+
+
गणतन्त्र दिवस :

गोलीले रोक्न नसकेको त्यो जनविद्रोह

विकास रोकामगर विकास रोकामगर
२०८० जेठ १५ गते ८:३८

१५ जेठ, पोखरा । २४ चैत २०६२ मा राजतन्त्रविरुद्ध संयुक्त जनआन्दोलन घोषणा हुँदा नेतृत्व पंक्तिमै थिए, चित्र सापकोटा । बागलुङको सदरमुकामस्थित लालीगुँरास चोकबाट सुरु भएको विद्रोह मत्थर हुनुको साटो आन्दोलनकारीको संख्या बढ्दै गयो ।

जनआन्दोलन सुरु भएको तेस्रो दिन अर्थात् २६ चैतको बिहान पनि राजतन्त्रविरुद्ध निस्किएको नाराबाजीसहितको जुलुसले लालीगुँरास चोक भरियो । ‘प्रहरी रोक्न खोज्ने र आन्दोलनकारीले तोड्न खोज्ने प्रयास चलिरहेकै थियो । पछि प्रहरीले घेराबन्दी गरेर आक्रमण थाल्यो,’ सापकोटा सम्झन्छन्, ‘केराको बोक्रामा चिप्लिन पुगें ।’

त्यति नै बेला अश्रुग्याँस फाल्ने हतियार टाउकोमा प्रहार हुँदा उनी अचेत भए । ‘हतियार धेरै बजि्रएर टाउकोमा चोट लागेकाले अहिले पनि समस्या उस्तै छ,’ सापकोटा भन्छन्, ‘धेरै बोल्यो भने मुख सुख्ने, रिंगटा लाग्ने, निद्रा नलाग्ने हुन्छ ।’ त्यसबेला उनको टाउकोमा २६ टाँका लगाउनुपरेको थियो ।

ज्यानकै बाजी राखेर राजतन्त्रविरुद्धको त्यो आन्दोलनमा किन गएको ? उनको जवाफ छ, ‘सामन्तवादी राजतन्त्र अन्त्य गरी पूर्णलोकतन्त्र (गणतन्त्र) ल्याउन ।’

ज्यानको माया नगरी अरुजस्तै सापकोटा पनि सडकमा उत्रिएको त्यही जनआन्दोलनले राजतन्त्रको अन्त्य गर्ने आधार निर्माण गर्यो । ११ वैशाख २०६३ मा संसद पुनर्स्थापना भयो भने त्यसको दुई वर्षपछि १५ जेठ २०६५ मा मुलुकमा २४० वर्ष चलेको राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापना भयो ।

गणतन्त्र स्थापना भएको पनि १५ वर्ष पुगेको छ । तर यो १५ वर्षमा गणतन्त्र पनि अधुरो जस्तो लाग्न थालेको छ, सापकोटालाई । ‘मेरो अनुभूतिमा राणा फाल्ने आन्दोलन, पञ्चायत फाल्ने आन्दोलनदेखि लिएर राजतन्त्र अन्त्य गर्ने बेलासम्मका आन्दोलन, संघर्षहरु अधुरो भए भन्ने लाग्छ,’ उनी भन्छन्, ‘सबै आन्दोलन सम्झौतामा गएर टुंगियो । गणतन्त्रमै पनि संघीयता आयो, तर वैज्ञानिक संघीयता आएन ।’

बाग्लुङका चित्र सापकोटाकै जस्तो समस्या पोखराका ढाकाराम पौडेलले पनि खेपिरहेका छन् । शाही शासनविरुद्धको त्यही आन्दोलनमा होमिदा घाइते भएका पौडेल अहिले पनि श्वासप्रश्वासको समस्या खेपिरहेका छन् ।

धन्न ! उनी बाँचे । ‘महेन्द्रपुलमा भीमसेन दाहालको मृत्यु भएपछि पोखराको आन्दोलन झनै चर्किएको थियो,’ पौडेल सम्झन्छन्, ‘त्यसैको अर्को दिन म आफू पनि घाइते भएँ ।’

महेन्द्रपुलमा सेनाले चलाएको गोली लागेर ज्यान गुमाएका काभ्रेका दाहाल दोस्रो जनआन्दोलनकै पहिलो शहीद हुन् । ‘सेनाको गोलीले भीमसेन दाहाल शहीद हुनुभयो । भोलिपल्ट पृथ्वीचोकमा म घाइते भएँ’, पौडेल भन्छन् ।

तर त्यही आन्दोलनले व्यवस्था नै परिवर्तन गरेपछि पौडेल खुशीले रमाएका थिए । ‘नेपाली जनताले भोग्दै आएको अन्याय अत्याचार, चरम विकृतिबाट माथि उठ्न बहुदलीय व्यवस्था मात्रै पर्याप्त भएन, गणतन्त्र ल्याउनपर्छ भन्ने थियो’ पौडेल सम्झन्छन्, ‘जनताले चाहेको राज्य हुन्छ भनेरै आन्दोलनमा लागेका थियौं ।’

तर गणतन्त्र स्थापनाको १५ वर्षसम्म बित्दा भने पौडेल खुशी देखिन्नन् । ‘धेरै नेपाली जनताको बलिदानीपूर्ण आन्दोलनबाट गणतन्त्र आयो । तर, अहिलेकै जस्तो स्थितिका लागि त्यो आन्दोलन भएको थिएन,’ पौडेल भन्छन्, ‘हामीले चाहेको जनता नै राजा बनुन् भन्ने थियो । तर, यहाँ सीमित व्यक्तिको मात्रै हालीमुहाली भयो ।’ उनी हिजोआज पोखराको रामबजारमा किराना पसल चलाउँछन् ।

२०६२/०६३ सालको जनआन्दोलनमा ज्यानकै प्रवाह नगरी सक्रिय भएकी पोखराकी शान्ता बस्यालको अनुभव पनि चित्र सापकोटा र ढाकाराम पौडेल भन्दा धेरै भिन्न छैन । त्यो १९ दिने जनआन्दोलनमा घाइते भएकी उनी गणतन्त्रले जनअपेक्षा पूरा गर्न नसकिरहेको बताउँछिन् । ‘यो भनेको शासकहरुको अदूरदर्शिता हो । त्यतिबेला पनि हामी शासकहरुको गतिविधिविरुद्ध लागेका थियौं, अहिलेका नेतृत्वमा पनि त्यही अदूरदर्शिता देखियो’, उनी भन्छिन् ।

तर गणतन्त्र प्राप्तिको १५ वर्षमा राजनीतिक उपलब्धि संस्थागत गर्ने काम भने भएजस्तो लाग्छ, बस्याललाई । ‘हामीले संविधान पाएका छौं । त्यो संविधानलाई राम्रोसँग कार्यान्वयन गरेर थोरै समयमा राम्रो प्रगति गर्न सक्थ्यौं,’ बस्याल भन्छिन्, ‘तर यत्रो ठूलो उपलब्धिलाई सामान्य ढंगले लिने काम भए जस्तो लाग्छ ।’

जनआन्दोलनका घाइते पौडेल पनि नागरिकले गणतान्त्रिक प्रणालीमै गुनासो गर्ने अवस्था नेतृत्वमा नबदलिएको शैलीका कारणले भएको तर्क गर्छन् । ‘०६२/६३ को आन्दोलन एकदम उत्साहका साथ भएको थियो । १० वर्ष लगाएर संविधान बनायौं । सानैदेखि संविधानसभाको चुनाव गर भनेर नारा लगाउँथ्यौ, त्यो सपना पूरा भयो’ पौडेल भन्छन्, ‘तर, जुन उद्देश्यले गणतन्त्र ल्याएका थियौं । राजनीतिक नेतृत्वको शैली परिवर्तन नभएकाले प्रशस्त गुनासो छन् ।’

‘निराशाले विकल्पको खोजी हुन्छ, प्रणाली चल्दैन’

कपीलमणि दाहाल

हरेक राजनीतिक परिवर्तनहरु जनताको अपेक्षा, चाहनाअनुसार नै हुन्छन् । जो अघिल्लो राजनीतिक प्रणालीसँग असन्तुष्ट हुन्छ उसैले नयाँ परिवर्तन खोज्ने हो । गणतन्त्र पनि हिजो राजा रहने अवस्थामा भएको एउटा विद्रोह थियो । तर, राजतन्त्र भनेको राजा रहने कुरामात्रै होइन, त्योसँगै थुप्रै कुरा हुन्छन् ।

समग्रमा एउटा प्रणालीले काम नगरेपछि अर्को प्रणालीमा जाने कुरा नै राजनीतिक परिवर्तन हो । त्यही अनुसार नै गणतन्त्र आयो । हामीसँग जनताको परिवर्तनको चाहनालाई स्वीकारेर परिवर्तनसम्म भयो । तर, मागहरुको राजनीतिक सम्बोधन गर्नुपर्ने जुन कुरा हुन्छ, त्योप्रति गम्भीर रहेको देखिएन । यो त राजनीतिक दलहरुको गैरजिम्मेवारीपन हो ।

जुन कुराले गणतन्त्र आयो, त्यो कुरा नै एड्रेस गर्न सकेनौं । जनताका आवश्यकताहरु सम्बोधन गर्नुपर्ने हो, त्यो हुन सकेन । राजनीति जनतासम्म अझै पनि पुग्न सकेन, मुख्य समस्या नै यही भयो । राजनीति भनेको प्रधानमन्त्री को हुने ? राष्ट्रपति को हुने ? संसदहरु को हुने ? कसरी हुने ? भन्नेमात्रै बढी जोड दिइयो । तर, सबै जनताका लागि बनाइएका हुन्, उनीहरुको चाहना पूरा गर्न आएका हौं भन्ने ‘कमन अन्डरस्ट्यान्डिङ’ राजनीतिक दलहरुको भएन ।

गणतन्त्र आएको लामो समयसम्म प्रणालीले नै जनअपेक्षा पूरा गर्न नसकेपछि उनीहरुको निराशा हुनु स्वभाविक हो भन्छु । गणतन्त्र पनि पूरा वयष्क हुन लागिसक्यो । केही व्यवस्थाहरु त छन् । जनताको सबै आवश्यकता पूरा गर्न सकिँदैन, त्यो आफ्नो ठाउँमा छ । तर, जो घाइते भए, अपांग भए, परिवारका सदस्य गुमाए उनीहरुलाई पहिलो प्राथमिकतामा राख्नुपथ्र्यो ।

विकास निर्माण, कुलोकुलेसो अर्को ठाउँमा रहला ! राजनीतिक परिवर्तनसँग मान्छेको जुन भावना छ, त्यो भावनाको कदर त गर्नुपर्‍यो नि ! ‘मेरो बुवा जानुभो, मेरो आमा जानुभो, छोराछोरी गए । तर, आज के पायौं ? उनीहरुको सम्मान के छ ?’ भन्ने विश्वस्त बनाउन सकेन । यसले गर्दा असन्तुष्टि हुने कुरा अन्यथा लिनुहुँदैन । यी सारा कुरा राज्यले कसरी सम्बोधन गरेको छ भन्ने पहिलो प्राथमिकता हो ।

अहिले पनि जनआन्दोलनका क्रममा अंगभंग भएका, आफन्त गुमाएकाहरु असन्तुष्ट नै रहिरहनु भनेको राज्यले नै प्राथमिक काम नै सुरु गरेनछ भन्ने हो । यसका लागि सबै राजनीतिक दलहरु जवाफदेही हुनुपर्छ । जनतामा फेरि निराशा आयो भने प्रणाली चल्न सक्दैन, विकल्पको खोजी हुन्छ भन्ने कुरामा सचेत हुनुपर्छ । त्यो हुन नदिन राजनीतिक दल, नेतृत्व र सरोकारवाला सबै सजग हुनुपर्छ ।

०६२/६३ मा पोखरामा भएको जनआन्दोलनका थप दृश्यहरु । तस्वीर  : सुदर्शन रञ्जित/अनलाइनखबर

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?