+
+

काभा महिला भलिबल च्यालेन्ज कपका लागि टिम घोषणा, प्रतिभा र कृपा बाहिर

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते २१:३५
फाइल तस्वीर : नेपाली भलिबल टिम ।

२६ वैशाख, काठमाडौं । आगामी जेठ दोस्रो साता काठमाडौंमा आयोजना हुने काभा महिला भलिबल च्यालेन्ज कपका लागि नेपाली टोली घोषणा भएको छ ।

नेपाल भलिबल संघले मंगलबार १४ सदस्यीय अन्तिम टोली घोषणा गर्दा यसअघि नियमित सदस्य रहेकी प्रतिभा माली भने टिमबाट बाहिरिएकी छन् । उनको घुँडाको चोट बल्झिएपछि स्पाइकर प्रतिभालाई टिममा नराखिएको प्रशिक्षक जगदिश भट्टले जानकारी दिए ।

प्रतियोगितासम्म फिट नहुने भएकोले टिममा नराखिएको उनले बताए । अब नेपाली टोलीको मुख्य स्पाइकरमा सरस्वती चौधरी रहनेछन् भने उनलाई उषा भण्डारीले साथ दिनेछन् । यस्तै कामना विष्ट र टिममा पुनरागमन गरेकी पुनम चन्द र निरुता ठगुन्ना पनि स्पाइकरको रुपमा हुनेछन् ।

यस्तै सेटर कृपा अधिकारी र लिबेरो सरस्वती जैशी पनि अन्तिम टोलीमा अटाउन सकेनन् ।

संघले यसअघि पहिलो चरणमा २१ खेलाडीलाई प्रशिक्षण दिएको थियो भने त्यसबाट १७ खेलाडी छनोट गरेर प्रशिक्षण गराउँदै आएको थियो । त्यसैबाट अन्तिम टोली घोषणा गरिएको हो ।

जेठ ८ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने काभा महिला च्यालेन्ज कप ८ राष्ट्रको सहभागिता रहनेछ ।

समूह एमा घरेलु टोली नेपालसँगै भारत, बंगलादेश र कीर्गिस्तान छन् भने समूह बी मा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकास्तान रहेका छन् ।

६ नयाँ खेलाडी

नेपाली महिला भलिबल टिमले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लामो समय कुर्नुपर्दा टिममा पनि परिवर्तन देखिँदै आएको छ । यस पटक बेल्जियन प्रशिक्षक जान डि ब्रान्टले नेपाली टोद्यीलाई प्रशिक्षण दिइरहेका छन् भने नेपालकै जगदिश भट्ट र भरत यादवले सघाइरहेका छन् । यसअघि भट्टकै प्रशिक्षणमा नेपालले दुई पटक एसियाली सेन्ट्र जोन महिला भलिबलको उपाधि जितेको थियो ।

यस पटक पनि अन्तिम टोलीमा ६ नयाँ अनुहारले स्थान बनाएका छन् । जसमा स्पाइकर रिमा कुँवर र पुजा चौधरी, मिडल ब्लकर कविता भट्ट र संगम महतो, सेटर प्रगति नाथ र लिबरो शान्तिकला तामाङ छन् ।

यस्तै पुनम चन्द र निरुता ठगुन्नाले नेपाली टिममा पुनरागमन गरेका छन् ।

कप्तान अरुणा शाहीसहित सरस्वती चौधरी सबैभन्दा अनुभवी खेलाडीको रुपमा छन् । सलिना श्रेष्ठ, सफिया पुन, उषा भण्डारी र कामना विष्टले पनि नेपालका लागि खेलिसकेका छन् । सलिना र सफियाले २०१९ को सेन्ट्रल जोनमा डेब्यु गरेका थिए भने उषाले २०१९ मै भएको १३औं सागबा६ डेब्यु गरेकी थिइन् । कामनाले २०२१ मा भएको सेन्ट्रल जोनबाट डेब्यु गरेकी हुन् ।

१४ सदस्यीय नेपाली टोली

अरुणा शाही (कप्तान/सेटर), सरस्वती चौधरी (स्पाइकर), निरुता ठगुन्ना (स्पाइकर), रिमा कुँवर (स्पाइकर), उषा भण्डारी (स्पाइकर), कामना विष्ट (स्पाइकर), पुनम चन्द (स्पाइकर), पुजा चौधरी (स्पाइकर), कविता भट्ट (मिडल ब्लकर), साफिया पुन (मिडल ब्लकर), संगम महतो (मिडल ब्लकर), प्रगति नाथ (सेटर), सलिना श्रेष्ठ (लिवेरो), र शन्तिकला तामाङ (लिवेरो)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?