+
+
यात्रा :

भोक नमेटिएको भेनिस भ्रमण

मिल्ने जतिले समय मिलाएर एक पटक भेनिस आफ्नै आँखाले हेर्ने र औंलाले छुने प्रयास गरौं । भेनिसको युगिन भासमा उत्रिएर इतिहासको वृत्तान्त हेरौं, संस्कृतिको प्रबन्धनकला र पुर्खाका बारेमा चासो राख्नेहरूलाई भेनिसीयनहरूबाट प्रेरणा लिएर आफ्नो ठाउँको महिमा पनि कायम राखौं ।

सुरेन्द्र नेपाल श्रेष्ठ सुरेन्द्र नेपाल श्रेष्ठ
२०८० असार २३ गते १८:१३
Photo Credit : Pixabay

यसपालि भेनिस पुग्ने बित्तिकै ब्रेक लाग्यो । पहिलो दिन त्यहाँ पुगेपछि भागदौड नगर्ने, आरामले घुम्ने कुरा भयो । सुनेको तर कल्पना नगरेको यो सहर एकपटक घुमेर रहर नपुग्ने ठहर गरियो । त्यहाँ पुग्ने दशमध्ये नौको अनुभव पनि त्यस्तै रहेको पढेको थिएँ ।

सामान्यतया बिदा मनाउन जाँदा झन् बढी व्यस्त हुने चलन छ । समय थोरै, हेर्न पुग्नपर्ने धेरै । कहाँ बस्ने ? के के गर्ने ? कसरी घुम्ने ? हैरान । यो क्रम पानीजहाजमा जान थालेपछि अलि कम भएको थियो ।

घुमघाममा म अलि अल्छी नै छु । अन्यत्र जाने इच्छा हुने तर त्यहाँ पुगेपछि बाहिर त्यति घुम्न नपरे पनि हुने भन्ने लाग्छ । त्यसैले मैले होलिडेलाई भनेको होल्ड अ डे भनेको हो भन्ने गरेको छु । नित्य घर, नित्य काम, नित्य भेटघाटको दैनिकीबाट छुटकारा लिएर कतै गएर आफूलाई मन परेको खानपिन गरेर आराम गर्नु हो जस्तो लाग्छ मलाई बिदा भनेको ।

नभन्दै यसपाली भने पूर्णरूपमा यस्तै पृथक रह्यो । बहिनीको स्कुले पढाइ सकिएको र बयस्क उमेर टेकेको अवसरमा दिदीले कहाँ घुम्न जाने सोधिछन् । कान्छीले तुरुन्तै भेनिस भनिछिन् । हामीलाई पनि जाने प्रस्ताव आयो र हुन्छ भनियो ।
काम गर्ने ठाउँमा बिदा मिलाउने बाहेक अरु केही गर्न परेन यसपाली । अरुले बखान गरेर मात्र अनुमान गर्न नसकिने आफैं पुगेर महसुस गर्नपर्ने अलौकिक यो सहरबारे थोरै अनुभव पस्कने प्रयास गरेको छु ।

भेनिस एड्रियाटिक सागरको उत्तरपश्चिमी कुनामा एउटा सानो माछा जस्तो आकारको टापुमा अवस्थित छ तर यो कुनै स्थिर प्राकृतिक टापु नै भने होइन । समुन्द्र बीचको यो भूभागमा पानी थिएन तर त्यहाँ हिंडडुल गर्दा भने जमिन भासिन्थ्यो, सिमसार जस्तो थियो । त्यहाँ मानिसहरू इस्वी संवत् ४२१ तिर पुगेको अनुमान छ । उनीहरूले यो भासिने जमिनमा लामो समय टिक्ने ओक र लार्च (सल्लो प्रजाति)का टिम्बरहरू ठाडो गरी बिछ्याउने उपाय लगाएका थिए ।

लामो समयमा यसले गलेको माटोलाई जमाउन मद्दत गर्‍यो । बलियो जग बनाउनको लागि त्यसमाथि इस्ट्रियन भनिने ठूला ढुङ्गाका स्ल्याबहरू राख्न थालियो । यसले त्यसमाथि बनाइएका भवनहरूलाई स्थिरता प्रदान गर्ने भयो । सहरभरी १५० भन्दा बढी नहरहरू रहेका छन् । पूरा सहरमा डुङ्गा बाहेक अन्य यातायातको सुविधा छैन । घरधनीहरू कार जस्तो त्यहाँ डुङ्गा राख्छन् । मुख्य रूपमा पैदल यात्रा गरिने यो सहरमा करिब चार सय पुल छन् । केही ठूला चौडा बाटाहरूको निश्चित ठाउँमा मात्र साइकल लेनहरू छन् ।

यहाँको मुख्य आकर्षण तालिम प्राप्त चालकहरूबाट गरिने गंडोला (बिशेष प्रकारको डुंगा) सवार हो । उनीहरूले सहरको विभिन्न भागको दृश्याबलोकन सहित ऐतिहासिक जानकारी पनि दिने गर्दछन् । प्रेमिल जोडीहरूको गन्तव्य मानिने भेनिसमा अपरिचित मानिसहरू आए पनि गंडोला सवार गर्दा काटिने प्रत्येक पुलमा चुम्बन मात्र गर्ने हो भने पनि कहिल्यै नछुटिने जोडी बन्न सक्छ भन्ने लोकोक्ति रहेछ । एकजना मात्र छिर्न पनि गाह्रो हुने खालको साँघुरो गल्लीसहित सैयौं छोटाछोटा बाटाहरू भएका कारण त्यहाँको मुख्य बिशेषता भनेको बाटो हराउनु हो ।

उस्ताउस्तै देखिने घर र गल्लीहरू हाम्रो असन इन्द्रचोकलाई पनि माथ गरिदिने रहेछन् । भेनिस पानीमा तैरिरहेको जस्तो देखिने भएको हुँदा यसलाई ‘फ्लोटिङ सिटी’ पनि भनिन्छ । प्रायः एकैनासको छाना भएका कारण माथि आकाशबाट हेर्दा यो सहर ऐना माथि राखिएको सुन्तला जस्तो पनि देखिन्छ ।

सन् १९८७ देखि भेनिसको सिंगो ऐतिहासिक सहर यसको लगुन सहित विश्व सम्पदा स्थलको रूपमा सूचीबद्ध गरिएको छ । धेरैजसो युनेस्को साइटहरू सम्पूर्ण सहरी क्षेत्र नभई सहर भित्रका केही विशिष्ट स्थानहरू मात्र हुने गर्दछन्। यस दृष्टिले पनि भेनिसलाई विश्वकै एक महत्वपूर्ण स्थान मानिन्छ ।

भेनिसको अद्वितीय सुन्दरतालाई लिएर संसारका कैयौं स्थानलाई नाम उद्धृत गर्दै तुलना गरेको पनि पाइन्छ । नेदरल्याण्ड्समा जिठोर्ण र एम्स्टर्डम, बेल्जियममा बुर्ज र गेन्ट अनि स्विडेनको स्टकहोमलाई ‘उत्तरको भेनिस’ अनि चीनको सुझाउलाई ‘पूर्वको भेनिस’र फ्रान्सको एनेसीलाई ‘आल्प्सको भेनिस’ भन्ने गरिन्छ ।

यी बस्तीहरू नहर वरिपरि भए पनि भेनिसको जस्तो मलिलो माटो माथि बनाइएको भने होइनन् तर पनि भेनिसको सुन्दरताबाट प्रेरित छन् ।

एकपल्ट इतिहासतर्फ लागौं । अहिलेको उत्तरपूर्वी इटालीको तटमा त्यसबेला भेनेटी भनिने सेल्टिक समुदायका मानिसहरू बस्दथे । उनीहरू ईसापूर्व ४९ देखि नै रोमन नागरिक थिए । सन् ४५३ मा सम्राट अटिला द हुन् (हुनिक साम्राज्य) ले इटालीमा आक्रमण गरे । यो युद्धको आतंकबाट बचेर केही भेनेटीहरू तालको टापुहरूमा भागे र त्यहाँ एउटा गाउँ बनाए ।

पछि त्यहाँ ५६८ मा लोम्बार्डहरूले आक्रमण गरेर कब्जा जमाएकोले थप मानिसहरू मानब निर्मित टापुतिर लागे ।

केही समय भेनिस बाइजान्टिन साम्राज्य अन्तर्गत रह्यो । सन् ७२६ मा भेनिसहरूले आंशिक रूपमा आफ्नो स्वतन्त्रता प्राप्त गरे र ओर्सो इपाटोलाई डोगे (उनीहरूको भाषामा ड्यूक) को रूपमा चुने । सन् ८१० मा त्यहाँ फ्रान्कहरूले आफ्नो बर्चोस्व कायम गर्ने असफल प्रयास गरे । यसलाई युरोपको सामान ढुवानी गर्ने पानी जहाजको बन्दरगाहको रूपमा प्रयोग गरियो । त्यसैले त्यहाँ बसोबास गर्नेहरूको संख्या पनि उल्लेख्य रूपमा बढ्दै गयो ।

सन् ८२३ मा इजिप्टबाट सेन्ट मार्कको शव तस्करी गरेर भेनिसमा ल्याइयो । त्यसपछि सेन्ट मार्कलाई भेनिस सहरको आलंकारिक संरक्षक सन्त मानियो ।

मध्य युगमा भेनिस बन्दरगाह र व्यापारिक केन्द्रको रूपमा फस्टाउँदै गयो । सन् ११९९ मा चौथो धर्मयुद्ध शुरु भयो । भेनिसियनहरूले क्रुसेडर सेनालाई जहाजहरूको बेडा निर्माण गर्न सहमत भए । तर पछि क्रुसेडर सेनाहरूले जहाजहरूको लागि लागेको खर्च बुझाउन असमर्थ भए । त्यसैले उनीहरू भेनिसियनद्वारा गरिने कन्स्टान्टिनोपलमा आक्रमणको अभियानमा सामेल हुन राजी भए । फलस्वरूप सन् १२०४ मा भेनिस र क्रुसेडरहरूले उक्त सहर कब्जा गरे ।

त्यतिबेला भेनिस अन्य युद्धहरूमा पनि संलग्न थियो । इटालियन सहर जेनोवा भेनिसको शक्तिशाली प्रतिद्वन्द्वी थियो । १३ औं र १४ औं शताब्दीमा जेनोस र भेनिसहरू बीच ५ वटा युद्ध भएका थिए । क्रुसेडहरू मध्ययुगीन कालमा क्रिस्चियन ल्याटिन चर्चद्वारा प्रारम्भ गरिएको, समर्थित र कहिलेकाहीं निर्देशित धार्मिक युद्धहरूको एक श्रृंखला थियो ।

सन् १४५३ मा टर्किसहरूले कन्स्टान्टिनोपल कब्जा गरे र पछि तिनीहरू दक्षिणपूर्वी यूरोपमा बढे । सन् १४८९ मा भेनिसले साइप्रस माथि शासन गर्‍यो तर पछि १५७१ मा त्यो पनि टर्कीले हडप्न पुग्यो । उत्तर र दक्षिण अमेरिका पत्ता लागेपछि व्यापारिक मार्ग पनि उता नै केन्द्रित भए पछि भेनिसलाई झन् अप्ठ्यारो पर्‍यो ।

१८ औं शताब्दीसम्म भेनिस राजनीतिक रूपमा महत्वहीन जस्तै भयो । सन् १७९७ मा नेपोलियनले भेनिस गणतन्त्र भंग गरे र आफैंले शासन गर्न थाले ।

सन् १८१५ मा उनको पतनपछि भेनिस अस्ट्रियालाई हस्तान्तरण गरि यो ।सन् १८६६ पछि भने पुनः इटालीको अधिनमा आयो। कुनै समय भेनिसको स्वामित्वमा रहेको भूमिहरू अहिले इटाली, स्लोभेनिया, क्रोएसिया, मोन्टेनेग्रो, अल्बानिया, ग्रीस र साइप्रस गरी सात देशहरूमा पर्दछन् ।

सन् १३४८ मा युरोपमा झन्डै दुई करोड पचास लाख मानिस मर्नेगरी महामारी फैलिएको थियो । यसलाई ब्ल्याक डेथ भनिन्छ । भेनिसलाई पनि यो महामारीले ठूलो क्षति पुर्‍यायो । सन् १४०३ मा अर्को ठूलो प्लेग संक्रमण भएकोले पहिलोपटक भेनिसले क्वारेन्टाइनको अवधारणा प्रयोगमा ल्याएको थियो । प्लेग महामारीबाट तटीय सहरहरूलाई जोगाउने प्रयासस्वरूप यो थालनी भएको हो । रोगबाट संक्रमित नहोस् भनेर बाहिरबाट आएका यात्रुहरूलाई सहर प्रवेश गर्नुपूर्व ४० दिनसम्म तोकिएको ठाउँमा बस्ने व्यवस्था मिलाइएको थियो । यो अभ्यास इटालियन शब्द क्वारान्ता जिवर्नी (quaranta giorni) बाट आएको हो जसको अर्थ ४० दिन हो । सन् १६३० मा भेनिसलाई फेरि प्लेगले प्रहार गर्‍यो ।

कोभिडको लकडाउन सकिएपछि पनि सहरका सबै नहरहरूबाट पानी फालिएको थियो। कोभिडले भेनिटो क्षेत्रमा सत्र हजारले ज्यान गुमाउन पुगेको थियो भने त्यस अगाडि १२ नोभेम्बर २०१९ मा भेनिसले १९६६ पछि सबैभन्दा खराब बाढीको सामना गर्नुपरेको थियो। ज्वारभाटा १८७ सेन्टीमिटर माथि पुगेको हुनाले सहर ८० प्रतिशतभन्दा बढी डुबानमा परेको थियो।

सन् २०२० को एक तथ्यांक अनुसार अहिले भेनिसमा बसोबास गर्नेहरूको संख्या करिब २ लाख ७१ हजार देखिन्छ । त्यसमा पनि भित्री सहरमा बस्नेहरूको संख्या भने ५५ हजार मात्र रहेको छ । बसोबास गर्ने घर डेरा तथा दैनिक जीवन गुजारा गर्न अति नै महंगो भएकोले यहाँका रैथानेहरू पनि अन्य सस्तो स्थानमा बसाइ सर्ने संख्या बढ्दो छ ।

कोरोना महाव्याधिको बाबजुद पनि भेनिसमा सन् २०२० मा झन्डै दश लाख पर्यटकहरू पुगेका थिए । सन् २०१९ मा त्यो संख्या झन्डै ५५ लाख पुगेको थियो। इटालीमा रोम र मिलानपछि तेस्रो सबैभन्दा धेरै चेन होटलहरू भएको सहर भेनिस हो । पाहुनाहरूलाई सत्कार गर्न त्यहाँ ११ सयभन्दा बढी होटल तथा सात हजारको हाराहारीमा पाहुना घरहरू छन् । अहिलेसम्म एक दिनमा सबैभन्दा बढी एक लाख २० हजार पाहुना सत्कार गरेको रेकर्ड छ।

सन् २०२१ मा यहाँ भ्रमण गर्ने करिब २१ लाख मध्ये झन्डै चार लाख त आनतरिक पर्यटक थिए। सन् २०१५ मा गरिएको एक शैक्षिक अध्ययन अनुसार भेनिसले आफ्नो पर्यटन उद्योगमा प्रति वर्ष ७४. ४ मिलियन यूरो ( झन्डै एक अरब आठ करोड) खर्च गर्छ भने लगभग २.३ (झन्डै साँढे तीन खर्ब) बिलियन यूरो राजस्व जम्मा गरेको पाइएको थियो ।

आवश्यक भन्दा बढी पर्यटकहरू आउँदा व्यवस्थापकीय कमीकमजोरी हुनु स्वाभाविक नै हो । यो संख्या नियन्त्रण गर्नको लागि ठूला पानीजहाजहरू सहर नजिक रोक्न नपाउने नयाँ कानुन लागु गरिएको छ । यहाँ आउने र बस्नेहरूले अन्य शुल्कको अतिरिक्त रात बिताएको र नास्ता खाना खाएको प्रत्येक ठाउँमा स्थानीय सरकारले सिधै पाउनेगरी थप कर निर्धारण गरिएको छ ।

भेनिसको वास्तुकला विशेष प्रकारको छ । सुन्दर गोथिक र बाइजान्टिन शैलीका भवनहरू, भव्य दरबारहरू र अलङ्कृत पुलहरूले भरिएको यो कला विश्व प्रख्यात मानिन्छ । यो सहरले कला, संस्कृति र व्यापारको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ । यसको ऐतिहासिक महत्व सयौं दरबार, गिर्जाघर र संग्रहालयहरूमा स्पष्ट देखिन्छ ।

भेनिसियनहरूले आफ्नो परम्परा र सांस्कृतिक सम्पदा जोगाउन सफल भएका छन् । यसको लागि अन्य नियमित परम्परा मान्ने बाहेक फेब्रुअरी महिनामा दुई हप्ता प्रत्येक वर्ष भेनिसको कार्निवल मनाउने गरेका छन् । यस अवधिमा संसारभरिबाट धेरै सहभागी हुने गर्दछन् । पानी माथिको बस्ती भएकोले घर बाहेक अन्य जग्गा प्रयोग गर्न पाइने भएन । प्रत्येक घरको अगाडि-पछाडि झ्यालमा आफ्नो घर बराबरको कपडा सुकाउने डोरीमा कपडाहरू सुकाइरहेको दृश्य पनि मनमोहक नै देखियो ।

सहरभरि ठाउँठाउँमा खानेपानीको धारा भएको कारण प्यास मेटाउन बोतलको पानी नै किन्न नपर्ने रहेछ । रमाइलो बिषय मुख्य पर्यटकीय स्थलमा थाकियो भनेर आराम गर्न बस्न नपाइने रहेछ । त्यहाँ तैनाथ गरेका सुरक्षाकर्मीहरू आएर ‘बस्ने होइन भेनिसको मज्जा लिने हो, थकाइ लागे कफी पिउन क्याफेमा पस्ने हो’ भन्ने रहेछन् । एकछिन थकाई मेट्न पसल बाहिर राखिएका मेचमा बसे भने खानपिन अर्डर गरेको छ भनेर सोधी हाल्ने रहेछन् तर सहरका अन्य क्षेत्रमा भने बस्नका लागि मेचहरू राखिएका छन् ।

मानव निर्मित युगीन भेनिस नगरको निर्माण र व्यवस्थापन अनि पुर्खाको पौरखले अहिलेकालाई पाएको हाइशान्ति पनि गज्जबकै छ । संस्कृति बचाइराख्यो भने संसारभरका मान्छेका लागि अचुक गन्तव्य बन्ने रहेछ भन्ने दृष्टान्त भेनिसले सम्झाउँछ ।

भेनिसभरि चारजना मात्र नेपाली भएको तथ्य बसमा भेटिएको सिन्धुली बर्दिबासका एक जोडीबाट जानकारी भयो । बाटोभरि सामान ओसारपसार गर्ने मानिस ट्रली लिएर ओहरदोहर गरेको देखिन्छ । बस, रेल स्टेशनबाट होटलमा जाने ग्राहकहरूले उनीहरूको नै सहयोग लिनुपर्ने हुन्छ ।

सहरमा अन्यत्र जस्तो चाईनिज इन्डियन रेस्टुरेन्टहरू देखिएन् । आप्रवासीहरूको त्यति धेरै बसोबास पनि रहेनछ । तर गज्जबको कुरा ९९ प्रतिशत सोभिनियरहरू बेच्ने पसलमा भने बंगलादेशका मानिसहरू मात्र देखिए । भेनिसभरि नै अहिले संसारभरि प्रचलित उबर, डेलीभरु जस्ता कम्पनिहरूलाई प्रवेश रोक लगाइएको रहेछ । पानी ट्याक्सी र गंडोला चलाउनेहरू त झन् स्थानीय भाषा संस्कृति ईतिहास जानेका रैथाने मात्र हुन् पर्ने रहेछ । उनीहरूले नै सहरको टुर गाइड जस्तो काम गर्नु पर्छ भनेर बिशेष तालिम र परीक्षा उत्तीर्ण हुनुपर्ने नियम रहेछ ।

तर हामीलाई एयरपोर्टबाट बस्ने ठाउँसम्म ल्याउने ट्याक्सी ड्राइभरले भने फिटिक्कै अंग्रेजी नबोल्ने रहेछ । इशाराले काम चलाइयो । पछि फर्कने बेलामा पनि उसैलाई सम्पर्क गर्नुपर्ला भनेर कार्ड मागियो । गुगलको दोभासेले गज्जब काम गर्‍यो ।

हामी सहरबाट नौ माइल जति दूरीमा एउटा घर लिएर बसेका थियौं । धेरैजना हुँदा यसरी बस्न रमाइलो पनि हुन्छ । यहाँको बस सेवा भने अति नै सहज र ठिक समयमा आउने रहेछ । सातै दिन बिहानदेखि रातिसम्म एकनासले चल्ने हुनाले प्रायः सबैले बस नै प्रयोग गर्ने भएर होला जहिले पनि भिडभाड हुन्छ । ड्राइभरले अंग्रेजी नबुझेर भने अलि समस्या पनि पर्ने रहेछ ।

टिकट ह्वाट्सएपमा किन्नुपर्ने, पैसा तिर्न खोज्दा नमानेर पहिलो दिन दुइटा बस छुट्यो । पछि त हामी पनि रैथाने जस्तो भइयो । यो सिजनमा त्यहाँ धेरै पर्यटकहरू जाने हुँदा भिर्न नपर्ने कम्मरमा बाँध्ने सानो झोला र लामखुट्टे धेरै हुने भएकोले स्प्रे धेरै लानु भन्ने सुझाव पाएको थिएँ तर झोला लगिएन ।

‘विश्वको सबैभन्दा सुन्दर पुस्तक पसल’ भनी Libreria Acqua Alta (अंग्रेजी High Water Library ) लाई चिनिने पसल पहिलो दिन नै पुगियो । यो पसल त्यति पुरानो होइन तर पसलको एउटा भागको बनावट हेर्दा भने मध्य युगको जस्तो देखिन्छ । लुइगी फ्रिजोदले यो पसल सन् २००४ मा सुरु गरेका रहेछन् ।

नयाँ पुराना सबै प्रकारका पुस्तक पाइने यो पसल अति नै व्यस्त हुने रहेछ । मैले झोला पछाडि बोकेको थिएँ, त्यहाँ काम गर्नेहरूले अगाडि राखेर बोक्न भनेपछि थाहा भयो यहाँ पनि पकेट मार्नेहरूबाट समस्या छ । चोरी भन्दा ठगी बढी हुन्छ भनेको चाहिं सुनिएको हो तर हामीले प्रत्येक पटक पेरिसमा जस्तो अनुभव भने गर्नु परेन । भेनिसको मुख्य आकर्षण मध्ये संसारकै दोस्रो पुरानो क्याफे ‘फ्लोरियन’ हो। जुन सहरको मुख्य पर्यटकीय क्षेत्र पियाजा सान मार्कोको प्रोकुराटी नुओभमा अवस्थित छ । यो सन् १७२० मा स्थापित भएको थियो र इटालीमा नै निरन्तर सञ्चालनमा रहेको सबैभन्दा पुरानो कफी हाउस हो। संसारको सबैभन्दा पुरानो चाहिं पेरिसमा सन् १६८६ मा स्थापना भएको क्याफे प्रोकोप हो।

हामी बसेको घर नजिकै उडी पब रहेछ । बेलुकी सात बजेपछि बिहान एक बजेसम्म खुल्ला हुने । एकदमै पारिवारिक वातावरण देखिने उक्त पबले भने बेलायतको सम्झना गराई दियो । सीमित खाना भए पनि अति मिठो र स्वादिलो । विदेश आएर पहिलो पटक लामखुट्टे मार्ने धुपको प्रयोग गर्न पाँउदा त्यो बास्नाले नेपालको झझल्को गराइदियो । यहाँका मानिसहरू स्वस्थ्य रहन अलि धेरै नै मेहेनत गर्ने गरेको बाटोमा हिंड्ने र दौडिनेहरूको अधिक संख्या देखिएबाट प्रमाणित हुन्थ्यो ।

भेनिसले आफ्नो इतिहास देखाएर मात्र संसारको ध्यान खिचिरहन सम्भव छैन । बढ्दो समुन्द्री सतह र जमिन घट्ने कारणले उत्पन्न चुनौतीको सामना गर्दै यस अलौकिक सहरको संरक्षण गर्नु ठूलो चुनौती देखिन्छ । जसले यसको भविष्य समेत निर्धारण गर्नेछ ।

भेनिस सहरलाई उच्च ज्वारभाटा र बढ्दो समुन्द्री सतहबाट हुने बाढीबाट जोगाउन सन् १९७० मा नै परिकल्पना गरेको तर सन् २००३ देखि निर्माण सुरु भै सन् २०२१ देखि प्रयोग गरिएको तर पूर्ण सम्पन्न नभैसकेको (Modulo Sperimentale Elettromeccanico) अर्थात् प्रायोगिक इलेक्ट्रोमेकानिकल मोड्युल परियोजनाले ठूलो राहत प्राप्त भएको छ ।

यो प्रविधि अनुसार पानी बढेर बाढीको जोखिम हुने संकेत पाएपछि ज्वारको प्रवाहलाई रोक्नको लागि ठूला मोबाइल गेटहरू प्रयोग गरिन्छ । यसले पानीलाई सहरमा जानबाट रोक्दछ । यो परियोजनाले भविष्यमा लामो समयसम्म सहरलाई बचाउन सकिने विश्वाश गरिएको छ । बाइबलमा उल्लेख गरिएको लाल सागरलाई विभाजन गर्ने पात्र मोसेसको नामबाट यो परियोजनाको नामाकरण गरिएको हो ।

हुन त यो सहर भासिने अड्कल काटिएको पनि धेरै भै सक्यो। तर १९ सय वर्षसम्म टिकेको सहर सितिमिति अलप नहोला नै । अब जाँदाखेरि चाहिं सहर बीचको होटलमा बस्ने। बिहान सूर्योदयसँगै उठेर घुम्न जाने । लन्च पछि आराम गर्ने अनि फेरि सुर्यास्त हेर्दै मध्य रातसम्म रात्रीकालीन भेनिस हेर्ने, ११८ वटा टापुहरू मिलेर बनेको भेनिसका प्रख्यात मुरानो बुरानोमा अलि लामो समय बिताउने तथा अलि बढी स्थानीय खानाको स्वाद लिने विचारलाई योजनाको सन्दुकमा थाती राखियो ।

मिल्ने जतिले समय मिलाएर एक पटक भेनिस आफ्नै आँखाले हेर्ने र औंलाले छुने प्रयास गरौं । भेनिसको युगिन भासमा उत्रिएर इतिहासको वृत्तान्त हेरौं, संस्कृतिको प्रबन्धनकला र पुर्खाका बारेमा चासो राख्नेहरूलाई भेनिसीयनहरूबाट प्रेरणा लिएर आफ्नो ठाउँको महिमा पनि कायम राखौं ।

लेखकको बारेमा
सुरेन्द्र नेपाल श्रेष्ठ

झण्डै अढाई दशकदेखि बेलायतमा बसोबास गर्दै आएका लेखकका ‘मेरो आधा शताब्दि’ र ‘नेपालः विदेशबाट नियाल्दा’ पुस्तक प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?