+
+

संसदमा अशिष्ट भाषाको प्रयोग बढ्दो

संसदमा मर्यादित र शिष्ट शब्द प्रयोग गर्नुपर्नेमा सांसदहरू ‘असंसदीय’ भाषा बोलिरहेका छन् । जातीय लाञ्छना, लैङ्गकि विभेद र अशिष्ट शब्द र वाक्य प्रयोग भएर त्यसलाई संसदको रेकर्डबाट हटाइएका उदाहरण बढ्दो क्रममा छन् ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८० असार २० गते १०:३१
रेकर्डबाट अभिव्यक्ति हटाइएका सांसदहरू ।

२० असार, काठमाडौं । संघीय संसदमा सांसदहरूलेे व्यक्त गरेका अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउने क्रम बढ्दो छ । संसद सचिवालय नै ‘असंसदीय भाषाको प्रयोग भएको भनी संसदमा आपत्ति प्रकट हुने र त्यस्ता शब्दहरू रेकर्डबाट हटाउने प्रवृत्ति बढेको’ स्वीकार गरेको छ ।

‘पहिले पनि असंसदीय शब्द रेकर्डबाट हटाइन्थ्यो । अहिले पनि सामाजिक रूपमा अस्वीकार्य शब्दहरू माथि आपत्ति भएको खण्डमा हटाउने गरिएको छ,’ संसद सचिवालयका प्रवक्ता एकराम गिरी भन्छन्, ‘गणितीय आधारमा विश्लेषण गर्दा विगतको तुलनामा यो क्रम घटेको देखिंदैन ।’

४ मंसिर २०७९ को चुनावपछि प्रतिनिधि सभामा ६ जना सांसदले बोलेका कतिपय शब्दहरू असंसदीय भनेर हटाइसकिएको छ । यसबीचमा राष्ट्रिय सभामा पनि एक जना सांसदले बोलेको शब्द संसदीय मर्यादा बाहिर रहेको ठानेर हटाइएको छ ।

संसद सचिवालयका एक जना अधिकारीहरूका अनुसार, ‘विगतमा यति छोटो समयमा यति धेरै सांसदले बोलेका अभिव्यक्तिलाई असंसदीय भनेर हटाइएको उदाहरण थिएन ।’

मंसिर ४ गते सम्पन्न आम चुनावबाट आएको प्रतिनिधिसभाको पहिलो बैठक गएको पुस २५ गतेबाट सुरु भएको थियो । १५ वैशाखसम्म चलेको पहिलो अधिवेशनमा कुनै पनि सांसदका अभिव्यक्ति असंसदीय भनेर रेकर्डबाट हटाउनु परेको थिएन ।

२४ वैशाखबाट सुरु भएको दोस्रो अधिवेशनमा पाँच जना सांसदका यस्ता अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो ।

नेकपा एमालेका दयालबहादुर शाही, माओवादीका लेखनाथ दाहाल, रास्वपाका शिशिर खनाल, नेपाली कांग्रेसका सुनिल शर्मा र डिल्लीराज पन्तले बोलेका कतिपय शब्दहरू संसदको रेकर्डबाट हटाउनु परेको हो ।

यस्तै कांग्रेसकै सांसद विनोद चौधरीले बोलेको महिला लक्षित एउटा उखान पनि संसदीय अभिलेखमा नराख्न सभामुखको निर्देशन अनुसार संसद सचिवालयले हटाएको थियो ।

रेकर्डबाट हटेका पछिल्ला सात अभिव्यक्ति

नेपालको संसदीय इतिहासमा संसदमा असंसदीय शब्दको प्रयोग भएका र त्यसलाई हटाइएका उदाहरण छन् । २०१६ सालदेखि नेपालमा संसदीय अभ्यास सुरु भएको मानिन्छ

१. वैशाख २४ गते राष्ट्रिय सभा बैठकमा कांग्रेस सांसद रमेशजंग रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका एमाले सांसद टोपबहादुर रायमाझीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग जोडेर टिप्पणी गरेका थिए ।

एमाले सांसदहरूले आपत्ति जनाएपछि राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले रायमाझीले बोलेका दुई शब्द (झड्केलो छोरो) संसदीय रेकर्डबाट हटाउन निर्देशन दिएका थिए ।

२. जेठ १० गते प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पशुपतिमा सुनको सट्टा पित्तलको जलहरी लगाएर भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।

त्यसक्रममा उनले प्रयोग गरेको ‘स्वास्थ्य सामग्रीको २ अर्बको भ्रष्टाचार र पशुपतिनाथको जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचारहरू’ भन्ने शब्द संसदको अभिलेखबाट हटाइएको छ ।

सांसद दाहालको यो अभिव्यक्तिलाई लिएर एमालेले संसद बैठक नै निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सबै राजनीतिक दलका सचेतक र शीर्ष नेतासँग छलफल गरेर दाहालको अभिव्यक्ति हटाउन निर्देशन दिएका थिए ।

३. जेठ २२ गते बसेको बैठकमा स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै भारतबाट ‘भैंसी चढेर आएको‘ भनेपछि प्रतिनिधिसभामा केही समय तनाव सिर्जना भएको थियो ।

सत्ता पक्ष तथा प्रतिपक्षी दलका सांसदहरू सवाल-जवाफमा उत्रिए । बैठक नै अवरुद्ध भयो । त्यसपछि सभामुख देवराज घिमिरेले उक्त शब्द रेकर्डबाट हटाउन आदेश दिए ।

४. बजेटमाथिको छलफलका क्रममा २५ जेठमा कांग्रेस सांसद विनोद चौधरीले धान रोप्ने बेला सरकार मल खोज्न भन्दै ‘जब भयो राति अनि बूढी ताती’ भन्ने उखान प्रयोग गरे । एमाले सांसद दीपा शर्माले महिलालाई अपमान गरेको भन्दै नियमापत्ति जनाइन् र सभामुखले ती शब्दहरू रेकर्डबाट हटाउन निर्देशन दिए ।

५. जेठ २५ गतेको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा कांग्रेस सांसद डिल्लीराज पन्तले ‘नहुनु मामाभन्दा कानो मामा बेस’ भन्ने उखान प्रयोग गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले यो वाक्यले दृष्टिविहीन समुदायलाई चोट पुर्‍याएको भन्दै संसदको अभिलेखबाट हटाउन माग गरे । सांसद ढकालको नियमापत्तिपछि सभा चलाइरहेकी उपसभामुख इन्दिरा रानाले उक्त भनाइ संसदको अभिलेखबाट हटाउन निर्देशन दिइन् ।

६. जेठ ७ गते प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिंदै एमाले सांसद दयालबहादुर शाहीले नेपाली कांग्रेसका संस्थापक नेताहरूको नाम लिएर आलोचना गरेका थिए । सत्ताका लागि कांग्रेसले जस्तो पनि नीति लिएको भन्दै उनले ‘मन्त्रीको निम्ति कांग्रेसले गहतको झोलमा जात फालेको’ भन्ने शब्द प्रयोग गरेका थिए ।

त्यसपछि कांग्रेस सांसदहरूले असंसदीय भाषा प्रयोग भएको भन्दै नियमापत्ति गरे । सभा सञ्चालन गरिरहेकी उपसभामुख इन्दिरा रानाले ध्यानाकर्षण भएको बताइन् । त्यसमा चित्त नबुझाएर कांग्रेस सांसदहरूले उठेरै विरोध गरेपछि उपसभामुख रानाले सांसद शाहीले बोलेको असंसदीय शब्द सुनी रेकर्डबाट हटाउन संसद सचिवालयलाई निर्देशन दिइन् ।

७. जेठ ९ मा नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सभामुखको आसनमा बसेर बैठक चलाइरहेकी उपसभामुख इन्दिरा राना मगरलाई उनको दलसँग जोडेर प्रश्न गरेका थिए ।

उनले ‘तपाइँ उपसभामुख रानाकै पार्टी रास्वपाका साथीले कस्तो राम्रो कुरा उठाउनुभएको थियो’ भनेका थिए । उपसभामुख स्वतन्त्र व्यक्ति हुने मान्यताका आधारमा उपसभामुखलाई पार्टीसँग जोडेको भनेर प्रश्न उठेपछि शर्माको यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाइएको थियो ।

विगतमा एकाध मात्रै हुन्थे नियमापत्ति

नेपालको संसदीय इतिहासमा संसदमा असंसदीय शब्दको प्रयोग भएका र त्यसलाई हटाइएका उदाहरण छन् । २०१६ सालदेखि नेपालमा संसदीय अभ्यास सुरु भएको मानिन्छ । संसदीय अभिलेख अनुसार १ असोज २०१६ मा बसेको प्रतिनिधिसभा बैठकमा तत्कालीन सांसद होराप्रसाद जोशीले प्रयोग गरेको शब्द माथि प्रश्न उठेको थियो ।

संसदको अभिलेख अनुसार, जोशीले असत्य शब्द प्रयोग गरेका थिए र त्यसप्रति सांसदहरूले आपत्ति जनाएपछि तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराईले रेकर्डबाट हटाउन निर्देशन दिएका थिए । त्यो ‘असत्य’ शब्द के थियो भन्ने चाहिं खुल्दैन ।

२०४८ सालको संसदीय निर्वाचनपछिका व्यवस्थापिकाहरूमा असंसदीय शब्द प्रयोग हुने र हटाउने अभ्यास निरन्तर छ ।

२०६४ सालको संविधानसभा बैठकमा तत्कालीन माओवादीका सांसद गोपाल किरातीले ‘संविधान बनाउन नदिनेलाई खरानी बनाउने’ चेतावनी नै दिएका थिए । किरातीको यो अभिव्यक्ति रेकर्डबाट हटाउन तत्कालीन सभामुख सुवास नेम्वाङले निर्देशन दिएका थिए ।

संविधानसभामै राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसदलाई ‘भेडीगोठ’ भनेका थिए । त्यसलाई पनि रेकर्डबाट हटाइएको थियो ।

८ साउन २०७३ मा सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै ‘मानसिक अवस्था ठीक नभएको’ भनेका थिए । उनको यो शब्द पनि संसदको रेकर्डबाट हटाइएको थियो । १७ मंसिर २०७३ मा तत्कालीन सांसद सीपी मैनालीले तत्कालीन प्रधानमन्त्रीलाई इंगित गर्दै ‘बहुला कुकुरले टोकेको’ भन्ने शब्द प्रयोग गरेका थिए । यो पनि रेकर्डबाट हटाइएको छ ।

सदनमा पूर्ण वाक् स्वतन्त्रता रहने र सदनमा व्यक्त गरेको कुनै कुरा वा दिएको कुनै मतलाई लिएर अदालतमा समेत कुनै कारबाही या प्रश्न उठाउन नपाइने संवैधानिक व्यवस्था छ । यसको अर्थ संसदमा जे पनि बोल्न पाइने भन्ने नरहेको संसद सचिवालयका अधिकारीहरू बताउँछन्

२४ वैशाख २०७६ मा नीति तथा कार्यक्रममाथि छलफलका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘निम्छरो’ शब्द प्रयोग गरेका थिए । यसप्रति तत्कालीन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले रेकर्डबाट हटाउन निर्देशन दिएका थिए ।

१८ साउन २०७८ को प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद मातृका यादवले प्रधानमन्त्री केपी ओली ‘मेन्टल्ली र फिजिकल्ली फिट’ नभएको भनेपछि तत्कालीन सभामुख अग्नि सापकोटाले सो भनाइ रेकर्डबाट हटाउन निर्देशन दिएका थिए ।

१३ जेठ २०७९ मा तत्कालीन मन्त्री दिलेन्द्रप्रसाद बडूले सार्वजनिक महत्वको वक्तव्यका क्रममा ‘साउनमा दृष्टि गुमाएको गोरुले सधैं हरियो देख्छ’ भन्ने वाक्य प्रयोग गरेका थिए । तत्कालीन प्रमुख विपक्षी एमालेले त्यसमा आपत्ति जनाएपछि सो वाक्य रेकर्डबाट हटाइएको थियो ।

संसदमा शिष्ट र मर्यादित भाषा बोल्नुपर्नेमा पटक-पटक गालीगलोज मिश्रति भाषा प्रयोग हुनु दुखद हुँदै हो, सँगै यसले हाम्रा सांसदहरूको बेलाबखतको अभिव्यक्तिको स्तर पनि निर्धारण गर्दछ । हुँदा हुँदा अहिले असंसदीय शब्दको प्रयोग बढेकोमा स्वयं संसदको नेतृत्व पनि रुष्ट छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पटक-पटक सांसदको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउनुपर्ने अवस्था आउन स्वयं सांसदले दिन नहुने बताउँछन् । उनी भन्छन्, ‘कहिलेकाहीं आरोप-प्रत्यारोपमा जवाफ दिंदा कडै दिउँ भन्ने हिसाबले जाँदा त्यो कडा हुँदाहुँदा रेकर्डबाट हटाउनुपर्नेसम्मको कडा भइदियो भने के हुन्छ ? त्यसैले रेकर्डबाट हटाउने भन्ने विषयलाई फेसनको रूपमा लैजाने विषय बनाउनुहुँदैन ।’

गएको शुक्रबार संसद भवन नयाँबानेश्वरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले भने यसका लागि स्वयं सांसदहरू जिम्मेवार हुनुपर्छ । उनी भन्छन्, ‘आज बोलेको कुरा दुई वर्षपछि आफैंले रेकर्ड सुन्दा के बोले हुँला भनेर पछुतो नहोस् ।’

असंसदीय शब्दहरूको सूची बनाइँदै

प्रतिनिधिसभा नियमावलीमा संसदमा असंसदीय शब्द प्रयोग गर्न नहुने व्यवस्था छ । नियमावलीको नियम २१ को उपनियम ‘घ’ मा अशिष्ट, अश्लील र अपमानजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न नहुने उल्लेख छ ।

नियमावलीमा ‘कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिंगलाई होच्याउने वा अरू कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने’ भनिएको छ । तर, सत्तापक्ष र विपक्षका कतिपय सांसदबाट लोकप्रिय हुने वा एकअर्कोलाई होच्याउने/प्रतिशोध साध्ने नाममा संसदमा अशिष्ट भाषामा बोल्ने प्रवृत्ति पछिल्लो समय बढेको छ ।

सदनमा पूर्ण वाक् स्वतन्त्रता रहने र सदनमा व्यक्त गरेको कुनै कुरा वा दिएको कुनै मतलाई लिएर अदालतमा समेत कुनै कारबाही या प्रश्न उठाउन नपाइने संवैधानिक व्यवस्था छ । यसको अर्थ संसदमा जे पनि बोल्न पाइने भन्ने नरहेको संसद सचिवालयका अधिकारीहरू बताउँछन् । यसका लागि संसद सचिवालयले असंसदीय शब्दहरूको सूची बनाउने गृहकार्य अगाडि बढाएको छ ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरी भन्छन्, ‘असंसदीय शब्दहरूको सूची तयार पार्ने प्रक्रियामा छौं । यसका लागि संसद सचिवालय अध्ययनकै क्रममा छ ।’ कुन शब्द असंसदीय हो भनेर स्पष्ट परिभाषा समेत नभएकोले सूची बनाएर सांसदहरूका लागि सहयोग गर्ने योजना रहेको उनी सुनाउँछन् ।

२०४८ सालमा तत्कालीन संसदले के-कस्ता शब्द असंसदीय हुन् भन्ने विषयमा पुस्तक नै प्रकाशन गरेको थियो । तत्कालीन महासचिव जीवनलाल सत्यालले ‘संसद भित्र’ नामक पुस्तक लेखेका थिए । जसलाई संसद सचिवालयले प्रकाशन गरेर सांसदहरूलाई वितरण गरेको थियो । तर, अहिलेको अवस्था फेरिएकाले फेरिएको अवस्था अनुसार असंसदीय शब्द तय हुनुपर्ने सचिवालयको भनाइ छ ।

‘कहिलेकाहीं विषय र प्रसंगका कारणले पनि असंसदीय हुन पुग्ने आभास हुन्छ’ प्रवक्ता गिरी थप्छन्, ‘शब्दहरू समाज अनुसार परिवर्तन हुन्छन् । विगतमा असंसदीय मानिएका शब्द अहिले हो वा होइन भनेर पनि हेर्नुपर्छ ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?