बुद्ध जन्मनु भएको लुम्बिनीमा यो वर्ष तीन भिन्न–भिन्न किसिमबाट बुद्ध जन्मको सम्झना गरेको देखियो ।
पहिलो– सरकारी बुद्ध जयन्ती समारोह, दोस्रो– स्थानीय संघसंस्था र नागरिकहरूद्वारा आयोजना गरिएका विभिन्न कार्यक्रम र, तेस्रो– बौद्ध भिक्षु, लामागुरुहरू र बुद्धप्रति श्रद्धाभाव राख्ने उपासक उपासिकाहरूले बुद्ध जन्मनुभएकै ठाउँमा आएर प्रकट गरेका श्रद्धाका विभिन्न स्वरूपहरू ।
बुद्ध जन्मनु भएको दिनलाई लुम्बिनीले कसरी सम्झनुपर्छ ?
बुद्ध पूर्णिमाको अघिल्लो दिन अर्थात् वैशाख २१ गते लुम्बिनी बौद्ध विश्वविद्यालयले एक कार्यक्रमको आयोजना गर्यो ।
कार्यक्रमको उद्देश्य थियो बुद्धको जन्मथलो लुम्बिनीमा बुद्ध जन्मनु भएको दिनलाई कसरी सम्झना गरिनुपर्छ, त्यस विषयमा बौद्धिक छलफल गर्नु ।
अहिले लुम्बिनीमा जसरी ‘बुद्ध जयन्ती’ को नामबाट बुद्ध जन्मको सम्झना गर्ने गरिन्छ, विशेषगरी नेपाल सरकारका तर्फबाट लुम्बिनी विकास कोषले आयोजना गर्ने गरेको सरकारी बुद्ध जयन्ती ठीक बाटोमा छ ? बौद्ध परम्परा र संस्कार अनुकूल छ ? लुम्बिनीमा बुद्ध जन्मको सम्झना यसैगरी गरिनुपर्ने हो ?
बौद्ध मार्गीहरूले त्रि–संयोग (जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण) भनेर सम्झना गर्ने बुद्ध पूर्णिमालाई संयुक्त राष्ट्र संघले ‘वैशाख डे’ को रूपमा मनाउन आह्वान गरेको छ । विभिन्न देशहरूमा यो यसैगरी मनाउने गरिएको पनि देखिन्छ ।

बौद्धमार्गीहरू धेरै भएका म्यानमार, श्रीलंका, थाइल्याण्ड जस्ता देशहरूमा मनाइने बुद्ध पूर्णिमा, तिब्बती बौद्ध परम्परामा साका दावा (पवित्र महिना) भनेर एक महिनासम्म दान पुण्य कर्मगरी बुद्ध जन्मको स्मरण गरिने चलन र काठमाडौं उपत्यकामा मनाइने बुद्ध जन्मोत्सवका सम्बन्धमा विश्वविद्यालयद्वारा आयोजना गरिएको कार्यक्रममा विभिन्न कोणबाट विचार राखिएको थियो ।
छलफलको निष्कर्ष थियो– लुम्बिनीमा अहिले जसरी ‘बुद्ध जयन्ती’ को नामबाट लुम्बिनी विकास कोषले सरकारी कार्यक्रमको रूपमा बुद्ध जन्मको सम्झना गर्ने कार्यक्रमको आयोजना गर्नेगर्छ, त्यो न समय सापेक्ष छ, नविवेकपूर्ण । बौद्धपरम्परा र मान्यता अनुसार भन्ने त झन् धेरै टाढाको कुरा भयो ।
बुद्ध जयन्ती नाममै असहमति
जन्म जयन्ती भन्नाले सामान्यत भौतिक रूपमा जीवित नरहेको महत्वपूर्ण व्यक्तिको जन्म दिनको सम्झना गर्ने दिन हो । बुद्ध जन्मनु भएको २५६७ वर्ष भएको होइन, महापरिनिर्वाण भएको २५६७ वर्ष भएको हो । त्यसैले, बुद्ध जयन्ती नाम र गणना नै तथ्यसंगत भएन ।
लुम्बिनीमा जन्मनुभएको बुद्धले आफ्नो विचार र शिक्षाद्वारा आफ्नो समयको समाज, जीवन पद्धति र राज्य प्रणाली समेतलाई अकल्पनीय र अभूतपूर्व रूपमा प्रभावित तुल्याउनु भएको थियो । यो प्रभाव बुद्धको जीवनकालमा मात्र नभएर महापरिनिर्वाण पछि झन् झन् प्रभावशाली हुन पुग्यो ।
परिणामस्वरूप तत्कालीन समाजमा हरेक महत्वपूर्ण घटनाको अभिलेख बुद्धको महापरिनिर्वाणलाई आधार मिति बनाएर गरिन थालियो । बुद्धको महापरिनिर्वाण भएको यति वर्षपछि, उति वर्षपछि भनिन सुरु भयो ।
बुद्ध शिक्षाको मूलतः दुई पक्ष देखिन्छ– श्रद्धा र प्रज्ञा । बुद्धप्रतिको श्रद्धाको आधार प्रज्ञा हो ।
बुद्धको महापरिनिर्वाण पछि नै नालन्दा, पुष्पा गिरी, बल्लभी, रत्नागिरी, विक्रमशिला, विक्रमपुर, ओदान्तपुरी जस्ता बौद्ध शिक्षा अध्ययन अध्यापन गराइने विश्वविद्यालयहरू स्थापना भए । यिनले आफ्नो समयको समाजलाई विचार र बुद्धिको नेतृत्व प्रदान गरे ।
त्यो समयका यी विश्वविद्यालयहरूले आजका पश्चिमी विश्वविद्यालयहरू हार्वर्ड, अक्सफोर्ड, क्याम्ब्रिज आदिले भन्दा कम ज्ञान सृजना गरेका थिएनन् ।
आफ्नो ज्ञान र शिक्षाले मानव समाजलाई आज पनि उत्तिकै चकित र जिज्ञासु तुल्याउने बुद्ध जन्मनु भएको लुम्बिनीले जब उनको जन्मदिनको सम्झना गर्छ, त्यो श्रद्धाको दृष्टिबाट संसारलाई देखाउन लायक हुने गर्छ कि प्रज्ञाको दृष्टिबाट देखाउन लायक ? छलफल गरिनुपर्ने प्रश्न यही हो ।
पञ्चायती ठालु संस्कृतिको बिडो धानिँदै राजनीतिक दृष्टिबाट नेपाल राजतन्त्र फालेर गणतन्त्रमा गइसक्यो । अझ हामी संघीयता र तीन तहको सरकारको कुरा पनि गरिरहेका हुन्छौं ।
राजनीतिक रूपबाट फेरिएको भनिएको नेपालमा संस्कृति मन्त्रालय पनि छ । सौभाग्य भन्ने हो कि दुर्भाग्य गणतन्त्र र संघीयतामा गइसकेको भनिएको आजको नेपालमा संघीय सरकारको तर्फबाट लुम्बिनीमा शासन यही संस्कृति मन्त्रालयले गर्नेगर्छ ।
यसका निम्ति पञ्चायती व्यवस्थाले २०४२ सालमा बनाइदिएको लुम्बिनी विकास कोष ऐन छ । यसले गणतन्त्र चिन्दैन । संघीयता पनि जान्दैन । यसलाई न बौद्ध संस्कृतिसँग न कुनै लिनुदिनु छ न बुद्धको ज्ञान वा प्रज्ञासँग सरोकार राख्नु नै छ ।
यस ऐनले स्थापना गरेको संस्था लुम्बिनी विकास कोषको एकमात्र उद्देश्य केञ्जो टाँगेद्वारा बनाइएको लुम्बिनी गुरुयोजना अनुसारको निर्माण कार्य सम्पन्न गर्नु हो । केञ्जो टाँगेले छ वर्षमा सक्ने गरी तयार पारेको लुम्बिनी विकास गुरुयोजना अहिले ४५ वर्षपछि पनि कार्यान्वयनकै चरणमा छ । तर यसले बुद्ध र लुम्बिनीको नाउँमा प्राथमिकता प्राप्त योजनाको मान पदवी पाएको छ ।
पञ्चायती व्यवस्थाले नेपालका श्री ५ अधिराजकुमार लुम्बिनी विकास कोषको अध्यक्ष हुने व्यवस्था गरेकोमा त्यसलाई संशोधन गरेर संस्कृति मन्त्री अध्यक्ष हुने बनाइएको छ । पञ्चायती ऐनमा लुम्बिनी विकास कोषको संरक्षक राजा हुने व्यवस्था थियो । अहिले प्रधानमन्त्री संरक्षक हुने व्यवस्था छ ।
नेपालको संघीय संस्कृति मन्त्रालयलाई गणतन्त्र र संघीयताको नयाँ संस्कृति न स्थापित गर्नुपरेको छ न प्रवर्द्धन । सामन्तवादको अवशेषको रूपमा रहेको राजतन्त्रले हुर्काएको पञ्चायती ठालु संस्कृतिको तामझाम, चाकडी अहिले शासक बन्न पुगेका धेरैजसोलाई उत्तिकै प्रिय भएपछि सांस्कृतिक परिवर्तनको के आवश्यकता रह्यो र !
लुम्बिनीमा मनाइने ‘बुद्ध जयन्ती’ नेपालमा सरकारले मनाउने ‘भानु जयन्ती’ ‘लक्ष्मी जयन्ती’ वा ‘संविधान दिवस’ ‘प्रजातन्त्र दिवस’ ‘गणतन्त्र दिवस’ भन्दा फरक हुने कुरा भएन । पञ्चायती ठालु संस्कृतिले स्थापना गरेको पद्धति अनुसार एउटा मूल समारोह आयोजक समिति बनाइन्छ । यसमा पद र शक्तिका हिसाबले संयोजकहरू तोकिन्छन् र त्यसै अनुसार उपसमितिहरू बनाइन्छन् । पद र गच्छे अनुसार संयोजक तोकिन्छन् ।
चाकडी र शक्तिमा हुनेहरूलाई रिझाउने अवसर
यस किसिमका सरकारी पैसामा आयोजना गरिने उत्सव, महोत्सवमा मन फुकाएर ढुकुटी खोल्न सकिन्छ र शक्ति र पदमा हुनेहरूलाई खुशी तुल्याउने गज्जबको अवसर मिल्दछ ।
लुम्बिनीमा २५६७ औं बुद्ध जयन्ती यो भन्दा फरक हुन सक्दैन थियो, भएन ।
बुद्ध जयन्ती मनाउन लुम्बिनी विकास कोषले स्थानीयको सहयोग र सहभागिताका निम्ति आयोजना गरेको कार्यक्रममा लुम्बिनी बुद्ध धर्म संरक्षण समितिका तर्फबाट एक भिक्षुले गुनासो पोखे । उनले सो समारोहमा बौद्ध भिक्षु र लामा गुरुहरूप्रति गरिने व्यवहार र बुद्धप्रति श्रद्धा र आदर प्रकट गर्न कोषले गर्ने गरेको बेवास्ताको कुरा उठाए । उनले स्थानीय बौद्ध विहार र गुम्बाका लामाहरू बुद्धप्रति श्रद्धा प्रकट गर्न मात्र यहाँ सामेल भएको बताए ।
स्थानीय संघ–संस्था, नागरिक समाजले आ-आफनो गच्छेअनुसार बौद्ध शोभा यात्रा, जल तथा प्रसाद वितरण र मायादेवी विहारको प्रदक्षिणा कार्यक्रम गरी बुद्ध जन्मको सम्झना गरे । हरेक महिनाको पूर्णिमाका दिन अशोक स्तम्भ अघि गरिने बुद्ध गुण स्मरण बुद्ध पूर्णिमाका दिन लुम्बिनीका सबै विहार गुम्बाका भिक्षु लामाहरूले विशेष रूपमा मनाए ।
यसपटक लुम्बिनीमा रहेको चिनियाँ बौद्ध विहारले बुद्धको जन्मदिन सम्झन विशेष बुद्ध प्रार्थना र दीप प्रज्वलन कार्यक्रमको आयोजना गर्यो ।
श्रीलंका, थाइल्याण्ड, म्यानमार, भारत लगायतका देशहरूका साथै नेपालका विभिन्न ठाउँहरूबाट बुद्ध जन्मनुभएकै ठाउँमा आएर बुद्धको गुण स्मरण र श्रद्धा प्रकट गर्न आएकाहरूलाई आफ्नो उद्देश्य पूरा गर्नु बाहेक अरु कुनै कुराको सरोकार थिएन ।
प्रधानमन्त्री पुष्पकमल दाहालको संबोधन
लुम्बिनी विकास कोषद्वारा आयोजित २५६७ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको मूल समारोहका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहालको संबोधन नेपाल सरकारका प्रधानमन्त्रीको भन्दा बढी बौद्ध विद्वानको जस्तो लाग्दथ्यो । बौद्ध दर्शनको सारतत्व र विश्लेषण गर्ने काम बौद्ध विद्वानलाई छोडेर सरकारले अहिलेसम्म गर्न नसकेको काम कसरी गर्ने भन्नेतर्फ लुम्बिनी आएको समयको सदुपयोग गरेको भए प्रधानमन्त्रीले बढी स्याबासी पाउँथे होला ।
जनआन्दोलन र जनयुद्धबाट प्राप्त उपलब्धि खतरामा परेको र त्यसको संरक्षण गर्ने कसम खाएका प्रधानमन्त्रीले लुम्बिनीमा संघीयताको उपहास कसरी भइरहेको छ भन्ने अलिकति बुझ्न चासो दिएको भए पनि स्याबासीकै कुरा हुन्थ्यो ।
जे भए पनि नेपाली पात्रो अनुसार यस वर्षको ‘बुद्ध जयन्ती’ सकिएको छ । लुम्बिनीको स्थानीय समुदाय र संघ संस्था पहिलेभन्दा जागरुक भएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयले नयाँ बहस सुरु गरेको छ । संभवतः आउने वर्ष लुम्बिनीले बुद्धको जन्मदिनलाई यसवर्षको भन्दा फरक ढंगले, सरकारी बुद्ध जयन्तीको तामझामबाट अलि पर हटेर सम्झने आशा गर्न सकिन्छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4