आँखा र हातखुट्टामा पहेंलोपन देखिएमा जण्डिस भएको बुझिन्छ । शरीरमा बिलुरुविनको मात्रा बढी भएमा आँखा र हातखुट्टामा पहेंलोपन देखिन्छ । जण्डिस कुनै रोग नभई विभिन्न रोगले देखाउने एक संकेत मात्रै हो ।
जण्डिस देखिने बित्तिकै मानिसहरु मुख बार्नुपर्ने कडा खालको रोग हो भनेर डराउँछन् । तर यो कुनै गम्भीर रोग होइन ।
कारण
शरीरमा बिलुरुविनको मात्रा २.५ भन्दा बढी भयो भने आँखादेखि शरीरका विभिन्न भाग पहेंलो हुन्छ । रगतमा भएको हेमोग्लोबिनमा कुनै कारण अवरोध आएपछि कलेजोमा पुगेर बिलुरुविन बन्छ । बिलुरुविन कलेजोले छानेपछि शरीरबाट बाहिर निस्कन्छ । तर कुनै कारणले रगतबाट कलेजोमा प्रवेश नगर्दा वा कलेजोले छान्ने नगर्दा शरीरमा यसको मात्रा बढ्छ र जण्डिस निम्त्याउँछ ।
के कस्ता रोगमा जण्डिस देखिन्छ ?
हेपाटाइटिस हुँदा जण्डिसलाई लक्षणको रुपमा देखाउँछ । हेपाटाइटिस ए, बी, सी, डी र ईमध्ये हेपाटाइटिस ए र ई प्रदूषित खाना र दूषित पानीले सर्छ भने बी, सी र डी रगतको संक्रमणबाट सर्छ । यस्तो अवस्थामा कलेजो सुन्निन्छ । र, संकेत जण्डिसको पनि देखिन्छ । अत्यधिक रक्सी पिउने व्यक्तिको कलेजो सुन्निएर पनि जण्डिस देखिन सक्छ ।
त्यस्तै पित्तनली सुन्निने वा उक्त नली आन्द्रासम्म पुग्न नसक्ने अवस्थामा, पित्तनली क्यान्सर, लिभर सिरोरिस, कलेजोमा पिप जमेमा, खाना पचाउने नली सुन्निएमा, आमाशयको क्यान्सर, क्षयरोगको औषधि सेवन, सिटामोल धेरैखालको स्वास्थ्य समस्यामा प्रयोग गर्दा, जथाभावी आयुर्वेदिकको नाममा औषधि सेवन गर्दा कलेजो सुन्निन्छ, जसले जण्डिस देखा पर्छ ।
लक्षण
जण्डिस आफैंमा एक लक्षण हो । त्यसैले के कारणले जण्डिस भयो सोहीअनुसार लक्षण देखाउँछ । जस्तै, भाइरल हेपाटाइटिस हो भने बान्ता आउने, खानामा अरुचि, दाहिने कोखा दुख्ने, आँखाको सेतो भाग पहेंलो हुने र पानी पिउन मन नलाग्ने हुन्छ । हेपाटाइटिस ए र ई भएमा जीउ दुख्ने, ज्वरो आउने हुन्छ ।
क्यान्सरले जण्डिस भएका बिरामीमा तौल घट्ने, वाकवाकी लाग्नेजस्ता लक्षण देखिन्छ । त्यसबाहेक खाना नरुच्ने, शरीर कमजोर हुँदै जाने, पेट दुख्ने, पिसाब पहेंलो देखिने र आँखाको सेतो भाग पहेंलो हुने जण्डिसका लक्षण हुन् ।
बालबालिकालाई बढी
जण्डिस शिशुदेखि वृद्धसम्ममा देखिन सक्छ । तर सबैभन्दा बढी पाँचदेखि १० वर्षसम्मका बालबालिकामा जण्डिस देखिने सम्भावना हुन्छ । यसको कारण दूषित पानी र अस्वस्थकर खानेकुराले हेपाटाइटिस ए र ई हुनु हो । दूषित पानी पिउने वयस्कहरुमा पनि जण्डिस देखिने सम्भावना हुन्छ । यद्यपि सचेतना बढेसँगै बिरामीको संख्या कम हुँदै गएको छ ।
पहिचान तथा उपचार
आँखा पहेंलो भएमा सबैभन्दा पहिला शरीरको बिलुरुविनको मात्रा जाँच हुन्छ । त्यसपछि भिडियो एक्स-रेबाट कुन रोगको कारण जण्डिस संकेतको रुपमा देखिएको हो भन्ने पत्ता लगाइन्छ । हेपाटाइटिसको शंका भएमा त्यसको पनि परीक्षण गरेर पत्ता लगाउन सकिन्छ ।
जण्डिसको विशेष खालको उपचार पद्धति छैन । के कारणले जण्डिस भएको सोहीअनुसार उपचार प्रक्रिया अघि बढ्छ । हेपाटाइटिस ए र ई स्वस्थकर खानपान गरेमा आफैं ठीक हुन्छ । पित्तनलीमा पत्थरी भएमा त्यसलाई निकाल्ने, क्यान्सर भएमा त्यसको चरणलाई मध्यनजर गर्दै सम्भव भए शल्यक्रिया गर्ने गरिन्छ ।
त्यस्तै, कुनै औषधिको कारण जण्डिस भएको हो भने औषधि बन्द गर्दा स्वतः कम हुँदै जान्छ । हेपाटाइटिस बी र सी भएमा अस्पतालमा उपचारसँगै चिकित्सकको निर्देशनअनुसार औषधि खाएर मात्र निको हुन्छ । हेपाटाइटिस बी देखिएमा दुई वर्षसम्म र सी भएमा दुई महिनाको अवधिमा ठीक हुन्छ ।
जण्डिस बिग्रिंदा आउने जटिलता
नवजात शिशुमा जण्डिस भएर उपचार गराइएको छैन वा लामो समयसम्म जण्डिस भएमा उनीहरुको दिमागमा असर गर्न सक्छ । त्यस्तै, अन्य समूहमा मुख्य कारण पत्ता नलगाई आयुर्वेदिक औषधि जथाभावी खाँदा कलेजो फेल हुन सक्छ । जसले ज्यान समेत जोखिममा पर्छ ।
मुख बार्नुपर्ने भ्रम
नेपाली समाजमा बिरामी हुने बित्तिकै पहिलो प्रश्न नै मुख बार्नुपर्छ ? भन्ने हुन्छ । तर रोग लाग्ने बित्तिकै मुख बार्ने गर्नु हुँदैन । सबैभन्दा बढी जण्डिसमा मुख बार्ने चलन छ । जण्डिस हुने बित्तिकै मुख बार्नु पर्दैन । खानेकुरामा दाल, भात, तरकारी, फलफूल अमिलो, पिरो, चिल्लो, नुन, तेल, बेसार र मसला सबै सन्तुलित मात्रामा खान सकिन्छ । तर तारेको, बोसोयुक्त खानेकुराले कलेजोको पित्तलाई असर गर्ने हुँदा नखानु राम्रो हुन्छ । त्यससँगै जण्डिसमा पहेंलो रंगको खानेकुरा खानु हुँदैन भन्ने गलत धारणा छ । पहेंलो खानेकुराले कुनै किसिमको हानि गर्दैन । त्यससँगै अनावश्यक बिना परीक्षण औषधि खानु हुँदैन ।
अर्को भ्रम के छ भने नवजात शिशु वा आमालाई जण्डिस भए आमाको दूध खुवाउनु हुँदैन भनिन्छ । आमालाई पनि मुख बार्न लगाइन्छ, जुन गलत हो । आमाको दूध जति पोषिलो खानेकुरा अन्य हुन सक्दैन । दूधबाट शिशुमा जण्डिस सर्दैन ।
जण्डिसबाट बच्न कलेजोलाई स्वस्थ राख्न जरुरी छ । दूषित पानी, अस्वस्थकर खानेकुरा, रक्सी नखाने, जथाभावी औषधि नखाने र सुई प्रयोग नगर्ने, परीक्षण नगरिएको रगत नचढाउने गरेमा धेरै हदसम्म जण्डिसबाट बच्न सकिन्छ ।
(डा. पौडेल पेट तथा कलेजोरोग विशेषज्ञ हुन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)
तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर
 
                    










 २०८० जेठ  ३० गते १८:१५
                        २०८० जेठ  ३० गते १८:१५                     
                             
                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                                         
                             
                             
                             
                             
                                         
                             
                                         
                         
                         
                         
                         
                         
                         
                             
                             
                             
                                         
                             
                             
                             
                                        
प्रतिक्रिया 4