+

किन दुख्छ कुर्कुच्चा ?

२०८० वैशाख  २५ गते १२:४४ २०८० वैशाख २५ गते १२:४४
किन दुख्छ कुर्कुच्चा ?

हिंड्दा कुर्कुच्चा दुख्नु सामान्य नै हो तर यो दुखाइ निरन्तर हुँदा भने समस्या हुन्छ । कुर्कुच्चा दुख्नुका धेरै कारण हुन सक्छन् । त्यसमध्ये पनि हिंड्ने जमिन र जुत्ता–चप्पलको असर धेरै हुन्छ । कुर्कुच्चाको प्लान्टर फेरियामा समस्या देखिएमा कुर्कुच्चा दुख्ने गर्छ ।

के हो प्लान्टर फेरिया ?

कुर्कुच्चाको माथिल्लो भागमा मोटो छाला हुन्छ, त्यसभित्र बोसो हुन्छ अनि त्यसभित्र मासु र हड्डी हुन्छ । हड्डीभित्र एउटा मोटो झिल्ली हुन्छ, जसलाई प्लान्टर फेरिया भनिन्छ । प्लान्टर फेरिया खुट्टाको तल अर्थात् कुर्कुच्चामा बाक्लो तन्तु भएको खण्ड हो, जसले कुर्कुच्चाको हड्डीलाई खुट्टाको औंलासँग जोड्छ र खुट्टाको चाप (आर्क) बनाउँछ । यसले हाम्रो शरीरको तौललाई सहन मद्दत गर्छ ।

किन दुख्छ ?

खासगरी प्लान्टर फेरिया सुन्निएमा वा च्यातिएमा कुर्कुच्चा दुख्ने समस्या हुन्छ । त्यस्तै नांगो खुट्टा हिंड्दा, जुत्ताको सोल कडा हुँदा, दिनहुँ लामो समयसम्म बुट वा हिल लगाएर उभिरहँदा, मोटोपन (अचानक शरीरको तौल बढ्दा), खुट्टामा दबाब बढी हुँदा, लामो दूरीसम्म ओरालो झर्दा र खुट्टाको आकारप्रकारसँग मिल्दो जुत्ता नलगाउँदा कुर्कुच्चा दुख्न सक्छ । त्यस्तै हाई हिल लगाउने व्यक्तिले एक्कासि हिल नभएको जुत्ता लगाउन थाल्दा पनि समस्या हुन सक्छ ।

४० देखि ६० वर्षसम्मको उमेरमा प्लान्टर फेरिया झिल्ली पातलो हुँदै जाने भएकाले यो उमेर समूहमा कुर्कुच्चा दुख्ने जोखिम बढी हुन्छ । त्यस्तै मोटो खुट्टा र खाली खुट्टा हिंड्नेहरुमा कुर्कुच्चा दुख्ने समस्या बढी देखिन सक्छ ।

थाइराइडको कारणले पनि कुर्कुच्चा दुख्न सक्छ । टार्सन टनेल अर्थात् पैतालामा जाने नसाको बाटो साँघुरो हुँदा पनि प्लान्टर फेसियाइटिससँग मिल्दोजुल्दो लक्षण देखिन्छ । यस्तो बेला पैताला झमझाउने र दुख्ने हुन्छ । यति मात्र नभई तनाव हुनु, हड्डी भाँच्चिनु, तन्त्रिकामा चोट लाग्नु जस्ता कारणबाट पनि यो समस्या निम्तिन सक्छ ।

लक्षण

बिहान उठेर केही पाइला हिंड्दैमा कुर्कुच्चामा तीव्र दुखाइको अनुभूति भए यो प्लान्टर फेसियाइटिसको लक्षण हुन सक्छ । तीव्र दुखाइले गर्दा खुट्टा भुइँमा राख्न समेत समस्या हुन्छ । कुर्कुच्चाको तल्लो खण्डमा दुख्नु, खुट्टा पोल्नु, सुन्निनु वा रातो हुनु, पैतालामा कडापन हुनु, पैतालाको पीडा कुर्कुच्चाभन्दा बाहिर निस्किरहेको जस्तो अनुभव हुनु यसका लक्षण हुन् ।

कसरी नियन्त्रण गर्ने ?

कुर्कुच्चा दुख्ने समस्या आउन नदिन सकभर खालीखुट्टा नहिंड्ने, जुत्ता किन्दा सोल अलि नरम र बाक्लो लचकदार भएको हेर्ने, मोटोपन भएमा नियन्त्रण गर्ने गर्नुपर्छ ।

पुरानो जुत्ता नलगाउने : कुर्कुच्चा दुखाइबाट बच्न धेरै पुरानो जुत्ता लगाउनु हुँदैन । किनकि हेर्दा नयाँजस्तै देखिएपनि सोल कडा भइसक्ने भएकाले सकभर धेरै वर्ष पुरानो जुत्ता लगाउनु हुँदैन ।

बरफले सेक्ने : कुर्कुच्चा दुखेको बेला तातो पानीले पैताला सेक्नु हुन्न, बरफले सेक्नुपर्छ । तातोले झन् बढी सुन्निन्छ । दैनिक हिंड्ने, दौडिने, उभिने (खेलकुद वा ट्राफिक) काम गर्नेहरुले बेलुका बरफले खुट्टामा गोलो गोलो गरी १० मिनेट मसाज गरे राम्रो हुन्छ । तर मधुमेह भएकाले बढी बरफको प्रयोग गर्नुहुँदैन ।

स्ट्रेचिङ व्यायाम : व्यायाम गर्दा खुट्टा तन्काएर वा स्टे«चिङ गरेर मात्र सुरु गर्ने र व्यायाम गरिसकेपछि पनि खुट्टाका पैतालाहरु तन्काउने गर्नुपर्छ । कुर्कुच्चा दुख्ने समस्याबाट पीडितहरूका लागि पैताला तन्काउने (स्ट्रेचिङ) व्यायाम फाइदाजनक हुन्छ । तर यो व्यायाम विशेषज्ञको सल्लाह लिएर मात्रै गर्नुपर्छ । प्रारम्भिक सुन्निने कम नहुन्जेल खुट्टामा पर्ने दबाबलाई यो व्यायामले रोक्न सघाउँछ ।

तेल मालिस राम्रो : सुत्ने बेला पैतालामा गरिने तेल मालिसले यो समस्याबाट उन्मुक्ति दिन्छ । हातले हल्का पैताला मिच्दै मालिस गर्दा कुर्कुच्चा दुख्ने समस्यामा राहत पुग्छ ।

उपचार

साधारण चेकजाँच गरेर थाहा पाउन सकिन्छ । हड्डीको समस्या छ कि भनेर हेर्न एक्सरे, भिडियो एक्सरे गर्न सकिन्छ ।

कुर्कुच्चा दुखाइको समयमा उपचार गरेमा निको हुन्छ यो दीर्घरोग होइन । यसका लागि सबैभन्दा पहिले त लगाउने जुत्ता–चप्पलमा विशेष ख्याल गर्नुपर्छ । नयाँ जुत्ता नै लगाउनुपर्छ भन्ने होइन, पुरानो जुत्ता लगाउँदा पनि रबर र सिलिकनको सोल राख्न सकिन्छ ।

दुखाइको उपचारका लागि फिजिरोथेरापिस्टको निगरानीमा थेरापी गर्नुपर्ने हुन्छ । कुर्कुच्चा दुखाइकै लागि भनेर विशेष औषधि त हुँदैन । तर सुन्निने, दुखाइ कम गर्ने ब्रुफिन, फ्लेक्जन, निम्सजस्ता औषधि प्रयोग गर्न सकिन्छ । यी औषधिले पनि दुखाइ कम नभएमा भने सुई लगाउनुपर्ने हुन्छ ।

पीआरपी (प्लेटलेट रिच प्लाज्मा) विधिबाट पनि दुखाइ कम गर्न सकिन्छ । पीआरपी बिरामीको आफ्नै रगतबाट औषधि बनाउने एउटा विधि हो । यी सबै उपाय अपनाउँदा पनि निको नभएमा भने शल्यक्रिया समेत गर्नुपर्ने हुन सक्छ ।

(डा. पाण्डे वरिष्ठ हार्डजोर्नी सर्जन हुन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

कुर्कुच्चा डा. दीपेन्द्र पाण्डे
डा. दीपेन्द्र पाण्डे
लेखक
डा. दीपेन्द्र पाण्डे
वरिष्ठ हाडजोर्नी सर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ७२८७ एमबीबीएस, एमएस (अर्थोपेडिक) फेलोसिप इन ट्रमा (बंगलादेश) राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल र त्रिशूली अस्पताल नुवाकोटमा कन्सल्टेन्ट अर्थोपेडिक सर्जनको रुपमा कार्यरत, कोशी अस्पतालका सिनियर कन्सल्टेन्ट अर्थोपेडिक सर्जन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

पोस्टमार्टमबाट के कुरा पत्ता लाग्छ ?

पोस्टमार्टमबाट के कुरा पत्ता लाग्छ ?

प्रश्नोत्तर : माइग्रेनबारे के भन्छन् चिकित्सक ?

प्रश्नोत्तर : माइग्रेनबारे के भन्छन् चिकित्सक ?

५ स्वास्थ्य परीक्षण, जुन असुरक्षित यौन सम्पर्क भएमा गर्नैपर्छ

५ स्वास्थ्य परीक्षण, जुन असुरक्षित यौन सम्पर्क भएमा गर्नैपर्छ

१२ टिप्स, जसले निद्रालाई सहज पार्छ

१२ टिप्स, जसले निद्रालाई सहज पार्छ

चाहिनेभन्दा बढी सोच्नुहुन्छ ? यस्ता स्वास्थ्य समस्या निम्तिन सक्छन्

चाहिनेभन्दा बढी सोच्नुहुन्छ ? यस्ता स्वास्थ्य समस्या निम्तिन सक्छन्

अटिजम भएका बच्चाका लागि कस्तो थेरापी ?

अटिजम भएका बच्चाका लागि कस्तो थेरापी ?