+
+
अग्रपथ :

नेताको अक्षमतासँग गणतन्त्रको महानता तुलनै हुँदैन

आफ्नै जीवनकालमा साकार भएको यो सपनाको महानता र गौरवलाई हामी किमार्थ कम आँक्न सक्दैनौं । र, हाम्रो युवा र नयाँ पुस्ताले पनि आफ्नै पुर्खा र अभिभावकहरूको आँशु, पसिना र रगतको मूल्यलाई कम आँक्न हुँदैन ।

डम्बर खतिवडा डम्बर खतिवडा
२०८० जेठ १४ गते १५:४१

बन्न एक सामान्य सिपाही
दौडमा सामेल हुनुपर्दछ जस कसैले
र शरीर तन्काएर छातीको चौडाइको नाप पूरा गर्नुपर्दछ ।
कारखानाको मजदूर बन्न
चाहिन्छ छोटै अवधिको भए पनि तालिम र अनुभव
र ग्रिज -मोबिल, रिन्च-हथौडासँग खेल्न सक्नुपर्दछ ।
कवि हुन काव्यको साधना गर्नुपर्दछ निरन्तर
विधायक हुन जनताको भोटलाई सामना गर्ने साहस चाहिन्छ
र शिक्षक, वकिल, पत्रकार, प्राध्यापक, अभिनेता वा जासुस केही बन्न सजिलो छैन यो संसारमा ।
सजिलो त्यही एउटा बादशाह बन्न हो
बादशाह बन्न एउटै गुण पर्याप्त छ- कुनै वंशमा जन्मिनु
तर विडम्बनाको कुरा के भने
असजिला सबै पेशामा बढिरहेछन् निरन्तर मानिसको संख्या
सजिलो गरी बन्न सकिने बादशाहको संख्या भने दिनानुदिन घटिरहेको छ ।

यो कविता कसले लेखेको हो मलाई अद्यापि थाहा छैन । धराने कवि गोविन्द विकलसँग कुनै बेला गहिरो व्यक्तिगत निकटता थियो मेरो । तिनै गोविन्द विकल जो ‘संघर्ष हो जीवन, जीवन संघर्ष हो’, ‘रगतको टीका लगाउँदै शहीद हामी त उठ्ने छौं’ जस्ता चर्चित क्रान्तिकारी गीतका रचनाकार थिए ।

धरानबाट बसाइँ सरेर उनी हाम्रो छिमेकी गाउँमा आएका थिए । बीचमा रामधुनी जंगल, वारि मानपुर पारि सालबनी गाउँ । धरानबाट सालबनी बसाइँ सर्दा उनले बोरामा खाँदेर किताब र पुराना पत्रिकाको डंगुर पनि ल्याएका थिए ।

त्यही डंगुरभित्र गाता च्यातिएको, शीर्षक र कविको नाम माउकिराले खाएको एक हिन्दी पत्रिकामा २०४५ सालतिर भेटेको थिएँ मैले यो कविता र डायरीमा टिपेर राखेको थिएँ, जो अहिले पनि छ । त्यो बेला जतिखेर नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना होला भनेर कमैले कल्पना गर्थे ।

तरÙ निरंकुशता, वंशवाद र दैवीशक्तिको सिद्धान्तमा अविश्वास गर्ने धेरै ठूलो युवा जनमत तयार भइसकेको थियो २०३६-२०४६ को अवधिमा । जसरी आजका युवा पुस्ताको सबैभन्दा ठूलो सपना ‘सुशासन र समृद्धि’ हो, हामी युवा हुँदा हाम्रो पुस्ताको सबैभन्दा ठूलो सपना ‘निरंकुशताको अन्त्य र लोकतन्त्रको स्थापना’ थियो ।

गणतन्त्र त्यो बेला एक महान् क्रान्तिकारी सपना मानिन्थ्यो । धेरै मानिस यो सपना देख्न चाहन्थे पनि, डराउँथे पनि । फरक कति छ भने आज ‘सुशासन र समृद्धि’ को सपना देख्न डराउनुपर्दैन, हाकाहाकी देख्न सकिन्छ जस-कसैले ।

यही भिन्नता हो- हामी युवा हुँदा र आजको युवा पुस्ता बीचको । हाम्रो पुस्ताले आफ्नो सपनाको लागि आँशु, रगत र पसिनाको एक अविरल नदी बगाउनु परेको थियो । भयको संसारका बाँच्नु परेको थियो सधंै उद्विग्न र त्रस्त हुँदै । सपनालाई लुकाएर साँच्नुपथ्र्यो मुटुमा, सजिलै ओठमा ल्याएर भन्न सकिंदैनथ्यो । आजको पुस्ताले आफ्नो सपनालाई मुटुमा लुकाउनुपर्दैन, आँखामा सजाउन सक्दछ, आँखाबाट ओठमा ल्याएर सजिलै आम अपील गर्न सक्दछ ।

र यो एक धेरै ठूलो र महान् भिन्नता हो भन्ने कुरा आजको पुस्ताले बुझ्नुपर्दछ ।

सन् १९८० को दशकमा जब सिंगापुर ‘तेस्रो विश्वबाट पहिलो विश्वमा’ प्रवेश गर्न थाल्यो यसका नेता लि क्वान युले १९६० को दशकका सिंगापुरी दृश्य समेटिएका सिनेमा र डकुमेन्ट्रीहरू युवा पुस्तालाई देखाउन लगाउँथे । र भन्थे- आज तिमी जुन सुख भोग्दैछौ, त्यसको लागि हाम्रो के कति आँशु, रगत र पसिना बगेको छ भन्ने तिमीले बुझ्नुपर्दछ ।

यो सत्य हो कि आजको नेपाली युवा पुस्ताका लागि सिंगापुरमा लि क्वान यु पुस्ताले तयार गरेजस्तो ‘सुख-सुविधा’ को जोगाड भइसकेको छैन । दुर्भाग्य र विडम्बनाको कुरा हुन त्यो सक्थ्यो, हुन सकेन । तर, उनीहरूले आज जुन स्वतन्त्रता उपभोग गरिरहेका छन, त्यसको पनि ठूलो मूल्य चुक्ता गर्नु परेको हो । ‘स्वतन्त्रता’ विना ‘समृद्धि’ सम्भव हुने कुरा हैन । आज स्वतन्त्रता हुन्थेन भने समृद्धिको सपना नै बुन्न सकिने थिएन ।

१५ जेठ २०६५ यता गणतन्त्र आएको १५ वर्ष पूरा भएछ । त्यो बेला नेपाल संसारको ‘कान्छो गणतन्त्र’ थियो । सायद त्यसयता पनि संसारका कतिपय देशमा राजतन्त्र उन्मूलन भएका छन् । जस्तो कि बार्बडोस । कतिपय देशमा राजतन्त्र विरोधी आन्दोलन र राजनीतिक शक्ति बलियो हुँदै गएका छन् जस्तो कि- थाइल्याण्ड ।

यो धर्तीमा २२५ राजनीतिक एकाइ छन् यतिखेर । तीमध्ये ९० प्रतिशतभन्दा बढी गणतान्त्रिक भइसकेका छन् । राजतन्त्रलाई मानार्थ राष्ट्रप्रमुख मान्ने बेलायत बाहेकका १५ वटा कमनबेल्थ राष्ट्र छोडेर हिसाब गर्ने हो भने अब राजतन्त्रात्मक मुलुकहरू मुश्किलले दुई दर्जन बाँकी होलान् । त्यसमा पनि निरंकुश राजतन्त्र त आधा दर्जन पनि नहोलान् ।

माथिको कवितामा भने जस्तो राजतन्त्र निरन्तर घट्दो छ संसारभरि र एक प्रचलित भनाइ जस्तो कुनै दिन संसारमा दुई वटा मात्र बादशाह रहनेछन्- एउटा बेलायतमा र अर्को तासको पत्तामा ।

राजतन्त्र विरुद्ध लोकतन्त्रको लडाइँ कुनै पूर्वाग्रहको लडाइँ थिएन । यसको एक ठूलो ऐतिहासिकता र सैद्धान्तिक आधार थियो । त्यो हो- दैवीशक्ति, वंशवाद र अन्धविश्वासको सिद्धान्त विरुद्ध सामाजिक सम्झौताको सिद्धान्त । यी दुईमध्ये आधुनिक राष्ट्रिय-राज्य कुन सिद्धान्तमा आधारित भएर चल्नुपर्दछ भन्ने बहस । र यो बहसमा फरक दृष्टिकोण ।

हाम्रो गणतन्त्र, हाम्रो लोकतन्त्र, हाम्रो संघवादमा अहिले पनि थुप्रै समस्या छन् । यसले उचित ‘डेलिभरी’ दिन सकेको छैन । भ्रष्ट नेताहरूको चंगुलमा, नालायकहरूको दलतन्त्रमा फसेको छ यो । जनताका अपेक्षा पूरा गर्न सकेको छैन

के कुनै परिवारमा जन्मिएकै कारणले कुनै व्यक्तिले कुनै आधुनिक राष्ट्रिय-राज्यको राज्य प्रमुख वा शासक हुने अधिकार राख्दछ ? यदि राख्दछ भने त्यसको वैज्ञानिक, वस्तुगत आधार के ? हो दैवीशक्तिको सिद्धान्तबाट त्यो सिद्ध हुन सक्दछ कि उसलाई भगवानले त्यस्तो भाग्य दियो । वंशवादको सिद्धान्तमा त्यो सिद्ध हुन सक्दछ कि ऊ कुनै खास र ऐतिहासिक परिवार वा वंशमा जन्मियो । अन्धविश्वासको सिद्धान्तमा त्यो सिद्ध हुन सक्छ किनकि अन्धविश्वास भनेकै मान्दिने हो, कुनै प्रष्ट वैज्ञानिक तथा सैद्धान्तिक आधार विना ।

जब हामी स्वतन्त्रता, समानता र न्यायको सिद्धान्तबाट हेर्दछौं, त्यसको कुनै वैज्ञानिक आधार देखापर्दैन । सामाजिक सम्झौताको सिद्धान्तमा सबै मान्छे बराबर हुन् । उनीहरूको सार्वभौमसत्ता बराबर हो । उनीहरूको अवसरको अधिकार बराबर हो । समानताको सिद्धान्तमा कुनै वंशमा जन्मिएकै कारणले कसैले कुनै विशेषाधिकार वा अग्राधिकार प्राप्त गर्न सक्दैन । यदि सक्दछ नै भने पनि उसले त्यो कर्म र सामाजिक स्वीकार्यताद्वारा हासिल गर्नुपर्दछ जन्मद्वारा हैन ।

कतिपय मानिस अझै यो ठान्दछन् कि ‘संवैधानिक वा सांस्कृतिक राजतन्त्र’ हुँदा त के बिग्रन्थ्यो । त्यो खोपीको देउता जस्तो हुन्थ्यो । लोकतन्त्रलाई कुनै हानि पुग्दैनथ्यो । देउता नै पुज्ने रहर हो भने देउता नै पुजे भो त यतिका धेरै मन्दिर, मस्जिद, गुम्बा, चैत्य, चर्च छँदैछन् त ? कुनै व्यक्तिलाई देवता किन बनाउने ? देउता मान्नका लागि कुनै व्यक्ति वा संस्थामा देवत्वको गुण हुनु पनि पर्‍यो नि !

यो बहसको अर्को पाटो पनि छ । कोही संवैधानिक तथा सांस्कृतिक मात्र भइदिने कुराको ग्यारेन्टी कसले गर्ने ? त्यो प्रयास त भएकै थियो नेपालमा तीन-तीन पटक । २००७ साल, २०१५ साल र २०४६ सालमा । त्यो सम्झौता कसले तोड्यो ? प्रश्न यहाँँनेर थियो ।

२००७ साल फागुन ७ गतेको घोषणामा नयाँदिल्लीबाट फर्किएर त्रिभुवनले ‘उप्रान्त देश संविधानसभाले बनाउने गणतान्त्रिक विधान अनुसार चल्ने’ घोषणा गरेका थिए । संविधानसभाको चुनाव कसले रोक्यो ? २०१७ सालमा निर्वाचित संसदको विघटन गर्ने महेन्द्र शाह ‘संवैधानिक वा सांस्कृतिक’ मात्र भएर बस्न राजी थिए, भए ?

‘असोज १८’ र ‘माघ १९’ जस्ता घटना गराउने ज्ञानेन्द्र शाह ‘संवैधानिक वा सांस्कृतिक’ हुन्छन् होला ? हुने भए त्यतिखेर नै भए भइहाल्थ्यो नि ? आफ्नै कुबुद्धिले मौका गुमाएपछि रुँदै हिंडेर हुन्छ ? जहाँसम्म गणतन्त्रलाई विदेशीसँग जोड्ने प्रयत्न गरिन्छ, फेरि तिनैले बेलायत, जापानको उदाहरण चाहिं किन दिनु पर्‍यो ? के ती चाहिं विदेश हैनन् ? स्वदेश हुन् ?

खासमा राजतन्त्र पनि मध्य तथा सामन्ती युगको एक विश्वव्यापी प्रणाली थियो, लोकतन्त्र पनि आधुनिक युगको एक विश्वव्यापी प्रणाली हो । यो लडाइँमा न कोही देशी छ न कोही विदेशी । यो मूल्यमान्यता बीचको विश्वव्यापी लडाइँ थियो । अन्धकारको युग र उद्बोधनको युग बीचको युगीन चेतनाको लडाइँ हो । यो यति सजिलो कुरा हुन्थ्यो त ज्ञानेन्द्र शाह आज भारतका जोगी-संन्यासीको पाउमा भेटी चढाउँदै, रुँदै, हारगुहार गर्दै, गिड्गिडाउँदै हिंड्ने थिएनन् । के ती जोगी संन्यासी चाहिं स्वदेशी हुन् ?

कसैले भन्न सक्ला, के गणतन्त्रमा चाहिं सबै नागरिक बराबर छन् ? सिद्धान्तमा बराबर भएर हुन्छ, व्यवहारमा बराबर छन् ? निर्वाचित प्रतिनिधिहरू नै नयाँ राजा जस्ता भएका छैनन् ? नेता-नेतृहरू नै नयाँ महाराजा, नयाँ महारानी जस्ता भएका छैनन् ? हजारौं राजाभन्दा एउटा राजा किन नमान्ने ? एउटै राजा मान्न सजिलो हो नि !

बिल्कुलै वाहियात्, गलत र खतरनाक तर्क यो हो । जनप्रतिनिधि आवधिक हुन्छन् । गलत गर्दा अर्को चुनावमा उसलाई हराउन सकिन्छ, कम्तीमा त्यसो गर्न सकिने सम्भावना बाँकी हुन्छ । पार्टीहरू क्षणिक हुन् । नयाँ पार्टीहरू जन्माउन सकिन्छ । नेताहरू जनताकै बीचबाट जन्मेर, विकास भएर आउने हुन्, कुनै दरबारको अँध्यारो खोपीबाट हैन ।

लोकतन्त्र एक प्रक्रिया हो, जहाँ राम्रो नराम्रो दुवै हुन सक्दछ । नराम्रोमाथि राम्रोको संघर्ष, विजय र शुद्धीकरण प्रक्रियाको निरन्तर अवसर हुन सक्दछ । यी चिज गणतान्त्रिक लोकतन्त्रमा मात्र हुन सक्दछन् ।

जनआन्दोलन २०६२/६३ पछि जन्मिएको पुस्ता १८ वर्षको भइसक्यो । गणतन्त्रपछि जन्मिएका नै २०८४ सालको आम निर्वाचनमा मतदाता हुनेछन् । यो देशको जिम्मेवारी अब उनीहरूकै हो । लोकतन्त्रको जिम्मेवारी पनि अब उनीहरूकै हो

कुनै एउटा मान्छे र परिवारभन्दा एक हजार ‘राजा’ हुनु राम्रो हो । अझ एक हजार भन्दा तीन करोड नागरिक सबै ‘राजा’ हुनु राम्रो हो । शक्ति निक्षेपणको सिद्धान्तले भन्छ- कुनै एउटा व्यक्ति, एक संस्था वा एक ठाउँमा केन्द्रित गरेर राख्नु भन्दा शक्तिलाई सर्वत्र छिरोल्नु राम्रो हुन्छ । किनकि शक्ति जति बढी केन्द्रीकृत हुन्छ, त्यति नै त्यो हानिकारक । त्यति नै भ्रष्ट र मानवताविरोधी हुन्छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज कम्तीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री भएकाहरू पनि पक्राउ पर्दैछन्, छानबिन र कारबाहीमा जाँदैछन् । यो पर्याप्त हैन । तर, के हिजो पदम ठकुराठी गोली काण्ड, मूर्ति चोरी गर्ने भूमिगत गिरोह र नमिता-सुनिता बलात्कार काण्डका दोषीहरूलाई यसरी नै पक्राउ गर्न सकियो ? स्वयं राजपरिवारका सदस्य संलग्न यस्ता काण्डहरूको छानबिन र कारबाही गर्ने कुनै विधि थियो ? स्वयं नारायणहिटी हत्याकाण्डका हत्यारा मानिएका दीपेन्द्र शाहलाई राजा घोषणा गरेबाट प्रष्ट हुन्छ कि त्यो प्रणाली कति फन्टुस र वाहियात थियो ।

यो मान्न कुनै गाह्रो छैन कि हाम्रो गणतन्त्र, हाम्रो लोकतन्त्र, हाम्रो संघवादमा अहिले पनि थुप्रै समस्या छन् । यसले उचित ‘डेलिभरी’ दिन सकेको छैन । भ्रष्ट नेताहरूको चंगुलमा, नालायकहरूको दलतन्त्रमा फसेको छ यो । जनताका अपेक्षा पूरा गर्न सकेको छैन ।

तर, यो त वर्तमान दल र नेताहरूको कमजोरी हो । मूलतः कांग्रेस-कम्युनिष्ट दल र तिनका नेताहरूको कमजोरी हो । कुनै अमूक दल र नेताको कमजोरी, गल्ती र अक्षमतासँग गणतन्त्रको महानतालाई तुलना गर्न मिल्दैन । यी एकअर्कामा तुलनीय र साटासाट हुनसक्ने विषय नै हैनन् ।

संसारका सबै मुलुकमा कुनै न कुनै प्रकारका समस्या छन् । समस्याको प्रकृति र मात्रा फरक होला तर समस्या छन् । अमेरिकामा पनि समस्या छन्, जो संसारकै शक्तिशाली मुलुक हो । युरोपमा पनि समस्या छन्, जो सर्वाधिक समृद्ध महादेश हो । तर, समस्या त समाधान गर्दै अघि बढ्ने हो । त्यसको मूल्यमा स्वतन्त्रता, समानता, बन्धुत्व र न्याय सिद्धान्तको हत्या गर्ने हैन । त्यस्तो मूर्खता कसैले गर्न सक्दैन । गर्न हुँदैन । कम्तीमा नेपाली जनताले अवश्य गर्ने छैनन् ।

गणतन्त्र एक महान् सपना थियो हाम्रा लागि, जुन सपना साकार हुन्छ, हुँदैन कुनै ग्यारेन्टी थिएन । यो सपना देख्नु आफैंमा यति ठूलो जोखिमको विषय थियो कि आज त्यो स्तरको राजनीतिक जोखिम कुनै छैन, कसैका लागि ।

आज हामी सामाजिक तथा राजनीतिक भूमिकामा तीव्र पुस्तान्तरणको संक्रमणकालमा छौं । राजनीतिक चेतना र सहभागितामा औपचारिक हिसाब-किताब १० वर्ष उमेर समूहबाट सुरु हुन्छ भनेर मान्ने हो भने २०५३ सालपछि जन्मिएकाले यो संघर्षको निर्ममता, कठोरता र ऐतिहासिकतालाई आफ्नै जीवनकालमा अनुभूति नगरेका हुन सक्दछन् ।

जनआन्दोलन २०६२/६३ पछि जन्मिएको पुस्ता १८ वर्षको भइसक्यो । गणतन्त्रपछि जन्मिएका नै २०८४ सालको आम निर्वाचनमा मतदाता हुनेछन् । यो देशको जिम्मेवारी अब उनीहरूकै हो । लोकतन्त्रको जिम्मेवारी पनि अब उनीहरूकै हो ।

लोकतन्त्र वा गणतन्त्रका लागि लडेको पुस्ताको संख्या अनुपात अब निरन्तर घट्दै जानेछ दिनप्रतिदिन । अब यसको महत्ता नयाँ पुस्ताले नै अनुुभूत गर्नुपर्दछ ।

आफ्नै जीवनकालमा साकार भएको यो सपनाको महानता र गौरवलाई हामी किमार्थ कम आँक्न सक्दैनौं । र, हाम्रो युवा र नयाँ पुस्ताले पनि आफ्नै पुर्खा र अभिभावकहरूको आँशु, पसिना र रगतको मूल्यलाई कम आँक्न हुँदैन । स्वतन्त्रता विनाको समृद्धिको आकांक्षा सुनको पिंजडामा थुनिएको सुगाको जस्तो हो, जो कहिल्यै र किमार्थ हाम्रो आदर्श बन्न सक्दैन ।

लेखकको बारेमा
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक डम्बर खतिवडाको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?