२५ जेठ, काठमाडौं । १६औं कृष्णमोहन स्मृति राष्ट्रिय खुला ब्याडमिन्टनको उपाधि पुरुषतर्फ एपीएफ क्लबका प्रिन्स दाहाल र महिलातर्फ त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले जितेका छन् । प्रिन्सले पुरुष युगल र मिश्रित युगल विधामा पनि उपाधि जितेका छन् ।
हलचोकस्थित नेपाल एपीएफ क्लबको कभर्डहलमा बिहीबार सम्पन्न पुरुष एकलतर्फको फाइनलमा प्रिन्सले त्रिभुवन आर्मीका रुकेश महर्जनलाई २१–११ र २१–११ को सहज सेटमा जित निकाले । महिला एकलतर्फ उपाधि जित्ने क्रममा आर्मीकी रशिलाले एपीएफकी जेशिका गुरुङलाई २१–१९, १५–२१ र २१–१७ को प्रतिस्पर्धात्मक सेटमा पराजित गरिन् ।
पुरुष युगल (मेन्स डवल्स)तर्फ एपीएफका प्रिन्स दाहाल र विजीत थापा मगरले नेपाल पुलिस क्लबका जीवन आचार्य र बिष्णु कटुवाललाई २१–१८, २१–१३ ले पराजित गरी उपाधि जिते । महिला युगल (वुमेन्स डवल्स)को फाइनलमा त्रिभुवन आर्मी क्लबका रशीला महर्जन र अनुमाया राईले नेपाल एपीएफ क्लबका जेशीका गुरुङ्ग र सुनैना मुखियालाई २१–१६, २१–१२ ले पराजित गरे ।
मिश्रित युगल (मिक्स्ड डवल्स)को फाइनलमा एपीएफका प्रिन्स र जेशिकाको जोडीले आफ्नै क्लबका विजित थापा मगर र शोभा गौचनलाई २३–२१, २२–२० ले पराजित गरे ।
यू–१९ ब्वाइजतर्फको उपाधि एपीएफका क्षितिज खनालले जिते । उनले फाइनलमा आफ्नै क्लबका रोशन साउदलाई १३–२१, २१–१७, २१–१८ ले पराजित गरेका हुन् । यू–१२ ब्वाइजतर्फ आर्मीका रिजन मगरले आफ्नै क्लबका सुदेश राजकोटीलाई २४–२२, २१–१८ ले हराएर उपाधि जिते ।
५५ बर्षमाथिका भेट्रान्सतर्फ चितवनका बुद्धि चौधरी र धादिङका बिष्णुलाल श्रेष्ठले बैतडीका पूर्ण चन्द्र जोशी र किर्तिपुरका राजु महर्जनलाई २३–२१, २२–२० ले पराजित गरी उपाधि जितेका छन् भने ४५ बर्षमाथिका भेट्रान्सतर्फका खेलमा नेपाल एपीएफ क्लबका सञ्जय कपाली र अनिल थाम्सुङले कास्कीका विशाल हिराचन र शम्भु कुमार श्रेष्ठलाई २१–१३, २२–२० ले पराजित गरी उपाधि जितेका छन् ।
प्रतिक्रिया 4