+

दिक्क लागिरहन्छ ? यस्तो उपाय अपनाउनुहोस्

२०८० जेठ  ४ गते १८:१६ २०८० जेठ ४ गते १८:१६
दिक्क लागिरहन्छ ? यस्तो उपाय अपनाउनुहोस्

काठमाडौं । ‘मलाई यो काम गर्दा गर्दा दिक्क लागिसक्यो ।’ धेरैको मुखबाट यो शब्द निस्किरहेको हुन्छ । हरेक दिन एउटै प्रकृतिको काम गर्दा प्रायः मानिसलाई दिक्क लाग्छ । बिहान उठ्ने, खाना खाने, अफिस जाने, घर फर्किने र भोलिपल्ट फेरि उही तालिका । जसले मानिसलाई दिक्क बनाउनु स्वभाविक नै हो ।

तर कतिपय व्यक्तिलाई जे काम गर्दा पनि दिक्क लाग्छ । मनोविद् डा. गृष्मा पनेरु भन्छिन्, ‘सधैं एउटै काम गर्नुपर्छ, नयाँपन छैन भने पनि मान्छेलाई दिक्क लाग्छ त्यो स्वभाविक भयो । तर जे काम गर्दा पनि दिक्क लाग्छ र लामो समयसम्म दिक्क लाग्छ भने त्यो चाहिं समस्या हो, त्यसको कारण पत्ता लगाउन जरुरी छ ।’

दिक्क लाग्ने कारण

मानिसमा सधैं नयाँ कुरा सिक्ने चाह हुन्छ । जब हामी केही नयाँ सिक्छौं, शरीरमा डोपामिन नामक रसायनको उत्पादन हुन्छ । यो रसायन सानो उमेरमा बढी उत्पादन हुन्छ । त्यसैले बच्चाहरू सधैं उत्सुक हुन्छन्, नयाँ कुरा सिक्न खोज्छन् । ‘तर यदि कुनै काम हामीले मन नलागी नलागी गर्छौं, त्यो काम गर्दा खुसी हुँदैनौ भने डोपामाइनको उत्पादन कम हुन्छ र त्यो काममा दिक्क लाग्न थाल्छ,’ मनोविद् पनेरु भन्छिन् ।

शारीरिक सत्यतथ्यको बारेमा त हामी सचेत हुन्छौं तर मानसिक स्वास्थ्यको विषयमा खासै ख्याल गर्दैनौं । कसैलाई जे काम गर्दा पनि दिक्क लाग्छ वा लामो समयसम्म दिक्क लागिरहन्छ भने त्यो मानसिक समस्याको संकेत हुने पनेरु बताउँछिन् ।

दिक्क लाग्नु एन्जाइटीको लक्षण

मनोविद् पनेरुका अनुसार दिक्क लाग्नु यही मानसिक समस्याको लक्षण हो भनेर भन्न मिल्दैन । किनकि एउटा मात्र कारणले मानसिक समस्या देखा पर्दैन । ‘धेरै मानसिक समस्यामा दिक्क लाग्ने, झर्को लाग्ने लक्षण देखिन्छ । तर मानसिक रोगको सुरुवात हुने भनेको एन्जाइटीबाट हो,’ पनेरु भन्छिन्, ‘त्यसैले पटक-पटक दिक्क लाग्छ, झर्को लाग्छ भने  त्यो एन्जाइटीको लक्षण हुन सक्छ ।’

समाधान के ?

दिक्क लाग्ने समस्याबाट छुटकारा पाउन सबैभन्दा पहिले त यसको कारण पत्ता लगाउनुपर्ने मनोविद् पनेरु बताउँछिन् । ‘कहिले अल्छी लागेर, भावनात्मक कारणले र कहिले शारीरिक कारणले दिक्क लाग्छ । अल्छी लाग्नुको शारीरिक र भावनात्मक अवस्था हट्ने बित्तिकै दिक्क पनि लाग्न छोड्छ । त्यसैले सबैभन्दा पहिले कारण पत्ता लगाउनुपर्छ,’ उनी भन्छिन् ।

‘मलाई कति लामो समयदेखि दिक्क लागिरहेको छ ? यसले मेरो दैनिक जीवनलाई कति असर गरेको छ ?’ भन्ने कुरामा ध्यान दिएमा समाधान निस्किने पनेरु बताउँछिन् ।

‘कुनै काम तपाईंलाई मन नलागी नलागी गर्नुभएको थियो, पछि त्यो काम छोडेर अर्को काम गर्न थाल्नुभयो भने दिक्क लाग्न छोड्छ,’ उनी भन्छिन्, ‘त्यसैले दिक्क लाग्नुको सही समाधान समय-समयमा आफ्नो जीवनशैलीमा थोरै परिवर्तन ल्याउनु नै हो ।’

दिक्क मानसिक स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय