
१० वैशाख, जनकपुरधाम । धनुषामा दाइजो नदिएको निहुँमा श्रीमतीलाई जलाएर हत्या प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका २० देवपुराटोलका राजीवकुमार झालाई प्रहरीले पक्राउ गरेको हो ।
गत वैशाख १ गते दिउँसो राजीवले परिवारका सदस्यको सहयोगमा पत्नी २८ वर्षीया श्वेता झालाई घरायसी विवादको कारण आगो लगाइ हत्या प्रयास गरेको आरोप छ । आगोले जलेर गम्भीर घाइते भएकी श्वेताको जनकपुरको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
विवाहमा दिने कबोल गरेको तीन तोला सुन दाइजो नदिएको भन्दै स्वेता र राजीवबीच झगडा र वादविवाद रहेको माइतीपक्षको भनाइ छ । अन्तमा ज्यानै लिने मनसायले आगो लगाएको भन्दै माइती पक्षले ज्यान मार्ने उद्योगमा श्रीमान, सासु र देवरविरुद्ध किटानी जाहेरी दिएको छ ।
जाहेरी पश्चात श्रीमान राजीवलाई पक्राउ गरी ज्यानमार्ने उद्योगमा अनुसन्धानका लागि हिरासतमा लिन जिल्ला अदालत धनुषाबाट अनुमति लिएको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । अन्य फरार आरोपितहरुको खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्याय धनुषाले जनाएको छ ।
प्रतिक्रिया 4