काठमाडौं । धेरै सुनिंदै आएको कुरा हो, रक्सीले कलेजो खराब गर्छ । एउटा कारण मदिरा भए पनि कलेजो खराब हुनुमा अरु पनि धेरै कुरा छन् ।
अत्यधिक मात्रा शरीरको तौल बढ्नु, हेपाटाइटिस भाइरस संक्रमणलगायतका कारणले पनि कलेजो खराब हुनसक्ने पेट तथा कलेजोरोग विशेषज्ञ डा. अवशेष भण्डारी बताउँछन् ।
परिणामस्वरूप यसले लिभर सिरोसिस जस्तो दीर्घरोग समेत निम्त्याउन सक्छ । लिभर सिरोसिस के हो ? यो रोग लाग्ने कारण के हो, नेपालमा यसको उपचार कस्तो छ ? लगायत विषयमा केन्द्रित रहेर डा. भण्डारीसँग गरिएको कुराकानीको सम्पादित अंश :
लिभर सिरोसिस भनेको के हो ?
कलेजो फेल भएको अन्तिम अवस्था लिभर सिरोसिस हो । यसलाई मेडिकल भाषामा कलेजोसम्बन्धी रोगको अन्तिम अवस्था भनिन्छ । यो अवस्थामा पुगेपछि कलेजो पुरानो अवस्थामा फर्केर आउँदैन । शारीरिक रुपमा निकै जटिल अवस्था हो यो ।
कलेजो बिग्रिएर हुने यो रोग मदिरा सेवनकै कारणले मात्र लाग्छ भनिन्छ नि, त्यस्तै हो ?
यसको मुख्य कारण अत्यधिक मदिरा सेवन गर्नु हो । नेपालमा रक्सी खाने व्यक्तिलाई नै यो रोग बढी देखिएको छ । तर रक्सी सेवन नगर्नेमा पनि विश्वव्यापी रुपमा हेर्दा हेपाटाइटिस बी, सी र अत्यधिक मोटोपन भएका व्यक्तिमा यो रोग बढ्दो देखिन्छ । यसबाहेक नन सिरोटिक हाइपर्टेन्सन, जसमा अन्तिम अवस्थामा गएर सिरोसिस बन्ने सम्भावना हुन्छ । कलेजोमा बोसो जम्दै गएर पछि र मधुमेह भएका व्यक्तिमा अप्रत्यक्ष रुपमा सिरोसिस हुनसक्ने सम्भावना हुन्छ ।
त्यस्तै, लामो समयसम्म गर्भनिरोधक चक्की वा डिपो प्रयोग गरेका महिलामा हार्मोन अनियन्त्रित हुने र मोटोपन बढ्दै जान्छ । यस्तोमा पनि कहिलेकाहीं सिरोसिस देखिन सक्छ ।

बालबालिका र वयस्क व्यक्ति पनि यो रोग लाग्न सक्छ ?
हेपाटाइटिस बी लागेका गर्भवती महिलामा त्यसको उपचार भएको छैन भने उसको सन्तानमा सर्न सक्ने सम्भावना ९० प्रतिशत हुन्छ । जसकारण शिशुमा पनि सिरोसिस हुनसक्छ । त्यसैले अहिले सरकारले हेपाटाइटिस बीविरुद्ध खोप कार्यक्रम ल्याएको छ । यसले भविष्यमा यसको संक्रमण दरमा कमी आउन सक्ने देखिन्छ ।
वयस्कमा पनि हेपाटाइटिस बी र सी सर्ने सम्भावना गलत सुई प्रयोग, धेरैसँग असुरक्षित यौन सम्बन्ध कायम राख्दा, मोटोपन र अत्यधिक मदिरा पिउनेमा देखिन सक्ने सम्भावना धेरै हुन्छ ।
यसका लक्षण के कस्ता देखिन्छन् ?
मुख्य लक्षणको रुपमा पानी जमेर पेट फुल्नु, खुट्टा सुन्निनु र जन्डिस हुनु हो । लामो समयसम्म मदिरा पिउने र दीर्घरोगले ग्रसित भएकोमा रगतको कमी भएको पाइन्छ । रगत बान्ता हुने, कहिलेकाहीं दिसा कालो आउने, बेहोस हुने, पिसाब कम हुने जस्ता लक्षण पनि देखिन सक्छ ।
यसको पहिचान तथा उपचार के हुन सक्छन् ?
भिडियो एक्सरे, रगत जाँच, इन्डोस्कोपीबाट पहिचान हुन्छ । त्यस्तै, फाइबर स्क्यानबाट पनि कलेजो कति खुम्चिएको छ वा कति प्रतिशत बिग्रिएको छ भनेर हेर्न सकिन्छ ।
यो रोग ठीक नहुने दीर्घरोग भएकाले गर्दा रोग पत्ता लागिसकेपछि यसको ठोस उपचार भनेको कलेजो प्रत्यारोपण मात्र हो । त्यसबाहेक उपचार गर्ने रोकथामको लागि हो । रोकथाममा लक्षण अनुसारको उपचार गरिन्छ, जुन केही समयको लागि मात्र ठीक हुन्छ । यसलाई ड्यामेज कन्ट्रोल थेरापी भन्ने गरिन्छ ।
रोकथामका लागि गरिने ड्यामेज कन्ट्रोल थेरापीपछि बिरामीलाई सुधार हुने सम्भावना कति हुन्छ ?
रोकथामपछि बिरामी ठीक हुन्छ कि हुँदैन भन्ने कुरा कलेजोको कति प्रतिशत भाग बिग्रिएको छ, त्यसमा भर पर्छ । सिरोसिसको ए, बी, सी भनेर ग्रेडअनुसार छुट्याइएको छ । ए वर्गका बिरामीलाई बचाउन सक्ने क्षमता बढी हुन्छ । बी वर्गमा यसको सम्भावना मध्यम हुन्छ भने सी वा भनौं कलेजो सबै बिग्रिसकेको अवस्थामा बिरामी एक वर्षमा ५० प्रतिशत भन्दा बढीको मृत्यु हुने जोखिम रहन्छ । सबैभन्दा महत्वपूर्ण कुरा भनेको मदिरा सेवन गर्ने व्यक्ति, जसमा सिरोसिस लाग्ने बित्तिकै पहिचान भयो भने उपचारपछि राम्रो नतिजा आएको देखेका छौं । त्यसैले देखापर्ने बित्तिकै रक्सी खान छाड्ने, हेपाटाइटिस बी र सीको उपचार र मोटोपन नियन्त्रण भएको खण्डमा सिरोसिस हुन नदिन सकिन्छ ।

कलेजो प्रत्यारोपणको सुविधा नेपालमा छ ?
नेपालमा त्रिवि शिक्षण अस्पताल र चितवन मेडिकल कलेजमा यो सेवा उपलब्ध छ । अहिलेसम्म नेपालमा ११ औं पटक कलेजो प्रत्यारोपण सफल भइसकेको छ ।
कसले कलेजो दिन सक्छन् ?
नेपालमा धेरैजसो आफ्नै परिवारबाट कलेजो दिन सकिने व्यवस्था छ । डोनर तयार भएपछि सिरोसिस भएका बिरामीले रक्सी छाडेको ६ महिना भएको हुनुपर्छ । हेपाटाइटिस बी र सी भएमा त्यो भाइरसलाई नियन्त्रणमा ल्याएर मात्र प्रत्यारोपण हुनसक्छ । त्यस्तै, मधुमेह लागेको व्यक्तिको सन्दर्भमा पनि मधुमेहलाई नियन्त्रण गरेर प्रत्यारोपण गर्न सकिन्छ ।
कलेजो प्रत्यारोपणपछि सामान्य जीवनमा फर्किन सक्छन् ?
केही जटिलताबाहेक प्रत्यारोपणपछि व्यक्ति सामान्य जीवनमा फर्किन सक्छन् । त्यसपछि भने आफ्नो जीवनशैलीमा ध्यान भने पक्कै दिनुपर्छ ।
सिरोसिसबाट कसरी जोगिने ?
मदिरा सेवन नै यसको प्रमुख कारण मानिएकाले यसबाट जोगिन सबैभन्दा पहिला मदिरा सेवन गर्नुहुँदैन । २४ घण्टामा एक घण्टा जति शारीरिक व्यायामको लागि छुट्याउने, सामान्य हिंडडुल गर्ने, शरीरलाई फिट राख्ने मोटोपन बढ्न नदिने, तरकारी, फलफूललाई प्राथमिकता दिने, उमेर ढल्किंदै गएपछि माछामासु सेवन सकेसम्म कम गर्दै लैजाने, पानी नियमित दिनको दुई लिटरभन्दा बढी पिउने, हेपाटाइटिस बी र सी लाग्नबाट बच्ने गरे लिभर सिरोसिसबाट बच्न सकिन्छ ।
(डा. भण्डारी हेल्पिङ ह्याण्ड्स अस्पताल र ग्यास्ट्रो एण्ड लिभर फाउन्डेसनमा कार्यरत छन् ।)
तस्वीर, भिडियो : शंकर गिरी अनलाइनखबर
 
                    










 २०८० वैशाख  १५ गते १४:०७
                        २०८० वैशाख  १५ गते १४:०७                     
                             
                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                                         
                             
                                         
                             
                         
                         
                         
                         
                             
                             
                                         
                             
                             
                                         
                             
                             
                                        
प्रतिक्रिया 4