१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका संस्थापक शुवर्ण शमसेर राणाको नामबाट निर्माण सुरु गरिएको क्रिकेट रंगशाला शिलान्यास भएको ८ वर्षपछि सरकारको प्राथमिकतामा परेको छ ।
सोमबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले बूढानीलकण्ठ नगरपालिका १३ गाम्चामा अवस्थित रंगशाला निर्माणाधीन क्रिकेट रंगशाला निर्माण प्रक्रिया अगाडि बढाउने बताएका छन् ।
सरकारले योसहित मोरङको बैजनाथपुरमा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, बैतडीको दशरथ चन्द क्रिकेट रंगशाला र कैलालीको फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया यो वर्ष अघि बढाउने भएको छ ।
क्रिकेट रंगशाला निर्माण गर्ने अभियानमा सरकारले अग्रसरता लिएकोमा शुवर्ण शमसेर स्मृति प्रतिष्ठानले खुसी व्यक्त गरेको छ । ‘यो हाम्रो लागि गौरवको कुरा हो । शुवर्ण शमसेरको नाममा सुरु गरेको आयोजनालाई सरकारले अपतन्व ग्रहण गरेको छ । यसको निर्माणले पक्कै पनि गति पाउनेछ,’ प्रतिष्ठानका अध्यक्ष ध्रुव खड्काले अनलाइनखबरसित भने ।
सुशील कोइरालाले गरेका थिए शिलान्यास
१७ फागुन, २०७१ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले सो रंगशालाको शिलान्यास गरेका हुन् । सोही वर्ष माघ १२ गतेको मन्त्रीपरिषद बैठकले वनको नाममा रहेको ९५ रोपनी जग्गा प्रतिष्ठानलाई भोगाधिकार दिने निर्णय गरेपछि निर्माणकार्य अघि बढेको हो ।
यो रंगशालालाई अहिलेसम्म संघीय सरकार र प्रदेश सरकारले खुद्रे आयोजनाका रुपमा सीमित बजेट दिँदै आएको थियो । त्यसैले ३८ करोड बजेट अनुमान गरी ३ वर्षसम्म सक्ने लक्ष्य राखिएको रंगशालाको काम ८ वर्ष वितिसक्दा पनि ठोष उपलब्धि भएको छैन । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयले आर्थिक वर्ष २०७१/०७२ मा ४० लाख रुपैयाँ बजेट विनियोजन गरेपछि रंगशाला निर्माणको काम थालनी भएको हो ।
‘सुरुमा यो स्थानमा रंगशाला बनाउने निर्णय हुँदा ठाउँ थाहा पाउनेहरुले विश्वासै गर्नसक्ने अवस्था थिएन । निकै भिरालो ठाउँ थियो । पूर्व र पश्चिमतर्फ उचाइमा ६० मिटरको फरक थियो,’ प्रतिष्ठानका अध्यक्ष खड्काले थपे, ‘अहिले मुख्य मैदान रहने ठाउँ सम्याएर तयार पारेका छौं ।’
यो रंगशाला निर्माणका लागि भनेर अहिलेसम्म ६ करोड ५० लाख रुपैयाँ खर्च भएको छ । सबै रकम संघीय र प्रदेश सरकारले पटक पटक गरी दिएको अध्यक्ष खड्का बताउँछन् । केहि रकम संसद कोषबाट पनि आएको छ । बूढानीलकण्ठ नगरपालिकाले भने अहिलेसम्म स्थानीय बजेटमा सो रंगशालालाई प्राथमिकता दिएको छैन ।
चालू आर्थिक वर्षमा संघीय सरकारबाट ४५ लाख र प्रदेश सरकारबाट ४५ लाख बजेट विनियोजन भएकोमा निर्माणको काम भइरहेको प्रतिष्ठानले जानकारी दिएको छ । ‘शेरवाल लगाएर मैदानको पश्चिम, दक्षिण र उत्तरतर्फको तयार भइसकेको छ । मुख्य मैदान सम्याएर तयार गरिसकिएको छ,’ प्रतिष्ठानका अध्यक्ष खड्काले भने ।
प्रतिष्ठानले शिलान्यासअघि ३० हजार दर्शक क्षमताको प्यारापिटसहित रंगशाला निर्माणको लक्ष्य राखेको थियो । त्यतिबेला भोगाधिकार प्रक्रिया सम्पन्न भइसकेको थिएन । जग्गाको सीमितताका कारण उत्तरतर्फ पक्की प्यारापिट नबन्ने भएपछि प्राकृतिक प्यारापिटमै छाड्ने निर्णय भएको छ ।
‘पश्चिमतर्फ छतसहितको र पूर्वतर्फ छत नभएको पक्की प्यारापिट बन्नेछ । उत्तरतर्फ वन क्षेत्र पर्ने भएकाले त्रिवि मैदानको जस्तै हुनेछ,’ खड्काले भने, ‘उत्तरतर्फ प्यारापिट नबन्ने भएपछि हामीले डीपीआर परिमार्जन गरी २० हजार दर्शक क्षमताको बनाएका छौं ।’
प्रधानमन्त्रीले शिलान्यास गरेपछि हरेक आर्थिक वर्षमा युवा तथा खेलकुद मन्त्रालयबाट सीमित मात्रामा बजेट आउने गरेको थियो । आर्थिक वर्ष २०७५/०७६ मा २० लाख रुपैयाँ बजेटसहित बहुवर्षीय योजनाका रुपमा रातो कितावमा पनि समेटिएको थियो । तर, अर्को वर्षदेखि त्यसले निरन्तरता पाएन । यसपल्ट स्थानीय ड्रागन युवा क्लबका अध्यक्ष रोहित श्रेष्ठको पहलमा यो योजना प्राथमिकतामा परेको प्रतिष्ठानका अध्यक्ष खड्का बताउँछन् ।
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4