+

कसरी गरिन्छ ब्रेन ट्युमरको उपचार ?

२०८० जेठ  २३ गते ९:३० २०८० जेठ २३ गते ९:३०
कसरी गरिन्छ ब्रेन ट्युमरको उपचार ?

कहिलेकाहीं टाउको दुख्नु सामान्य हो । बारम्बार टाउको दुखिरहेमा भने ब्रेन ट्युमरको लक्षण पनि हुन सक्छ । मस्तिष्कमा अनावश्यक मासु पलाउने रोग ब्रेन ट्युमर हो । टाउको दुख्नेजस्ता लक्षणलाई सामान्य मानेर समयमा उपचार नगराउँदा लाखौंले ज्यान समेत गुमाउन बाध्य भइरहेका छन् ।

यो गम्भीर रोगप्रति जागरुक गर्ने उद्देश्यले विश्वभर ८ जुनमा विश्व ब्रेन ट्युमर दिवस मनाइने गरिएको छ ।

ब्रेन ट्युमर कस्तो रोग ?

मस्तिष्कमा अनावश्यक मासुको डल्लो पलाउनुलाई ब्रेन ट्युमर भनिन्छ । यो मस्तिष्कमा लाग्ने रोग भएकाले पनि यसलाई आवश्यकताभन्दा भयावह रोगका रुपमा लिइएको हो । दिमाग आफैंमा अति संवेदनशील छ । दिमागमा सानोभन्दा सानो १० एमएल जति मात्रै पनि मासु पलाएमा शरीरको अवस्था नै परिवर्तन गर्न सक्छ । जसकारण शरीरको अन्य भागमा पलाएको ट्युमरभन्दा मस्तिष्कमा पलाएको ट्युमर अति संवेदनशील मानिन्छ ।

तर ट्युमर हुने बित्तिकै नराम्रो असर गर्छ भन्ने हुँदैन । ट्युमर धेरै प्रकारका हुन्छन । दिमागको कुन भागमा ट्युमर पलाएको हो, त्यसले कतिसम्म असर पार्न सक्छ भन्ने कुरा निक्र्योल गरिन्छ । समयमा उपचार पाएका ९० प्रतिशत बिरामी सामान्य जीवनमा फर्किन सक्छन् ।

कारण

ब्रेन ट्युमर हुनुको मुख्य कारण आनुवंशिक दोष हो । जीनमा जन्मजात नै कुनै किसिमको खराबी देखिएमा टाउकोमा अस्वभाविक रुपमा कोष वृद्धि हुँदै ट्युमरमा परिणत हुन्छ । पारिवारिक पृष्ठभूमिमा पहिला बाबुआमा वा तीन पुस्तामा ट्युमर भएमा पनि यो समस्या सन्तानमा देखिन सक्छ । पछिल्ला अध्ययनले भने केही मात्रामा रेडियसन एक्सपोजरमा काम गर्ने व्यक्तिमा पनि ब्रेन ट्युमर हुने सम्भावना देखाएको छ । त्यति मात्र नभई बाल्यकालमा कुनै किसिमको ट्युमरको उपचारको क्रममा सेकाउने गरेकोमा त्यसबाट निस्किने विकिरणले पछि गएर ट्युमर देखिन सक्छ ।

त्यसबाहेक कुनै दुर्घटनामा परी टाउकोमा चोटपटक लागेर निको भएपछि पनि केही वर्षमा ट्युमर पलाउने सम्भावना हुन्छ । ब्रेन ट्युमर जुनसुकै उमेरमा पनि देखिन सक्छ । गर्भमा रहेको शिशुदेखि वृद्ध उमेरको व्यक्तिसम्मलाई यो देखिन सक्छ ।

ब्रेन ट्युमरका प्रकार

ब्रेन ट्युमर विभिन्न प्रकारका हुन्छन् । मस्तिष्कबाट सुरु हुनेलाई प्राइमरी ब्रेन ट्युमर वा हाइग्रेड ट्युमर भनिन्छ । हाइग्रेड ट्युमर वंशाणुगत कारणले देखिन सक्छ । जुन बाल्यावस्थादेखि नै देखिन्छ ।

यदि यो शरीरको अर्को भागबाट सुरु भएर मस्तिष्कमा पुग्छ भने त्यसलाई सेकेण्डरी वा मेटास्टेटिक ब्रेन ट्युमर भनिन्छ । ट्युमर दिमागको झिल्ली, क्रेनियल नसा वा पिट्युटरी ग्रन्थि जहाँ पनि आउन सक्छ ।

लक्षण

दिमागको स–साना भागमा आउने ट्युमरले त्यसले गर्ने कार्यमा अवरोध गराउन सक्छ । सोही अनुसारको लक्षण शरीरले देखाउँछ । ट्युमर भएमा सामान्य र जटिल खालका लक्षण देखिन्छन् ।

लगातार टाउको दुख्नु, खानामा अरुचि, बान्ता हुने, रिंगटा लाग्ने, हिंड्दा सन्तुलन बिग्रिनु, सुन्नमा कठिनाइ, कोषिकाहरु प्रभावित भई कमजोरी महसुस हुनु सामान्य र सुरुवाती लक्षण हुन् ।

जटिल लक्षण

ट्युमर मस्तिष्कको जुनसुकै भागमा हुन सक्छ । ट्युमर भएको भागको कार्यमा नै अवरोध हुन सक्छ । जस्तै, दिमागको अगाडिको भाग (फ्रन्टल लोप)मा ट्युमर भएमा आफूले के बोलिरहेको छु भन्नेसमेत थाहा नपाउने समस्या हुन्छ । उसको दिमागले बौद्धिक रुपमा काम गर्न सक्दैन  । आफ्नो व्यवहारलाई नियन्त्रण गर्न सक्दैन र उसमा चिडचिडापन तथा उदासी आउने गर्छ ।

त्यस्तै, टेम्परल लोब भएकामा छारेरोगको लक्षण देखिन्छ । ट्यापोरल लोबमा प्रवेश गर्छन्, तब व्यक्तिलाई बोल्नमा समस्या हुन्छ । यही कारण व्यक्तिको आवाज हराउनुका साथै उनीहरुको मुख समेत बांगिने गर्छ ।

पाराइटल लोबमा ट्युमर छ भने अर्कोपट्टि भागको शरीर पारालाइसिस हुन्छ । यस्तोमा शरीरका आधा भागको अंग निस्कृय हुन थालेको महसुस हुन्छ । यो प्यारालाइसिस हुनुपूर्वको अवस्था हो ।

त्यस्तै, अक्सिपटल लोप भएमा आँखामा समस्या देखिन्छ । दिमागको तल्लो भागमा ट्युमर भएमा व्यक्ति हिंड्न सक्दैन । व्यक्तिको चाल सन्तुलनमा हुँदैन । समग्रमा देखिने लक्षण निम्न प्रकारका छन् । पिट्युटरी ग्रन्थिमा ट्युमर भएमा व्यक्ति बामपुड्के हुने सम्भावना हुन्छ । यस्तै महिलामा सन्तान नहुने र महिनावारी नियमित नहुने समस्या देखिन सक्छ ।

पहिचान तथा उपचार

ट्युमरको लक्षणअनुसारको परीक्षण गरिन्छ । ट्युमर छ कि छैन यसको पुष्टि एमआरआई, सीटीस्क्यान र एक्सरेबाट पत्ता लगाइन्छ । ट्युमर दोस्रो चरणसम्म पुगेका व्यक्ति उपचारपछि निको हुन थाल्छन् । तर तेस्रो र चौथो चरणमा पुगिसकेमा केही समयसम्म मात्र बचाउन सकिन्छ ।

यसको उपचार कुन ठाउँमा कस्तो आकारको छ त्यसअनुसारको हुन्छ । सुरुको अवस्था छ र दिमागको जटिल ठाउँमा भए केही समय पर्खिएर हेरिन्छ । कुनै ट्युमर ६ महिनामा नै ह्वात्तै बढ्ने र केही ट्युमर ढिला वृद्धि हुने पनि हुन्छन् । त्यसको अवस्था र आकार हेरेर सुरुको अवस्थामा भए शल्यक्रियामार्फत निकाल्न सकिन्छ । केही ट्युमर भने शल्यक्रिया नगरी पनि उपचार सम्भव हुन्छ । त्यसबाहेक चरणमा किमोथेरापी, रेडिएसन थेरापीबाट उपचार गर्न सकिन्छ ।

स्वस्थ वातावरणमा बस्ने, विभिन्न प्रकारका रेडियसन, विकिरणबाट जोगिने, मद्यपान, धुम्रपान नगर्नाले केही हदसम्म ब्रेन ट्युमरजस्ता रोगबाट बच्न सकिन्छ । यी कुनै पनि लक्षण देखिएमा वा शंका लागेमा तुरुन्त नसारोग विशेषज्ञकहाँ परीक्षण गराउनुपर्छ ।

उपचारपछि सामान्य जीवन सम्भव

ब्रेन ट्युमर समयमै पत्ता लागेमा ९० प्रतिशत ठीक हुने सम्भावना हुन्छ । समयमै उपचार पाएका व्यक्तिले पुनः सामान्य जीवन बिताउन सक्छन् । तर नेपालीमा कुनै किसिमको रोग लागेमा सहने बानी छ । अवस्था जटिल बनिसकेपछि मात्र अस्पताल पुग्दा ढिलो पत्ता लाग्छ र अन्तिम चरणमा ज्यान जोगाउन मुश्किल हुन सक्छ ।

(प्रा. डा. झा वरिष्ठ न्युरो सर्जन हुन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

प्रा.डा. राजीव झा ब्रेन ट्युमर
प्रा. डा. राजीव झा
लेखक
प्रा. डा. राजीव झा
स्नायु, नसा तथा मेरुदण्डरोग विशेषज्ञ

प्रा. डा. झा वीर अस्पतालको स्नायुरोग विभाग प्रमुख र नर्भिक इन्टरनेसनल अस्पतालको न्युरोसर्जरी विभाग प्रमुख हुन् । उनले एमडी, एमएस, एमसीएच र एफआरसीएस गरेका छन् । उनी युरोपियन एसोसिएसन अफ न्युरोसर्जिकल सोसाइटीका सदस्य समेत हुन् । प्रा. डा. झाको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ३१७७ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय