी खुकुरीमा अडिएको प्रेमको कथा हो । घृणा र प्रेमको चक्र जहाँ जित हार नगण्य हुन्छ ।

जारी फिल्मको एक दृश्यमा दयाहाङ राई

ट्रेलरमा जति कुराहरू देखाइएका थिए, लगभग सबै पहिलो हाफमै सकिन्छन् । दोस्रो हाफका दृश्यहरू ट्रेलरमा खासै राखिएका छैनन् । यसले गर्दा हल्का अक्क न बक्क परेजस्तो भयो । सबै पहिलो हाफमै सकिएपछि दोस्रो हाफमा के पो रहेछ भनेर एकछिन सोचें पनि । तर, दोस्रो हाफ अझै राम्रो लाग्यो । ट्रेलर किन त्यसरी काटियो ?

फिल्म २०५२ सालवरपर केन्द्रित छ । ठाउँ नखुलाइए पनि बुझ्न सकिन्छ— यो पूर्वको कुनै गाउँ हो । सायद पाँचथर । कवितामा अरुण नदीको सन्दर्भले पनि सायद पूर्वकै सेटिङ भनेर बुझ्न सकिन्छ । ०५० सालतिरको समय बुझाउने अरू कडीहरू फिल्ममा खासै छैनन् । स्पेस-टाइम स्थापित गर्न खासै जाँगर चलाइएको छैन ।

‘जारी’ बाहिरी संसारदेखि अलग बस्तीको कथाजस्तो लाग्छ । यसका पात्रहरू बाहिरी दुनियाँसँग बेखबर देखिन्छन् । एकपटक ‘कालापार’ उल्लेख गरेको सुनिन्छ । तर, त्योबाहेक खासै सम्बन्ध छैन । देशको राजनीतिक उथलपुथल र सामाजिक परिवेशबारे ‘जारी-भर्स’ बेखबर देखिन्छ ।

फिल्मका पात्रहरू प्रायः निराश र आक्रोशित देखिन्छन् । उनीहरू जारी प्रथाबाट पीडित छन् तर सामाजिक मूल्य-मान्यताका कारण प्रथा मान्न बाध्य छन् ।  फिल्मले जारी प्रथाप्रति आफ्नो विश्लेषण वा कमेन्ट्री दिएको छैन ।

भन्छन् जारी प्रथा हटिसक्यो ।  तर कतिपय जिल्लाका तामाङ महिलाले पुनर्विवाह गर्न चाहेमा उनीहरूको पहिलो श्रीमानलाई जारीबापतको रकम तिर्नुपर्ने सामाजिक नियम अझै कायम छ । यो प्रथाका कारण महिलालाई किनबेच गर्न सकिने साधनका रूपमा लिइँदै आएको छ भनेर पढेंको थिए ।

जारी कुप्रथा हो । लैंगिक असमानताको एउटा तिखो उदाहरण हो । हुन त कानुनले समाजमा जारी प्रथा छ भन्ने नै मान्दैन तर नेपालका कतिपय समुदायमा यो चलन अझै यथावत् रहेको भनेर समाचारमा सुनिन्छ । ‘जारी’ फिल्म यही प्रथामा आधारित छ । फिल्म यही प्रथाले निम्त्याएका अप्ठ्यारा र जटिलतामा घुमेको छ । तर, फिल्म जारी प्रथाको डकुफिक्सन मात्र होइन । फिल्ममा काव्यिक चेत देख्न सकिन्छ । यहाँ कथाहरू छन् । पात्रहरू छन् । भावनाहरू छन् । एउटा कविले निर्देशन गरेको फिल्ममा यति त हुनै पर्‍यो । तर, दुर्भाग्यवश फिल्ममा प्रयोग भएका ‘कविता’हरू सबै बुझ्न सकिएन । तिनका सबै अर्थ बुझ्न पाएको भए अझ आनन्दित हुन्थें । नबुझे पनि सुन्दा आनन्दचाहिँ लाग्यो ।

फिल्मलाई ‘नुमाफुङ’कै spritual sequel भनेर बुझ्न सकिन्छ । लिम्बू समुदायका कथा दुबैमा समान छन् । फिल्म हेरुन्जेल मैले ‘नुमाफुङ’ सम्झिरहेको थिएँ । तर, ‘नुमाफुङ’को कथा धमिलोमात्रै थाहा छ । ‘जारी’ले फेरि ‘नुमाफुङ’ हेर्ने इच्छा बढाएको छ । यस्तो लाग्यो— ‘जारी’ वल्लो गाउँको कथा भए ‘नुमाफुङ’ पल्लो गाउँको कथा हो । दुई वटा छिमेकी कथा हुन् । मण्डलामा हेरेको नाटक ‘जार’को पनि झल्को दिन्छ फिल्मले ।

‘जारी’ फिल्मलाई ‘कबड्डी’ सिरिजका फिल्मसँग पनि तुलना गरेको पाएँ । तर, फिल्मको खिचाइ, रंग संयोजन, संगीत र सेटिङले यसलाई ‘कबड्डी’ सिरिजभन्दा अलग बनाएको छ । ‘कबड्डी’ र ‘जारी’मा केही कलाकारबाहेक समानता छैन । सटहरू स्थिर छन् । पात्रको पछिपछि क्यामेरा दौडिँदैनन् । फिल्मको गति पनि सुस्त छ । फ्रेमहरू सुन्दर र शान्त छन् । सरल छन् । क्यामेराको पनि आफ्नै भाषा भएको अनुभव हुन्छ कहिलेकाहीँ । यहाँ क्यामेरा खिचेर मात्र बस्न तयार छैन । दोस्रो पटक हेरेपछि सायद प्राविधिक कुरा अझै नियाल्न सकिएला ।

फिल्मको महत्त्वाकांक्षा पनि ठूलो छैन । फिल्मको मेकिङ हेर्दा मैले ‘ऐना झ्यालको पुतली’ सम्झिरहेको थिएँ ।

झुमा लिम्बू र गंगा थापाको संगीत जादुमयी छ । फिल्मको प्रोडक्सन डिजाइन पनि मलाई राम्रो लाग्यो । त्यतिबेलाको समय हो भनेर पत्याउन सकिन्छ । गाउँले सेरोफेरो, मेलाको रौनक, लिम्बू वेशभूषा र विभिन्न परम्परालाई इमानदारीपूर्वक देखाइएको छ । हुन त ५० सालका गाउँ र ८० सालका गाउँमा खासै भिन्नता छैन । बिजुलीका तार केही थपिए होलान् ।

फिल्ममा सबटाइटल छैन । धेरै वाक्यमा लिम्बू र नेपाली शब्द मिश्रित छन् । भाषा बुझिएन तर सुन्दा मजा लाग्ने । सबटाइटल पढ्नेतिर लाग्दा भाषामा खासै ध्यान जाने थिएन । हामी कहिलेकाहीँ फरक भाषा बोल्ने समुदायमा जाँदा त्यहाँ सबटाइटल हुँदैन । वास्तविक जीवनमा सबटाइटल हुँदैन । उनीहरू जस्तो बोल्छन्, त्यस्तै सुन्नुपर्छ । फिल्ममा पनि त्यस्तै छ । कतिपय भाषा शब्दले मात्र बुझ्नुपर्छ भन्ने छैन ।

फिल्मका पात्रहरू प्रायः निराश र आक्रोशित देखिन्छन् । उनीहरू जारी प्रथाबाट पीडित छन् तर सामाजिक मूल्य-मान्यताका कारण प्रथा मान्न बाध्य छन् ।  फिल्मले जारी प्रथाप्रति आफ्नो विश्लेषण वा कमेन्ट्री दिएको छैन । फिल्मलाई वैचारिक मान्न सकिँदैन । एउटा प्रथाले निम्त्याउने उल्झन र अप्ठ्याराहरूलाई नाटकीय रूपमा देखाउने काम मात्र गरेको छ ।

आलोचना गर्नेहरूले फिल्मले जारी प्रथालाई कतै ग्लोरिफाई त गरेन भन्न पनि सक्लान् । तर, प्रथा-कुप्रथाबारे संसारमा थुप्रै फिल्म बनिसकेका छन् । नेपालमै पनि यस्ता फिल्म छन् । कुनै खराब पक्षलाई फिल्ममा देखाइँदा त्यसलाई बढावा दिएको भन्न मिल्दैन । ‘स्टोनिङ अफ सोराया’ले ढुंगा हानेर महिलालाई मार्ने कुराको वकालत गर्दैन । नेपालकै ‘झोला’ले सती प्रथाको पक्षपोषण गर्दैन ।

तर, फिल्मको ‘हिडन ल्याङ्वेज’ बुझ्दा ‘जारी’को मर्म मानवीय संवेदना र प्रेम नै हो ।

हरेक समाजमा आफ्नै खाले कुरीति र कुप्रथा हुन्छन् । तर, जे-जस्तो प्रथा भए पनि त्यसबाट पीडित हुने प्रायः महिला नै हुन्छन् । फिल्ममा पनि महिलाहरू पीडित छन् । अनि महिला पीडित हुने समाजमा पुरुषहरू पनि कहिल्यै खुसी हुन सक्दैनन् । दम्भी पुरुषहरू समाजको ठेकेदार जस्तो देखिएलान् तर यस्तो समाजमा उनीहरू पनि खुलेर बाँच्न सक्दैनन् । ‘जारी’का पुरुषहरू पनि यही पीडामा देखिन्छन् । उनीहरू खुसी छैनन् । उनीहरु लज्जित छन् । ‘जारी’ सामाजिक भेदभावको एउटा ‘केस-स्टडी’ पनि हो ।

जारी फिल्मको एक दृश्यमा मिरुना मगर ।

हिन्दी फिल्म ‘थप्पड’मा अमृता (तपसी पन्नु) ले थप्पड सहन सकिनन् । जारी कि मुख्य पात्रले लात सहन सक्दिनन् । तिखा वाक्यहरु सहन सक्दिनन् । महिलाहरू घरेलु हिंसा सहेर बस्न तयार छैनन् । ‘थप्पड’ आधुनिक समयको कथा भएकाले अमृता सजिलै जीवनमा अघि बढ्न सकिन् । उनीसँग अवसरहरू थिए । तर जारीकी पात्रले  त्यो छुट पाइनन् । उनी पुनः त्यही जालोमा फर्किइन् । यसमा सामाजिक र आर्थिक कारणहरू पनि महत्त्वपूर्ण होलान् ।

नेपालमा कसरी महिलाहरू घरेलु हिंसाको चङ्गुलबाट निस्कन सक्दैनन् भन्ने कुराको गतिलो उदाहरण हो जारी । मेरो एउटा मनले के चाहेको थियो भने, फिल्मकी मुख्य महिला पात्रले विद्रोह गरुन् । गाउँमा आन्दोलन छेडुन् । गाउँका सबै महिलाहरूलाई भेला पारेर पुरुषहरु विरुद्ध धर्ना बसुन् । घरमा तोङ्वा र जाँड उत्पादन गर्न बन्द गरुन् । यो हलचल लिम्बु समुदायबाट बाहिर निस्कँदै देशभर फैलियोस् र अरू समुदायमा पनि सल्कियोस् । जारीका पुरुषहरु अझैँ लज्जित होउन् । घरको भान्सा ठप्प होस् । जाँड र तोङ्वा खान नपाएर प्याक प्याक होउन् ।

‘जारी’ फिल्मले पूरै समाज बदल्ने चेष्टा गरेको छैन तर यत्ति हो— कोही न कोही समस्याग्रस्त पुरुषको मन बदलिनेछ, सोच बदलिनेछ । मनमा करुणा र समभावना भरिनेछ । फिल्मले गर्ने पनि त्यही त हो ।

तर जारी त्यतातिर जाँदैन । जारी पुरुषहरूमा भावनात्मक परिवर्तन हेर्न चाहन्छ । महिलाहरूले माफी दिएको हेर्न चाहन्छ । समाजमा भावनात्मक परिवर्तन भएको हेर्न चाहन्छ । कवि निर्देशक सायद भावनात्मक आन्दोलनमा विश्वास गर्छन् ।

एउटा संवादबाट फिल्म सुरु हुन्छ, ‘मेरो घरमा न त भैँसी ब्याउँछ न त मान्छे ।’

पशु र महिलालाई सँगै राखेर गरिएको तुलनाले पनि पुरुषहरूको मानसिकता देखाउँछ ।

फिल्ममा पशुहरू पनि महत्त्वपूर्ण छन् । दुई पात्रबीच प्रेम अंकुरण हुँदा उता भैँसीले राँगा खोजिरहेको हुन्छ । यता एउटा पात्रले बच्चा पाउँदा उता भैँसीले पाडो पाइरहेको हुन्छ । यो पनि रोचक लाग्छ ।

फिल्मका पुरुषले महिलालाई सजिलै ‘थारो’ भन्छन् । तर, महिलाले पुरुषलाई ‘नामर्द’ भन्दा उनीहरू सहन सक्दैनन् । पुरुषहरू कति असुरक्षित महसुस गर्छन् भन्ने कुराको उदाहरण हो यो । बच्चा नहुनुमा कसको दोष भन्ने कुराको निर्क्योल नहुँदै सीधै महिलालाई कारक मानिन्छ ।

फिल्मका पुरुषहरू अरू कसैले उसलाई ‘नामर्द’ भन्दा खुकुरी हान्न तयार हुन्छन् तर महिलालाई थारो भन्दा एक सेकेन्ड पनि सोच्दैनन् । हाम्रो समाजमा बच्चा पाउन नसक्ने महिलालाई फरक दृष्टिकोणले हेरिन्छ । लाग्छ— बच्चा जन्माउनु भनेकै ‘महिला’ हुनु हो । बच्चा नजन्माउनु वा जन्माउन नसक्नु भनेको महिला हुनुको परिचयबाट विमुख हुनु हो ।

जार नातालाई पुरुषहरूले सबैभन्दा अपमानित नाताको रूपमा लिन्छन् । आफ्नी श्रीमती अरूसँग बिहे गरेको वा प्रेममा परेको कुरा पुरुष दम्भले पटक्कै सहन सक्दैन । ‘जारी’लाई पनि यही नाजुक अहमले डोर्‍याएको छ । झन् गर्भाधारण गर्न नसक्ने वा यौन क्षमता कमजोर हुनेलाई समाजले ‘नामर्द’ भनिदिन्छ । समाजको यही कटाक्ष पुरुषको दम्भले सहनै सक्दैन ।

पुरुष भएपछि क्षमतावान् हुनुपर्छ । केही कुरामा पनि कमजोर हुनु हुँदैन । यौनको मामिला पनि अब्बल हुनुपर्छ। पुरुषबाट बच्चा नहुनु त असम्भव हो …। यो ५० सालतिर पनि थियो, ८० सालमा पनि उस्तै छ । हामी ३ दशकअघि जुन सामाजिक धरातलमा थियौं, अहिले पनि त्यहीँ छौं । र, देशका शासकको अनुहार देख्दा अझै ३ दशक हामी यही धरातलमै बाँचिरहेका हुनेछौं ।

जारीका सबै पुरुषहरु समस्याग्रस्त छैनन् । कोही सङ्गीतको लयमा झुमेका कोमल हृदयी पुरुषहरु पनि छन् । कोही मेलामा भाका लगाँउदै स्त्रीको मन जित्ने पनि छन् । तर उनीहरु पनि विस्तारै विस्तारै हिंसातिर डोरिइन्छन् ।

फिल्मको सुरुवात मलाई अलि चित्त बुझेन । सुरुवात नै विस्फोटबाट हुँदा त्यति घुलमिल हुन सकिनँ । आगो यत्तिकै त बल्दैन । आगो सल्केको देखिनु पर्ने, तर दन्केको मात्र देखियो ।  केही समय पात्रको पृष्ठभूमिमा बिताएको भए अझै बलियो हुन सक्थ्यो कि ! दुई पात्रहरूबीच पहिले कस्तो सम्बन्ध थियो, बुझ्न सकिँदैन । उनीहरुको सम्बन्ध औपचारिक मात्र थियो कि त्यसमा प्रेम पनि थियो भन्न सकिँदैन । तर, उनीहरूको सम्बन्ध चिसै थियो भनेर अड्कलचाहिँ काट्न सकिन्छ ।

दयाहाङ राई बाहिरबाट हेर्दा क्रूरजस्तो देखिन्छन् । हिंस्रक देखिन्छन् । टिपिकल समस्याग्रस्त पुरुषजस्तै । आडम्बर र दम्भले भरिएको । आफूविरुद्ध केही सुन्न नसक्ने । ‘जारी’ चाहिँ उनमा आउने परिवर्तनको कथा पनि हो । कसरी विषाक्त पुरुषत्व अन्तिममा कोमल हृदयी भएर निस्कन्छ भन्ने उदाहरण हो । फिल्मले हरेक मानिसले दोस्रो मौका पाउनु पर्छ भन्ने कुराको वकालत पनि गर्छ । तर कुरा आउछ- लैङ्गिक हिंसा र बलात्कारका दोषी पुरुषहरुलाई पनि दोस्रो मौका दिने त ? यो छुट्टै बहसको कुरा हो ।

‘जारी’ फिल्मले पूरै समाज बदल्ने चेष्टा गरेको छैन तर यत्ति हो— कोही न कोही समस्याग्रस्त पुरुषको मन बदलिनेछ, सोच बदलिनेछ । मनमा करुणा र समभावना भरिनेछ । फिल्मले गर्ने पनि त्यही त हो । ‘जारी’ले त्यही गरेको छ ।

रिस, आवेग र पिटापिटबाट सुरु हुने ‘जारी’को कथा प्रेम र स्नेहमा गएर समाप्त हुन्छ । बीचमा धेरै आँसु बग्छन् । धेरै खुकुरी उचालिन्छन् । आँसु र खुकुरीको यो युद्धमा कहिलेकाहीँ दर्शकहरू पनि सुँक्कसुँक्क गर्छन् ।

दयाहाङ राई र मिरुना मगरको दोस्रो हाफको एउटा दृश्य मलाई यति सशक्त लाग्यो कि बयान गर्न सक्दिनँ । फिल्म सायद त्यहीँ टुंगिनुपर्थ्यो । त्यो भावनाको उचाइ थियो । दम्भ र घमण्डको स्खलन थियो । फिल्मको उद्देश्य पनि त्यही थियो— कुनै न कुनै रूपमा स्खलित भएर भावनाको उचाइमा पुग्नु ।

फिल्ममा केही कुराहरू खट्किएका भने अवश्य छन्- जस्तै कि लिम्बुको भूमिकाका लागि राई र मगर थर गरेका कलाकारभन्दा लिम्बु कलाकार नै उपयुक्त हुन्थे कि?  राई, मगर, तामाङ, सुब्बा, सुनुवार सबै एकै हैनन् । अनुहार चलेका कलाकार राख्दा फिल्म चल्छ, ठीक छ । तर दुई मध्य एक कलाकार नयाँ राख्दा पनि फिल्म उत्तिकै चल्थ्यो ।

फिल्म अझै प्रगतिशील हुन सक्थ्यो कि?

फिल्ममा सिंक साउन्ड प्रयोग भए पनि संवादहरू त्यति प्रस्टसँग बुझ्न सकिएन । धेरै पल्ट कान ठाडो बनाउनुपर्ने स्थिति आयो । त्यही पनि बुझिएन । नेपालमा सिंक साउन्ड सुरुवाती अवस्थामै भएकाले पनि यसलाई नजरअन्दाज गर्न सकिन्छ । यो प्रविधिको सुरुवात नै गज्जब कुरा हो ।

समग्रमा भन्नु पर्दा जारी असल र इमानदार प्रयास हो । समुदायका कथाहरू यसरी भनिन जरुरी छ । झन् सिनेमाको माध्यमबाट भनिँदा यसको प्रभाव बढी हुने गर्दछ । नुमाफुङ, सीमारेखा, बुह्रान आदि फिल्महरूको लिस्टमा जारीलाई राख्न सकिन्छ । सीमारेखा हेर्दा लमजुङका मगरहरूसँग आत्मीयता भयो ।

अजित लामिछानेको बुह्रान हेर्दा दाङका थारुहरूसँग परिचय भयो । शिव मुखियाको गो सु नङा’ (म को हुँ) ले सुनुवार समुदायसँग चिनाजानी गरायो । नुमाफुङ र जारीले पूर्वका लिम्बुहरू साक्षात्कार गरायो । विभिन्न समुदाय र उनका संस्कृतिहरु देशका सम्पत्ति हुन् । यी कुनै न कुनै माध्यमबाट संरक्षित र दस्तावेजीकरण हुन जरुरी छ । त्यस्तै कुसंस्कृतिहरुको आलोचना पनि त्यत्तिकै जरुरी छ ।

अन्त्यमा,

उपेन्द्र सुब्बा फिल्मको माध्यमबाट देखाँउछन्— प्रेम भन्ने चिज कालजयी हो । यो समय, समुदाय, भूगोल र सामाजिक परिधिभन्दा माथिको भावना हो । पितृसत्ता, कुप्रथा र दम्भका पत्थरहरूबाट प्रेमको पिपल जसरी पनि निस्कन्छ निस्कन्छ ।  प्रेम प्रकृति हो । र, प्रकृतिलाई कसैले रोक्न सक्दैन । प्रेम अन्तिम सत्य हो ।

तर प्रेमभन्दा पनि माथि केही चिज छ । र त्यो हो आत्मसम्मान ।

Twitter: @drishhya

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?