+

अचानक किन बाउँडिन्छ खुट्टा ?

२०८० जेठ  १६ गते १७:०१ २०८० जेठ १६ गते १७:०१
अचानक किन बाउँडिन्छ खुट्टा ?

अचानक खुट्टा बाउँडिने अर्थात् पिडुँलाको मासु फर्किएको अनुभव धेरैले गरेका हुन्छन् । पिडुँलाको मासु फर्किएमा अत्यधिक पीडा हुन्छ । यसको कारण थाहा पाएमा छिट्टै उपचार पनि हुन्छ । तर धेरैलाई पिडुँलाको मासु किन फर्किन्छ भन्ने कारण थाहा नहुँदा थप जटिल बन्दै जान्छ ।

मांसपेशीमा रक्तचापको मात्रा बढ्दा, तापक्रममा असामान्य परिवर्तन वा विभिन्न रसायनको प्रतिक्रिया भएमा खुट्टा बाउँडिएर अनियन्त्रित खालको कडा दुखाइ हुन सक्छ  । यसलाई बोलीचालीको भाषामा खुट्टाको पिडुँलाको मासु फर्किनु पनि भन्ने गरिन्छ । बाउँडिंदा पिडुँलाको मासु खुम्चिन्छ र त्यहाँ मासुको डल्लो जम्मा हुन्छ ।

केही सेकेन्ड वा केही मिनेटसम्म एकैठाउँ डल्लो परेको मासु ठीक ठाउँमा आउन केही समय लग्छ । तर पटक-पटक यो समस्या भएमा चिकित्सकको परामर्श लिनैपर्ने हुन्छ । यो जुनसुकै उमेर समूहमा देखिन सक्छ ।

कारण

खुट्टाको मासु किन फर्किन्छ ? भन्नेको ठोस कारण अहिलेसम्म विज्ञहरुले पत्ता लगाउन सकेका छैनन् । तर खराब जीवनशैली र अस्वस्थकर खानपानलाई यसको कारक मानिएको छ ।

पानीको मात्रा कम हुँदा

शरीरमा पानीको कमीले गर्दा पनि मानिसहरुलाई मांसपेशी बाउँडिने गर्छ । शरीरमा पानी कम हुँदा शरीरमा पौष्टिक तत्वको कमी हुन्छ । शरीरमा तरल पदार्थ तथा मिनरल्सको कमीले गर्दा इलेक्ट्रोलाइटको मात्रा बिग्रिन्छ । यसले शरीरको मासुलाई पनि राम्रोसँग काम गर्न सहयोग पु¥याउँछ, साथै मासुलाई खुम्चिन र खुल्न सहयोग गर्छ । यदि शरीरमा पानीको मात्रा कम भएमा मासुको काम गर्ने क्षमतामा कमी हुन गई खुट्टा बाउँडिने गर्छ ।

पोटासियमको अभाव

पोटासियमले मुख्यतया मांसपेशीको कोषिका र स्नायु प्रणालीलाई नियन्त्रण गर्छ । पोटासियमले मांसपेशीको संकुचन, बिस्तार र स्नायुबाट मस्तिष्कमा संकेत पठाउने प्रक्रियामा पनि महत्त्वपूर्ण भूमिका खेल्छ । यस्तो अवस्थामा जब शरीरमा पोटासियमको कमी हुन्छ, खुट्टाको मांसपेशी बाउँडिन सक्छ । केही अध्ययनले  भिटामिन डीको कमीले पनि खुट्टा बाउँडिन सक्ने देखाएका छन् ।

हाइपो थाइराइड

थाइराइड हार्मोन कम हुँदा मेटाबोलिजम पनि कम हुन्छ । दैनिक काम गर्दा उच्च मेटाबोलिजमको आवश्यकता पूर्ति हुन नसकेर खुट्टाको मासु फर्किने गर्छ ।

लामो समयसम्म उभिंदा

एकै ठाउँमा एकै किसिमको आसनमा लामो समयसम्म उभिँदा वा असहज तरिकाले लामो समयसम्म बस्दा यस्तो समस्या देखिन सक्छ । त्यस्तै अग्ला हिल लगाउनाले पनि खुट्टामा दबाब पर्ने गर्छ ।

गर्भवती

गर्भवती महिलालाई पनि खुट्टा पल्टिने सम्भावना बढी हुन्छ । यस्तो समस्या गर्भवती भएको दोस्रो चौमासिकमा सुरू भई तेस्रो चौमासिकमा अन्त्य हुने गर्छ । गर्भवती अवस्थामा पाठेघरले नसा तथा रक्तनलीमा चाप दिन खुट्टा पल्टिने हुन्छ ।

यदि गर्भवती अवस्थामा पटक-पटक मासु बाउँडिन्छ भने चाहिं तुरून्त चिकित्सकको सल्लाह लिनुपर्छ ।

अनियन्त्रित मधुमेह

डाइबिटिज न्युरोप्याथीको समस्या भएकालाई पनि यो समस्या हुन सक्छ । रगतमा चिनीको मात्रा बढी हुँदा धेरै पिसाब लाग्ने हुँदा पानीको मात्रा कम हुन गई खुट्टा पल्टिने हुन सक्छ । र, खुट्टा पल्टेको महसुस गरेमा तुरून्त चिकित्सकको सल्लाह लिनुपर्छ ।

अत्यधिक मदिरा पिउनेहरुमा अल्कोहोलिक न्युरोप्याथीको समस्या हुन सक्छ, जसको प्रमुख लक्षणको रुपमा खुट्टा दुख्ने र पल्टिने देखिन्छ । त्यस्तै अत्यधिक मदिरा पिउनाले बढी पिसाब लाग्ने कारण व्यक्तिमा पानीको अभाव हुन गई खुट्टा पल्टिने समस्या हुन सक्छ ।

औषधि

पिसाब लगाउने औषधि, कोलेस्टेरोलको मात्रा कम गर्ने औषधि, एन्टिसाइकोटिक औषधि र स्टेरोयडलगायत औषधिले पनि मासु बाउँडिने र पल्टिने समस्या देखिने सम्भावना प्रबल रहन्छ । यदि यस्तो समस्या पटक-पटक देखिए चिकित्सकको परामर्श लिनुपर्छ ।

पहिचान तथा उपचार

कहिलेकाहीं मात्र यो समस्या देखिए मालिस गर्दा पनि ठीक हुन्छ । तर बारम्बार मासु फर्किएमा स्वास्थ्य परीक्षण गर्नुपर्छ । स्वास्थ्य परीक्षणका लागि थाइराइड, भिटामिन डी, क्याल्सियमको मात्रा थाहा पाउन रगत परीक्षण गराइन्छ । यो समस्याको कारण एक मात्र नभई धेरै हुने हुँदा यसको उपचार लक्षण पत्ता लगाएर सोही अनुसारको उपचार हो । जस्तै, पानीको अभावले हो भने पर्याप्त मात्रामा पानी पिउने, भिटामिनको कमी भए चिकित्सकले परीक्षणपछि सप्लिमेन्टको रुपमा भिटामिन दिन सक्छन् । यससँगै पौष्टिक आहारमा जोड दिन आवश्यक हुन्छ । कसैलाई यससम्बन्धी औषधि पनि चलाउनुपर्ने हुनसक्छ, जुन बिरामीको अवस्था हेरेर निक्र्योल गरिन्छ । अचानक मासु फर्किएको अवस्थामा जतापट्टि फर्किएको छ, त्यसको उल्टो पट्टि मालिस गर्नुपर्छ । त्यससँगै मांसपेशी तन्काउनुपर्छ । र, हल्कासँग मसाज गर्न सकिन्छ ।

रोकथामका उपाय

-पर्याप्त मात्रामा पानी पिउने तथा झोलिलो खानेकुरालाई प्राथमिकता दिने ।

-दैनिक मांसपेशी तन्किने खालका शारीरिक व्यायाम गर्ने ।

-लगातार लामो समयसम्म नउभिने र अप्ठ्यारो गरेर एकै आसनमा नबस्ने ।

-मासु फर्किएर दुखेको ठाउँमा तेल लगाएर मसाज गर्ने ।

-पोटासियम, क्याल्सियम र म्याग्नेसियम धेरै भएका खानेकुरा, फलफूल, गेडागुडी प्रशस्त मात्रामा खाने ।

(प्रा. डा. आरसी वरिष्ठ अर्थोपेडिसियन तथा जोर्नी प्रत्यारोपण सर्जन हुन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

खुट्टा बाउँडिने समस्या
लेखक
प्रा. डा. दीर्घराज आरसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय