+
+

फोक्सोमा कुन उमेरमा कस्तो समस्या देखिन सक्छ ?

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८० जेठ १२ गते १८:११

काठमाडौं । फोक्सो श्वासप्रश्वास प्रणालीको केन्द्र हो । स्वस्थ फोक्सोले मानिसलाई जीवनभर स्वस्थ राख्न महत्त्वपूर्ण भूमिका खेल्छ । जबकि खराब फोक्सोले धेरै रोग र अकाल मृत्यु समेत निम्त्याउन सक्छ । त्यसकारण फोक्सोलाई स्वास्थ्य राख्नु जरुरी छ । फोक्सोलाई स्वस्थ राख्न शरीरका अन्य अंग जस्तै फोक्सोको पनि हेरचाह गर्नुपर्छ ।

फोक्सोमा देखिने समस्या के के हुन् ? फोक्सोको समस्याबाट कसरी बच्नेलगायत विषयमा केन्द्रित रहेर वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजु पंगेनीसँग गरिएको कुराकानीको सम्पादित अंश :

फोक्सोमा देखा पर्ने मुख्य समस्या के के हुन् ?

हाम्रो श्वासप्रश्वास प्रणाली नाकदेखि फोक्सोसम्म फैलिएको हुन्छ । सामान्य रुघाखोकी लाग्नेदेखि नाक बन्द हुने, घाँटी खसखस गर्ने, ज्वरो आउने, छाती दुख्ने, श्वासनलीमा समस्या देखिएर खोकी लाग्ने, घ्यारघ्यार हुने फोक्सोसँग सम्बन्धित तत्कालीन समस्या हुन् ।

निमोनिया, फोक्सोको इन्फेक्सन, दम, फोक्सो फाइब्रोसिस र फोक्सोको क्यान्सर फोक्सोमा देखिने दीर्घकालीन समस्या हो । नेपालमा देखिने फोक्सोको मुख्य समस्या भनेको फोक्सोको संक्रमण, दम र फोक्सोको क्यान्सर हो ।

फोक्सोमा समस्या हुने कारण के के हुन् ?

फोक्सोको समस्या देखापर्ने पहिलो कारण ब्याक्टेरिया, भाइरस, ढुसीको संक्रमण हो । क्षयरोग अर्थात् टीबी फोक्सोकै हो । आन्तरिक तथा बाह्य वायु प्रदूषण, लामो समयदेखि धुम्रपानको प्रयोग र केहीमा वंशाणुगत कारण साथै रोगसँग लड्ने क्षमता कमजोर भएका व्यक्तिमा पनि फोक्सोसम्बन्धी विभिन्न समस्या देखा पर्छ ।

कुन उमेर समूहमा यस्तो समस्या बढी देखिन्छ ?

फोक्सोको कुन खालको समस्या त्यसअनुसार उमेर फरक पर्छ । कतिपयमा फोक्सोसम्बन्धी समस्या आमाको गर्भबाट नै सुरु हुन्छ । यदि गर्भवती महिला लामो समय वायु प्रदूषणको सम्पर्कमा आएकी छन् भने गर्भको बच्चामा पनि त्यो वायु प्रदूषणको प्रभाव पर्छ । जसले गर्दा बच्चा जन्मिएदेखि नै फोक्सोको समस्या देखा पर्छ ।

एलर्जीसम्बन्धी समस्या जस्तै, घ्यारघ्यार हुने, खोकी लाग्ने  तथा आस्थामा जस्तो समस्या पाँच वर्षमुनिका बालबालिकामा धेरै देखिन्छ । बच्चामा देखिने यो समस्याको उपचार समयमै भएन भने यो समस्या पछिसम्म पनि रहन सक्छ ।

विभिन्न प्रकारको संक्रमण तथा धुम्रपानको प्रयोग, वायु प्रदूषणको कारण हुने दम रोग र फोक्सोसम्बन्धी क्यान्सर ६५ वर्षभन्दा माथि वृद्धावस्थामा बढी देखिन्छ । त्यसैले फोक्सोसम्बन्धी कस्तो समस्या हो उमेरअनुसार फरक पर्छ ।

कोरोना महामारीका बेला बिरामीमा फोक्सोसम्बन्धी समस्या धेरै देखिएको थियो । त्यसको दीर्घकालीन असर पनि पर्छ कि ?

कोरोना संक्रमण भएका धेरैमा निमोनिया र श्वासप्रश्वासको समस्या देखिएको थियो । ती बिरामीमध्ये धेरैको फोक्सोको संक्रमण भएको तीन महिनामा निको भयो । तर कसैमा भने तीन महिनाभन्दा पनि पछिसम्म देखियो, जसलाई ‘लङ कोभिड सिन्ड्रोम’ भनिन्छ । कोभिड निमोनिया भएका बिरामीमा दुई वर्षभन्दा लामो समयसम्म पनि हिंड्दा धेरै स्याँस्याँ हुने, जीउ गल्ने, उकालो चढ्दा सास फेर्न गाह्रो हुने, खोकी लागिरहने, छातीको संक्रमण भइराख्ने, उकुसमुकुस हुने लगायतका फोक्सोसम्बन्धी समस्या देखिएको पाइएको छ ।

फोक्सोको समस्याबाट कसरी बच्ने ?

फोक्सोसम्बन्धी धेरैजसो समस्या संक्रमणका कारण हुने भएकाले त्यसबाट बच्नुपर्छ । रुघाखोकी लागेको बिरामीबाट टाढा रहने, खाना खानुअघि साबुनपानीले राम्रोसँग हात धुने गरे संक्रमण सर्नबाट बच्न सकिन्छ ।

साथै चिसोबाट बच्ने, धुम्रपान त्याग्ने, धुवाँधुलोबाट सकेसम्म टाढा रहने, प्रदूषित ठाउँमा बस्नेहरूले मास्कको प्रयोग गर्ने, धूप-अगरबत्तीबाट धुवाँ निस्किने भएकाले टाढा रहने, औद्योगिक क्षेत्र मानवबस्तीभन्दा टाढा राख्ने जस्ता कुरामा ध्यान दिए फोक्सोको समस्याबाट बच्न सकिन्छ ।

लेखकको बारेमा
सुमित्रा लुइटेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?