+
+

बाबा म अमेरिका कहिले जाने ?

घुइँक्क, घुइँय्य-आवाज आयो। आमा, म र दाइ तीनै जना तर्सिएर पछाडि फर्किएका थियौं। उसले दाइलाई नै रोजी। दाइ कति भाग्यमानी। अम्रिकानेले काखमा लिई। म्वाइँ खाई। कपाल मुसारी। म आफ्नो अभागाको भन्दा दाइको भाग्यप्रति खुशी थिएँ !

शालिक सुवेदी शालिक सुवेदी
२०८० जेठ १० गते ११:३६

चिउरी– हाम्रो घर वालिङबाट ६ किलोमिटर पश्चिम। आमाको मामा घर। आमाको मामालाई मैले देखिनँ। सायद दाइ र दिदीले पनि देखेनन् होला। मैले सोधिनँ र सोधेको पनि छैन। आमाको माइजू मेरो ज्यावै। हजुरआमालाई हामी ज्यावै भन्थ्यौं।

घरमा रासनपानी कम हुँदा मनभरि खाना खुवाउन आमा हामीलाई लिएर कि त मिर्दीखोला कि चिउरी जानुहुन्थ्यो। ज्यावैले हामीलाई ‍औधी माया गर्नुहुन्थ्यो। हामी पेटभरि, मनभरि खीर खान्थ्यौं मकैबोडीको रससित। दिउँसो नास्तामा बोटभरि लटरम्म पाकेका बेलौती, काँक्राका कैंडा, पानीअमला, नुनखुर्सानीसँग मुला, मेवा खान्थ्यौं। ज्यावैले हामीलाई भन्दा पनि बढी आफ्नी भान्जी अर्थात् मेरी आमालाई माया गर्नुहुन्थ्यो। हाम्रो माया असिम सुरक्षाको अपेक्षाको थियो, ज्यावैहरूको माया संरक्षणको।

सुरक्षा भन्दा संरक्षण बलियो हुँदोरहेछ भन्ने अहिले थाहा भयो— मेरी छोरी र म आफैंलाई हेर्दा। निस्सार समाजमा आमा अभावको छट्पटी यी दुई ज्यावैहरूले न्यौछाबर गरेको संरक्षणको समुद्रले सहजै बगाइदिन्थ्यो। अभावै अभावमा पनि हामी अभावविहीन बन्यौं। दुःख त्यति थाहा पाएनौं। किनकि ती सबै दुःख आमाले सोसिदिनुहुन्थ्यो। चर–अचरको पृथ्वीले सोसे जस्तै।

चिउरी ज्यावैको घरबाट करिब २०० मिटर पूर्व एउटा अविरल धारो थियो। अहिले छ–छैन थाहा छैन। त्यही धारो नै पानीको स्रोत थियो। आमा एक कुम्लो लुगा र एउटा साबुन लिएर दाइ र मलाई लिएर निस्कनुभयो। आमा लुगा धुँदै हुनुहुन्छ। दिदीले आमालाई सघाउँदै छे। दाइ र म पानीमा खेलिरहेका छौं।

घुइँय्य, घ्याच्चको आवाजले तर्सिंदै हामी सबै पछाडि फर्कियौं। कालो गाडी, कालै सिसा। केही निमेषको रोकाइपछि कालो गाडीबाट गोरा मानिसहरू निस्किए। हामी एकटकले उनीहरूलाई हेरिरह्यौं। आँखाले परेला चलाउन पनि बिर्से केही छिन् त। ए अम्रिकाने! आमा लुगामा साबुन दल्दै बोल्नुभयो। हामी पनि साउती मार्‍यौं– अम्रिकाने!

डेढ फिट जतिको फलामको पाइपबाट ह्वाल्ल बगेको पानी। केराको दाम्चो थियो रे पहिला त। ढाकाराम मामाले पानीको दीर्घकालीन जोहो गर्न फलामको पाइप राख्नुभा’को रे! आमा आफ्नो भाइको सामाजिक विकासलाई सगौरव सुनाउनुहुन्थ्यो।

अम्रिकानेहरू पालैपालो गाडीबाट निस्के। एउटा पुरुष अधबैंसे। घुटुक्–घुटुक्! उसले पानी खाएको हामीलाई नौलो लाग्यो। हामी जस्तै अभ्यस्त। महिला अधबैंसेले दाइलाई जुरुक्क उठाई। काखमा राखी र चुप्प म्वाइँ खाई। हामी दंग पर्‍यौं। दाइ हामीभन्दा बढी सायद!

दाइभन्दा म सानो हुने नै भएँ। उसले दाइलाई नै रोजी। दाइ कति भाग्यमानी। अम्रिकानेले काखमा लिई। म्वाइँ खाई। कपाल मुसारी। म आफ्नो अभागाको भन्दा दाइको भाग्यप्रति खुशी थिएँ।

कैलो कपाल। गोरो अनुहार। अझ भनौं सेतो अनुहार। कुहिरा आँखा। सबैले कैले भन्थे दाइलाई। कतिले त ए अम्रिकाने पनि भन्थे। दमालीले र जेठाबडाले पनि। महिला अम्रिकानेले दाइलाई करिब पाँच मिनेट जति आफूसँगै राखी। काखबाट झारी। गाडीमा गएर केही चकलेट र बिस्कुट दिई।

‘हामीसँग जाने हो ?’ दाइलाई सोधी। दाइले आमाको मुख हेर्‍यो। मैले अनि दिदीले पनि। आमाले केही नभन्दै दाइले टाउको हल्लायो नजाने संकेतको। संसारका जो–कोही छोराछोरीलाई आमाको मात्सल्य भन्दा ठूलो कुनै हुँदैन सायद। आमाको काख भन्दा न्यानो केही छैन होला सायद र आमाको सास भन्दा प्यारो केही छैन होला सायद।

मेरो मात्र होइन सायद सबैको गन्तव्य छ अमेरिका । समाजका बहुसंख्यक सदस्यको चाह हो अमेरिका । समाजको मात्रै होइन देशका नागरिकको अभीष्ट हो। किनकि यो देश गरिब, कमजोर, निरीह र दुर्बल छ। अमेरिकामा सबै छ, स्वर्ग छ। यही भाष्य निर्माण भएको छ। निर्माण गरिएको छ

अहिले म सानै छु। ठूलो भएपछि जान्छु भन्न भन्नुभयो आमाले। दाइले तोते बोलीमा आमाको भाषा जस्ताको तस्तै भन्यो। अम्रिकानेहरू मुसुक्क हाँसे। हामी पनि हाँस्यौं।

‘हामी पछि आउँछौं र तिमीलाई लैजान्छौं’, महिलाले भनी। गाडी चढे। हुइँक्क अगाडि बढे। गाडी देखुन्जेल हामीले हेरिरह्यौं। गाडीलाई होइन गाडीभित्रका अम्रिकानेलाई!

वालिङमा पुग्ने जो–कोही गोरो छाला हाम्रा लागि अम्रिकाने थियो। पोर्चुगिज, फ्रेन्च, ब्रिटिश, टर्किस, जर्मन, क्यानेडियन वा संसारका श्वेत कपाल, श्वेत मुहार, हात–पाखुरा र कुइरा आँखा सबैलाई हामी अम्रिकाने ठान्थ्यौं। सबै पत्रिकाहरूलाई गोरखापत्र ठाने झैं।

संसारका गोराहरू अम्रिकाने हुन्। उनीहरू संसारका सर्वशक्तिवान् हुन्। देश मात्रै होइन त्यहाँका हरेक नागरिक उत्तिकै शक्तिशाली छन्। वर्तमानको स्वर्ग हो अमेरिका। गोरो छालाले छोयो मात्र भने सामाजिक प्रतिष्ठाले अचानक सगरमाथा छुन्छ।

दाइलाई गोरो छालाले छोएको मात्रै होइन काखमा लिएर म्वाइँ खायो। अमेरिका लैजान खोज्यो र लिन आउने वचन दियो। हामीले दाइलाई भाग्यमानी ठान्यौं। म र दिदी अभागा। हामी दाइ जस्तो गोरो छैनौं। सेतो, खैरो कपाल थिएन। कुहिरो कपाल थिएन। मेरो र दाइको रङ फरक थियो। त्यसैले मलाई समाजले काले भन्थ्यो, दाइलाई अम्रिकाने।

प्रकृति पनि त पूर्वाग्रही छ! एउटै बाबुआमाका सन्तान! एउटै पेटबाट जन्मिएका बच्चाहरूमा कति भिन्नता! म आफ्नो भाग्यलाई भन्दा बढी प्रकृतिलाई दोषी देख्छु। आमाको कोखलाई पनि म दोषी देख्दिनँ। मलाई थाहा छैन दोष यो समाजको हो। यो सामाजिक संरचनाको या भाष्य निर्माण गर्ने निर्माताको हो।

महेश त अमेरिका गयो रे! आमा बाहिरबाटै चिच्याउनुभयो। अमेरिका भन्दै हामी रोकियौं। महेश अमेरिका टेकेदेखि मुरलिधरको भुइँमा खुट्टो छैन। उनी महेशका बा। उनको के छ थाहा छैन। समाजले त्यही भन्छ। गाउँमा उनको बेग्लै इज्जत छ। गाउँमा पञ्चायत बस्दा उनले ठाउँ पाउँछन्। बसेका मानिस उठेर उनलाई ठाउँ दिन्छन्।

विषयमा राय दिन्छन् र सबैले होमा हो थप्छन्। उनी आकस्मिक ठालु बन्छन्। हामी ठूलो ठान्छौं। महेशका सातपुस्ते नाताले पनि रोजीछाडी बेहुली पाउने भएका छन्। बेहुला पनि। कसैका छोरा डाक्टर भए, इन्जिनियर भए वा इमानदार मानिस बने खासै मतलब छैन समाजलाई। अमेरिकासँग जोडिएको परिवार समाजको सबैभन्दा उच्चकोटिको छ।

हरिको छोरो श्याम पनि अमेरिका गयो रे! श्याम र मेरो दाइ दाँवली र साथी पनि। काठमाडौंमा दाइ र श्याम सँगै बस्थे रे!

मलाई अमेरिका जान औधी मन लाग्यो। अम्रिकाने कहिले आउँछे र दाइलाई लिएर जान्छे। म हरेक दिन विपनामा सोचिरहन्थें। दाइले के सोच्थ्यो थाहा छैन तर म सोचिरहन्थें। विपनाका सोचाइलाई सपनामा देखिरहन्थें— दाइ अमेरिका गएको, मलाई बोलाएको। मैले बाआमा र दिदीलाई पनि लगेको। हामी सबै अमेरिका पुगेको। बसेको, खाएको, रमाएको। मियामी बिचमा पौडी खेलेको। लसभेगासमा घुमेको, न्यूयोर्क, वासिङ्टन डिसी, टेक्सास आदि!

ब्युँझदा म बाको लङ कोट ओढिरहेको हुन्थें। सिरक अपुग थियो। जाडोको मौसम। बाको लङ कोट थपेपछि हामीलाई न्यानो हुन्थ्यो। यो नेपालीको सामान्य दैनन्दिन नै हो। बाको कोटले जाडो छल्दै गरेको मेरो लागि अमेरिका सपनाको गन्तव्य बन्यो। सपनाको गन्तव्य विपनामा सधैं भताभुङ्ग हुन्थ्यो।

मलाई दिन भन्दा रात मन पर्न लाग्यो। विपना भन्दा सपना मन पर्न लाग्यो। हरेक दिन अमेरिका पुग्न, घुम्न र बाको सामाजिक प्रतिष्ठा बढाउन मन लाग्यो। जतिबेला पनि सुतिरहन मन लाग्यो। कुम्भकर्ण कति भाग्यमानी होला। उ कमसेकम ६ महिना त अमेरिकामा हुन्थ्यो।

म महेश हुन नपाएकोमा दु:खी थिएँ। म हरिको छोरो श्याम हुन नपाएकोमा दु:खी थिएँ। म दाइ अमेरिका जान नपाएकोमा दु:खी थिएँ। महिला अम्रिकानेले दाइलाई लिन नआएकोमा दुःखी थिएँ। कुम्भकर्ण हुन नपाएकोमा दु:खी थिएँ। दिनसित, कालो वर्णसित, पूर्वाग्रही प्रकृतिसँग दु:खी थिएँ।

अमेरिकालाई होइन नेपाललाई स्वर्ग बनाउनुपर्नेछ। हार्वर्डलाई होइन त्रिविलाई सर्वोत्कृष्ट शिक्षालय बनाउनुपर्नेछ। तब मात्र यो रोकिन्छ। यिनीहरू रोकिन्छन्

म अमर न्यौपानेको सेतो धर्तीको पवित्रा सम्झन्छु। तारा सम्झन्छु। ताराको पवित्र तन सम्झन्छु। पवित्राको पवित्र मन सम्झन्छु। ताराको पवित्र तन र खेर गएको जोवन सम्झन्छु। मेरो खेर गएको जीवन सम्झन्छु। विवाह भएर पनि सधैंभरि अतृप्त तारा सम्झन्छु। लोग्ने विनाकै तृप्त पवित्रा सम्झन्छु। भद्दा समाजको अँध्यारो दापमा निर्जीव जीव जस्ती तारा बन्नु छैन मलाई। म मनको पवित्र पवित्रा बन्न चाहन्छु।

पाउलो कोह्लोको नाइन्टिन मिनट्सको मारिया सम्झन्छु। ब्राजिलको दीन जिन्दगीलाई दीप जिन्दगीमा रूपान्तरण गर्ने उत्कट चाह सम्झन्छु। स्विट्जरल्याण्डको राइनो फल्स, जुरिच र सिलोन क्यासलमा मारिया घुमेको सम्झन्छु। जुरिचमा रोलेक्स घडी किनेको, राइनो फल्समा विकनी लगाएर परसम्म हेरिरहेको मारिया बन्न चाहन्छु।

खोक्रो राष्ट्रभक्तिका गीत गाएर हामी जस्ता सीधा नागरिकलाई दास बनाउने राजनैतिक नेतृत्व सम्झन्छु। उनीहरूका अमेरिकामा बसोबास गरेका छोराछोरी सम्झन्छु। बालाई सम्झन्छु। छविलाल र हरिलाई सम्झन्छु। दिक्क लागेर आफैंलाई धिक्कार्छु। दाइलाई धिक्कार्छु।

मेरो मात्र होइन सायद सबैको गन्तव्य छ अमेरिका । समाजका बहुसंख्यक सदस्यको चाह हो अमेरिका । समाजको मात्रै होइन देशका नागरिकको अभीष्ट हो। किनकि यो देश गरिब, कमजोर, निरीह र दुर्बल छ। अमेरिकामा सबै छ, स्वर्ग छ। यही भाष्य निर्माण भएको छ। निर्माण गरिएको छ।

यहाँ हार्वर्ड युनिभर्सिटीको चर्चा हुन्छ, कोलम्बियाको, प्रिन्स्टनको, स्यानफोर्डको, येलको र यस्तै यस्तै। त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयको र अन्य विश्वविद्यालयको सामाजिक मान्यता कम छ।

प्रसङ्ग नक्कली भुटानी शरणार्थी र तिनलाई अमेरिका लैजान्छु भनी करोडौं ठगी गर्ने गिरोहको हो। राजनीति र सत्ताको रकम असुल्ने व्यभिचारी राष्ट्रघाती ठगी धन्दाको हो। आफ्ना नागरिकलाई अनागरिक बनाई बेच्ने दलालहरूको हो। राज्यद्रोहको हो। अन्तर्राष्ट्रिय लज्जाको हो। बुद्धको देश, सगरमाथाको देश, वीर गोर्खालीको देशको उँचो शिरलाई पाताल धस्ने बेइमान गिरोहको हो। यी अपराधीहरूलाई कारबाही हुनुपर्छ। कारबाही हुँदैछ। प्रशंसनीय छ।

सरकारलाई साधुवाद। प्रहरीलाई धन्यवाद। तर के यो मात्रै समाधान हो त ? नक्कली बन्ने र बनाउने समस्याको समाधान यो मात्रै हो त ? मेक्सिकोको पर्खाल हाम फालेर अमेरिका छिर्ने समस्याको समाधान यो हो त ? पानीजहाजको डिब्बामा सामान जस्तै लुकेर जाने अकिञ्चनको यत्न के हो ? हैटीबाट भागेर रातारात जंगली जनावरसँग मीत लगाउँदै भाग्नुपर्ने बाध्यता के हो ?

अहँ रोकिन्न। यो विरासतको भाष्य परिवर्तन गर्न जरुरी छ। अमेरिकालाई होइन नेपाललाई स्वर्ग बनाउनुपर्नेछ। हार्वर्डलाई होइन त्रिविलाई सर्वोत्कृष्ट शिक्षालय बनाउनुपर्नेछ। तब मात्र यो रोकिन्छ। यिनीहरू रोकिन्छन्।

लेख्दैथिएँ। छोरी चिच्याउँदै मेरो छेवैमा आई र भनी- ‘बाबा म अमेरिका कहिले जाने ?’

(लेखक नेपाल टेलिभिजनमा कार्यरत सञ्चारकर्मी हुन्।) 

(*लेखकको आग्रहमा केही पात्रहरूको नाम परिवर्तन गरिएको छ- सं.)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?