+
+

नेपालबाट बंगलादेशमा बिजुली निर्यात गर्न दिन भारत सहमत

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १८ गते १६:३३

१८ जेठ, काठमाडौं । नेपालबाट बंगलादेशमा बिजुली निर्यात गर्न दिन भारत सहमत भएको छ । भारत भ्रमणका क्रममा हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ५० मेगावाटसम्म बिजुली भारत हुँदै बंगलादेश निर्यात गर्न दिन भारत सहमत भएको बताए । उनले नेपालको बिजुली बंगलादेशमा निर्यात गर्नेबारे बाँकी विषयहरु टुंगो लगाएर संयुक्त रुपमा छिट्टै त्रिदेशीय सम्झौता हुने बताए ।

प्रधानमन्त्रीसँगै भारत भ्रमणमा रहेका एक अधिकारीका अनुसार भारतको प्रसारणलाइन प्रयोग गरेर बंगलादेशमा नेपालको बिजुली जान दिन भारतले आफू सकारात्मक रहेको जवाफ दिएको छ । यसअनुसार छिट्टै त्रिपक्षीय सम्झौता हुनसक्ने उनले बताए ।

नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न बंगलादेश सहमत भइसकेको छ । गत २ जेठमा बंगलादेशमा बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा भारतीय प्रसारणलाइन प्रयोग गरेर नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न बंगलादेश सहमत भएको थियो ।

विद्युत बंगलादेशमा निर्यात गर्नका लागि नेपाल विद्युत प्राधिकरण, एनटीपीसी विद्युत व्यापार निगम, भारत र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच विद्युत बिक्री सम्झौतामा  हस्ताक्षर हुनुपर्छ ।

एनटीपीसी भारत सरकारले नेपाल, बंगलादेश लगायतका देशहरुसँग विद्युत व्यापारका लागि तोकेको नोडल एजेन्सी हो । हाल नेपाल–भारतबीच विद्युत आयात–निर्यातको कारोबार सबै एनटीपीसी मार्फत् नै हुँदै आएको छ ।

२०७७ को साउन पहिलो साता नेपाल सरकारले आन्तरिक रूपमा उत्पादित बिजुली खपत हुन नसक्ने भएमा छिमेकी मुलुक भारत र बंगलादेशमा बिक्री गर्न सक्ने गरी नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको थियो ।

वर्षायाममा बढी भएको बिजुली नेपालले भारत निर्यात गर्दै आएको छ । अब बंगलादेश पनि निर्यात गर्ने तयारी छ । त्यसका लागि भारतीय बाटो प्रयोग गर्नुपर्ने छ । त्यसैले यसमा भारतीय पक्षको पनि स्वीकृति अनिवार्य छ ।

भारतबाट सहमतिको वातावरण तयार गर्न नेपालले बंगलादेश र भारतसँग त्रिदेशीय छलफल अघि बढाउन चाहेको छ । २८ असोज २०७६ मा दिल्लीमा भएको नेपाल–भारत ऊर्जा सचिवस्तरीय ज्वाइन्ट स्टेयरिङ कमिटीको सातौं बैठकले ‘नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता आवश्यक भएको, यसबारे छलफल गर्न भारतीय विदेश मन्त्रालयले तीन महिनाभित्र छुट्टै बैठक आयोजना गर्ने’ सहमति भएको थियो । तर भारतले अहिलेसम्म यस्तो बैठक आह्वान गरेको छैन ।

गत जेठमा आयोजित नेपाल–बंगलादेश ऊर्जासचिवस्तरीय बैठकमा भारतको प्रसारण लाइन प्रयोगका लागि भारतलाई मनाउन त्रिपक्षीय बैठक बोलाउने निर्णयसमेत भएको थियो ।

२०७५ कै साउन महिनामा नेपाल र बंगलादेशबीच विद्युत् विकास तथा आदानप्रदान र प्राविधिक सहयोगमा सहकार्य गर्ने गरी ‘इनर्जी को–अपरेसन’ सम्बन्धी समझदारी (एमओयू) भएको थियो । एमओयूपछि तत्कालीन ऊर्जामन्त्री वर्षमान पुन बंगलादेश गएका थिए । त्यसयता बिजुली निर्यातको तयारीका लागि बंगलादेशका अधिकारीहरुको टोलीले पनि थुप्रै पटक नेपालको भ्रमण गरिसकेको छ ।

तर, अहिलेसम्म भारतीय पक्षबाट सहमति नआएकाले बंगलादेशमा बिजुली निर्यात गर्न बाटो खुलेको छैन । बंगलादेशमा लिखु–४ जलविद्युत आयोजनाको बिजुली बेच्ने नेपालको प्रस्ताव छ । उक्त प्रस्ताव भारत सरकारले स्वीकृत गरेर आफ्नो प्रसारणलाइन प्रयोगको अनुमति दिएपछि बंगलादेशसँग आगामी वर्षायामअगावै विद्युत व्यापार गर्ने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?