+

चर्को गर्मीबाट बालबालिका र नवजात शिशुलाई कसरी जोगाउने ?

२०८० जेठ  २६ गते १७:२९ २०८० जेठ २६ गते १७:२९
चर्को गर्मीबाट बालबालिका र नवजात शिशुलाई कसरी जोगाउने ?

तराईका जिल्लामा अहिले ४० डिग्री सेन्टिग्रेडको हाराहारीमा तापक्रम छ । बढ्दो गर्मीले जनजीवन नै निकै प्रभावित बनाएको छ । अझ बालबालिका तथा नवजात शिशुलाई त गर्मीले झनै असर पारिरहेको छ ।

बढ्दो गर्मीले तराईका जिल्लामा धमाधम विद्यालयहरुमा बिदा दिइरहेको अवस्था छ । बालबालिकाहरु एकै ठाँउमा राख्दा गर्मीले झनै समस्या पार्ने, संक्रमण फैलिने डर त छँदैछ, अर्कोतिर कतिपय विद्यालयका भौतिक संरचनासमेत विद्यार्थीमैत्री नहुँदा झन् ठूलो स्वास्थ्य समस्या ल्याउन सक्ने खतरा छ ।

बालबालिकाहरु शिक्षकहरुसँग सहज ढंगले आफ्ना कुरा अभिव्यक्त गर्न नसक्ने हुन्छन् । कतिपय बालबालिकालाई आफ्नो ज्यानले के मागिरहेको छ भन्ने पनि थाहा हुँदैन । थाहा पाए पनि भन्न सक्दैनन् । अझ साना बालबालिका त थाहा पाएर पनि शीतल ठाउँमा जान सक्दैनन् । अत्यधिक तापक्रम र तातो हावाले छालाको समस्या, आँखाको समस्या, खानेपानीबाट हुने समस्या निम्तिन सक्छन् । तापक्रम बढ्दा तातो हावाका कारण सुख्खापन बढ्छ ।

शरीरको पानी पसिनाबाट जाँदा आलस्य हुने, हिंड्न मन नलाग्ने, निद्रा बढी लाग्ने समस्या गर्मीको समयमा देखिन्छ । यसैगरी बान्ता हुने, बोलेको थाहा नहुने, काम्ने, बर्बराउने, बेहोस हुनेसम्मका समस्या बालबालिकामा गर्मीका कारण हुने गर्छ । शरीरको तापक्रम ४० डिग्री सेन्टिग्रेड वा १०४ फरेनहाइटभन्दा बढी भएमा बालबालिकामा बर्बराउने, काम्ने समस्या देखिन्छ । उनीहरु रोएको देखिए विशेष ख्याल गर्नुपर्छ । बन्दकोठामा गुम्सिएर पनि यस्तो समस्या आउँछ ।

गर्मीमा छालाको समस्या, सन वर्न, सुख्खा हुने, लुगा कम लगाउँदा वा जता पनि जाँदा बालबालिकालाई कीरा फट्यांग्राले टोक्ने, एलर्जी हुनेजस्ता समस्या हुन सक्छन् । यसतर्फ पनि विषेश ध्यान दिनुपर्छ । स्वीमिङ गर्न लैजाँदा छालाको एलर्जी हुने, कन्जेन्टिभाइटिस हुने, कानको समस्या आउँछ । खोलामा पौडी खेल्न लैजाँदा डुबेर ज्यानसमेत जाने खतरा हुने भएकाले यसतर्फ अभिभावकहरु सचेत हुनुपर्छ ।

बालबालिकालाई प्रशस्त पानी खुवाउन अभिभावकहरुले नै जोड गर्नुपर्छ । कम्तीमा दैनिक पाँच-सात पटक पिसाब गरे नगरेको ख्याल गर्ने, पिसाब कम गरेको वा गाढा पहेंलो गरेमा पानीको मात्रा नपुगेको बुझ्नुपर्छ । गर्मी मौसममा खाना चाँडै बिग्रिने भएकाले बिहानको बेलुका वा बेलुकाको खाना बिहान सकभर नखानु राम्रो हुन्छ । सबैको घरमा फ्रिज नहुन सक्छ । त्यस्तो अवस्थामा बासी नराख्ने गरी खानेकुरा बनाउँदा त्यसले बालबालिका र परिवारका अन्य सदस्यलाई पनि राम्रो गर्छ ।

गर्मीमा नवजात शिशुको हकमा अझै बढी संवेदनशील हुनुपर्छ । उनीहरुले बोलेर आफ्ना कुरा अभिव्यक्त गर्न नसक्ने भएकाले हामीले नै भाव बुझ्नुपर्छ । उच्च ज्वरो आउने, दूध नखाने, रोएको रोयै गर्नेजस्ता समस्या आउन सक्छन् । गर्मीमा दूध खुवाउने आमा स्वयंको शरीरबाट पनि बढी पानी पसिनाका रुपमा खेर जाने भएकाले दूधको मात्रा कम हुन जान्छ । त्यसको असर बच्चालाई पर्न सक्छ ।

बच्चालाई बढी जाडो हुन्छ भनेर कपडा धेरै लगाइदिने र सेक्ने चलन पनि छ । गर्मीमा यस्तो कार्य गर्नुहुँदैन । हामीलाई गर्मी हुन्छ भने शिशुलाई पनि हुन्छ भन्ने सोच्नुपर्छ । सामान्यतता छाम्दाखेरि उनीहरुको हात र खुट्टा न्यानो हुनुपर्छ । हामीले एउटा लुगा लगाएका हुन्छौं भने नवजात शिशुलाई दुईवटा लगाइदिए पुग्छ । एसी वा फ्यानमा राख्नुभन्दा प्राकृतिक हावा आउने ठाउँमा राख्नु राम्रो हो । तर बाहिरको हावा नै बढी तातो भएपछि राख्ने कुरा भएन । ३५ डिग्र्रीभन्दा बढी तापक्रम भएमा हातखुट्टा न्यायो हुने गरी एसीमा राख्न मिल्छ । दूध नपुगेर, वातावरणीय तापक्रम बढी भएर विभिन्न इन्फेक्सन हुन सक्छ । बच्चा हेरेर रगतको जाँच गरेर समस्या पहिचान गर्नुपर्छ । आमाले तातो वा चिसो लाग्छ भनेर मुख बार्ने चलन पनि छ यो गलत हो । प्रशस्त्र दूध आउनु झनै गर्मीमा नवजात शिशुका लागि आवश्यक छ ।

दिउँसोको समयमा बढी गर्मी हुँदा जताबाट घाम चर्को छ, त्यसतर्फको झ्याल बन्द गर्ने, अर्को साइटबाट खोल्ने, घाम नछिर्ने रिप्लेक्ट गर्ने वस्तुहरु राख्नुपर्छ । रातको समयमा झ्याल ढोका खोल्ने, पंखा चलाउने, अझै बढी गर्मी भएमा टावेलहरु भिजाएर राख्ने, त्यसले सुख्खापन कम गराउँछ । चिसो कपडाले बच्चाको शरीर बेलाबेलामा पुछ्ने गर्नुपर्छ । अलि ठूला बालबालिकालाई प्रशस्त पानी वा फलफूलको जुस खुवाउनुपर्छ । बेलाबेलामा जीवनजल पनि खुवाउन सकिन्छ । गर्मीमा नुनको मात्रासमेत पसिनाबाट जाने भएकाले नुनको मात्रालाई सन्तुलनमा राख्न यो जरुरी छ । घाममा सकभर नजाने, जानै परे क्याप लगाउने, छाता ओढेर पानीको बोतल आफूसँग राख्ने, साँझ र बिहान मात्रै बालबालिकालाई आफैंसँग राखेर डुलाउने गर्नुपर्छ । खानपानमा विशेष ध्यान दिनुपर्छ ।

(बालरोग विशेषज्ञ डा. पाठक चितवनको भरतपुर अस्पतालमा कार्यरत छन् ।)

गर्मी बालबालिका
लेखक
डा. ओमकृष्ण पाठक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय