+
+

संसदमा ओलीले सम्झिए आफ्नै सरकार

नीति तथा कार्यक्रम संगतिपूर्ण बन्न नसकेको टिप्पणी गरेका ओलीले लामो समय आफू नेतृत्वको सरकारले ल्याएको कार्यक्रमको विवरण प्रस्तुत गरे । ‘हामीले एक आर्थिक वर्षमा १० किलोमिटर मात्रै कालोपत्रे सडक निर्माण गर्ने ?’ उनको प्रश्न थियो ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८० जेठ ७ गते १९:४३

७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम अस्वीकृत गर्न अरु दलसँग आग्रह गरेका छन् । नीति तथा कार्यक्रममाथिको छलफलमा आइतबार दुई घण्टा लामो सम्बोधन गरेका अध्यक्ष ओलीले सरकारप्रति चर्को आक्रोश पोखे ।

आफू प्रधानमन्त्री हुँदा ल्याएको कार्यक्रम छुटाएको भन्दै सरकारको आलोचना गरेका छन् । ‘नीति तथा कार्यक्रम मानौं देशमा पहिलो पटक तर्जुमा गरिएको जस्तो झलक दिनेगरी प्रस्तुत भएको छ’, ओलीले भने, ‘राज्य अविच्छिन्न हुन्छ । प्राप्त उपलब्धीमा गर्व गर्दै वाञ्छित उपलब्धीका लागि अविरल क्रियाशील हुन्छ राज्य । गुण दोष सबैको सिलसिला हुन्छ । तर, यहाँ गुण दोषको सिलसिला छैन ।’

नीति तथा कार्यक्रम संगतिपूर्ण बन्न नसकेको टिप्पणी गरेका ओलीले लामो समय आफू नेतृत्वको सरकारले ल्याएको कार्यक्रमको विवरण प्रस्तुत गरे । ‘हामीले एक आर्थिक वर्षमा १० किलोमिटर मात्रै कालोपत्रे सडक निर्माण गर्ने ?’ उनको प्रश्न थियो ।

तर आफू नेतृत्वको सरकारले कम्तीमा प्रतिदिन पाँच किलोमिटर डबल लेन, फोर लेन र सिक्स लेनका पक्की सडक निर्माण गर्ने नीति लिएको ओलीले बताए । जुन नीति र लक्ष्य अहिलेको सरकारले नसमेटेको टिप्पणी गर्दै ओलीले सोधे, ‘अहिले कता हरायो त्यो प्रतिवद्धता ? त्यो गति के भयो ?’

‘धरहरा शानदार रुपमा उभिएको छ’ अगाडि भने, ‘तर अहिले अलपत्र पारिएको छ । देशलाई ठूलो घाटा बनाइएको छ । यो इतिहासँग पनि तपाईंहरुलाई शत्रुता किन भएको ? अचम्म लाग्छ ।’

अहिलेको नीति तथा कार्यक्रमले मुलुकको एक वर्ष त्यसै खेर जाने उनले तर्क गरे । ‘पूर्व पश्चिम राजमार्गलाई चारदेखि ६ लेनसम्म विस्तार गर्न प्रारम्भ गर्‍यौं । मध्यपहाडी पुष्पलाल मार्ग, मदन भण्डारी राजमार्ग, कोशी, गण्डकी, कर्णाली राजमार्गको निर्माण कार्य पाँच वर्षमा सपन्न गर्ने गरी तीव्र गतिमा अगाडि बढाएका थियौं’, ओलीले संसदमा लामै विवरण प्रस्तुत गरे ।

‘पूर्व पश्चिम विद्युतीय रेलमार्गका कतिपय खण्डका डीपीआर तयार गरी निर्माण प्रारम्भ गर्दै थियौं । काठमाडौं, वीरगञ्ज र रसुवागढी काडमाठौं लुम्बिनी रेलमार्ग निर्माणको तयारी हुँदै थियो’ ओलीले प्रश्न गरे, ‘कता हराए यी कार्यक्रमहरु ?’

आफू नेतृत्वको सरकारले ७४ औद्योगिक ग्राम, ६ औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्र स्थापना गर्न पूर्वाधार तयार गरिसकेको पनि बताए । ‘चीनसँग ७ वटा बन्दरगाह प्रयोग गर्न र भातरसँग आन्तरिक जलमार्ग हुँदै पानी जहाज सञ्चालन गर्न सहमति जुटाइ दुई पक्षीय तथा अन्तर्राष्ट्रिय व्यापारको ढोका खोलेको थियो । कहाँ हरायो ती योजना ?’

हुलाकी राजमार्गको निर्माण सुरु गरेको, अगाडि बढाएको र लगभग पूर्णताको अवस्थामा पुगेपछि अहिलेको सरकारले जस लिन खोजेको पनि उनले बताए । भारतको मोतीपुरदेखि नेपालको अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइनको निर्माण कोर्स १७ महिनामै आफू नेतृत्वको सरकारले सम्पन्न गरेको पनि बताए ।

०७२ सालमा गएको विनाशकारी भूकम्पले क्षतविक्षत पारेका आवास तथा विभिन्न संरचनाहरुको अधिकांश निर्माण कार्य उत्साहका साथ सम्पन्न गरेको पनि बताए । ‘धरहरा शानदार रुपमा उभिएको छ’ अगाडि भने, ‘तर अहिले अलपत्र पारिएको छ । देशलाई ठूलो घाटा बनाइएको छ । यो इतिहासँग पनि तपाईंहरुलाई शत्रुता किन भएको ? अचम्म लाग्छ ।’

आफू नेतृत्वको सरकारले रानीपोखरी, दरवार स्कुल लगायत विभिन्न विद्यालय भवन निर्माण गरेको ओलीले सम्झिए । ‘७ लाख ५८ हजार ७९३ निजी अवास, ६ हजार ५८५ विद्यालय भवन, ७५१ स्वास्थ्य संस्था, ५८६ पुरातात्विक सम्पदाको निर्माण छोटो अवधिमा भएको थियो । गर्न खोज्दाखेरि, संकल्प हुँदाखेरि सकिँदा रहेछ’ ओलीले भने, ‘जनता आवास कार्यक्रममार्फत १३ हजार ८५ परिवारलाई नयाँ घर उपलब्ध गरायौं ।’

फुस र असुरक्षित छानामुनिका ७ लाख परिवारलाई जस्त पाताको छानासहितको सुरक्षित घर पनि आफू नेतृत्वको सरकारले उपलब्ध गराएको ओलीले संसदमा बताएका छन् । हावाहुरी, चक्रबातबाट आक्रान्त बारा र पर्साका जनतालाई ८६९ वटा घर उपलब्ध गराएको विवरण पनि उनले छुटाएनन् ।

ओलीले सडक वालवालिका मुक्त सडकको अवधारणामा काम गरेको स्मरण गरे । बृद्धबृद्धा बेसाहारा हुन सक्दैनन् भनेर सडक मानव मुक्त अभियान चलाएको सुनाए ।

यहीँनेर अध्यक्ष ओलीले सरकारलाई प्रश्न गरेका ‘यस्ता अनेकौं काम तीन वर्षभित्र गर्न भ्याइयो । दुई वर्षमा तपाईंहरु ? मलाई गाली गर्ने, एमालेलाई गाली गर्ने, सरकार परिवर्तन गर्ने, सरकार टिकाउने खेल खेल्ने, गोटी सार्ने भन्दा बढी के गर्नुभयो ?’

आफ्नो नेतृत्वमा सरकार नबनेको भए मेलम्ची खानेपानी आयोजना नेपालीका लागि अझै पनि सपनामै रहिरहन सक्ने उनको दाबी छ ।

आफ्नो सरकारले युद्धस्तरमा काम गरेका कारण मेलम्चीको पानी काठमाडौं ल्याउन सम्भव भएको उल्लेख गर्दै ओलीले वर्तमान सरकारको ध्यानाकर्षण गरे, ‘अहिले यो दुई वर्षमा हिउँदमा अलिकति आउँछ, वर्षा लागेपछि पानी बन्द । अब समस्या पर्नेवाला छ, पानी बन्द हुनेवाला छ ।’

‘दशकौंदेखि सम्पन्न हुन नसकेको मेलम्ची खानेपानी आयोजनाका बाँकी धेरै काम सम्पन्न गरेका थियौं’ ओलीले थपे, ‘यदि त्यतिबेला एमालेको सरकार नबनेको भए अहिले पनि मेलम्ची एउटा ड्रिमकै रुपमा रहन्थ्यो ।’

तत्कालिन सरकारले युद्धस्तरमा काम गरेका कारण मेलम्चीको पानी काठमाडौं आउन सम्भव भएको उल्लेख गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारको ध्यानाकर्षण गरे, ‘अहिले यो दुई वर्षमा हिउँदमा अलिकति आउँछ, वर्षा लागेपछि पानी बन्द । अब समस्या पर्नेवाला छ, पानी बन्द हुनेवाला छ । सरकारलाई सायद थाहा छैन होला मैले जानकारी गराएँ, ध्यान दिन आग्रह गर्दछु ।’

ऊर्जा संकटबाट गुज्रिएको देशलाई लोडसेडिङबाट मुक्त गराउने कार्य पनि आफू नेतृत्वको सरकारले गरेको उनको दाबी छ । विद्युत खपत बढाउने कार्य पनि त्यसबेला गरिएको उनको भनाइ छ ।

‘३३३ मेगावाट थप विद्युत उत्पादन गरी वितरणमा ल्यायौं । ४५६ मेगावाट थप विद्युत उत्पादन गरी वितरणको तयारीमा पुर्‍यायौं । विद्युत तार भूमिगत गर्न सुरु गर्‍यौं । विद्युत निर्यात गर्नका लागि आवश्यक पूर्वाधार, ट्रान्समिसन लाइनहरु, सब स्टेसनहरु, स्टेसनहरु त्यसका निम्ति तयार गर्‍यौं’ उनले आफ्नै सरकार स्मरण गर्दै भने, ‘गर्न खोज्यो भने छोटो अवधिमा थुप्रै काम गर्न भ्याइँदो रहेछ ।’

साना, मझौला र ठूला नदी डाइभर्सन बहुउद्देश्यीय आयोजना मार्फत सबै कृषियोग्य भूमिमा सिँचाइको सुविधा पुर्‍याउने लक्ष्यका साथ काम गरेको उल्लेख गर्दै उनले थपे, ‘तराइको एक लाख ८५ हजार विघा जमिन सिँचाइ गर्नका लागि सुनकोेशी मरिण डाइभर्सन, त्यसको एकै साथ बहुउद्देश्यीय ढंगले कामहरु अगाडि बढाएको थियो ।’

आफू नेतृत्वको सरकार हुँदा जसरी काम अघि बढेको थियो, आफू सरकारबाट बाहिरिएपछि त्यसरी काम नभएको ओलीले बताए ।

आफू नेतृत्वको सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पुनर्निर्माणको काम गरेको, काठमाडौं बाहिरका ७ वटा विमानस्थलमा रात्री उडान सुरु गरेको, ७७ वटै जिल्लामा फोरजी सेवा पुर्‍याएको बताए ।

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालनमा ल्याएको उल्लेख गर्दै ओलीले प्रश्न गरे, ‘अहिले त्यो के हुँदैछ ?’ आफू नेतृत्वको सरकारले एक सय दिनको रोजगारीको ग्यारेन्टी गरेको उल्लेख गर्दै अहिले के हुँदैछ भनेर पनि प्रश्न गरेका छन् ।

आफू नेतृत्वको सरकारले विद्यार्थी भर्ना अभियान चलाएको, उच्च शिक्षाको विशिष्टकरणको काम गरेको, ६५ जिल्लामा स्वास्थ्य बीमा पुर्‍याएको पनि सम्झिए । ‘हाम्रो जनशक्ति उही हो । अहिलेको र पहिलेको ब्युरोक्रेसी उही हो । स्रोतको अवस्था पनि उही हो । फरक के भयो ?’ उनले प्रश्न गरे, ‘त्यतिबेलाको विकासको रफ्तार, त्यतिबेला देशले हासिल गरेको उपलब्धि र आजको शिथिलता… यसले देखाउँछ, तथ्य तथ्याङ्कले देखाउँछ के भइरहेको छ ?’

दशौं वर्षदेखि आकांक्षामा सीमित रहेको संसद भवन आफू नेतृत्वको सरकारले अगाडि बढाएको पनि उनले सुनाए । महान्यायधिवक्ताको कार्यालय, सरकारी वकिलको कार्यालय बनाए पनि उनले स्मरण गरे । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका सभाहलहरु बनाएको उनले संसदमा सांसदहरुलाई सुनाए ।

विगतमा आफू नेतृत्वको सरकारले गरेका कामहरुबारे नीति तथा कार्यक्रममा चर्चा नगरिएकोतर्फ संकेत गर्दै उनले भने, ‘हाम्रो साझा उपलब्धी होइन र यो ? यसमा हामीले गर्व गर्न पर्दैन ?’

ओली नेतृत्वको सरकारको पालामा बिभिन्न भ्यू टावर निर्माणले तिव्रता पाएको थियो । यसप्रति कतिपयले गर्न गरेको आलोचनाको जवाफ दिँदै ओलीले भनेका छन्, ‘संसारका आधुनिक शहरहरुमा टावरहरु, मलेसियाको ट्वीन टावर, दुबैको टावर, थाइल्याण्डको टावरहरु ब्यापारिक केन्द्रका रुपमा बनेका छन् । नेपालमा कुनै ब्यापारिक केन्द्रको रुपमा टावर बनायो भने अबउप्रान्त टावर नबनाउने भनेर पानी समातेर कसम खाने कस्तो खालको विकास विरोधी अवधारणा ?’

यस्ता विषयहरुबाट मुक्त हुन सरकारलाई ओलीको सुझाव छ । मुस्ताङमा ओडार र गुफाहरु रहेको उल्लेख गर्दै उनले भने, ‘त्यस्तै गुफाहरुमा बस्नुपर्ने हो ? आधुनिकतातर्फ जानुपर्दैन ? दुनियाँको आधुनिकताको गति समात्नुपर्दैन ?’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?