+
+
ब्लग :

नागरिकको आँखामा कस्तो देखिन्छ राजनीति ?

देश र जनताले पटक–पटक नयाँ–नयाँ प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य गर्नु अहिलेको प्रमुख राजनैतिक मुद्दा हो । खासगरी युवा पंक्ति यसप्रति चनाखो बन्दै धैर्यशील बन्नु आवश्यक छ ।

समिक बडाल समिक बडाल
२०८० वैशाख १९ गते १७:०८

आफू वरिपरिका आवाज अनुभूत गर्दै सुने, देखे र भोगेका कुराहरूसँगै यात्रा गरौं; हेरौं कस्तो रहेछ मुलुक र कस्तो बन्दैछ मुलुक ?

अहिले १८/१९ वर्षका किशोर–किशोरीलाई यो देश कस्तो लाग्छ होला ? एकपटक आफू वरिपरिका यो उमेर समूहका सदस्यलाई सोधेर त हेरौं ! ‘आइ हेट द डर्टी पोलिटिक्स हियर’, ‘आइ डु नट लाइक आवर लिडर’, ‘बाल छैन’, ‘राजनीतिले खत्तम बनायो’, ‘नेता चोर भए’- यस्तै यस्तै । कि अरू केही नयाँ पो पाउनुहुन्छ कि ? अहिले १८/१९ वर्षका केटाकेटी नेपालको पछिल्लो राजनीतिक उथलपुथल (२०६२/६३ को जनआन्दोलन) हुँदा आमाको गर्भभित्र थिए ।

अनि, अहिलेका ३५/३६ वर्षका मानिसलाई सोधौं, यो देश कस्तो छ ? ‘खत्तम ! गरिखान नै नदिने भए’, ‘राजनीतिले बिगार्‍यो’, ‘सबै चोरै चोर, यो देश बन्दैन’, ‘सतीले सरापेको देश हो, धन्न पशुपतिनाथले बचाएका छन्’— यस्तै यस्तै । यो उमेर समूह उतिबेला (२०६२/६३) १८/१९ वर्षका किशोर किशोरी थिए र आन्दोलनपछि मुलुकको कायापलट हुन्छ भनेर विश्वस्त थिए । जनआन्दोलनको अघिल्लो पंक्तिमा लड्ने र पुलिससँग भिड्ने प्रायः १७–२० वर्षका किशोरकिशोरी नै थिए ।

यो त भयो केही उमेर समूहका आँखामा देश । खासमा देश कस्तो छ त ?

२०६२/६३ पछाडिको करिब एक दशक नयाँ संविधान निर्माणको रस्साकस्सीमा बित्यो । दुई वटा संविधानसभाका चुनाव भए । यसबीचमा द्वन्द्वको व्यवस्थापन भयो । तत्कालीन विद्रोही पक्ष शान्तिपूर्ण राजनीतिमा आयो । जनताका आधारभूत हकहरू संविधानमा लिपिबद्ध गरिए ।

संघीय शासन प्रणाली लागू भयो । २०७२ मा नयाँ संविधान जारी गरुन्जेलसम्म निरन्तर सरकारहरू परिवर्तन भए । अत्यन्त लामो संक्रमणपछि मुलुक आवधिक निर्वाचनमा फर्कियो । नयाँ संविधान जारी भएपछि मुलुकमा दुई वटा निर्वाचन सम्पन भए । स्थानीय पालिका, प्रदेश, केन्द्र सरकार जनप्रतिनिधिविहीन हुन पाएन । गाउँ–गाउँमा बजेट पुग्यो । सानातिना खानेपानी, पुल–पुलेसा, बाटोघाटो बने । विद्यालय भवनका छाना फेरिए, पक्की भवन बने, शौचालय बने । गाउँ–ठाउँमा मोटर बाटोका सञ्जाल जोडिए ।

यसबीचमा गठबन्धन बनाउने र निर्वाचन जित्ने सोच हावी हुँदा हामी सबल अर्थतन्त्र निर्माण गर्ने काममा चुक्यौं । देशभित्र रोजगारी सिर्जना गर्ने काममा प्रगति हुन सकेन । उद्यम गर्छु भन्ने युवाहरूलाई प्रोत्साहन गर्न सकेनौं । वैदेशिक रोजगारमा जाने युवाहरूको ताँतीलाई हामीले रोक्न सकेनौं । यो क्रम बढिरह्यो । व्यापार घाटा बढ्दो छ । आन्तरिक उत्पादनबाट सिर्जित पूँजीले देशको चालु खर्च पनि धान्न नसक्ने अवस्था छ । रेमिट्यान्स र दाताको अनुदान/ऋणमा आधारित अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण गर्न सकेनौं ।

देशका सबै संस्थागत संरचनाहरू डेलिभरी गर्न नसक्ने अवस्थामा पुगे । सुशासन भन्ने कुरा भाषणमा मात्र सीमित भयो । हिजो हामीले लडेर ल्याएको लोकतन्त्रमा संविधान मार्फत प्रत्याभूत गरेका अधिकारहरूलाई कार्यान्वयन गर्न सक्ने शासकीय स्वरूप र पूँजीको निर्माण गर्न हामी चुक्यौं । फलस्वरूप आज एक नयाँ भाष्यको निर्माण गर्न खोजिंदैछ कि यो लोकतान्त्रिक प्रणालीले काम गर्न सकेन !

सँगै अर्को भाष्य पनि निर्माण हुँदैछ– यी मूलधारका राजनैतिक दलहरूबाट देशको विकास सम्भव छैन र अहिले देखिएका समस्त नकारात्मक सूचक र परिणामहरूको कारक यिनै ठूला दलहरू नै हुन् !

अहिले हामीले देखिरहेका छौं, नयाँ दलहरूको उदय र ती दलहरूप्रति देखिन थालेको जनभरोसा । देशका प्रमुख दलहरूको शासकीय दुर्बलता र कमजोर राज्य संरचनाको जगमा आधारित अनपेक्षित डेलिभरीबाट आक्रोशित र फ्रस्टेड जनता अहिले देखिएका नयाँ दलहरूप्रति आकर्षित हुनु आफैंमा अनौठो घटना होइन तर मूलधारका दलहरूप्रति बढ्दो वितृष्णाले कतै हामी अहिलेसम्म प्राप्त राजनैतिक उपलब्धिलाई संस्थागत नगर्दै पुनः अर्को नयाँ अस्थिरतातर्फ अग्रसर हुँदै त छैनौं भन्ने प्रश्न खडा गरेको छ ।

२०७९ मा सम्पन्न भएको स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचनले हामीलाई केही महत्वपूर्ण सूचकहरू दिएका छन् । खासगरी मूलधारका राजनैतिक दलहरूप्रति जनमानसमा देखिएको आक्रोशको कारण स्वतन्त्र र नयाँ दलप्रति लोकप्रिय मत खसेको कुरा सत्य हो । राज्य संरचनामा केही सीमित दल र नेताहरूको लामो समयदेखिको पकड तर कमजोर डेलिभरी र आर्थिक/प्रशासनिक अराजकताको कारण आम जनताले भोगेका सास्ती र दिक्दारी पछिल्लो जनमतमा स्पष्टसँग प्रकट भएको थियो ।

उपनिर्वाचनको ताजा परिमाण अझ चाखलाग्दो छ । रवि लामिछाने भर्खर अदालतको आदेशबाट सत्ताच्यूत हुँदा, दोहोरो पासपोर्ट बोकेको कुरा स्वीकार गरिरहँदा पनि उनले पहिलेभन्दा अझ धेरै मत ल्याएर निर्वाचन जित्ने कुरा कसरी सम्भव भयो ? सत्ता गठबन्धनमा रहेको प्रतिपक्षी दलको विरोधाभासपूर्ण व्यवहार, अनेकौं आरोप र कमजोरी बोकेर निर्वाचनमा जाँदा पनि जनताले आँखा चिम्लिएर उनको पल्ला भारी बनाउने परिस्थिति कसरी सिर्जना हुनगयो ?

हाम्रो विगतका केही काम त्रुटिपूर्ण रह्यो । खासगरी निर्वाचन एउटा गठबन्धन बनाएर लड्ने, सरकार अर्को गठबन्धन गरेर बनाउने जस्ता राजनीतिक बेइमानीपूर्ण सत्ताकेन्द्रित नेतृत्वका कमजोरीहरूले गर्दा नै अहिलेको परिस्थिति सिर्जना भएको हो भन्ने कुरामा दुईमत रहेन ।

रवि लामिछाने कुनै अमूक ग्रहबाट आएका भगवान हुन्, जसले अहिलेसम्म हामीले व्यहोरेका दुःख–कष्टबाट मुक्ति दिन्छन् भन्ने तहको एक चरम विश्वास कसरी हुन पुग्यो ? रवि लामिछानेहरू मौसमी भेल पो हुन् कि ? कुनै स्पष्ट दर्शन, गतिलो योजना र त्याग/बलिदानको इतिहास विना धमिलो पानीमा माछा मात्रै मार्ने हुन् कि ? केवल भावनात्मक शब्दहरूको भण्डार मात्र छ कि ? असन्तुष्ट जनता मनाउने भाष्य बनाउने विशेष शिल्प मात्रै छ कि ? यी प्रश्नहरूको जवाफ कसले खोज्ने ?

रवि को हुन् र उनको क्षमता के हो भन्ने कुराको पुष्टि समयक्रममा हुने नै छ । अहिले नै धेरै ठूलो पूर्वानुमान गर्न हतार हुनेछ तर अहिलेका मूलधारका दलहरू र खासगरी युवा जमातले मनन गर्नैपर्ने केही कुराहरू छन् । हामी मूल एजेन्डामा केन्द्रित हुन सक्दा देशलाई नियन्त्रित अस्थिरता र गडबडीतिर लैजानबाट बचाउन सकिन्छ भन्ने विश्वास र भरोशा अहिलेका मूलधारका राजनैतिक दलहरूको आगामी कदमबाट निक्र्योल हुनेछ ।

हाम्रो विगतका केही काम त्रुटिपूर्ण रह्यो । खासगरी निर्वाचन एउटा गठबन्धन बनाएर लड्ने, सरकार अर्को गठबन्धन गरेर बनाउने जस्ता राजनीतिक बेइमानीपूर्ण सत्ताकेन्द्रित नेतृत्वका कमजोरीहरूले गर्दा नै अहिलेको परिस्थिति सिर्जना भएको हो भन्ने कुरामा दुईमत रहेन । हामीमा एउटा आम समानता के छ भने कुनै पनि घटना, परिघटनामा आफ्ना आन्तरिक कारण र कमजोरीहरूप्रति आँखा चिम्लन्छौं र दोष जति बाह्य कारणलाई बोकाइदिन्छौं ।

नेपालको इतिहासमा नेकपाको निर्माण र त्यसले प्राप्त करिब दुई तिहाइ जनमत सहितको शक्तिशाली सरकार अदालतको परमादेशबाट विघटन हुनु नै लोकतान्त्रिक नेपालको लागि अन्तिम त्रासदी बन्यो । सँगै, नेकपा माओवादी केन्द्रको खुम्चिंदो आकारका बीचका उतारचढावपूर्ण घटनामा देशका जिम्मेवार ठूला दलहरू नेकपा एमाले र नेपाली कांग्रेसले गुमाएको सन्तुलन र ती दलहरूभित्र संकुचन हुँदै गएको आन्तरिक लोकतन्त्र अहिलेको अवस्थाका लागि मुख्य जिम्मेवार छ भन्नलाई संकोच मान्नु पर्दैन ।

तर, के अहिले देखिएका चुनौती सामना गर्न नै नसक्ने तहमा ठूला दलहरू पुगेका हुन् ? होइनन् । देशको सबै समस्याको समाधान गर्ने ल्याकत तिनमा छ । मात्र ती दलभित्रको राजनीति मूर्झाउनु जरूरी छ । ती दलमा व्यापक शुद्धीकरण र नेतृत्व हस्तान्तरणको सवाल यथाशक्य चाँडो सुरु हुनुपर्छ । नयाँ पुस्तालाई आकर्षित गर्ने क्यारियर निर्माणको अभियान जरूरी छ । नयाँ पुस्तालाई बुझ्ने सन्दर्भमा रहेको पुरातनवादी मूल्य र मान्यता भत्कन जरूरी छ । त्यसो हुँदा मात्र हाम्रो लोकतन्त्र सबल हुन्छ ।

लोकतन्त्रका लागि लडेका दलहरूभित्र मात्र लोकतन्त्रलाई कसरी चलायमान बनाउने भन्ने बुझाइ जीवन्त रहन्छ । जनतालाई सुख दिने र देशलाई समृद्ध बनाउने भन्ने संकल्पमा जिन्दगीका उर्वर समय बिताएका नेताहरू भित्र कतै लुकेर सुषुप्त रहेको मुलुक बनाउँछु भन्ने हुटहुटी पक्कै छ । त्यो मुखरित हुन सक्दा र त्यसको कार्यभार युवा पुस्तालाई सुम्पिंदा अहिलेको मौजुदा नेतृत्वको अभिभावकत्वमा भरोसालायक पार्टी बनाउन सक्ने ल्याकत नेकपा एमाले र नेपाली कांग्रेस दुवैसँग छ ।

मुलुकको स्वाधीनताको पर्याय बनेको पार्टी, सुखी नेपाली समृद्ध नेपालको नारा अनुसारको कामको योजना र स्पष्ट कार्यदिशा भएको मुलुकको जिम्मेवार दल नेकपा एमाले यसमा अझ बढी जिम्मेवार हुनु आवश्यक छ ।

अबको समय दलहरूको एजेण्डाको ब्राण्डिङ, कामको डेलिभरी र नयाँ दलको परीक्षणमा भर पर्नेछ । देश र जनताले पटक–पटक नयाँ–नयाँ प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य गर्नु अहिलेको प्रमुख राजनैतिक मुद्दा हो । खासगरी युवा पंक्ति यसप्रति चनाखो बन्दै धैर्यशील बन्नु आवश्यक छ ।

(लेखक अनेरास्ववियुका अध्यक्ष हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?