+
+

…अनि पूर्वगृहमन्त्री खाँणले झारे आँसु

पूर्व गृहमन्त्री बालकृष्ण खाँणले पनि आँसु झारे । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी मलिन थिए, तर उनले आँखाबाट आँसु झारेनन् । अरु आरोपितहरु पनि मलिन र निरास थिए ।

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०८० असार १ गते २१:४२

१ असार, काठमाडौं । जिल्ला अदालत, काठमाडौंमा शुक्रबार ११ बजे पुग्नुपर्ने सरकारी वकिलहरु केहीबेर ढिला गरी दलबलसहित इजलासमा झुल्किए ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेले संकेत गर्नासाथ उपन्यायाधिवक्ता लक्ष्मण घिमिरेले शरणार्थी प्रकरण कसरी संगठित अपराध हो भन्नेमा आफ्नो बहस ‘फ्रेमिङ’ गरे, अनि राजनीतिक संरक्षणमा कसरी यस्ता घटना दवाइन्छ भन्ने दलिल पेश गरे ।

लागूऔषध तस्करी, माफियागिरी, गुण्डागर्दीजस्ता परम्परागत संगठित अपराध अहिले नयाँ रुपमा कसरी परिवर्तन भएको छ भन्ने बेलिविस्तार लगाए अनि राजनीतिक आवरणमा हुने यस्ता अपराधका प्रमाण कसरी लुकाईन्छ भनी बहस गरे ।

त्यसपछि एकपछि अर्को गर्दै सरकारी वकिलहरु अच्युतमणि न्यौपाने, निर्मला मरासिनी, महेश खत्री लगायतको बहस सकिएयाे ।  जाहेरीकर्ताको तर्फबाट वकालत गरेका स्वागत नेपाल र ध्रुवलाल श्रेष्ठले ‘यी नेताहरु थुन्नैपर्छ’ भन्ने शैलीमा झनै चर्किए ।

२ नबज्दै न्यायाधीश न्यौपाने इजलासबाट उठे र इजलास अधिकृतहरुलाई संकेत गरेर भित्र चेम्बरमा बोलाए । इजलासमा बस्ने न्यायाधीशहरु मुद्दाको आदेश/फैसला लेख्न भित्र रहेको कार्यकक्ष(चेम्बर)मा जाने गर्छन् ।

न्यायाधीश र अदालतका कर्मचारीहरु भित्र छिरेपछि इजलासमा गुनगुन बढ्यो । आरोपितहरु, सादा पोशाकका प्रहरीहरु, कानून व्यवसायी र पत्रकारहरु गफ गर्न स्वतन्त्र भए । त्यो क्रम अपराह्न इजलासमा न्यायाधीश नआउदासम्म जारी भयो ।

आरोपितहरुमध्ये बालकृष्ण खाँण खासै बोलेनन् । कानून व्यवसायीहरुको कानेखुसीमा पनि संक्षिप्त जवाफ फर्काए । टोपबहादुर रायमाझी अनि निस्फिक्री नै थिए, उनी प्रायःको अनुहारमा हेरेर मुसुक्क हाँस्थे ।

उनका केही कानून व्यवसायीहरु भने ‘ठोस प्रमाण देखिएको छैन’ भन्दै ‘पोलेको’भरमा थुनिने सम्भावना नभएको लख काटिरहेका थिए । त्यति आश्वासनका कारण हुनुपर्छ, उनको अनुहार पनि त्यति बिग्रिसकेको थिएन ।

यता जाने, उता जाने, एकआपसमा भेटने गरिरहदा सानु भण्डारी र केशवप्रसाद दुलाल अलि शान्त र स्थित थिए । घटनामा मुख्य आरोपित उनीहरुले आफूलाई थुनामा पठाउने आदेश आउछँ भन्ने मनस्थिती बनाइसकेको हुनुपर्छ ।

सधैजसो इजलासको देब्रेतिर बस्ने शम्सेर मिया निजामती कर्मचारीको जस्तै पोशाकमा हुन्थे । गाढा निलो पाइन्ट, सेतो सर्टमाथि कालो इष्टकोट लगाउने उनी सरकारी कर्मचारी हुन् कि भन्ने दुविधा गराउथ्यो ।

शुक्रबार सरकारी वकिलहरुले ‘सबै आरोपितहरुलाई थुन्नुपर्छ’ भनेपछि जवाफमा मियाले ‘तिमीहरुलाई नै थुन्नुपर्छ’ भन्दै चिच्याएका थिए ।

छेवैमा रहेका कानून व्यवसायीहरुले उनीहरुलाई थुम्थुम्याए । इजलास उठेपछि उनी अझ आक्रोशित देखिए ।

‘पत्रकारहरुले कुरा मात्रै गर्छन, लेख भनेको लेख्दैनन, नचाहिने मात्रै लेख्छन्’ उनी जंगिए ।

छेवैको कुर्सीमा बालकृष्ण खाँणको साथमा रहेका सचिव टेकनारायण पाण्डे शुक्रबार ठट्यौलो शैलीमा प्रस्तुत भए ।

पाण्डेले जंगिएका मियातिर फर्केर भने, ‘अध्यक्षज्यू, पत्रकारहरुलाई पनि एकपटक हज गर्न लैजानुस्, अनि खुसी हुन्छन् ।’

त्यहाँ उपस्थितहरुमाझ हाँसोको फोहोरा छुट्यो ।

अपराह्न बढ्दै गर्दा अरु इजलासको भिड पातलिन थाल्यो, होहल्ला घट्न थाल्यो । पछि फेरि भिड बढ्न थाल्यो ।

नक्कली शराणार्थी प्रकरणको मुद्दाको सुनुवाई २५ नम्बर न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको हो । त्यो इजलास बबरमहलस्थित जिल्ला अदालतको ५ औं तलामा छ । त्यो सानो इजालसमा १८ जना आरोपितहरु, कानून व्यवसायीहरु अट्न सम्भव थिएन ।

त्यसैले अलि ठूलो ठाँउ भएको तेस्रो तलाको १० नम्बर इजलासमा २५ नम्ब लेखेर लगातार दुई साता मुद्दाको सुनुवाई भएको थियो ।

केहीबेरमा एक कर्मचारी इजलासमा आइन । दराजबाट नेपाली कागजको बण्डल झिकिन् र चेम्बरमै फर्किइन् । आदेश तयार हुन थालेको छनकपछि जिल्ला अदालतको तेस्रो तलामा प्रहरीको उपस्थिति बढ्दै गयो ।

त्यसको पनि करिब आधा/पौने घण्टामा न्यायाधीश न्यौपाने इजलासमा आए र, संक्षिप्त रुपमा भने, ‘लक्ष्मी महर्जनको हकमा ५ लाख, टंककुमार गुरुङको हकमा १० लाख धरौटी माग्ने आदेश भएको छ, बाँकीको हकमा पुर्पक्ष………..उच्चमा जाने बाटो छँदैछ ।’

त्यति भनेर न्यायाधीश न्यौपाने चेम्बरभित्र पसे । इजलासमा निकै सन्नाटा छायो ।

अर्को बेञ्चमा बसेका सचिव टेकनारायण पाण्डेले बरर आँसु झारे । औंला आँखामा छुवाइरहे । आफ्नो कठिनतम यो अवस्थामा सकेसम्म अरुले नदेखोस् भन्नेमा उनी सचेत थिए । पछि सकेनन,न्याप्किनले आँसु पुछे ।

पूर्व गृहमन्त्री बालकृष्ण खाँणले पनि आँसु झारे । केहीबेरमा उनी सम्हालिए । अनि कानून व्यवसायीहरु पछि छेवैमा आएर ‘उच्चमा जाने बाटो छदैछ’ भनी सान्त्वना दिन थाले ।

पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी मलिन थिए, तर उनले आँखाबाट आँसु झारेनन् । अरु आरोपितहरु पनि मलिन र निरास थिए । भुटानी शरणार्थी नेता टेकनाथ रिजाल सदाझैं उस्तै मुद्रामा थिए ।

इजालसले तयार गरेको आदेश दुई तलामाथि २५ नम्बर इजलासको फाँटमा पुग्यो । कर्मचारीहरु आदेश बमोजिम पत्र तयार गर्न थाले । जगन्नाथ देवल कारागारको नाममा तयार पारिएको एउटै व्यहोराको पत्र सबै आरोपितहरुका नाममा बनाइएको थियो । धरौटीमा छुट्नेहरुको पत्र पनि तयार भयो । फाँटमा धरौटीमा छुट्नेहरुको खोजी हुन थाल्यो ।

आदेश र सबै १६ जनाको पत्र फेरि इजलासमा पुग्यो । इजलासले थुनामा पठाउने आदेश गरेपछि प्रहरीहरुको संख्या बढाइएको थियो र हरेक आरोपितहरुलाई हेर्ने प्रहरीको छुट्टाछुट्टै टोली तयारी अवस्थामा बस्यो ।

खाँणको प्रतिरक्षा गरेका पूर्वमहान्यायाधीवक्ता खम्मबहादुर खाती लगायत केही कानून व्यवसायी ५ तला माथिको २५ नम्बर इजलासको फाँटमा पुगे र आरोपितहरुलाई कुन कारागारमा पठाउने भन्ने चासो राख्न थाले ।

आदेशमै सुन्धारास्थित जगन्नाथदेवलमा पठाउने व्यहोरा भएकाले अदालतले फेरबदल गर्न मिलेन । ‘आज राती भयो, भोली शनिवार’ खातीले भने, ‘जेलरले चाह्यो भने मिलाउन सक्छ । आईतबारतिर सजिलो ठाँउमा सार्नुपर्छ । डिल्लीबजार नै गर्नुपर्ला ।’

आदेश इजलासमा पुगेपछि कर्मचारीहरुले नाम बोलाए ।  कानून व्यवसायीहरुले बहस गर्ने पोडियमको किताव राख्ने ठाँउमा ठिक्क पारिएको आदेशको अन्तिम पानामा आफ्नो नाममा औठाछाप गर्दै फर्केर आफ्नै ठाँउमा बस्न थाले ।

१८ जना प्रतिवादीको कालो औठाछापको तल न्यायाधीश न्यौपानेले आफ्नो नाममाथि रातो मसीले हस्ताक्षर गरेका थिए । आरोपितहरुलाई यो दिन शुभ हुने कुरै थिएन । तरपनि अन्तिममा लेखिएको थियो, ‘ इति संवत् २०८० साल असार १ गते रोज ६ शुभम्……।’

सबै काम सकिएपछि इजलासबाट प्रहरीले उनीहरुलाई बाहिर निकाल्न थाले । ओर्लिने क्रममा आदेशको प्रति पर्खिएका पत्रकारहरुसँग बालकृष्ण खाँणको भेट भयो । उनी बोलेको मौकामा अरु भने छलिएर फटाफट तल ओर्ले ।

‘घटनामा मेरो संलग्नता छैन, म निर्दोष छु’ उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘पूर्ण आदेश नआउँदै थप के भन्नु ? म उच्च अदालत जान्छु ।’

लेखकको बारेमा
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?