+
+
मन्थन :

देव-मानवको सपना र सभ्यता विनाशको सन्त्रास

मस्तिष्कमा चिप्स राख्दैमा मानिसले अलौकिक शक्ति हासिल गरिहाल्दैन । सुख-दुःखको बन्धनबाट छुट्कारा पाउन पनि सक्दैन । सार कुरो, प्रविधि-क्रान्तिले मानिसलाई देवता वा दैत्य बनाउने छैन । बरु यसले मानिसलाई नयाँ अवसर र चुनौतीको मझधारमा खडा गरिदिएको छ ।

मोहन तिम्सिना मोहन तिम्सिना
२०८० जेठ २९ गते ७:१५

कृत्रिम बौद्धिकता (एआई) अहिले चर्चाको विषय बनेको छ । विशेषगरी च्याट-जीपीटी जस्ता प्रविधिले ‘चमत्कार’ गर्न थालेपछि प्रविधि-विमर्शले प्राथमिकता पाएको हो । हिजोसम्म प्रविधिले मानिसका गणितीय प्रश्नहरूको उत्तर दिन्थ्यो । पछिल्लो समयका प्रविधिले अगणितीय प्रश्नको पनि उत्तर दिन थाले । यसैले मानिसहरूलाई तरंगित बनाएको हो ।

यो विषयलाई लिएर विद्वान्हरू अनेक अनुमान र टिप्पणी गर्न थालेका छन् । टिप्पणीहरूमा सुखद सपना पनि बाँडिएको छ भने साथसाथै डरलाग्दो सन्त्रास पनि ।

कोही, अब मानिसले मस्तिष्कमा चिप्स राखेर एलियनसँग कुरा गर्छ भन्दैछन् । कोही अब मानिस देवता बन्छ भन्दैछन् । कोही कुनै दिन एआईले मानव जातिलाई नै सखाप पार्छ भन्दैछन् ।

अगणितीय प्रविधिको उपस्थिति पछि हाम्रो सभ्यतामा के-कस्ता अवसर र चुनौती थपिए ? यो आजको अहं सवाल हो । यी प्रश्नमा आजको मानव जातिले गम्भीर भएर सोच्नुपर्ने हो । तर विद्वान्हरूका ‘भविष्यवाणी’ मा यथार्थ कम, भावुकता बढी देखिन्छ ।

आगामी दिनमा यो जगतमा जे हुन्छ, त्यो प्रविधिका कारणले होइन, मानिसका सोच र चिन्तनका कारणले हुनेवाला छ । त्यसैले यो अनुचित सपना र सन्त्रास बाँड्ने बेला होइन, मानवीय सोच र मूल्यमान्यता माथि पुनर्विचार गर्ने बेला हो ।

प्रविधि क्रान्ति

यन्त्र/प्रविधि हिजो पनि थिए । हिजोका प्रविधिले पनि मानवीय मस्तिष्कले गर्ने काम, कुनै न कुनै तरिकाले गरेकै थिए । जस्तो कि क्याल्कुलेटर । सन् १६२३ मै क्याल्कुलेटरको प्रारम्भिक आविष्कार भएको थियो । चारवटा विधा (जोड, घटाउ, गुणन, भाग) मा काम गर्न सक्ने मेकानिकल क्याल्कुलेटरको व्यावसायिक प्रयोग सन् १८२० बाट भएको हो । इलेक्ट्रोनिक क्याल्कुलेटर चाहिं पहिलोपल्ट सन् १९६१ मा बनेको मानिन्छ ।

इलेक्ट्रोनिक कम्प्युटरको प्रारम्भिक निर्माण सन् १९४१ तिरै भए पनि व्यावसायिक डिजिटल कम्प्युटर चाहिं सन् १९५० वरिपरिबाट सुरु भएको मानिएको छ ।

सुरुवाती दिनमा यी सबै प्रविधि गणितीय नै थिए । जब सूचना-प्रविधिमा क्रान्ति आयो, तब मात्र यिनीहरूको चरित्र बदलियो । सूचनाप्रविधिको क्रान्तिले सूचना/ज्ञान भण्डारणमा सजिलो भयो । तब बल्ल यन्त्रहरूले अगणितीय काम गर्न थाले ।

जतिसुकै चामत्कारिक यन्त्र/प्रविधि होस्, यन्त्रले जीवनको अभौतिक आयामको खूबी देखाउन सक्दैन । यही नै यन्त्रको सीमा हो । जस्तो कि, यन्त्रले जीवन सिर्जना गर्न सक्दैन । निर्जीवलाई सजीव बनाउन सक्दैन । स्वसंचालित हुन सक्दैन । आफ्नो निजत्व सिर्जना गर्न सक्दैन । व्यक्तिको निजत्वसँग सम्बन्धित प्रश्नको उत्तर दिन पनि सक्दैन

भौतिक विज्ञानको क्रान्तिले सूक्ष्म पदार्थ (इलेक्ट्रोन) पत्ता लगायो, यसबाट इलेक्ट्रोनिक प्रविधि (सफ्टवेयर) जन्मियो । इलेक्ट्रोनको अगणितीय गतिलाई उपयोग गर्दा सूचनाका ‘डिजिटल-भण्डार’ निर्माण भए । संसारभरका अथाह बौद्धिक सूचना/ज्ञान एउटा मामुली चिप्समा ‘डिजिटलाइज’ भए ।

ज्ञानको ‘डिजिटल-भण्डार’ लाई मानवीय उद्देश्य अनुसार अगणितीय वेगमै विश्लेषण र प्रशोधन गर्दा नतिजालाई गुण र चित्रमा पनि देखाउन सम्भव भयो । तब प्रविधिले गणितीयबाट अगणितीयमा फड्को मार्‍यो ।

अगणितीय प्रविधि (नन्-लिनियर टेक्नोलोजी) को विशेषता नै यही हो कि यसले गणितीय र अगणितीय दुवै प्रकारका सूचना संग्रह गर्दछ । सञ्चालकको निर्देश अनुसार सूचनाहरूको तीव्र वेगमा विश्लेषण र प्रशोधन गर्दै परिणामलाई अंक र गुण दुवैमा अभिव्यक्त गर्दछ ।

अहिलेको च्याट-जीपीटी यस्तै मध्येको एक हो । यो कुनै नयाँ प्रविधि होइन । कम्प्युटर आधारित ‘नन-लिनियर गणित’ लगभग चार दशक अघि नै आएको हो । अपराध अनुसन्धानको क्षेत्रमा सूचना निर्देशका आधारमा व्यक्तिको संभावित अनुहार बनाउने प्रविधि पनि लगभग त्यही बेलादेखि प्रचलित हो ।

च्याट-जीपीटीको खूबी के हो भने त्यसका निर्माताले धेरैभन्दा धेरै सूचना भण्डारण गरेका छन् । त्यसकारण तिनीहरूको यन्त्रले बहुविषयमा काम गर्न सक्छ । जटिल जस्ता लाग्ने अगणितीय काम पनि गरेर देखाउँछ । जस्तो कि कविता लेख्ने, चित्र कोर्ने, गीत गाउने आदि ।

यन्त्र/प्रविधिको सीमा

मानिसको चेतनाका दुई आयाम छन् । पहिलो, भौतिक आयाम । यसभित्र इन्द्रीय, मन र बुद्धि पर्दछन् । दोस्रो, अभौतिक आयाम । यसलाई आत्मिक आयाम पनि भनिन्छ । यसभित्र स्वसिर्जना र स्वसंचालन गर्न सक्ने जीवनको खूबी पर्दछ । व्यक्तिको निजत्व पनि यही आयामभित्र पर्दछ ।

यन्त्रको खूबी यत्ति हो कि मानिसको चेतनाको भौतिक आयामले जे गर्न सक्छ, त्यो यन्त्रहरूले तीव्र वेगमा गर्न सक्छन् । जस्तो कि ! गाडी, हवाईजहाज, हाम्रै खुट्टाको विस्तार हो । बन्दुक, हाम्रै हातको विस्तार हो । दुर्बिन, हाम्रै आँखाको विस्तार हो । कम्प्युटर, हाम्रै मस्तिष्क (मन) को विस्तार हो । पछिल्लो एआई पनि हाम्रै मस्तिष्क (मन) को विस्तार हो ।

जतिसुकै चामत्कारिक यन्त्र/प्रविधि होस्, यन्त्रले जीवनको अभौतिक आयामको खूबी देखाउन सक्दैन । यही नै यन्त्रको सीमा हो । जस्तो कि, यन्त्रले जीवन सिर्जना गर्न सक्दैन । निर्जीवलाई सजीव बनाउन सक्दैन । स्वसंचालित हुन सक्दैन । आफ्नो निजत्व सिर्जना गर्न सक्दैन । व्यक्तिको निजत्वसँग सम्बन्धित प्रश्नको उत्तर दिन पनि सक्दैन ।

जस्तो कि, कुनै व्यक्तिको रगत परीक्षण गरेर यन्त्रले उसको वंश इतिहास बताइदिनसक्छ । यहाँसम्म कि व्यक्तिले झुट बोलेको कुरा पनि मस्तिष्कको परीक्षण गरेर पत्ता लगाउन सक्छ । कारण, यो चेतनाको भौतिक आयामसँग सम्बन्धित विषय नै हो ।

तर कुनै व्यक्तिभित्र कस्तो खूबी छ ? यो यन्त्रले बताउन सक्दैन । जस्तो कि कुनै बालक भविष्यमा संगीतकार, खेलाडी बन्छ कि दार्शनिक ? यो यन्त्रले बताउन सक्दैन । कारण, यो मानवीय चेतनाको अभौतिक आयाम -निजत्व) सँग सम्बन्धित विषय हो । जतिसुकै चामत्कारिक प्रविधि आओस्, यस्ता विषय यन्त्रले समाधान गर्न सक्दैन ।

मानिसको गुण

वास्तवमा आजको प्रविधि-क्रान्ति चमत्कार नै होइन । साँच्चै चमत्कार खोज्ने हो भने जुन दिन जनावर (बाँदर) बाट व्यक्ति-प्रविधि संयुक्त जन्मिए, त्यो परिघटना चमत्कार हो । त्यसपछिका परिघटना विल्कुल मामुली हुन् । अर्थात्, कार्य-कारण सम्बन्धको सीमाभित्रकै हुन्, जसलाई चमत्कार भन्न मिल्दैन

प्रायः हामी भन्छौं, व्यक्तिले प्रविधि जन्मायो । तर यो भाष्य गलत छ । व्यक्तिले प्रविधि र प्रविधिले व्यक्ति जन्माएको पनि होइन । आदिम युगमा ‘व्यक्ति’ पनि र ‘प्रविधि’ पनि थिएन । केवल जीव-जनावर र जंगल थियो ।

जुन दिन अमूक प्रजातिको जनावर (बाँदर) मा खास भौतिक वस्तुलाई खास उद्देश्यमा उपयोग गर्ने बुद्धिगत क्षमता पैदा भयो तब व्यक्ति-प्रविधि संयुक्त जन्मिए । भलै त्यो प्रविधि आगो बाल्ने सीप मात्र किन नहोस् ।

बाँदरबाट व्यक्ति-प्रविधि पैदा भएको परिघटना डार्बिन वा एंगेल्सहरूले भने जस्तो क्रमिक विकासको सापेक्ष परिघटना थिएन । बरु लिन मार्गुलिसले भने जस्तो क्रमभंग र क्रान्तिको निरपेक्ष परिघटना थियो । ‘श्रमका कारणले’ व्यक्ति-प्रविधि जन्मिएका थिएनन्, उद्विकासमा आएको छलाङका कारणले जन्मिएका थिए । आफ्नो जन्मको लागि व्यक्ति-प्रविधि स्वयं कार्य, स्वयं कारण थिए ।

व्यक्ति-प्रविधि संयुक्त जन्मिए । यता व्यक्तिले प्रविधिको केवल परिमार्जन गरिरहेको छ । प्रविधि परिमार्जनको यो लामो यात्रा, मात्रात्मक विकासमा चलिरहेको थियो । यसमा लगभग आधा शताब्दी अघि क्रान्ति भयो । हिजोसम्मको प्रविधि हार्डवेयर आधारित थियो । त्यसमा सफ्टवेयर प्रविधि थपियो । हिजोसम्मको प्रविधि गणितीय थियो । त्यसमा अगणितीय प्रविधि थपियो । फरक यत्ति हो ।

कुनै प्रविधि यस्तो छैन, जसले सुख र दुःखलाई संयुक्त नजन्माएको होस् । जस्तो कि आगो बाल्ने सीप मात्रैले पनि मानिसलाई लाभ र हानि दुवै गरेको छ । प्लास्टिक आविष्कारले जनजीवन सजिलो भयो होला, तर यही नै प्रदूषणको कारक पनि हो ।

गाडीको आविष्कारले यात्रा गर्न सजिलो भयो होला, तर यही दुर्घटनाको कारक हो । हाइड्रोलिक प्रविधिमा आधारित डोजरको आविष्कारले निर्माण कार्य सजिलो भयो होला तर यही नै पर्यावरण विनाश र पहिरोको कारक हो । यस्तै च्याट-जीपीटी वा अन्य प्रकारका अगणितीय प्रविधिले पनि सुख र दुःख दुवै ल्याउने छन् ।

मानव जातिको गुण नै यस्तो छ कि यो सुख र दुःखको चक्रमा बाँधिएको छ । जतिसुकै तीक्ष्ण बुद्धि होस्, जतिसुकै चमत्कारी यन्त्र बनाओस्, मानिसको जीवनमा सुख र दुःख संयुक्त प्रकट हुन्छन् । यसलाई टुक्र्याउन सम्भवै छैन । यही कारण भौतिक प्रविधिको संगतले मानिसलाई कहिल्यै देवता बनाउँदैन । चाहे परम्परागत अर्थमा होस् चाहे आधुनिक अर्थमा ।

दोस्रो, प्रविधि त मानिसले चलाउँदा चल्ने, बन्द गर्दा बन्द हुने चिज हो । त्यसैले प्रविधि स्वयंले कहिल्यै सभ्यता विनास गर्न सक्दैन । मानिसले चाहृयो भने प्रविधिको सहारा लिएर सभ्यता ध्वस्त बनाउन सक्छ । तर प्रविधि स्वयंले कहिल्यै सभ्यता ध्वस्त गर्दैन ।

वास्तवमा आजको प्रविधि-क्रान्ति चमत्कार नै होइन । साँच्चै चमत्कार खोज्ने हो भने जुन दिन जनावर (बाँदर) बाट व्यक्ति-प्रविधि संयुक्त जन्मिए, त्यो परिघटना चमत्कार हो । त्यसपछिका परिघटना विल्कुल मामुली हुन् । अर्थात्, कार्य-कारण सम्बन्धको सीमाभित्रकै हुन्, जसलाई चमत्कार भन्न मिल्दैन ।

सपना र सन्त्रास

आजका अगणितीय प्रविधि असल पनि र खराब पनि छैनन् । यी अरू भौतिक वस्तु जस्तै छन् । जसभित्र लाभ र हानि दुवैको संभावना लुकेको छ । यिनीहरूले सुख र दुःख दुवै पैदा गर्दछन् । कुनै एकलाई मात्र छनोट गर्ने विकल्प नै छैन । दुवैलाई स्वीकार गर्ने र गतिशील सन्तुलनमा राख्ने विकल्प मात्र छ । त्यसैले यहाँ असंगत सपना र सन्त्रास फैलाउनुको कुनै अर्थ छैन । बरु यतिबेला हामीले गर्नुपर्ने काम अरू नै छन् ।

नयाँ प्रविधिले मानव जातिको जीवनलाई सुविधापूर्ण बनाउन मद्दत गर्न सक्छ । प्रविधिले पैदा गरेको यो अवसर सदुपयोग गर्ने साझा योजना बनाउनु आजका मानिसको मूल कार्यभार हो । तर आजसम्म प्रविधिलाई सीमित व्यक्ति, कर्पोरेट हाउस र सरकारका लोभ र महत्वाकांक्षा विस्तारमा लगाइएको छ ।

प्रविधिका माध्यमबाट यिनीहरूले गर्न हुने/नहुने सबै काम गरेका छन् । जसका कारण आज विश्वमा विभिन्न खाले संकट देखा परिसकेका छन् । प्रविधिका माध्यमबाट के गर्न हुने र के गर्न नहुने ? यस सम्बन्धी साझा नियम र मूल्यमान्यता बनाउन जरूरी छ । प्रविधिबाट पैदा हुन सक्ने जोखिम न्यूनीकरण योजना बनाउन जरूरी छ ।

यो बुझ्न जरूरी छ कि आजका सफ्टवेयर यन्त्रहरूको अगणितीय उत्तर दिन सक्ने क्षमता स्वयं यन्त्रभित्र पैदा भएको होइन । आजका यन्त्रले त इतिहासदेखि आजसम्मका करोडौं, अरबौं मानिसको ज्ञानभण्डारभित्र छिरेर त्यसको विश्लेषण र प्रशोधन मात्र गरेको हो । यो अथाह ज्ञानभण्डारलाई उपयोग गर्न नदिने हो भने आजका अगणितीय यन्त्र पनि त्यसै बेकाम हुन्छन् ।

यसमा यन्त्र निर्माताको योगदान यत्ति हो कि उनीहरूसँग खास उद्देश्यमा चल्ने सफ्टवेयर निर्माणको सीप छ । यो सीप पनि इतिहासदेखिको ज्ञानको सार नै हो । तैपनि उनीहरूको बौद्धिक सीपको हिस्सालाई वैयक्तिक योगदान मान्न सकिन्छ ।

बाँकी सारा प्राविधिक क्षमता (गणितीय/अगणितीय) मानव जातिको समुच्च ज्ञान सम्पदाको योगफल हो । यसलाई सीमित व्यक्ति, कर्पोरेट हाउस र सरकारको पेवा बन्न दिनुहुँदैन । बरु मानव जातिको साझा हितमा सदुपयोग गर्नुपर्दछ । यसो गरियो भने मात्र मानव सभ्यता थप समुन्नतितिर अघि बढ्न सक्छ । विद्वान्हरूका आजका विमर्श यतातिर केन्द्रित हुन जरूरी छ ।

मस्तिष्कमा चिप्स राख्दैमा मानिसले अलौकिक शक्ति हासिल गरिहाल्दैन । सुख-दुःखको बन्धनबाट छुट्कारा पाउन पनि सक्दैन । सार कुरो, प्रविधि-क्रान्तिले मानिसलाई देवता वा दैत्य बनाउने छैन । बरु यसले मानिसलाई नयाँ अवसर र चुनौतीको मझधारमा खडा गरिदिएको छ । अब के गर्ने ? कुन बाटो पक्रिने ? त्यो केवल मानिसको हातमा छ ।

लेखकको बारेमा
मोहन तिम्सिना

लेखक वैकल्पिक विचार र जैविक दर्शनको विषयमा कलम चलाउँछन् । उनको नियमित स्तम्भ 'मन्थन' प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?