+

अचानक किन बाउँडिन्छ खुट्टा ?

२०८० जेठ  १६ गते १७:०१ २०८० जेठ १६ गते १७:०१
अचानक किन बाउँडिन्छ खुट्टा ?

अचानक खुट्टा बाउँडिने अर्थात् पिडुँलाको मासु फर्किएको अनुभव धेरैले गरेका हुन्छन् । पिडुँलाको मासु फर्किएमा अत्यधिक पीडा हुन्छ । यसको कारण थाहा पाएमा छिट्टै उपचार पनि हुन्छ । तर धेरैलाई पिडुँलाको मासु किन फर्किन्छ भन्ने कारण थाहा नहुँदा थप जटिल बन्दै जान्छ ।

मांसपेशीमा रक्तचापको मात्रा बढ्दा, तापक्रममा असामान्य परिवर्तन वा विभिन्न रसायनको प्रतिक्रिया भएमा खुट्टा बाउँडिएर अनियन्त्रित खालको कडा दुखाइ हुन सक्छ  । यसलाई बोलीचालीको भाषामा खुट्टाको पिडुँलाको मासु फर्किनु पनि भन्ने गरिन्छ । बाउँडिंदा पिडुँलाको मासु खुम्चिन्छ र त्यहाँ मासुको डल्लो जम्मा हुन्छ ।

केही सेकेन्ड वा केही मिनेटसम्म एकैठाउँ डल्लो परेको मासु ठीक ठाउँमा आउन केही समय लग्छ । तर पटक-पटक यो समस्या भएमा चिकित्सकको परामर्श लिनैपर्ने हुन्छ । यो जुनसुकै उमेर समूहमा देखिन सक्छ ।

कारण

खुट्टाको मासु किन फर्किन्छ ? भन्नेको ठोस कारण अहिलेसम्म विज्ञहरुले पत्ता लगाउन सकेका छैनन् । तर खराब जीवनशैली र अस्वस्थकर खानपानलाई यसको कारक मानिएको छ ।

पानीको मात्रा कम हुँदा

शरीरमा पानीको कमीले गर्दा पनि मानिसहरुलाई मांसपेशी बाउँडिने गर्छ । शरीरमा पानी कम हुँदा शरीरमा पौष्टिक तत्वको कमी हुन्छ । शरीरमा तरल पदार्थ तथा मिनरल्सको कमीले गर्दा इलेक्ट्रोलाइटको मात्रा बिग्रिन्छ । यसले शरीरको मासुलाई पनि राम्रोसँग काम गर्न सहयोग पु¥याउँछ, साथै मासुलाई खुम्चिन र खुल्न सहयोग गर्छ । यदि शरीरमा पानीको मात्रा कम भएमा मासुको काम गर्ने क्षमतामा कमी हुन गई खुट्टा बाउँडिने गर्छ ।

पोटासियमको अभाव

पोटासियमले मुख्यतया मांसपेशीको कोषिका र स्नायु प्रणालीलाई नियन्त्रण गर्छ । पोटासियमले मांसपेशीको संकुचन, बिस्तार र स्नायुबाट मस्तिष्कमा संकेत पठाउने प्रक्रियामा पनि महत्त्वपूर्ण भूमिका खेल्छ । यस्तो अवस्थामा जब शरीरमा पोटासियमको कमी हुन्छ, खुट्टाको मांसपेशी बाउँडिन सक्छ । केही अध्ययनले  भिटामिन डीको कमीले पनि खुट्टा बाउँडिन सक्ने देखाएका छन् ।

हाइपो थाइराइड

थाइराइड हार्मोन कम हुँदा मेटाबोलिजम पनि कम हुन्छ । दैनिक काम गर्दा उच्च मेटाबोलिजमको आवश्यकता पूर्ति हुन नसकेर खुट्टाको मासु फर्किने गर्छ ।

लामो समयसम्म उभिंदा

एकै ठाउँमा एकै किसिमको आसनमा लामो समयसम्म उभिँदा वा असहज तरिकाले लामो समयसम्म बस्दा यस्तो समस्या देखिन सक्छ । त्यस्तै अग्ला हिल लगाउनाले पनि खुट्टामा दबाब पर्ने गर्छ ।

गर्भवती

गर्भवती महिलालाई पनि खुट्टा पल्टिने सम्भावना बढी हुन्छ । यस्तो समस्या गर्भवती भएको दोस्रो चौमासिकमा सुरू भई तेस्रो चौमासिकमा अन्त्य हुने गर्छ । गर्भवती अवस्थामा पाठेघरले नसा तथा रक्तनलीमा चाप दिन खुट्टा पल्टिने हुन्छ ।

यदि गर्भवती अवस्थामा पटक-पटक मासु बाउँडिन्छ भने चाहिं तुरून्त चिकित्सकको सल्लाह लिनुपर्छ ।

अनियन्त्रित मधुमेह

डाइबिटिज न्युरोप्याथीको समस्या भएकालाई पनि यो समस्या हुन सक्छ । रगतमा चिनीको मात्रा बढी हुँदा धेरै पिसाब लाग्ने हुँदा पानीको मात्रा कम हुन गई खुट्टा पल्टिने हुन सक्छ । र, खुट्टा पल्टेको महसुस गरेमा तुरून्त चिकित्सकको सल्लाह लिनुपर्छ ।

अत्यधिक मदिरा पिउनेहरुमा अल्कोहोलिक न्युरोप्याथीको समस्या हुन सक्छ, जसको प्रमुख लक्षणको रुपमा खुट्टा दुख्ने र पल्टिने देखिन्छ । त्यस्तै अत्यधिक मदिरा पिउनाले बढी पिसाब लाग्ने कारण व्यक्तिमा पानीको अभाव हुन गई खुट्टा पल्टिने समस्या हुन सक्छ ।

औषधि

पिसाब लगाउने औषधि, कोलेस्टेरोलको मात्रा कम गर्ने औषधि, एन्टिसाइकोटिक औषधि र स्टेरोयडलगायत औषधिले पनि मासु बाउँडिने र पल्टिने समस्या देखिने सम्भावना प्रबल रहन्छ । यदि यस्तो समस्या पटक-पटक देखिए चिकित्सकको परामर्श लिनुपर्छ ।

पहिचान तथा उपचार

कहिलेकाहीं मात्र यो समस्या देखिए मालिस गर्दा पनि ठीक हुन्छ । तर बारम्बार मासु फर्किएमा स्वास्थ्य परीक्षण गर्नुपर्छ । स्वास्थ्य परीक्षणका लागि थाइराइड, भिटामिन डी, क्याल्सियमको मात्रा थाहा पाउन रगत परीक्षण गराइन्छ । यो समस्याको कारण एक मात्र नभई धेरै हुने हुँदा यसको उपचार लक्षण पत्ता लगाएर सोही अनुसारको उपचार हो । जस्तै, पानीको अभावले हो भने पर्याप्त मात्रामा पानी पिउने, भिटामिनको कमी भए चिकित्सकले परीक्षणपछि सप्लिमेन्टको रुपमा भिटामिन दिन सक्छन् । यससँगै पौष्टिक आहारमा जोड दिन आवश्यक हुन्छ । कसैलाई यससम्बन्धी औषधि पनि चलाउनुपर्ने हुनसक्छ, जुन बिरामीको अवस्था हेरेर निक्र्योल गरिन्छ । अचानक मासु फर्किएको अवस्थामा जतापट्टि फर्किएको छ, त्यसको उल्टो पट्टि मालिस गर्नुपर्छ । त्यससँगै मांसपेशी तन्काउनुपर्छ । र, हल्कासँग मसाज गर्न सकिन्छ ।

रोकथामका उपाय

-पर्याप्त मात्रामा पानी पिउने तथा झोलिलो खानेकुरालाई प्राथमिकता दिने ।

-दैनिक मांसपेशी तन्किने खालका शारीरिक व्यायाम गर्ने ।

-लगातार लामो समयसम्म नउभिने र अप्ठ्यारो गरेर एकै आसनमा नबस्ने ।

-मासु फर्किएर दुखेको ठाउँमा तेल लगाएर मसाज गर्ने ।

-पोटासियम, क्याल्सियम र म्याग्नेसियम धेरै भएका खानेकुरा, फलफूल, गेडागुडी प्रशस्त मात्रामा खाने ।

(प्रा. डा. आरसी वरिष्ठ अर्थोपेडिसियन तथा जोर्नी प्रत्यारोपण सर्जन हुन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

खुट्टा बाउँडिने समस्या
लेखक
प्रा. डा. दीर्घराज आरसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

राजनीतिक दलका घोषणा पत्रमा समेटिनै पर्ने जनस्वास्थ्यका १२ विषय

राजनीतिक दलका घोषणा पत्रमा समेटिनै पर्ने जनस्वास्थ्यका १२ विषय

अनुहारमा आएका साना कोठी हटाउन सकिन्छ ?

अनुहारमा आएका साना कोठी हटाउन सकिन्छ ?

बालबालिकालाई लगाइने खोपबारे भ्रम र तथ्यहरू

बालबालिकालाई लगाइने खोपबारे भ्रम र तथ्यहरू

स्वास्थ्य बीमा सेवा खुम्चियो, ओपीडी २५ हजारसम्मको मात्रै

स्वास्थ्य बीमा सेवा खुम्चियो, ओपीडी २५ हजारसम्मको मात्रै

हिँड्ने कि दौडने : पेटको बोसो घटाउन कुन उपाय राम्रो ?

हिँड्ने कि दौडने : पेटको बोसो घटाउन कुन उपाय राम्रो ?

ग्यासमा सेकाएर पकाइने रोटीले स्वास्थ्यलाई कुनै हानि पुर्‍याउँछ ?

ग्यासमा सेकाएर पकाइने रोटीले स्वास्थ्यलाई कुनै हानि पुर्‍याउँछ ?